महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार भएका दुइटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहार र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया एक महिला छन्।
लोहारलाई औरही नपा–२ स्थित सडकमा पैदल हिँड्दै गरेको अवस्थामा सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ बस्ने रोशनलाल महतोको ना३७प ७२३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो।
पहिचान नखुलेकी महिलाको भने ट्र्याक्टर दुर्घटनामा मृत्यु भएको हो। सिन्धुलीको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किँदै गरेको प्रदेश२–०२–००१त २२६४ नम्बरको ट्र्याक्टर बर्दिबास नगरपालिका–३ स्थित पाटुमोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परेर २८ यात्रु घाइते भएका छन् भने नाम, थर, वतन नखुलेकी महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।
घाइतेको बर्दिबासका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरू महोत्तरी, धनुषा र केही भारतीय रहेको बताइएको छ।