मोरङ उर्लाबारीकी ६१ वर्षीया भीमकुमारी मगर र मोरङकै कटहरी–३ का ३६ वर्षीय विवेक राजवंशी केही महिनायता कहिले जिल्ला प्रशासन, कहिले प्रहरी अनि कहिले सञ्चारमाध्यमका कार्यालय धाइरहेका छन्।
उर्लाबारीकी भीमकुमारी आफ्नै ठाउँका एक जना सुन पसलेबाट ठगिएको पीडामा छिन्। धेरै ब्याज पाइने लोभमा सुन पसलेकहाँ जम्मा गरेको पैसा अहिले डुबेपछि फिर्ता गराइदिन हार-गुहार गर्दै उनी आफ्ना छिमेकीसहित प्रहरी र प्रशासन कार्यालय धाइरहेकी हुन्।
कटहरीका राजवंशी पनि ठगीमै परेको उजुरी बोकेर उसैगरी भौंतारिएका छन्। उनलाई चाहिँ आफ्नै साथीले जापान पठाइदिने भनेर १८ लाख रुपैयाँ ठगेका छन्। एकै व्यक्तिबाट जापान पठाइदिने लोभ देखाएर ठगिने उनी पनि एक्ला छैनन्। झापा र मोरङका ४१ जना युवा छन्। तिनै युवाहरूको समूहमा मिसिएर विवेक राजवंशी डुबेको पैसा फिर्ता गराइदिन प्रशासन गुहारिरहेका छन्।
सामान्य खेतीपाती गरेर परिवारको गर्जो टार्ने भीमकुमारीले कतारमा रहेका छोराले पठाउने रकम मध्येबाट जोगाएर सुन पसलमा पैसा जम्मा गरेकी थिइन्। पेवापात बेचेर हात पर्ने पैसा पनि उनले उर्लाबारी ५ तरूण चोकका ४९ वर्षीय राजेश भनिने गोपाल गौतमको सुन पसलमा राख्थिन्।
‘त्यसरी जम्मा गरेको पैसा सात लाख रुपैयाँ भएको थियो, बढी ब्याज आउला कि भनेर राखेको अहिले साँवा नै डुब्यो,’ विराटनगरस्थित जिल्ला प्रशासन परिसरमा भेटिएकी उनले भनिन्, ‘त्यही पैसा फिर्ता गराइदिन पर्यो, ठगलाई पक्रिदिन पर्यो भनेर यहाँ हारगुहार गर्न आएका हौं।’
निरक्षर भीमकुमारीजस्तै एकै व्यक्तिबाट यसरी ठगीमा पर्नेहरूको संख्या ३३६ जना छ।
‘हामी ३३६ जनाको १२ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम लिएर पसले भागेका छन्’, उनले भनिन्, ‘हामी गरिबहरूको पैसा डुब्यो।’
निरक्षर सर्वसाधारण ब्याजको लोभले ठगिन पुग्दा शिक्षित युवा पनि ठगीधन्दाको जालोमा फसेका छन्।
माथि चर्चा गरिएका विवेक राजवंशी त्यस्तै एक युवा हुन्, जसले व्यवस्थापनमा स्नात्तक गरेका छन्। निजी विद्यालयमा पढाइरहेका उनलाई साथी सुनवर्षी- ३ का ३६ वर्षीय अजय राजवंशीले जापानमा मासिक साढे ४ लाख रुपैयाँ कमाइ हुने र काम पनि प्रबन्धकको हुने लोभ देखाए। त्यसका लागि १८ लाख रुपैयाँ लाग्ने सुनाए।
अजयलाई त्यसैगरी पैसा बुझाउने अरू पनि भएको थाहा पाएपछि आकर्षक कमाइ सम्झेर उनले १८ लाख रुपैयाँ अजयलाई बुझाए। चार किस्तामा उनले १८ लाख रुपैयाँ अजयले भनेको व्यक्तिको नाममा बैंकमा जम्मा गरेका थिए। अहिले भने विवेकको पैसा लिने अजय बेपत्ता छन्। उनैलाई खोजेर पैसा फिर्ता गराइदिन माग गर्दै विवेक अरू पीडितसहित प्रहरी र प्रशासन धाइरहेका हुन्।
‘घरमा सबैलाई आश्वस्त पारेर जग्गा धितो राखेर ऋण खोजेर पैसा बुझाएँ,’ उनले भने, ‘अहिले आएर विदेश पठाउने अजय सम्पर्कविहीन भएको छ, साह्रै नराम्रोसँग फसियो।’
उनकै जसरी फसेका पात्र हुन्, मोरङको सुनवर्षी नगरपालिका-३ भेलाहीका ३६ वर्षीय मदनकुमार राजवंशी।
उनी पेशाले शिक्षक हुन्। विराटनगरको एक निजी विद्यालयमा पढाउने उनलाई पनि अजयले नै ठगेका हुन्। उनका साथी अजयले जापानमा मासिक साढे २ लाख रुपैयाँ कमाइ हुने भन्दै त्यसका लागि १६ लाख रुपैयाँ लाग्ने बताए।
निजी स्कुलमा जसोतसो चलेको रोजगारीभन्दा जापानको अढाई लाखले मदनलाई लोभ्यायो। ऋण काढेर भए पनि जापान जाने निधो गरेका मदनले दुई किस्तामा १६ लाख रुपैयाँ बुझाए। अजयले भनेअनुसार फिरोद कार्कीको नाममा गएको वैशाख १४ गते ५ लाख र २०६९ भदौ २७ गते रन्जिताकुमारी राजवंशीको नाममा ११ लाख रुपैयाँ मदनले बैंकमा हालिदिए। त्यसको भौचर उनीसँग सुरक्षित छ।
पैसा बुझाएको केहीदिनमा उनलाई ‘भिसा’ पनि आयो । ढिलोमा कात्तिकसम्म जापान पठाउने वाचा अजयले मदनसँग गरेका थिए । तर, अजयले यसरी दिएको समय तीन पटक सर्यो, उनी जापान जान पाएनन्। फेरि मंसिर अन्तिमसम्म लैजाने प्रतिवद्धता आयो, यो भाखा पनि सर्यो।
अहिले अजय आफैं बेपत्ता छन्। अजय बेपत्ता हुँदा मदनको जापान जाने र पैसा कमाउने सपना मात्रै बिथोलिएको छैन, ऋणमा लिएको पैसा पनि डुबेको छ। उनको हातमा आइपुगेको भिसा पनि नक्कली भएको पुष्टि भएको छ।
विवेक र मदन विदेश जाने बहानामा ठगिएका पात्र हुन्, यही समूहमा एकै व्यक्तिबाट ठगिनेको संख्या ४१ जनाको छ। उनीहरूमध्ये मोरङका ४० र झापामा १ जना छन्।
उनीहरू सबै जनासँग उठाएको पैसा लिएर अजयसहित उनका भाइ रन्जित, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी फरार छन्। उनीहरूले ४१ जना युवाहरूको ३ करोडभन्दा बढी रकम लिएको पीडितहरूको भनाइ छ।
चितवनका राजेन्द्र, मोरङ सुनवर्षी-६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेको उनीहरूले बताए। राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम पनि गरेर फर्किएका थिए। यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङ र झापाका युवाहरूलाई ठगी गरेका हुन्। मोरङबाट अजयको सम्पर्कमा भएका ४० जना नै राजवंशी समुदायका छन्। मुख्य योजनाकार राजेन्द्र अजयले उठाएको रकम लिएर पुनः जापान गएको खुलेको छ।
ब्याज र रोजगारीको लोभ देखाएर ठग्नेहरूको धन्दा एकातिर चल्दा अरू निरक्षर नागरिकहरू भने किर्ते धन्दाको फन्दामा परेर जग्गा नै गुमाउन बाध्य भएको घटना पनि यहाँ देखिएका छन्।
मोरङको विराटनगर महानगरपालिका-१४ नयाँ बस्तीकी शान्तिदेवी महतो त्यस्तै पीडित हुन्, उनी पनि महिनौंदेखि प्रहरी कार्यालय, अदालत र प्रशासनको चक्कर लगाइरहेकी छन्।
१० धुर जग्गा ‘राजीनामा पास’ गरेर २०७२ असोज २० गते १ लाख ५० हजार रुपैयाँ कर्जा लिएकी उनी अहिले जग्गा फिर्ता गरिमाग्न राज्यका निकाय गुहारिरहेकी छन्।
काइँली छोरी बिरामी भएर उपचारका लागि छिमेकी अम्बिका रायसँग सयकडा पाँच रुपैयाँ ब्याजमा कर्जा लिएकी थिइन् उनले। कर्जा लिएको एक वर्षपछि ब्याज मात्र शान्तिदेवीले अम्बिकालाई ९५ हजार बुझाइन्। अर्काकोमा बनिबुतो गरेर परिवारको गुजारा चलाउने शान्तिदेवीले समयमै कर्जा तिर्न सकिनन्। साँवा रकम समयमै नबुझाएको भन्दै अम्बिकाले शान्तिदेवीको ३६६४ कित्ता नम्बरको १० धुर जग्गा सोही ठाउँकी ५० वर्षीया सुन्दरीदेवी साह गुप्तालाई १ लाख ५० हजारमा ०७३ असार १४ गते बेचिदिइन्। सोही मितिमा गुप्ताको नाममा जग्गा पास भएको देखिन्छ। ३० लाख रुपैयाँ कठ्ठामा कारोबार हुँदै आएको जग्गा १ लाख ५० हजारमा बिक्री गरेको झन्डै एक वर्षपछि मात्र शान्तिदेवीले थाहा पाइन्।
‘अम्बिकासँग कर्जा लिएको ब्याज तिरेको थिएँ। साँवा पनि तिरेर जग्गा आफ्नो नाममा ल्याउँछु भन्ने थियो। आफ्नै जग्गा आफैंले थाहै नपाइ सुन्दरीदेवीको नाममा पास भएछ। त्यसपछि पनि आफ्नो नाममा जग्गा पाउने आशले ४ लाख ३५ हजार रुपैयाँ ऋण काढेर सुन्दरीदेवीलाई बुझाइसेकेको छु,’ शान्तिदेवीले केही दिनअघि पत्रकार सम्मेलन गरेर भनेकी थिइन्, ‘अहिले पनि जग्गा मेरो नाममा दिएको छैन। अहिले आएर जग्गा खाली गर भन्दै धम्काउने गरेको छ।’
जम्मा भएको १० धुर जग्गामा सानो छाप्रो बनाएर शान्तिदेवीको सात जनाको परिवार बस्दै आएको छ।
मोरङकै जहदा गाउँपालिका ३ का ५४ वर्षीय जोगीन्दर ऋषिदेवले २०७१ सालमा स्थानीय अच्छेलाल राजवंशीसँग एक कट्ठा जग्गा धितो राखेर ३० हजार रुपैयाँ कर्जा लिए। उनले तीन वर्षपछि उक्त रकम फिर्ता गरे। ऋषिदेवले ऋण तिरेको कुनै कागजपत्र लिएनन्। ऋषिदेवको एक कट्ठा जग्गा अच्छेलालले आफ्नो नाममा पास गरी बेचेपछि मात्र थाह पाए।
विराटनगर १२ का ७८ वर्षीय लखनलाल मण्डलले २०६८ सालमा विराटनगर १२ मा रहेको न्यू जनता बचत तथा ऋण सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिएका थिए। उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिएका थिए। सिटी चलाएर आम्दानी भएको र छोराले विदेशबाट पठाएको पैसा जम्मा गरी मण्डलले पटक-पटक गरेर ६ लाख रुपैयाँ राजुलाई बुझाए। तर, मण्डलले बुझाएको पैसा राजुले सहकारीमा जम्मा गरिदिएनन्। लेखपढ नगरेका मण्डलले राजुलाई बुझाएको पैसाको भौचर पनि लिएनन्।
ऋण लिएको पैसा बुझाएपछि २०७६ माघ १९ गते राजुले जग्गा पास गरिदिने भनेर विराटनगर मालपोत कार्यालय लिएर गए। भने अनुसार ल्याप्चे पनि लगाइदिए। राजुको विश्वासमा परेका मण्डलले आफ्नो नाममा रहेको १७ धुर जग्गा राजुकी श्रीमती सिर्जना खातीको नाममा पास गरे। उनको जग्गाको भाउ अहिले प्रतिधुर पाँच लाख रुपैयाँ छ। अहिले उनले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएर न्याय दिलाउन अनुरोध गर्दे आएका छन्।
अवैध रूपमा बैकिङ कारोबार गर्ने सुन पसलहरूबाट ठगिएको भन्दै प्रहरीमा उजुरी गर्नेहरूको संख्या नै अहिले मोरङ र सुनसरीमै हजारभन्दा बढी छ। सुन पसलमै काम गरिरहेका सुनसरीको इटहरीस्थित तरहराका मजदुर लालबहादुर विक तीन करोड बिगो तिर्न नसकेर अहिले जेलमा छन्। उर्लाबारीका सुन पसले फरार छन्। दुहबी र सुन्दरहरैंचाका पनि सयौं सर्वसाधारण सुन पसलेबाटै पीडित भएको घटना यसअघि बाहिर आइसकेको छ।
यसरी हुलका हुल सर्वसाधारण ठगीमा परेको उजुरी लिएर आउन थालेपछि जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले आश्चर्य प्रकट गरे- सुन पसलेबाट लाखौं रुपैयाँ जोखिममा पारेकाहरू नै सयौं जना आइसके, अहिले कोही जापान जाने बहानामा ठगिएको, कोही जग्गा किर्तेबाट ठगिएको मुद्दाहरू पनि बाक्लै आइरहेका छन्। यी घटना हेर्दा समाजमा ठगहरूको राज चलेको देखिन्छ।
यी सबै घटनाका पीडितले प्रमुख जिल्ला अधिकारीलाई भेटेर दोषीलाई कारबाहीको माग गरेका छन्। जवाफमा भर्खरै मात्र धनुषा सरूवा भएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एकै प्रतिबद्धता जनाउँथे, ‘तपाईंहरू ठगीमा पर्दा दुःख लागेको छ। हामी दोषीलाई नियन्त्रणमा लिएर कारवाही गर्दै न्याय दिलाउन प्रतिबद्ध छौं।’
बितेको साता मात्रै पनि सुन पसलेबाट ठगिएका तीन समूह र जापान पठाइदिने भन्दै ठगिएका युवाको एक गरी ४ समूहलाई प्रशासन प्रमुखले उही वाचा दोहोर्याएका थिए।
‘तर, हामीले उही आश्वासन पाएको यो चौथो पटक हो, अहिलेसम्म केही प्रगति भएन’, भीमकुमारीले भनिन् ‘अब त पूरै डुब्छजस्तो भइसक्यो।’
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला ठगीधन्दा चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याइछाड्ने बताउँछन्। ‘जुनसुकै बहानामा होस् ठगीधन्दा चलाउनेहरूलाई हामी कारबाहीको दायरामा ल्याएरै छाड्छौं’, उनले भने, ‘धेरैलाई ल्याइसकेका छौं।’
प्रहरी, प्रशासनले दिने यस्ता औपचारिक आश्वासनले पीडितहरूलाई भने झनै निराश बनाउँदै लगेको छ।
‘मलाई त यति धेरै मानसिक समस्या भइसक्यो कि मनोचिकित्सकलाई देखाएर औषधी लिन सुरू गरेको छु’, जापानको बहानामा ठगिएका एक युवाले भने, ‘भएको जागिर छाडेर जापानको तयारीमा थिएँ। सहकारीबाट ऋण लिएको १५ लाख डुबेको छ। यसैले रोगी बनाएको छ।’
वैदेशिक रोजगारीको नाममा ठगिएकाहरू न्याय खोज्दै वैदेशिक रोजगार विभागसम्मै पुगिसकेका छन्। तर, अहिलेसम्म कुनै प्रगति नभएको भन्दै उनीहरू पनि निराश छन्। सरकारी पक्षले वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउने बताएको तर अहिलेसम्म ठगीकर्तासम्म प्रहरी नपुगेको उनीहरूको भनाइ छ।
‘विश्वासमा परेर कुरै नबुझी लाखौं पैसा फसाउनु गलत भयो,’ सोही समूहका अर्का सदस्य झापाका भवानी अधिकारीले भने, ‘तर, हामीले गल्ती गरेर फसे पनि हामीलाई न्याय दिलाउने राज्यले हो। ऋणको बोझ, त्यसको ब्याज र जरिवानाले डुब्न लागियो। प्रहरीले अहिलेसम्म कसैको सुइँको पनि पाएको छैन। यसले झनै चिन्ता थपेको छ।’