महिनावारीका कुरा
सृष्टि केसीको पहिलोपटकको महिनावारी अनुभव भिन्नै छ।
उनको आँखाको शल्यक्रिया गरिएको थियो। त्यसको केही दिनमै उनकी आमाले रूमालमा रगत देखिन्। सुरूमा केकसो हो भन्ने सोच्न सकिनन्। आँखाकै कारण केही भयो कि भनेर निकै आत्तिइन्।
त्यो बेलाको क्षण सम्झिँदै सृष्टिले भनिन्, 'मेरो आँखामा केही समस्या आयो कि भनेर आमा एकदमै अत्तालिनुभएको थियो।'
सृष्टि दृष्टिबिहीन हुन्। उनको संस्था ब्लाइन्ड रक्सले दृष्टिबिहीनहरूको सशक्तीकरणका लागि काम गर्दै आएको छ। यसबाहेक सृष्टि नृत्य र अभिनयमा पनि सक्रिय छिन्।
त्यो बेला उमेर सानै भएकाले उनले आमालाई सबै कुरा बुझाएर भन्न सकिनन्। उनकी आमा जागिर गर्थिन्। छोरीको पिर मनमा बोकेरै काममा गइन्। सृष्टिको हेरविचार उनकी काकीले गरिरहेकी थिइन्। दिउँसोतिर शरीर भारी भएर योनीमा रगत देखेपछि बल्ल सृष्टिले महिनावारी भएको बुझिन्।
काकीले 'छोरी ठूली भई' भन्दै खुसी भएर आमालाई फोन गरेर सुनाइन्। त्यसपछि आमाको मन पनि ढुक्क भएको थियो।
सृष्टिका दुई जना दाजु छन्। पहिलोपटक महिनावारी हुँदा घरमा दाजुभाइ, बुबा र घाम समेत हेर्न नहुने कुचलन उनको घरमा भएन।
'आमा कामकाजी महिला भएर पनि हुन सक्छ। त्यस्तो बार्ने कुरा भएन। अरूको घरमा पनि पठाउनुभएन,' उनले भनिन्, 'तीन दिन घरकै तलको छुट्टै कोठामा राख्नुभयो।'
चौथो दिन आँखा जाँच गराउन जानुपर्ने थियो। उनी त्यहाँ पनि बस्न परेन। आमाले त 'केही हुँदैन, तेरो अपरेसन नभएको त स्कुल नै पठाइदिन्थे' भन्थिन्।
सृष्टिलाई भने त्यो बेला आफ्नो समाजको चलनअनुसार १३ दिन लुकाएको भए पनि हुन्थ्यो भन्ने लागेको थियो। कलिलो उमेर, स्कुल जान पर्दैन भनेर! तर बार्ने कुचलनको उनी सधैं विरोधी थिइन्।
'घरमा कडा रूपमा बार्ने चलन थिएन। तर छोइछाइ नगर्न भनिन्थ्यो। म चाहिँ छोयो भने के हुन्छ भन्ने सोच्थेँ। घरमा कोही नहुँदा सबै कुरा छुँदै हिँड्थे,' उनले हाँस्दै भनिन्।
भान्सादेखि बोटबिरूवासम्म छुन नहुने भन्ने सबै कुरा अन्धविश्वास मात्र भएको उनी बताउँछिन्। बार्ने चलन कुनै समयको आवश्यकता भए पनि अहिले सान्दर्भिक नहुने उनको भनाइ छ।
अहिले उनको घरमा को महिनावारी भयो भनेर थाहा पनि हुँदैन। कसैलाई पेट दुखेर तातोपानी आदि चाहिए मात्र थाहा पाउँछन्। पहिले-पहिले महिनावारी भएको चार दिनमा सुतेका लुगाफाटा धोइन्थ्यो। अचेल यो पनि नहुने उनले बताइन्।
'सफाइका लागि लुगाहरू धोइन्छ नै। तर भर्खर फेरेको तन्ना/खोल महिनावारीमा ओछ्याएकै कारण धुने, चोख्याउने भन्ने हुँदैन,' उनले भनिन्।
महिनावारीमा छुन नहुने भन्नु नै अन्धविश्वास भएको उनी बताउँछिन्। समाज परिवर्तनशील छ। तर महिनावारीका बारेमा अझै पनि धेरै कुरामा खुला हुन नसकेको उनको अनुभव छ।
'हामी शिक्षित छौं तर पनि भगवान छुन सकेका छैनौं,' उनी भन्छिन्, 'यो अदृश्य कुराले मानिसलाई झनै धेरै बाँध्ने रहेछ। नपत्याउँदो डर हुँदो रहेछ। थाहा छ यो गलत हो। अन्धविश्वास हो। तै पनि हामी परिवर्तन हुन सकेका छैनौं।'
तर गुनासोभन्दा पहिले परिवर्तन आफैंबाट ल्याउनुपर्छ भन्ने आफूले बुझेको उनी बताउँछिन्। यसका लागि आफूले पाइलाहरू चालिरहेको पनि उनले बताइन्। यिनै कदममा उनले समाजमा जरा गाडेर बसेको कुरा हटाउन र मान्छेलाई बुझाउन कति गाह्रो हुने रहेछ भन्ने बुझ्न थालेकी छन्।
महिनावारी लाजको विषय होइन भनेर भन्न सक्ने वातावरण अहिले पनि छैन। महिनावारीका कारण स्कुल जान ढिला भए वा नगए कारण अर्कै भन्थिन् उनी। महिनावारीका कारण पेट दुखेको भन्ने हिम्मत हुँदैन थियो।
'सबैको अगाडि भन्दा हाँस्छन् र लाज हुन्छ भनेर लुकाउन खोजिन्थ्यो,' उनी भन्छिन्, 'बरू टाउको दुख्यो, ज्वरो आयो भन्ने बहाना हुन्थे।'
खिसिट्युरी हुने डरकै कारण शारीरिक र मानसिक स्वास्थ्य, खानपान, सरसफाइजस्ता जानकारी हुनुपर्ने कुराबारे पनि जिकिरै भएन। अचेल भने उनी खुलेर कुरा गर्छिन्। महिनावारीको कुरा लुकाउँदा अरू थुप्रै समस्याहरू आउँछन्। त्यसैले यसलाई एकदमै गम्भीर विषय नभनी सामान्य र प्राकृतिक भनेर बुझाउनुपर्ने उनको भनाइ छ।
महिनावारीमा उनको पनि मुडको भर हुँदैन। त्यसैले आफूले अनुभव गर्नेबित्तिकै सजग भएर साथीभाइलाई समेत मुड-स्विङ छ है भनेर जानकारी दिन्छिन्।
'म आफ्नो मुड व्यवस्थापनतिर लाग्छु,' उनी भन्छिन्, 'नजिकका साथीलाई म झनक्क रिसाउन सक्छु, नरिसाउनु भन्छु।'
उनका अनुसार यस्तो समयमा परिवार र निकटहरूले महिलालाई साथ दिनुपर्छ। गाह्रो हुँदा आराम गर्न भन्नुपर्छ। तातोपानी, झोलिलो खानेकुरा खान दिनुपर्छ।
सृष्टि दृष्टिबिहीन भएका कारण धेरैले उनलाई सोध्छन् पनि- दृष्टिबिहीनहरूले महिनावारी भएको कसरी थाहा पाउँछन्?
'अझ कोही कोही त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर समेत सोध्छन्,' उनले भनिन्, 'प्रश्नहरू आउनु र उत्सुकता हुनु ठीक हो। दृष्टिबिहीन महिलाले महिनावारी महशुस भएपछि थाहा पाउने हो। तर आँखा नदेख्दैमा महिनावारी नै हुँदैनन् भनेर सोच्नु चाहिँ अज्ञानता मात्र होइन, नाजायज प्रश्न हो।'
अपांगतासंगत वातावरण नहुँदा महिनावारी कठिन हुने गरेको छ। नजिकै धारा हुँदैन। प्याड कता फाल्ने, कपडा कहाँ धोएर सुकाउने लगायतको सहज व्यवस्था हुँदैन। महिनावारी सहज बनाउने विभिन्न सरसामान बजारमा उपलब्ध छन्। तर अपांगता भएकाहरूसम्म यसबारे उचित जानकारी पुगेको छैन। त्यसैले सुरक्षित र सही प्रयोग गर्न नसकेको पनि उनले बताइन्।
दृष्टिबिहीन महिला एक्लै गएर कुनै पसलमा प्याड किन्न जान सक्ने स्थिति पनि नभएको उनले बताइन्।
'मैले मिति हेर्न सक्दिनँ। प्याडमा भएका अरू सूचना पनि थाहा पाउँदिनँ। त्यसकारण म्याद गुज्रिएको प्याड प्रयोग गर्न सक्छु। मलाई पछि स्वास्थ्यमा समस्यामा पार्न सक्छ,' उनी भन्छिन्, 'त्यसैले महिनावारीसम्बन्धी सूचनाहरू अझै पनि अपांगमैत्री भइसकेको छैन। हामीलाई कठिनाइ नै छ, अरूकै भर पर्नुपर्छ।'
यस्ता सामग्रीहरू तयार पार्दा अपांगमैत्री भए सबैलाई सहज हुने उनको भनाइ छ। जानकारीमूलक सामग्रीहरू अडिओ, भिडिओ, ब्रेललिपिमा तयार पार्दा सहज हुने सुझाव उनी दिन्छिन्।
'महिनावारीकै कारण कसैले भेदभाव सहन नपरोस्, भोग्न नपरोस्। स्वस्थ्यकर जीवन जिउन पाउने सबैको अधिकार हो। यो सुनिश्चितताका लागि कदम चालोस् र चाल्नुपर्छ। अनि महिनावारी महिलाको मात्र विषय होइन। यो पुरूष महिला सबैको विषय हो, सबैले जान्नुपर्छ र बुझ्नुपर्छ,' उनले भनिन्।
यो पनिः
१- एलिना चौहान भन्छिन्- हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ)
२- कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ)