भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिबिसीले बनाएको वृत्तचित्र (डकुमेन्ट्री) हेरेको भन्दै एक विश्वविद्यालयका १० जना विद्यार्थीलाई निलम्बन गरिएको छ।
राजस्थानको केन्द्रीय विश्वविद्यालयमा पढिरहेका १० विद्यार्थीहरूले गणतन्त्र दिवसको राति ७ बजेतिर वृत्तचित्र हेरेका थिए। उक्त वृत्तचित्र हेरेको थाहा पाएपछि ती विद्यार्थीहरूलाई १४ दिनका लागि निलम्बन गरिएको बिबिसी हिन्दीले जनाएको छ।
यस्तै उनीहरूलाई होस्टलबाट पनि निकालिएको छ।
निलम्बित विद्यार्थीहरू अधिकांश मुस्लिम समुदायका छन्। यसबारेमा विश्वविद्यालय प्रशासनले भने अनुशासन उल्लंघन गरेको हुँदा कारबाही गरेको बताएको छ।
विद्यार्थीहरूले भने वृत्तचित्र हेरेकै कारण निलम्बन भएको बताएका हुन्। विश्वविद्यालयका कुलपति प्रोफेसर आनन्द भालेरावसँग कुराकानी गर्न खोज्दा उनले यसबारेमा कुराकानी गर्न नचाहेको बिबिसी हिन्दीले जनाएको छ।
'२६ जनवरीमा हामी केही साथीहरूले पोस्टर बनाएर राति विश्वविद्यालय नजिकै बिबिसीले मोदीमाथि बनाएको डकुमेन्ट्री हेर्ने योजना थियो,' एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा बिबिसी हिन्दीसँग भनेका छन्, ‘त्यहाँ हामीले कुनै स्क्रिन हालेर हेरेका थिएनौं। राति ७ बजे फोनमै डकुमेन्ट्री हेरिरहेका थियौं। सुरक्षा गार्ड पनि त्यहीँ थिए। उनले हामीलाई भारतमा यो भिडिओ प्रतिबन्ध लगाएको छ, किन हेरिरहेको भनेर हामीलाई भने। र उनले प्रहरीलाई बोलाए।'
ती विद्यार्थीहरूलाई त्यहाँबाट उठेर जान भने पनि उनीहरूले ८ बजेसम्म वृत्तचित्र हेरेर बसेका थिए। त्यसपछि उनीहरू होस्टल फर्किएका थिए।
यसरी उनीहरूले मोदीविरूद्धको वृत्तचित्र हेरेको थाहा पाएपछि भारतीय जनता पार्टी निकट अखिल भारतीय विद्यार्थी परिषदका विद्यार्थीहरूले च्याटबाट भेला हुन बोलाएका थिए।
आफूहरूको पहिचानमाथि प्रश्न उठेको भन्दै उनीहरूले नाराबाजी गरेको ती विद्यार्थीले बताए।
प्रशासनले २७ तारिखमा दुई जना विद्यार्थी र २८ मा थप विद्यार्थीहरूलाई निलम्बन गरेको थियो। परिषदले टिपाएको नामका आधारमा प्रशासनले विद्यार्थीहरूलाई निलम्बन गरेको पनि आरोप छ।
बिबिसीले यस वृत्तचित्रको दुई वटा भाग प्रसारण गरिसकेको छ। तर भारत सरकारले भारतमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ।