गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरूले श्रद्धापूर्वक दानपेटिकामा चढाउने भेटी लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ।
कोषले मायादेवी मन्दिरभित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट बर्सेनि झण्डै चार करोड रुपैयाँ भेटी वापतको आम्दानी गर्छ। सोही आम्दानीबाटै कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापनको काम गर्दै आएको छ।
विकास कोषले हरेक दुई तीन महिनामा दानपेटिका खोलेर त्यहाँ राखिएको भेटी गणना गरी बैंकमा दाखिला गर्दै आएको छ।
गत पुस १ गते दानपेटिकामा राखिएको दुई महिनाको भेटीबाट ६१ लाखभन्दा बढी रकम संकलन भएको थियो भने यसअघि असोज ३० गते तीन महिना संकलन भएको भेटीवापत २७ लाख १८ हजार रुपैयाँ रकम संकलन गरिएको थियो।
तर, कतिपय मुलुकका पर्यटकहरूले दानपेटिकामा चढाएको झण्डै १ करोड १८ लाख नेपाली रकम बराबरका विदेशी मुद्रा सटही नहुँदा त्यतिकै बाकसमा थन्किएका छन्।
विभिन्न मुलुकबाट आउने पर्यटकहरूले आफ्नै देशका मुद्रा दान पेटिकामा चढाउने गर्छन्। कतिपय देशका मुद्रा नेपालमा सटही हुन नसक्दा वर्षौंदेखि प्लाष्टिकमा पोको पारेर राखिएको हो।
विकास कोषको तथ्यांक अनुसार ८४ वटा मुलुकका पर्यटकहरूले लुम्बिनी भ्रमण गरेका छन्।
लुम्बिनी आउने अधिकांश विदेशी पर्यटकहरूले आफ्नै देशको मुद्रा दानपेटिकामा चढाउने गर्छन्। तर नेपाल राष्ट्र बैंकमा २० वटा मुलुकका मात्र मुद्रा सटही हुने भएकोले बाँकी मुलुकका मुद्राहरू विकास कोषले यत्तिकै बाकसमा पोको पारेर राखेको छ।
विगतमा दानपेटिका चोरी हुने र पर्यटकहरूले पवित्र भावनाले दिएको दान समेत अपारदर्शी हुने गरेका घटना बाहिरिने गरेकोमा अहिले विभिन्न स्थानमा सिसिटिभी जडान गरेपछि दानपेटिका चोरी हुने क्रम रोकिएको छ। तर, विदेशी पर्यटकले पवित्र भावनाले चढाएका मुद्राहरू सटही नहुँदा कागजको टुक्रा सरह उपयोगविहीन भएर रहेका छन्।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार गत पुस १ गतेसम्म गणना गरिएका नेपाली १ करोड १७ लाख ९५ हजार ९६६ रुपैयाँ बराबरका विभिन्न ३९ वटा देशका मुद्रा नेपाल राष्ट्र बैंकले सटही नगर्दा यत्तिकै थन्किएका छन्।
दानबापत लुम्बिनीमा चढाइएको ३९ वटा देशका मुद्राहरू नेपाल राष्ट्र बैंकको मुद्रा सटहीसम्बन्धी नीतिको कारण साट्न नसकिएको भट्टराईले बताए।
‘यो समस्या अहिलेको मात्रै होइन यो समस्या समाधानका लागि लुम्बिनी विकास कोषले राष्ट्र बैंकलाई पटक/पटक पत्राचार गरिरहेको छ तर ठोस पहल हुन सकेको छैन,’ उनले भने।
सटही नभई वर्षौंदेखि प्लाष्टिकमा पोको पारेर राख्दा कतिपय मुद्राहरू फाट्ने र झुत्रा बन्दै गएका छन्। २०७२ साल पहिले पनि नेपालमा सटही नहुने मुद्राहरू दानपेटिकामा संकलन हुने गरे पनि ती मुद्राहरूको बारेमा भने विकास कोषमा कुनै रेकर्ड राखिएको छैन।
विकास कोषका कोषाध्यक्ष भट्टराईका अनुसार सटही नभई विकास कोषमा अहिले थन्किएका ३९ देशका मुद्राहरू २०७२ सालदेखि दानपेटिकामा संकलन हुँदै आएका हुन्।
कोषाध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकले यहाँ रहेका मुद्रा सटहीको लागि पहल गर्न सके लुम्बिनीको लागि महत्वपूर्ण स्रोत बन्न सक्ने बताए।
दानपेटिकाबाट संकलित मुद्रामध्ये सबै भन्दा धेरै म्यानमारका ‘क्याट’ रहेका छन्।
७३ लाख ४८ हजार १५८ नेपाली रुपैयाँ बराबरको ११ करोड ८० लाख ७९ हजार २५० क्याट सटही नभई यत्तिकै थन्किएको छ।
त्यस्तै ओमनको १७ लाख ७९ हजार ९६६ नेपाली रुपैयाँ बराबरको ५ हजार ३३९ ओमन रियल, ८ लाख ११ हजार ६८ नेपाली रुपैयाँ बराबरको २२ लाख ७७ हजार २३० श्रीलंकन रुपैयाँ रहेको छ।
सटही नभई थन्किएको अन्य विदेशी मुद्रामा पेरुको ६ लाख ५१ हजार ८३, भियतनामको ४ लाख ९८ हजार ३९८, इण्डोनेसियाको २ लाख ७० हजार ७४५, कम्बोडियाको १ लाख ९८ हजार ७०९, भुटानको १ लाख १ हजार ४९२ नेपाली रुपैयाँ बराबरको रहेको छ।
त्यसैगरी मंगोलिया, बंगलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, ईरान, मोरिसस, युगान्डा, इराक, माल्दिप्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताईवान, जोर्डन, लेबनान्, ब्राजिल, ईजिप्ट, बु्रनाई, सियारा लिओन, नोर्गिज क्रोनर लगायत देशका मुद्रा रहेका छन्।
नेपाल राष्ट्र बैंकले अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानडा, सिंगापुर, जापान, चीन, साउदी अरब, कतार, थाइल्याण्ड, युएई, मलेसिया, साउथ कोरिया, हङकङ, कुवेत, बहराइनलगायत २० वटा मुलुकका मात्र मुद्रा सटही गर्दै आएको छ।
नेपाल राष्ट्र बैंकमा अन्य देशका मुद्राहरू सटही गर्ने व्यवस्था नभए पनि विकास कोषले भने हरेक पटक दानपेटिकामा संकलन भएका मुद्रा गणना गर्दै राख्ने गरेको छ।
कोषका कोषाध्यक्ष भट्टराईले दानपेटिकाको रकम गणना गर्दा सटही हुने मुद्रा रकम तत्काल बैंकमा पठाइने र सटही नहुने रकमको विवरण र अभिलेख बनाइराख्ने गरिएको बताए। कोषाध्यक्ष भट्टराईले यहाँ रहेका ३९ देशका मुद्राको विनिमय नेपाल राष्ट्र बैंकमार्फत् मात्रै हुने सम्भावना रहेकोले कोषले बारम्बार पत्राचार गरे पनि राष्ट्र बैंकले चासो नदिएको बताए।
नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरका प्रधान सहायक सुवास गुप्ताले २० वटा मुलुक बाहेकका मुद्रा सटहीका लागि विकास कोषले पठाएका पत्रहरू राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पठाउने गरिएको बताए।
अर्थ मन्त्रालयमा पनि भेटीको रकम विनिमयका लागि सहकार्य र प्रयत्न गरिरहेको कोषको भनाइ छ।
राष्ट्र बैंकका अनुसार लुम्बिनी विकास कोषको अनुरोधमा राष्ट्र बैंकमार्फत् विदेशी मुद्रा कलेक्सनको लागि पठाउने व्यवस्था छ।
यसरी पठाइने मुद्राहरू सबै सटही हुने निश्चित नभएपछि पठाउन नसकिएको विकास कोषको भनाइ छ।
नेपालमा विनिमय दर नतोकिएका मुद्राहरू राष्ट्र बैंकमा जम्मा गरेर विदेशस्थित सम्बन्धित देशको बैंक खातामा पठाएर पछि कोषलाई भुक्तानी दिन सकिन्छ।