जाजरकोटमा श्रीमतीले हत्या गरी लुकाएको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ।
मंगलबार शौचालयको सेप्टिक ट्यांकीमा भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव भेटिएको हो।
उनले लगाएको कपडा, टाउकोको खप्पर र शव तानेर ट्यांकीमा फाल्न प्रयोग गरिएको डोरी भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
हत्यामा संलग्न भनिएका श्रीमती भद्रकला कामी र उनका कान्छो छोरा तुल्सीराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
श्रीमतीबाट हत्या भए पनि तीन जना छोराहरू शव लुकाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मंगलबार गोप्य सूचनाका आधारमा प्रहरीले शौचालयको सेप्टिक ट्यांकी खोलेर खोजतशव गरेको थियो। खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरी, ज्याकेट, पाइन्ट र ती मानव हड्डी भेटिएको थियो।
पाँच वर्षअघिको यो घटना दैनिकजसो हुने घरेलु हिंसाको कारण भएको देखिएको छ।
नियन्त्रणमा रहेका आमाछोराको सुरू चरणको बयानका क्रममा श्रीमानले मदिरा सेवन गरेर दिनदिनै हिंसा गर्न थालेपछि श्रीमतीले पनि आवेगमा प्रतिवाद गर्दा हत्या हुनेसम्मको घटना बन्न गएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाका अनुसार घटना भएको दिन पनि श्रीमान काले कामीले मदिरा सेवन गरेका थिए।
उनका अनुसार श्रीमान र श्रीमतीबीच दैनिकजसो झैझगडा भइरहन्थ्यो। श्रीमानले प्रायः दैनिक मदिरा खान्थे।
‘घटना भएको दिन (२०७४ पुर ३० गते) तिनै श्रीमानले वरपरका केही साथीहरू जम्मा गरेर घरमै मदिरा खान थाल्छन्, साथीभाइसँग मदिरा सेवन गरेपछि श्रीमानले ‘आज यो घरको चुल्होमा खानासाना पाक्दैन, यो मेरो घर हो, तँ ब्रता बनिस् भने ठीक हुँदैन’ भनेर गाली गर्न थाल्छन्,’ प्रहरी नियन्त्रणमा रहेका आरोपितको बयान उदृत गर्दै डिएसपी निरौलाले भने, ‘नजिकै भएका माइलो छोरा (गोविन्द विक) ले ‘किन खाना नपकाउने, आमाले यही चुल्होमा खाना पकाउँछिन्, हामी यहीँ खाने हो’ भनेछन्, त्यसबाट त्यो दिनको विवाद सुरू भएछ।’
त्यसपछि भद्रकलाका श्रीमानले छोरालाई पनि हप्काए। त्यहीक्रममा एक जना छिमेकी आएर छोरालाई बाबुसँग झगडा नगर भनेर सम्झाएर आफ्नो घरतिर लगे।
उनीसँगै मदिरा खान बसेका साथीभाइ घरबाट निस्किएपछि श्रीमती भद्रकला श्रीमानको डरले भागेर घरदेखि अलि टाढा छिमेकमा गइन्। श्रीमानले पनि जहाँ भेट्यो त्यहीँ मार्छु भनेर लाठी समातेर खोज्दै हिँडे।
केही समयपछि भद्रकला घर पुगिन्। साँझ राति भइसकेपछि श्रीमान पनि लौरो समातेरै घर आए।
‘आज म तँलाई मार्छु भनेर भनेछन्, श्रीमानले हान्नै लाग्दा श्रीमतिले त्यो लठ्ठी खोसेर श्रीमानलाई हिर्काइछिन्, संयोगले त्यो लौरो कन्चटमा लागेछ,’ निरौलाले भने।
घर दुई तलाको थियो। श्रीमानबाट खोसेर श्रीमतीले हानेको लौरोको चोटले उनी ढले। माथिल्लो तलाको छेउबाट उनी तल घरको आँगनमै खसे। श्रीमतीले रिसको झोंकमा श्रीमान खसेको ठाउँमा आएर पनि अर्को चोटि हिर्काइन्। श्रीमान बेहोस भए पनि भद्रकलाले छोराहरूको सहयोगमा उनी सुत्ने कोठामा लिएर सुताइन्।
‘यो मान्छे रक्सी खायो भने बहुलाउँछ, फेरि राति उठ्यो भने हामीलाई मार्दिन्छ भनेर श्रीमती र छोराहरू घर छोडेर छिमेकीकोमा गएर बसेछन्,’ डिएसपी निरौलाले भने, ‘छिमेकीको घरबाट उनीहरू बिहानै फर्केर आउँदाखेरी श्रीमानको मृत्यु भइसकेको रहेछ। मैले लौरोले हानेर मारेँ भन्ने थाहा पाएपछि प्रहरीले मलाई पनि पक्राउ गरेर लैजान्छ, छोराहरूको पनि बिचल्ली हुन्छ भनेर त्यो दिन शवलाई त्यतिकै कोठामै राखिछन्। भुइँमा लागेको रगत श्रीमतीले नै रूमालले पुछेर सफा गरिछन्।’
उनका अनुसार साँझ अबेर भइसकेपछि भने एउटा डोरीले शवलाई बाँधेर तीन जना छोराहरूको सहयोगमा घिसारेर घरभन्दा १० मिटर उत्तरतर्फ भएको शौचालयको सेप्टिक ट्यांकी खोलेर फालिएको थियो। त्यसमाथि माटो हालेर पुरेपछि माथि ढुंगा राखिएको थियो।
घटना भइसकेको केही समयसम्म जेठो छोरा निरज विकलाई भने घटनाको बारेमा केही थाहा हुँदैन। त्यतिबेला उनी घरमा पनि थिएनन्। उनी प्रायः सदरमुकाम खलंगामै बस्थे। निरौलाका अनुसार जेठो छोराले बाबाको बारेमा सोध्दा ‘कालापार गए होलान्, राती नै उठेर भागेर गए होलान्’ भनेर जवाफ पाउँथे।
‘पछिसम्म पनि जेठो छोराले आमालाई बाबा किन आउँदैनन् सोध्ने रहेछन्, ‘मलाई के थाहा, कालापहाड गएका, सम्पर्क पनि गरेका छैनन्’ भनेर आमाले जवाफ दिने रहिछन्,’ डिएसपी निरौलाले उनीहरूको बयान उदृत गर्दै भने।
उनले अगाडि भने, ‘पाँच वर्षसम्म पनि छिमेकीले यो कुरा थाहा पाएका रहेनछन्, गाउँतिर घरहरू टाढा-टाढा हुन्छन्, उनको त्यो घर अझ धेरै अलग रहेछ। छिमेकीले पनि कहाँ गए भनेर सोध्दा कालापहाड गएको भन्ने जवाफ पाउने रहेछन्। छिमेकीले पनि झगडा भइरहन्थ्यो, त्यही भएर भारत गएर अहिलेसम्म नफर्किएको होला भनेर सोचेछन्।’
भद्रकला र उनका छोराहरूले शव लुकाइएको सेप्टिक ट्यांकीवाला शौचालय घटना भएको केही दिनदेखि प्रयोग गर्न पनि छोडेका थिए।
उनीहरूको अर्को एउटा घर माथिल्लो भागमा छ। छिमेकीले शंका नगरून् भनेर उनीहरू सुरू/सुरूमा माथिको घरमा गएर बस्ने, बिहानदेखि बेलुकासम्म तलको घरमा गएर काम गर्ने गर्थे।
‘तलको घरमा बस्दा त्यहाँको शौचालय त किन प्रयोग गरे होलान् र गाउँतिर जंगल जाने गरे होला,’ डिएसपी निरौलाले भने, ‘पछि उनीहरूलाई गाउँलेले शंका गर्न छोडे भन्ने लाग्यो होला, सेप्टिक ट्यांकीमा शव फालेकोले डर पनि लाग्यो होला। उनीहरू सधैंका लागि माथिको घरमा सरेछन्।’
भद्रकला र काले कामीका चार जना छोराहरू छन्। प्रहरीका अनुसार जेठो छोराबाहेक अरूलाई घटनाको बारेमा थाहा थियो। उनीहरूले शव लुकाउन आमालाई सहयोगसमेत गरेका थिए।
अहिले आमासँगै पक्राउ परेका छोरा तुल्सीराम कान्छा हुन्। अर्का गोविन्द र एक जना छोराहरू सम्पर्कमा छैनन्।
‘अनुसन्धान भइरहेको छ, प्रतिवादी त उनीहरू पनि भइहाल्छन्, अनुसन्धान गर्दै जाँदा पत्ता लाग्ला’, निरौलाले भने।
पाँच वर्षअघि यो घटना भएको भद्रकलाको घर सदरमुकाम खलंगा बजारदेखि ४०–४५ मिनेटको दूरीमा पर्छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी निरौलाका अनुसार शौचालयको सेप्टिक ट्यांकी उत्खनन् गर्दा ११५ वटा मानव हड्डीहरू फेला परेका छन्।
‘त्यसबेला प्रयोग गरिएको भनिएको डोरी, एक्सपोर्ट लेखेको ज्याकेट जस्ताको तस्तै फेला परेको छ। पाइन्ट पनि फेला परेको छ,’ उनले भने।
२०७४ पुस ३० गते राती भएको यो घटना र शव सेप्टिक ट्यांकीमा भएको खबर प्रहरीलाई गर्ने व्यक्तिको बारेमा प्रहरीले गोप्य राखेको छ।
पाँच वर्षअघि पनि उनीहरूको घर नजिकैको एउटा प्रहरी चौकीमा श्रीमान–श्रीमती बीचको आपसी झगडाको बारेमा उजुरी जान्थ्यो। त्यो प्रहरी चौकीले एकपटक ‘अबदेखि झगडा नगर्ने, गरेमा कानुनबमोजिम कारबाही भोग्ने’ भन्ने श्रीमानको सहमतिमा मिलापत्र गराएर पठाइएको रेकर्ड थियो।
प्रहरीलाई आएको गोप्य सूचना र त्यही रेकर्डका आधारमा गोप्य रूपमा अनुसन्धान गरिएको डिएसपी निरौलाले बताए।