मिथिलाक कथासभ : अध्याय ६
‘मिथिलाक कथासभ’ अर्थात् मिथिलाका कथाहरूको शृंखलाअन्तर्गत हामीले अहिलेसम्म पाँचवटा स्टोरी लेख्यौं। ती पाँच स्टोरीमा हामीले मिथिला सभ्यताको सुरूआती चरणको चर्चा गर्यौं। तिरहुत राज्यको राजधानी सिमरौनगढको उदय र अन्त्यको कुरा गर्यौं। दिल्लीका मुसलमान शासक गयासुद्दिन तुगलकको आक्रमणपछि राजा हरसिंह देव कसरी सिमरौनगढ छाडेर हिँडे भनेर लेख्यौं। सिमरौनगढ छाडेर हिँडेको तिरहुत राजघराना कसरी काठमाडौं उपत्यका आइपुग्यो र कसरी काठमाडौंसँग मिथिलाको सम्बन्ध गाँसियो भनेर पनि हामीले लेख्यौं।
यहाँबाट हाम्रो कथा शृंखला अर्को चरणमा प्रवेश गर्छ। अब हामी तपाईंहरूलाई जनकपुर सहर लैजाँदैछौं, जुन सहरले आजको समयमा मिथिला सभ्यताको परिचय बोकेको छ।
...
त्रेतायुगका राम, सीता, लक्ष्मण, राजा दशरथ, राजा जनक लगायत पात्रहरूसँग सम्बन्ध राख्ने जनकपुर सहरको इतिहास हेर्ने हो भने यो सहर बनेको जम्माजम्मी तीन सय वर्ष भयो।
अब तपाईंहरू सोच्नुहोला, सीताको जन्मभूमि मानिने जनकपुर सहर बनेको जम्मा तीन सय वर्ष कसरी हुन सक्छ? यो सहरको इतिहास त हजारौं हजार वर्ष पुरानो पो हुनुपर्छ!
यसबारे चर्चा गर्नुअघि हामी तपाईंहरूलाई त्रेतायुगकालीन जनकपुर वा त्यस समयको मिथिलाको केही झलक दिन्छौं।
सीतालाई सम्झँदै यो अध्याय सुरू गरौं है त।
...
त्रेतायुगमा वैदेही राजा सीरध्वज ‘जनक’ को राज्य मिथिलामा चरम खडेरी परेको थियो।
आफ्नो राज्यलाई कुनै पनि समस्याबाट पार लगाउनु त्यहाँका राजा वा शासकको दायित्व हो। त्यो दायित्वबोधले राजा सीरध्वज जनक हरसमय खटपटिन थाल्छन्। उनी खडेरीको समस्याबाट त्राण पाउन भौंतारिँदै आफ्ना पुरोहितहरूकहाँ पुग्छन्। पुरोहितहरूले उनलाई सल्लाह दिन्छन्, ‘यो समस्याबाट मुक्ति पाउन स्वर्गका देउता इन्द्रलाई खुसी बनाउनुपर्छ। त्यसका लागि कृषियज्ञ गर्नुपर्छ।’
कृषियज्ञका लागि राजा स्वयंले खेतमा हलो जोत्नुपर्छ भनेर पुरोहितहरू सुझाउँछन्। त्यो पनि यस्तो खेतमा, जहाँ त्यसअघि कहिल्यै हलो जोतिएको थिएन।
जनक आफैं विद्वान थिए। उनी विद्वान पुरोहितहरूको खुब कदर पनि गर्थे। त्यसैले सबैको सल्लाहबमोजिम उनले उचित ठाउँ छाने र सबै पुरोहितलाई राखेर, तिथिमिथि जुराएर सुनौलो हलोले जमिन खन्न थाले।
राजा जनकले जसै हलो चलाए, उनको हलोको अग्रभाग घैलाजस्तो वस्तुमा फस्यो। त्यहाँको माटो हटाउँदै जाँदा एउटी बच्ची रोइरहेको अवस्थामा फेला पर्यो।
जनकले ती बच्चीलाई भगवानले दिएको कुनै संकेत माने र आफ्नी छोरीका रूपमा राजदरबार ल्याए।
उनको नाम राखियो, सीता।
मैथिली भाषामा हलोको अग्रभागलाई ‘सीत’ भनिन्छ। जमिनमा हलोले खन्दाखन्दै फेला परेकाले उनको नाम सीता राखिएको कथन छ। राजा जनकले आफ्नी छोरी बनाएकाले उनलाई ‘जानकी’ पनि भनिन्छ।
जब सीता ठूली भइन्, राजा जनकले एउटा संकल्प गरे, ‘जसले शिवजीको धनुष उचालेर त्यसमा ताँदो चढाउन सक्छ, उसैसँग मात्र सीताको विवाह गरिदिन्छु।’
भगवान शिवले हजारौं वर्षपहिले मिथिलामा आफ्नो शिव–धनुष छाडेका थिए। त्यो धनुष यति शक्तिशाली थियो, कसैले त्यसमा ताँदो चढाएर बाण हान्यो भने भगवानहरू समेत डरले थुरथुर हुन्थे। त्यसलाई उचालेर एक ठाउँबाट अर्को ठाउँ लग्न राजा जनकलाई नै सयौं भारदार खटाउनुपर्थ्यो।
सीतामा भने सानैदेखि एउटा विलक्षण शक्ति थियो — उनी शिवजीको शक्तिशाली धनुष सजिलै उचाल्थिन् र सरसफाइ गरेर जहाँको तहीँ राख्थिन्।
एकदिन जनकले त्यो दृश्य देखेपछि सीताको विवाह त्यही व्यक्तिसँग गरिदिने अठोट गरे, जो शिवजीको धनुषलाई सीताले जस्तै सजिलै उचाल्न सक्छ।
जब सीता विवाहका लागि परिपक्व भइन्, राजा जनकले उनको स्वयंवर आयोजना गरे। विभिन्न राज्यका राजा र राजकुमारहरू शिवजीको धनुष उठाएर सीतासँग विवाह गर्ने अभिलाषासहित मिथिला आए। अनेकौं युद्धमा आफ्नो पुरूषार्थ देखाइसकेका वीर राजा र राजकुमारहरूले शिवजीको धनुष उठाउन सजिलै होला भन्ठानेका थिए। तर जब धनुष उचाल्न उनीहरूले बल लगाए, लाख कोसिस गर्दा पनि डेग हल्लाउन सकेनन्।
उनीहरूको पुरूषार्थ सेलायो। घमन्ड चकनाचुर भयो।
स्वयंवरको खबर पाएर अयोध्याका राजकुमार रामचन्द्र पनि धनुष उठाउन मिथिला आएका थिए। उनलाई हिन्दु धर्ममा भगवान विष्णुका सातौं अवतार मानिन्छ। उनले आफ्नो नरम बोली र कमलजस्तो निलो वर्णले धनुष उठाउनुअगावै मिथिलाका सबै जनको मन जितिसकेका थिए। सीताको मन त त्योभन्दा अगाडि नै राममा अडिसकेको थियो, जब गिरिजा मन्दिरबाहिरको बगैंचामा पहिलोपटक उनीहरूका आँखा एकाकार भएका थिए।
आफ्नो मनले मनपराइसकेका रामले नै शिवजीको धनुष उठाएर ताँदो चढाऊन् भन्ने सीताको इच्छा थियो। त्यसैले जब राम धनुष उठाउन अघि सरे, सीता लुकेर उनलाई हेरिरहेकी थिइन्। जसै उनले धनुष उचाले, सीताका आँखा खुसीले चमक्क चम्किए।
रामले धनुषमा ताँदो चढाएर बाण हानेपछि त्यो बाण बिजुली गतिमा आकाशतर्फ गयो भने धनुष रामको हातमै तीन टुक्रा भयो। एउटा टुक्रा स्वर्गलोक पुग्यो। दोस्रो पाताल पुग्यो र तेस्रो मिथिलामै रह्यो।
जनकको राजसभामा उपस्थित सबै जना यस्तो अलौकिक दृश्य देखेर हेरेका हेर्यै भए।
सबैले थाहा पाए, यी रामचन्द्र भनेका अयोध्याका राजकुमार मात्र होइनन्, तीनै लोकका राजा हुन्।
त्यसपछि जनकको सर्तअनुसार राम र सीताको भव्य विवाह भयो। विवाहपछि राम आफ्नी पत्नी सीतालाई लिएर अयोध्या फर्के।
राम र सीताको विवाहपछि अयोध्यायमा के भयो, कसरी उनीहरू चौध वर्ष वनवास जानुपर्यो, कसरी सीताको हरण भयो र कसरी रामले लंकाका राजा रावणको वध गरे भन्ने विस्तृत कथा हामीले पौराणिक ग्रन्थ ‘रामायण’ मा पढिसकेका छौं। वा, नपढेका भए पनि हजारौंपटक यो कथा सुनिसकेका छौं।
त्यसैले हामी अयोध्यातिर नलागी मिथिलामै बसौं।
रामायणमा ‘सीतासहस्त्रनाम’ भनेर सीतालाई हजार नामले पुकारिएको छ। उनलाई जानकी पनि भनिन्छ भनेर हामीले माथि उल्लेख गरिसकेका छौं। त्यसबाहेक उनलाई वैदेही पनि भनिन्छ। मैथिली भनिन्छ। किशोरी, सीया, सर्वेश्वरी, सुभगा, रामा र रामप्रिया भनिन्छ। जेत्री, जगतप्रिया, मिथिलेशकुमारी, भौमी, भूमिजा, तारिणी, भव्या, हरिणी लगायत नामले पनि सम्बोधन गरिन्छ।
सीताको यति धेरै नाम कसरी रह्यो भन्नेबारे रामायणमा एउटा कथा छ।
‘अद्भुत रामायण’ किताबको २५औं अध्यायमा उल्लिखित कथाअनुसार जब राम दस टाउको भएका रावणको वध गरेर पत्नी सीता र भाइ लक्ष्मणसँग आफ्नो राज्य अयोध्या फर्किन्छन्, त्यसको केही समयपछि रावणका हजार टाउको भएका भाइले अयोध्यामा आक्रमण गर्छन्।
रावणका यी सहश्रशिरधारी भाइको तागतलाई कुनै पनि शस्त्र वा शक्तिले पार लगाउन नसकेपछि रामले हार मान्छन्।
रामको पराजय सीतालाई सह्य हुँदैन। उनी आफैं युद्धभूमिमा ओर्लन्छिन्। त्यति बेला सीता आफ्नो वास्तविक रूपमा युद्धभूमिमा आएकी हुँदिनन्। उनले उग्रमूर्ति कालीको छद्म रूप धारण गरेकी हुन्छिन्।
कालीको भीमकाय रूप धारण गरेकी सीताले हजार टाउको भएका ती दानवको सजिलै वध गर्छिन् र उनको रगत पिउँछिन्।
सीताको यस्तो रौद्ररूप देखेर राम भयभीत हुन्छन् र उनलाई शान्त पार्न हजारवटा नामको मन्त्रोच्चरण गर्न थाल्छन्। यसैबाट सीताको हजार नाम भएको थाहा हुन्छ।
सीताको भूमि अर्थात् जनकपुरलाई नै पौराणिककालको मिथिला भनेर मानिँदै आएको छ। हाम्रो धर्मशास्त्रले यही भन्छ, परम्पराले यही भन्छ। यसैमा हाम्रो विश्वास अडेको पनि छ। तर मिथिला सहर थोरै इतिहास र धेरै पौराणिक कथाहरूका आधारमा बनेको सहर हो भन्नेबारे हामीले यसै श्रृंखलाको पहिलो अध्याय ‘इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी’ मा चर्चा गरिसकेका छौं। आज चाहिँ हामी तपाईंहरूलाई पौराणिककालको मिथिला मानिने जनकपुर सहर कसरी बनेको थियो भनेर बताउनेछौं।
विदेह वंशका राजाहरूले चलाएको मानिने मिथिलाको राज्य भने राजा कृति वा करालको समयमा सकिएको थियो जो जनक वंशको चौवन्नौं राजा थिए। करालले एउटी ब्राह्मणी कन्यालाई बलात्कार गरेको आरोपमा मिथिलाका जनताले विद्रोह गरेर उनलाई जनकको पदबाट हटाएका थिए। जनक वंशको अन्त्यपछि लामो समयसम्म मिथिलामा अराजकता रह्यो। राज्य साँघुरिदै गयो। बिस्तारै कुनै प्राकृतिक प्रकोप वा युद्धका कारण राज्य नै गुमनाम भयो।
‘द हिस्ट्री अफ जनकपुरधाम’ किताब लेखेका मानवशास्त्री रिचर्ड बरघर्टले यसबीचको समयलाई जनकपुर हराएको समय, अर्थात् जनकपुरको ‘अन्धकार युग’ भनेर वर्णन गरेका छन्। उनको किताबले सन् १९७० भन्दा करिब तीन सय वर्षअगाडिको जनकपुरको इतिहासबारे मिहिन वर्णन गर्छ। उनले तीन सय वर्षअघि मात्र जनकपुर भेटिएको थियो भनेर आफ्नो किताबमा लेखेका छन्। जनकपुर हराउने र भेटिने क्रमलाई उनले ‘द डिसएपेरियन्स एन्ड रिएपेरियन्स अफ जनकपुर’ भन्ने लेखमा विस्तार लगाएका छन्।
सत्रौं शताब्दीको अन्त्यसम्म मिथिला वा जनकपुर गुमनाम थियो। त्यही भएर यो सहर कस्तो थियो, कहाँ थियो भन्ने खसखस धेरै साधुहरूलाई हुन थाल्यो। विशेषगरी रामानन्दी सम्प्रदायका हिन्दु साधुहरूलाई।
रामानन्दी सम्प्रदाय भनेको वैष्णव सम्प्रदायको रामानुजाबाट छुट्टिएको एउटा सम्प्रदाय हो, जसलाई स्वामी रामानन्दले निर्माण गरेको मानिन्छ। उनका बारेमा त्यति धेरै विवरण र तथ्यपूर्ण प्रमाण भेट्न नसकेको बरघर्ट बताउँछन्।
रामानन्दीहरूमा एउटा चेत के थियो भने उनीहरू कसैलाई जात, धर्म वा वर्णका आधारमा अपमान गर्दैनथे। उनीहरूको धारणा थियो, ‘कसैसँग उसको जात वा सम्प्रदाय नसोध्नू। जसले भगवानको भक्ति गर्छ, ऊ भगवानको हो।’
त्यही भएर रामानन्दी सम्प्रदायमा कथित अछुत, शुद्र अनि मुसलमान समुदाय पनि सामेल थिए।
रामानन्दीहरूले भक्ति गर्ने भगवान थिए, त्रेताकालीन भगवान राम। गंगा किनारमा सोह्रौं–सत्रौं शताब्दीतिर रामको पूजा र भक्ति खुब फैलिएको थियो। त्यही बेला रामानन्दी सम्प्रदायका हिन्दु साधुहरू त्रेतायुगको मिथिला सहर कहाँ छ भनेर खोज्दै हिँड्न थालेका थिए। त्रेतायुग भगवान रामचन्द्रको कोमल चरणले शुद्ध भएको उनीहरू विश्वास गर्थे।
राम आफ्नो चौधवर्षे वनवासबीच ‘चित्रकूट’ भन्ने जुन ठाउँ पुगेका थिए, त्यो ठाउँ ती साधुहरूले पहिल्यै पत्ता लगाइसकेका थिए। अहिले भारतमा पर्ने चित्रकूट सोह्रौं शताब्दीमै वैष्णव धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल बनेको थियो। राम जन्मिएको अयोध्या राज्यमा पनि ती साधुहरूले धेरैअघिदेखि भ्रमण गर्दै आएका थिए। मुगलहरूले भारतमा शासन गर्ने बेलासम्म रामानन्दी सम्प्रदायका साधुहरूले अयोध्यामा थुप्रै मठहरू बनाइसकेका थिए।
यसरी रामराज्य अयोध्या पत्ता लगाइसकेका साधुहरूले सत्रौं शताब्दीको अन्त्यसम्म पनि सीताको सहर मिथिला कहाँ हो भनेर फेला पार्न सकेका थिएनन्। वैष्णवधर्मीहरूका लागि मिथिला भनेको भक्ति र ध्यानका रूपमा मात्र सीमित थियो। त्यो ठाउँ कहाँ हो भन्ने रहस्य खुलेको थिएन।
त्यही रहस्य सुल्झाउन भारतको बद्रिनाथबाट चतुर्भुज गिरी नामका साधु मिथिला खोज्दै अहिलेको जनकपुर आइपुगे। जनकपुरका साधु, तपस्वी र पण्डितहरूका अनुसार पौराणिक जनकपुर आएका पहिलो हिन्दु साधु चतुर्भुज गिरी नै हुन्। उनलाई दसनामी सम्प्रदायका दुर्गानाथ गिरीले दिक्षा दिएका थिए, जो बद्रिनाथस्थित ज्योर्तिमठका प्रमुख थिए।
चतुर्भुज गिरी आफ्नो मन, वचन र शरीरको एकाग्रताका लागि एकान्त र शान्त ठाउँ खोज्दै उत्तरी मिथिला आएको भनाइ छ। आफ्नो यात्रा क्रममा एकदिन उनी बूढो बरगदको रूखमुनि विश्राम गर्न बसे र त्यहीँ निदाए।
सपनामा उनले भगवान रामलाई देखे।
रामले उनलाई भनेछन्, ‘तिमी जुन रूखमुनि सुतेका छौ, त्यही ठाउँमा पुरानो जनकपुर छ, जुन विदेहहरूको राजधानी थियो। मेरो विवाहपछि जब म र सीता अयोध्या जाने तयारी गरिरहेका थियौं, मैले मेरो ससुराबुवा राजा जनकलाई आफ्नै आकृति झल्किने चारवटा मूर्ति दिएको थिएँ। उहाँले छोरीसँगको विछोड त्यही मूर्ति हेरेर बिर्सिनुहोला भन्ने मैले ठानेको थिएँ। अहिले ती मूर्ति तिमी सुतिरहेको जमिनमुनि पुरिएका छन्। तिमी जमिन खनेर ती मूर्ति बाहिर निकाल र मिथिलाका मान्छेहरूलाई समर्पण गर, ताकि उनीहरू यस क्षणिक संसारबाट बाहिर आऊन्।’
जब रामका यी वाणी चतुर्भुज गिरीले सपनामा सुने, उनी खुसीले प्रसन्न भए। तर उनका वाणीको अर्थ गहिरिएर विचार गर्दा उनी निराश भए।
‘हे, भगवान! यस्तो सुनसान जंगलमा म कसरी तपाईंको सेवा गरूँ?’ उनले सपनामै रामलाई सोधे, ‘यहाँ त मजस्ता साधु एकान्त र एकाग्र खोज्दै आउँछन्। जंगलमा जे पाइन्छ त्यही खान्छन् र जहाँ निद्रा लाग्छ त्यहीँ सुत्छन्। म यहाँ तपाईंको राज्य बनाउन सक्दिनँ। न तपाईंलाई केही खुवाउन सक्छु। तपाईं भेटिनुभएको थाहा भएपछि अरू साधुहरू पनि टाढाटाढादेखि तपाईंलाई खोज्दै आउलान्। त्यो बेला मैले लज्जित भएर आफ्नो शिर झुकाउनुपर्ने हुन्छ।’
भगवान रामले उनलाई जवाफ दिए, ‘यही जंगलका फल, नपकाएको चामल वा जे पाइन्छ त्यही मलाई चढाए पुगिहाल्छ नि। मलाई तिमीले जे चढाउन सक्छौ, म त्यसैमा खुसी हुन्छु।’
भगवानको यस्तो जवाफ सुनेर चतुर्भुज गिरी प्रसन्न भए।
बिहान उठेपछि गिरीले सपनामा रामले भनेजस्तै आफू सुतेको जमिन खन्न थाले। नभन्दै उनले त्यहाँ चारवटा मूर्ति फेला पारे। ती रामकै प्रतिविम्ब भएका लक्ष्मीनारायण, शेषअवतार, दसअवतार र पञ्चअवतारका मूर्ति थिए। पञ्चअवतारमा राम, उनका तीन भाइ र सीताको प्रतिरूप हुन्छ।
त्यसपछि चतुर्भुज गिरीले त्यहीको रूखको छायामा ती मूर्ति प्रतिस्थापन गरे र त्यसको पूजाआजा गर्न थाले।
त्यति बेलै अर्का साधु सुरकिशोर दास पनि उत्तरी मिथिला आइपुगेका थिए। चतुर्भुज र सुरकिशोर एउटै समयतिर जनकपुर आएका भए पनि को पहिले आएका हुन् प्रस्ट छैन। फरक के भने, चतुर्भुज दसनामी सम्प्रदायका थिए भने सुरकिशोर रामानन्दी सम्प्रदायका। उनी पश्चिम भारतको लोहागढ शिखरमा बसोबास गर्थे। उनी सीतालाई पूजा गर्थे र आफूलाई उनको बुवाको भाइका रूपमा मान्थे। त्यस हिसाबले उनी सीतालाई आफ्नै छोरी सम्झन्थे। उनी ठान्थे, ‘सीता जवान भइसकेकी छन् र त्यही जवान सीताको सानो मूर्ति उनीसँग छ।’
सुरकिशोर दास जहाँ–जहाँ जान्थे, उनी सीताको मूर्ति साथै लग्थे। कहिले सीतालाई मन्दिरको बगैंचा घुमाउँथे र त्यहाँको फूल टिपेर माला लगाइदिन्थे। कहिले सीतालाई बजार लिएर जान्थे अनि सोध्थे, ‘सीता, के तिमीलाई मिठाइ खान मन छ?’
एक पिता जसरी आफ्ना छोराछोरीका इच्छा पूरा गर्न अघि सर्छन्, सुरकिशोर पनि त्यसरी नै सीताको रेखदेखमा अघि सर्थे।
सीताका लागि यति धेरै गर्दा पनि सुरकिशोर आफ्नो भक्तिप्रति त्यति प्रसन्न थिएनन्। उनलाई जहिल्यै लाग्थ्यो, ‘मैले सीतालाई उनका बुवा जनकले जसरी सेवा गर्न सकेको छैन।’
उनलाई यो पनि लाग्थ्यो, ‘सीतालाई उनको बुवाले जस्तै सेवा गर्ने हो भने म उनकै सहर जनकपुर जानुपर्छ।’
तर त्यो जनकपुर कहाँ छ भन्ने त्यति बेलासम्म पत्ता लागेको थिएन। त्यही भएर उनी बेलाबेला आफैंसँग मुर्मुरिन्थे, ‘पौराणिककालको जनकपुर कहाँ छ भनेर म कसरी पत्ता लगाऊँ?’
एकदिन उनले सीताको मूर्तिअगाडि उभिएर चर्को स्वरमा सोधेछन्, ‘सीता, तिम्रो राजधानी कहाँ छ?’
मूर्तिका रूपमा रहेकी सीताले उनलाई जवाफ दिइछन्, ‘बुवा, तपाईं मलाई यहीँ छाडिदिनुस्। अनि हिमाल, गंगा, कोशी र गण्डकी नदीले घेरिएको सहरमा जानुहोस्। जुन ठाउँमा तपाईं मलाई भेट्नुहुनेछ, त्यहीँ तपाईंका सबै असन्तुष्टि पूरा हुनेछन्। तपाईंले त्यही ठाउँमा मलाई पाउनुहुनेछ। त्यहीँ नै मेरो बुवा जनकको राज्य भएको ठाउँ हुनेछ।’
यसै त सीताको परमभक्तिमा उनलाई आफ्नै छोरी मानिसकेका सुरकिशोरले यो कुरा नमान्ने कुरै थिएन। उनी सीताको मूर्ति लोहागढ शिखरको आफ्नै निवासमा छाडेर उत्तरी मिथिलातिर लम्के। घामपानी, झरीबर्खा केही नभनी निरन्तर आफ्नो यात्रामा हिँडिरहे।
हिँड्दा–हिँड्दै थकाइ लागेर एकदिन उनी निमको रूखमा आराम गर्न बसेका थिए। आँखा चिम्म गरेर विश्राम गरेका सुरकिशोरले केही बेरपछि आँखा उघारेका मात्र के थिए, उनले घरमै छाडेर आएको सीताको मूर्ति त्यही ठाउँमा देखे।
यसबाट सुरकिशोरले के थाहा पाए भने सीताको जुन जन्मभूमिको खोजीमा उनले यात्रा गरिरहेका छन्, त्यो ठाउँ यही हो — सीताको जनकपुर यही हो।
जनकपुर पत्ता लगाएपछि उनले त्यहीँनजिक सानो खरको झुपडी बनाए र आफ्नी छोरी सीताका नाममा भक्ति गीतहरू गाउन थाले।
‘श्री मिथिला विलास’ नामक किताबमा एउटा यस्तै भक्ति गीत छ, जसमा सुरकिशोर दासले भगवान शिवको धनुष पनि पत्ता लगाएको वर्णन गरिएको छ।
जनकपुरधामबाट उत्तरतिर करिब १२ माइल टाढा धनुषा गाउँमा काला पत्थरहरू रहेको भू–भाग छ। पौराणिककालमा भगवान रामले सीतासँग विवाह गर्नुअघि शिवजीको धनुष चलाउँदा त्यो धनुष तीन टुक्रा भई तीनवटा लोकमा खसेको थियो। जुन टुक्रा पाताल लोकमा खस्यो, त्यो यही ठाउँ भएको वैष्णवधर्मीहरू मान्छन्। त्यही धनुषको नामबाट यो ठाउँलाई धनुषाधाम भनिएको विश्वास गरिन्छ।
यो ठाउँलाई सुरकिशोर दासकै चेलाहरूले सुरक्षा दिइरहेको जनविश्वास छ। धनुषाधाममा प्रचलित जनकपुरका कथाहरू संकलन गर्ने क्रममा हामीले ६२ वर्षीय पुजारी भरत दासलाई भेटेका थियौं। उनका अनुसार रामले भाँचेको धनुषको दाहिने भाग उडेर आकाशतिर गएको थियो, जुन अहिले भारतमा पर्ने रामेश्वरमको समुद्रमा तैरिइरहेको भेटिन्छ। त्यही भएर धनुषाधाम दर्शन गर्न नसक्नेहरूले रामेश्वरमको दर्शन गर्दा यहाँ आएजत्तिकै धर्म कमाउने उनको भनाइ छ।
‘देब्रे भागको टुक्रा पातालमा खस्यो। जनकपुरमा धनुषसागर भन्ने पोखरी छ, त्यो टुक्रा यही पोखरीमा खसेको मानिन्छ। धनुषको बीचको टुक्रा भने धनुषाधाममै छ,’ नजिकै रहेको पिपलको रूख देखाउँदै पुजारी भरत दासले हामीसँग भने, ‘यो पूरै पिपलको रूख नै धनुषको टुक्रा माथि छ। पहिले यो कालो पत्थरजस्तो देखिने सानो धनुष आकारको थियो। अहिले यसको आकार बढ्दै गएको छ। आकार बढ्ने क्रममा रहेकाले यसमा कंक्रिटको मन्दिर नबनाएर घेरा मात्र लगाएर राखिएको छ।’
उनका अनुसार धनुषको आकार जति–जति बढ्दै गएको छ, त्यति–त्यति भारतको मथुरामा रहेको गोवर्द्धन पर्वतको आकार घट्दै गएको छ।
‘पहिले धनुषाधाममा धनुषको सानो टुक्रा थियो, अहिले कोठाभरि हुन लागिसक्यो। भनिन्छ, यहाँको धनुषले पछि पूर्ण आकार लिनेछ। त्यसो भयो भने यो पृथ्वीको विनाश हुन्छ र कलियुग सकिन्छ भन्ने जनविश्वास छ,’ भरतले भने।
उनले आगाडि भने, ‘रूद्राक्षको रूप जस्तो हुन्छ, यो धनुष त्यस्तै रूपमा छ। ढुंगा भनौं भने गेरू रङको छ। फलाम भनौं भने चुम्बकले समात्दैन। कुनै बेला पहाड विस्फोट भयो र त्यसैको लाभा हो भनौं भने नजिकै कतै पहाड पनि छैन।’
यसरी समयसँगै बढ्दै गएको रहस्यमयी पत्थरबारे पुरातत्व विभागले अहिलेसम्म चासो नदेखाएको उनी बताउँछन्।
धनुषरूपी पत्थरको छेवैमा काठमाडौंको गुह्येश्वरी मन्दिरमा जस्तै सानो कुण्ड छ, जसलाई पाताल गंगा भनिन्छ। यस कुण्डमा पानीको तह कति छ, त्यसैअनुसार नजिकका खेतालाहरूले खेतीपाती कस्तो हुन्छ भन्ने आकलन गर्ने चलन छ।
‘यो कुण्डको पानी जति माथि हुन्छ, उति शुभ मानिन्छ। जति तल जान्छ, उति अशुभ र खेती राम्रो हुन्न भन्ने मान्यता छ,’ उनले भने।
चतुर्भुज गिरी र सुरकिशोर दासले जनकपुर पत्ता लगाएपछि भरत दासजस्ता थुप्रै साधु मिथिला भेटियो भन्दै यतातिर आएको देखिन्छ। उनीहरू ती दुई साधुले फेला पारेको मूर्ति खोज्दै यहाँ आएका थिए।
त्यसरी आएका साधुमा जनकपुर पुनर्स्थापना गर्न मद्दत पुर्याउने अर्का साधु हुन् प्रितम दास, जो रामानन्दी सम्प्रदायकै हुन्। उनी गोरखपुरमा रहेको मौर्य रामपुर मठबाट आएका थिए। उनले गंगाको तीर्थयात्राका लागि त्यो मठ छाडेका थिए।
एकबिहान उनी गंगा नदी किनारमा स्नान गर्दै थिए। नदीबाट निस्कँदा उनको हातले केही साह्रो र चिल्लोपदार्थ छोयो। बिहानीको मधुर प्रकाशमा छामछुम गर्दा उनले त्यहाँ एउटा ठूलो ढुंगा भएको महसुस गरे। तर उनले त्यति वास्ता गरेनन्। उनी आफ्नो नित्यकर्म सकेर घर फर्के।
त्यो दिन त्यसै बित्यो।
राति सपनामा उनले हनुमानलाई देखे। हनुमानले उनलाई भने, ‘तिमीले मलाई गंगा किनारमा फेला पारेका थियौं। तर तिमीले वास्ता गरेनौं। तिमी मलाई उत्खनन गर अनि मेरो पूजा गर। म प्रसन्न हुनेछु।’
प्रितम दास झसंग भएर ब्युँझे। उनले सपनाको संकेत बुझे। अघिल्लो दिन आफूले बेवास्ता गरेर छाडेको ढुंगा त हनुमान पो रहेछन् भनेर थाहा पाए।
उनी अर्को दिन बिहानै गंगा किनार गए र आफूले ठूलो ढुंगाजस्तो वस्तु फेला पारेको ठाउँमा खोस्रन थाले।
त्यहाँ हनुमानको मूर्ति फेला पर्यो।
त्यो मूर्तिलाई नदीबाट बाहिर ल्याएपछि उनले गोरूगाडामा राखेर उत्तरी मिथिलाको जनकपुरधाम ल्याउन खोजे। त्यो मूर्तिको सम्बन्ध सीताको जन्मभूमि र रामचन्द्र र सीताको विवाह भएको ठाउँसँग हुनुपर्छ भन्ने उनको विश्वास थियो। त्यसैले हनुमानका लागि उत्तम ठाउँ त्यही हो भन्ने उनलाई लाग्यो।
प्रितम दासले धेरै साता लगाएर हनुमानको मूर्तिलाई गोरूगाडामा जनकपुरधामनजिक ल्याइपुर्याए।
जब उनी आफ्नो गन्तव्यबाट केही कोस मात्र नजिक थिए, गोरूगाडा टक्क रोकियो। प्रितम दासले जति जोड लगाउँदा पनि त्यसलाई अगाडि तान्न सकेनन्। त्यसपछि उनले गोरूलाई गाडाबाट अलग गरे र गाडा मात्रै तान्न खोजे। तैपनि गाडा डेग हल्लिएन। तब उनलाई लाग्यो, सायद भगवान हनुमानले यही ठाउँमा बस्न चाहेका हुन्!
उनले हनुमानको मूर्ति गाडाबाट झिके र त्यहीँ सानो मन्दिर बनाएर मूर्ति प्रतिस्थापन गरे। त्यो ठाउँलाई अहिले ‘हनुमानगढी’ भनिन्छ।
प्रितम दासले हनुमानको मूर्ति फेला पारूञ्जेल रामानन्दी र रामानुजा सम्प्रदायका अरू साधुहरूले राजा जनकले सुनौलो हलो प्रयोग गरेर जमिन खनेको र त्यसैको गर्भबाट सीता फेला परेको ठाउँ पत्ता लगाइसकेका थिए।
स्थानीयका अनुसार सीता जन्मिएको ठाउँ ‘सीतामढी’ हो, जुन जनकपुरधामबाट दक्षिण–पश्चिमतर्फ ३२ माइल टाढा छ। यो अहिले भारतमा पर्छ। त्यहाँ धेरै साधुले आफ्नो कुटी बनाएका छन्।
जनकपुरलाई सीता वा जानकी भूमि भनिन्छ भनेर हामीले माथि भनिसक्यौं। यो भूमि कसरी सीताको भयो भन्नेबारे एकछिन चर्चा गरौं।
संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरीका अनुसार सीताका पति रामले धार्मिक रूपमा देउताको दर्जा पाएको रामानन्द सम्प्रदाय विकास भएपछि सोह्रौं शताब्दीतिर मात्र हो। रामलाई देउताका रूपमा स्वीकृत गरिएपछि उनलाई विष्णुको अवतारगणमा सामेल गरियो। त्यसपछि बल्ल उनको गाथा व्यापक रूपमा प्रचार हुन थाल्यो।
‘वैदहहरूमा तीनवटा प्रमुख देउता थिए– ब्रह्मा, विष्णु र महेश्वर। उनीहरूभन्दा अगाडि एउटै मात्र देउता थिए, इन्द्र। यस हिसाबले सबभन्दा ठूलो देउता इन्द्र भए। तर जति बेला सत्तामा रामानन्दीहरू आए, उनीहरूका देउता प्रमुख भए र अरू देउतालाई तल झार्ने काम भयो,’ जनकपुरीले भने, ‘त्यसपछि जो–जो आए उनीहरूले आ–आफ्नो देउतालाई नै प्रमुख बनाउँदै माथिल्लो स्थानमा राख्न थाले। त्यस हिसाबमा कृष्ण पनि विष्णुकै अवतार, परशुराम पनि विष्णुकै अवतार भए। अनि बल्ल राम त्यसमा सामेल हुन पुगे।’
रामानन्दी सम्प्रदायभित्र अर्को एउटा शाखा पनि छ, जसलाई रसिक सम्प्रदाय भनिन्छ। उनीहरूले रामलाई भन्दा बढी सीतालाई प्राथमिकता दिएका छन्।
‘कृष्ण मान्नेहरूको ‘राधा बल्लभ’ भन्ने एउटा सम्प्रदाय छ। ती सम्प्रदायका मान्छेले मान्न त कृष्णलाई माने तर राधालाई प्रमुख बनाए। उनीहरूले ‘राधे–राधे’, ‘जय राधे’ जस्ता शब्द बढी भन्न थाले। रामानन्दी सम्प्रदायमा पनि एउटा धारा विकसित भयो, जसले रामलाई भन्दा सीतालाई प्रमुख बनायो। त्यही भएर यहाँको गीतमा पनि ‘जय सीयाराम’ भनेर सीतालाई अगाडि राखिएको देख्न सकिन्छ,’ जनकपुरीले भने।
रसिक सम्प्रदायको एउटा चलन के छ भने उनीहरू भगवानलाई बुवा, आमा, छोरी, छोरा वा साथी मान्छन्। त्यसैले जनकपुरमा सीतालाई कसैले दिदी मान्छन्, कसैले मौसी, कसैले ठूलीआमा, कसैले सानीआमा। रामलाई भने ज्वाइँ मान्ने चलन छ। यस्तो भावलाई साख्य भाव भनिन्छ। रसिक सम्प्रदायभित्रको यस्तै एउटा शाखा छ जसलाई सखी सम्प्रदाय भनिन्छ। झन् सुरकिशोर दास त सीतालाई आफ्नी छोरी मान्थे। त्यही हिसाबमा छोरीको राज्य खोज्दै उनी मिथिला आएका थिए।
पछिल्लो समय भारतको बढ्दो राजनीतिक प्रभावले जनकपुरमा सीताभन्दा बढी रामलाई प्राथमिकता दिन थालिएको छ। जनकपुरको सहिदद्वारमा सहिदहरूको स्मारकभन्दा माथि बडेमानको धनुष आकारको प्रतिविम्ब राखिनु, सरकारीदेखि निजी भवनमा राम र हनुमानका चिह्न अनि चित्रहरू राखिनु भारतको राजनीतिक प्रभावकै उपज भएको जनकपुरी बताउँछन्।
‘बौद्धकालमा भारतको अयोध्याको नाम साकेत थियो। भारतमा मौर्य शासनको अन्त्यपछि पुष्यमित्र नामक राजाले आफ्नो शासनकेन्द्र पाटलीपुत्रबाट साकेतमा सारेर त्यसलाई अयोध्या नामाकरण गरेका थिए। त्यसैले अयोध्या कहाँ हो भन्ने विवाद उत्पन्न भएपछि वैष्णवधर्मीहरूले रामलाई अगाडि सारेका थिए,’ जनकपुरीले भने, ‘अयोध्यामा पनि पहिले जनकपुरमा जस्तै ‘जय सीयाराम’ भनिन्थ्यो। अहिले सीयालाई बदलेर ‘जय श्रीराम’ भन्न थालिएको छ। भारतको राजनीतिक प्रभावकै कारण राम केन्द्रमा आए, सीता भने राजनीतिक एजेन्डाभित्र परिनन् र उनको प्रभाव घट्दै गयो।’
सुरूआती चरणमा भने जनकपुरमा सीता–राम र पछिपछि हनुमानका मन्दिर बन्न थालेका हुन्। मिथिलालाई पूर्वमा मिथिलेश्वर, पश्चिममा जलेश्वर, उत्तरमा क्षीरेश्वर र दक्षिणमा कल्याणेश्वर गरेर चारैतिर शिव मन्दिरले घेरिएको छ। त्यसो हुनुमा पनि धर्मको राजनीति बढ्ता हाबी देखिने जनकपुरी बताउँछन्।
सातौं वा आठौं शताब्दीमा गुरू शंकराचार्यले हिन्दु धर्मको पुनरूत्थान गरेका थिए। उनले त्यो समय बढ्दै गएको बुद्ध धर्मको प्रभाव हटाउन शैव संन्यासीहरू खडा गरेका थिए। उनीहरूले शस्त्र (त्रिशूल) र शास्त्रको बलमा बौद्ध धर्म विस्थापित गर्न खोजे। जुन राज्यमा बौद्ध धर्म छाडेर शैव धर्म स्वीकार गरियो, ती ठाउँमा शिवका मन्दिरहरू स्थापना गरिएको पाइन्छ। जुन ठाउँ शैव धर्म स्वीकार गरिएन, त्यहाँ पनि बलपूर्वक शैव धर्म स्थापना गरिएको जनकपुरीको भनाइ छ।
‘त्यस्तो द्वन्द्व क्रममा कतिपय ठाउँमा जमिन्दार, राजाहरूले डराएर शंकराचार्य आउनुभन्दा अगाडि नै शिव मन्दिर बनाइसकेका हुन्थे,’ उनले भने, ‘मिथिलाको चारैतिर शिव मन्दिर हुनुको एउटा कारण यो पनि हो।’
संस्कृति अध्येता रोशन जनकपुरीका अनुसार जब शैवहरूले अयोध्या कब्जा गरे, उनीहरूले वैष्णवीहरूलाई धपाएका थिए। तर रामानन्दीहरू फेरि एक ठाउँ जम्मा भएर योजना बनाए र लडाइँ गरेर शैवहरूलाई त्यहाँबाट धपाए।
मानवशास्त्री बरघर्टले आफ्नो किताब ‘द हिस्ट्री अफ जनकपुरधाम’ मा पनि रामानन्दी र शैवको उप–सम्प्रदाय दसनामीहरूबीच जनकपुरमा आधिपत्य जमाउन अठारौं शताब्दीको अन्त्यतिर ठूलो युद्ध भएको उल्लेख गरेका छन्। बरघर्टका अनुसार उनीहरूबीच धार्मिक स्थल र धार्मिक केन्द्रहरूको नियन्त्रणमा प्रतिस्पर्धा हुन थालेपछि युद्ध सुरू भएको थियो।
‘अठारौं शताब्दीको पूर्वार्द्धमा दसनामी संन्यासीहरूले भगवान रामको जन्मदिनको अवसर पारेर अयोध्या कब्जा गरेका थिए। उनीहरूले त्यस बेला वैष्णवधर्मी रामानन्दीहरूलाई उनीहरूको भगवानको जन्मस्थलबाट धपाएका थिए। त्यो घटनापछि वैष्णव सम्प्रदायका प्रमुखहरूले जयपुरमा एउटा सम्मेलन गरे, जसमा संन्यासीहरूले आफूलाई लडाकू बनाए,’ बरघर्टले किताबमा लेखेका छन्, ‘दसनामी लडाकू संन्यासीहरूले सन् १७६० मा हरिद्वार पनि कब्जा गरेका थिए, जसलाई पछि रामानन्दीहरूले पुनः आफ्नो धार्मिक स्थलका रूपमा फिर्ता ल्याए। सन् १७८९ मा गोदावरी नदीको काशी संगममा नुहाउने अधिकारका लागि युद्ध हुँदा १२ सय संन्यासीहरूले ज्यान गुमाएका थिए।’
जनकपुरमा पनि आफ्नो आधिपत्य जमाउन दसनामी र रामानन्दीबीच युद्ध भएको उल्लेख गर्दै बरघर्टले लेखेका छन्, ‘अठारौं शताब्दीको अन्त्यतिर जनकपुरका लागि युद्ध भएको थियो, जसमा १९ जना संन्यासीले ज्यान गुमाएका थिए। हनुमान मन्दिरको उत्तरमा पर्ने राम मन्दिरमा बनाइएका समाधिमा तिनै मृत संन्यासी गाडिएको भनाइ छ।’
रामानन्दीहरूले वैष्णवीलाई दबाएर आफ्नो आधिपत्य जमाएपछि उनीहरूले रामायणमा लेखिएका स्थान खोज्दै जाँदा रामराज्य अयोध्यापछि मिथिला भेटेका थिए।
जनकपुरमा रहेका पण्डित र साधु–संन्यासीहरू पौराणिक जनकपुर पत्ता लगाउन सुरूआती चरणमा आएका चतुर्भुज गिरी र सुरकिशोर दासको प्रमुख हात भएको बताउँछन्। उनीहरू हराइसकेको जनकपुर राम र सीताको कृपाले कलियुगमा फेला परेको मान्छन्। तर धर्मको परिवर्तित शक्ति–सम्बन्ध हेर्ने हो भने जनकपुर कसरी खोजियो र फेला पर्यो भन्ने कुरा झनै स्पष्ट हुन्छ।
जनकपुर तीन सय वर्षअघि भेटियो भन्दैमा जनकपुरको इतिहास तीन सय वर्षमा मात्र सीमित होला त? के यसको त्रेतायुगका कथाहरूसँग कुनै सम्बन्ध छैन?
रोशन जनकपुरी भन्छन्, ‘वैष्णव हिन्दुहरूको निम्ति यो प्रश्नको कुनै अर्थ छैन। उनीहरू जनकपुर सीताको जन्मभूमि भएकाले यसको अस्तित्व राम र सीताको जन्मदेखि नै थियो भन्ने मान्छन्। जनक, सीता, राम लगायत पात्रको उपस्थिति पौराणिक ग्रन्थ र महाकाव्यमा बाहेक हामीसँग उपलब्ध कुनै ऐतिहासिक प्रमाणमा छैन। तर हिन्दुधर्मीहरूका निम्ति ऐतिहासिक प्रमाणले कुनै अर्थ राख्दैन, विश्वास मात्र भए पुग्छ।’
उनले उदाहरण दिँदै भने, ‘बौद्ध जातक कथाहरूमा रामका पिता दशरथलाई काशीको राजा भनिएको छ। यसैगरी राम र सीताबारे जातकहरूमा फरक कथा भनिएका छन्। तसर्थ, यस्ता मिथक पात्रको ऐतिहासिकता सिद्ध गर्न कठिन छ।’
पौराणिक कथाहरूमा त्यति धेरै ऐतिहासिकता नभेटिए पनि जनकपुर प्राचीन सहर भएकोमा कुनै दुबिधा नरहेको जनकपुरी बताउँछन्।
‘केही वर्षपहिले जनकपुरमा कालो पत्थरका मूर्तिहरू भेटिएका थिए। महदैयामा पाइएका प्राचीन सिक्का र जनकपुर वरिपरि कालो चिल्लो शिवलिंग भएका महादेवका मन्दिरहरू छन्। यसले यो सहर प्राचीन भएको संकेत गर्छ,’ उनले भने, ‘जनकपुरको जति पुरातात्विक खोज र ऐतिहासिक अनुसन्धान हुनुपर्ने हो, त्यो चाहिँ हुन सकेको छैन।’
आधुनिक जनकपुरको इतिहास भने दुई साधुहरू चतुर्भुज गिरी र सुरकिशोर दास आउनुभन्दा पुरानो भएको जनकपुरीको अनुमान छ। कम्तिमा यो सहर बाह्रौं शताब्दीतिरै चर्चामा आएको हुनसक्ने उनी बताउँछन्। तर एघारौं शताब्दीमा मिथिला क्षेत्रमै पर्ने सिमरौनगढमा कर्नाटवंशी शासन चल्दा जनकपुरको चर्चा दस्तावेजहरूमा पाइएको छैन।
‘यसबाट के स्थापित हुन्छ भने जनकपुर पहिले कुनै अन्य नामबाट परिचित थियो। वा, यो सहर कर्नाटवंशी शासनमै जनकवंशको नगरीका रूपमा प्रसिद्ध हुन थाल्यो र यहाँ मेला लाग्न सुरू भयो,’ रोशन जनकपुरीले भने, ‘यो राज्य मिथिलाका रूपमा प्रसिद्ध भएपछि नै रामानन्दी सम्प्रदायका साधुहरू मिथिलाको खोजीमा जनकपुर आउन थालेको देखिन्छ।’
‘जनकपुरबारे एउटा तथ्य के हो भने, सीताको जन्मभूमि मिथिला र रामनवमीमा भव्य मेला लाग्ने भएकाले जनकपुरमा बस्तीको विकास हुन थाल्यो।’
...
जनकपुर कति पुरानो सहर हो भन्ने पुरातात्विक अन्वेषणको पाटो हो। तर ‘मिथिलाक कथासभ’ को जनकपुर अध्यायका धेरै कथाहरू जनक, सीता र रामको त्रेताकालीन जनकपुर अनि चतुर्भुज गिरी र सुरकिशोर दासले तीन सय वर्षअघि फेला पारेको जनकपुरको सेरोफेरोमै घुम्ने छन्। यसबारे हामी आगामी अध्यायहरूमा चर्चा गरौंला।
मंगलबार सातौं अध्यायमा भने हामी जानकी मन्दिर र राम मन्दिरको कथा भन्नेछौं। यो अध्यायले चतुर्भुज गिरी र सुरकिशोर दासले जनकपुर पत्ता लगाएपछि यहाँ के भयो भन्ने कथालाई पनि निरन्तरता दिनेछ।
यी पनि पढ्नुहोस्: