लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने भनिएको रामकथा प्रवचनको केही संस्थाले विरोध गरेका छन्।
यो कार्यक्रम माघ २१ देखि २९ सम्म हुने भनिएको थियो। विरोधको संकेत पाएपछि आयोजकले तीन दिन पछाडि सारेर माघ २४ देखि फागुन ३ सम्म गर्ने भनेको छ।
नेपाल र भारतका दुई हजारभन्दा बढी सहभागी रहने उक्त कार्यक्रम लुम्बिनीमा गर्न नहुने भन्दै केही संस्थाले विरोध गरिरहेका छन्।
सोमबार बिहानैदेखि विभिन्न स्थानबाट ब्यानरसहित लुम्बिनी पुगेको टोलीले प्रदर्शन गरिरहँदा स्थानीय भने त्यसको विरोधमा ओर्लेका थिए। यसले केही बेर तनावको स्थिति सिर्जना भएको थियो। प्रहरीले तनाव तत्काल नियन्त्रणमा लिएको थियो।
लुम्बिनी विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यले रामकथा प्रेमयज्ञ समितिको आयोजनामा भारतीय सन्त मोरारी बापूको प्रवचनका लागि ध्यान केन्द्रको सभाहल प्रयोग गर्न अनुमति दिइएको बताए।
‘हामीले बौद्ध दर्शन र परम्पराविपरीत नहुने गरी पवित्र उद्यानबाहिर लुम्बिनी सांस्कृतिक केन्द्रमा रहेको सभाहल प्रयोग गर्न अनुमति दिएका हौं,' उनले भने, 'कोभिडले थला परेको पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमलाई समझदारीका आधारमा सहमति दिइएको हो।’
विकास कोषले यस सम्बन्धमा केही दिनअघि लुम्बिनी आएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग छलफल गरेको थियो। कोषका अध्यक्षसमेत रहेका मन्त्री किराँती सकारात्मक रहेकाले आयोजकलाई सहमति दिइएको कोषले जनाएको छ।
लुम्बिनी विकास कोषले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध जन्मस्थल लुम्बिनी, विश्व सम्पदा स्थल तथा बौद्ध आस्थामा ठेस नपुर्याई कार्यक्रम गरिने भएकाले अनुमति दिइएको स्पष्ट पारेको थियो।
लुम्बिनीमा निर्माण भएको हलमा कसैले बुद्ध र लुम्बिनीलाई श्रद्धा राख्दै बौद्ध आस्थामा ठेस नपुर्याई गतिविधि गर्न चाहन्छन् भने आपत्ति गर्नु हुँदैन भन्ने बौद्ध विद्वानहरूको सुझाव स्मरण गरेर अनुमति दिइएको सदस्य-सचिव शाक्यले जारी गरेको विज्ञप्तिमा छ।
केही संस्थाले भने उक्त कार्यक्रममा अवरोध गर्न खोजेपछि स्थानीय समुदायले विरोध गरेको स्थानीय रामकृष्ण यादवले बताए।
रामकथाका लागि आउन लागेका मोरारी बापुको प्रवचन पछिल्लो डेढ वर्षमा तेस्रोपटक आयोजना गरिएको हो। यसअघि सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा गरिएको थियो। काठमाडौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत भइसकेको छ।
लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै विश्व शान्तिको कामना गर्दै ९१२ वटा बिरूवा लगाउने कार्यक्रम तय गरिएको छ। रामकथा सुन्न भारतबाट दुई हजारभन्दा बढी भक्तजन आउने आयोजकले जनाएको छ। यसका लागि लुम्बिनीका धेरै होटल बुकिङ भइसकेका छन्।