श्रीमतीको हत्या आरोपमा रोल्पाका एक व्यक्ति दाङबाट पक्राउ परेका छन्।
आफ्नी ४४ वर्षीया श्रीमती गोबिना बुढाथोकीको हत्या आरोपमा रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं. ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ को मलार खोलामा गोबिनाको शव सोमबार बिहान फेला परेको थियो।
बिहान सात बजेतिर कीर्तिमान आफैं जिल्ला प्रहरी कार्यालय घोराही पुगेका थिए। उनले प्रहरीसमक्ष श्रीमती गोबिना पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा खोलामा एकाएक ढलेर मृत्यु भएको बयान दिएका थिए।
घटनास्थल पुगेपछि मृतकको टाउकोमा घाउखत देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशंका गर्दै अनुसन्धान अगाडि बढाएको थियो।
सोधपुछको क्रममा कीर्तिमानले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रवक्ता गौतमले सेतोपाटीलाई बताए।
‘सुरूमा अभियुक्तले आफ्नी श्रीमती पहिलेदेखि नै मुटु रोगी भएको र आफूहरू पैदल हिँडिरहेको समयमा एकाएक खोलामा लड्दा ढुंगाले टाउकोमा चोट लागेको बयान दिएका थिए,’ गौतमले भने, ‘तर, एकपछि अर्को प्रश्न सोधेपछि सत्य तथ्य उजागर भएको हो।’
उनीहरू घोराही–१९ दुई खोली क्षेत्रमा रहेको एउटा खोली गोठमा बस्दै आएका थिए। श्रीमान मिस्त्रीको काम गर्थे भने श्रीमती पनि लेबरको काम गर्थिन्।
उनीहरू सडकमा काम गर्दै आएका थिए। काम सकेर घर जाने क्रममा दुवैले मदिरा सेवन गरेका थिए। आइतबार बेलुका साढे ७ बजेतिर उनीहरू मलार खोला मात्र के आइपुगेका थिए उनीहरूबीचमा भनाभन भयो। उनीहरू हात हालाहालको अवस्थामा समेत पुगे। त्यही बीचमा श्रीमानले खोलाको ढुंगा टिपेर श्रीमतीको टाउकोमा प्रहार गरेपछि श्रीमती खोलामै लडेको बयान आरोपीले दिएको डिएसपी गौतमले जानकारी दिए।
उनीहरूबीच पहला पनि झगडा हुने गरेको अनुसन्धान क्रममा खुलेको प्रहरीले जनाएको छ।
डिएसपी गौतमले भने, ‘कीर्तिमानले श्रीमतीको व्यवहारबारे माइती पक्षलाई समेत अवगत गराउँदै आएको कुरा पनि खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।’
सँगै हिँडिरहँदा श्रीमतीले मनपरी गालीगलौज गर्दै कुटपिटमा उत्रिएको र सम्झाउँदा पनि नमानेपछि आवेगमा आएर आफूले ढुंगाले टाउकोमा प्रहार गरेको बयान कीर्तिमानले दिएका छन्।
‘तँ घरमा छोरा बुहारीसँग बस म आफैं काम गरी कमाउँछु भन्दा पनि नमान्ने र मसँग सधैं किचकिच मात्रै गरिरहन्थी,’ कीर्तिमानको भनाइ उद्धृत गर्दै डिएसपी गौतमले भने, ‘त्यो दिन पनि धेरै किचकिच गरी र हात हालेपछि म आवेगमा आएर ढुंगा प्रहार गरेपछि ऊ लडेकी हो।’
प्रहरी हिरासतमा रहेका कीर्तिमानविरूद्ध जिल्ला अदालतबाट सोमबार नै पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति पाएको डिएसपी गौतमले जानकारी दिए।