मिथिलाक कथासभ : अध्याय ७
जनकपुर जानु अनि जानकी मन्दिर नजानु!
‘मिथिलाक कथासभ’ शृंखलाअन्तर्गत जनकपुरका कथा खोज्ने क्रममा हामी हरेक दिनजसो जानकी मन्दिर पुगेकै हुन्थ्यौं। रिपोर्टिङ सकेर होस् वा एकाबिहानै घुम्न, हाम्रो गन्तव्य जानकी मन्दिर नै हुन्थ्यो।
जनकपुरको मात्र होइन, यो देशकै एक प्रसिद्ध मन्दिर हो। धार्मिक कारणले र आफ्नो कलात्मक शैलीका कारण पनि यो मन्दिर धेरैको आकर्षण केन्द्र बन्दै आएको छ। मन्दिरको कलात्मक भवनलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्नेहरू यहाँ हरसमय भेटिन्छन्।
जानकी मन्दिरकै समकालीन राम मन्दिर भने त्यति प्रख्यात छैन। मान्छेको घुँइचो पनि त्यति लाग्दैन। तस्बिर खिच्नेहरू कमै आउँछन्।
प्रसिद्धिमा फरक भए पनि यी दुवै मन्दिरको आ–आफ्नै विशेषता छ।
आजको अध्यायमा हामी यी दुई मन्दिरबारे चर्चा गर्दैछौं, जुन जनकपुर पत्ता लागेपछि बनेका सुरूआती मन्दिरहरू हुन्।
मन्दिरको कथामा प्रवेश गर्नुअघि हामी तपाईंहरूलाई एकचोटि अघिल्लो अध्यायमा फर्काउन चाहन्छौं। अघिल्लो अध्यायमा हामीले दुई जना साधु चतुर्भुज गिरी र सुरकिशोर दासले कसरी जनकपुर पत्ता लगाएका थिए भनेर वर्णन गरेका थियौं। जानकी मन्दिर र राम मन्दिरको कथा त्यसैसँग जोडिन्छ।
छोटकरीमा भन्दा, सत्रौं–अठारौं शताब्दीतिर यी दुई साधु सीताको जन्मभूमि मिथिला खोज्दै यहाँ आइपुगेका थिए। भारतको बद्रिनाथबाट आएका दसनामी सम्प्रदायका साधु चतुर्भुज गिरीले सपनामा भगवान रामले दिएको संकेतका आधारमा बरगदको रूखमुनि रामकै आकृति झल्कने चार मूर्ति — लक्ष्मीनारायण, शेषअवतार, दसअवतार र पञ्चअवतार — फेला पारेका थिए। पञ्चअवतार मूर्तिमा रामसहित उनका तीन भाइ र सीताका प्रतिरूप छन्।
त्यही समयतिर रामानन्दी सम्प्रदायका अर्का साधु सुरकिशोरदास सीताको जन्मभूमि खोज्दै पश्चिम भारतको लोहागढ शिखरबाट यहाँ आउँदा घना जंगल थियो। त्यही जंगलको बीचमा उनले लोहागढस्थित आफ्नो मठमै छाडेर आएको सीताको मूर्ति फेला पारेका थिए। त्यही आधारमा उनले जनकपुरलाई सीताको भूमि वा प्राचीन मिथिला मानेर उनको भक्ति र पूजाआजा गर्न थाले।
यी दुई साधुले प्राचीन मिथिला वा जनकपुरधाम पत्ता लगाएको थाहा पाएपछि अन्य साधु पनि उनीहरूले भेटेका मूर्ति खोज्दै यहाँ आए। यसरी साधुहरू आउन थालेपछि यहाँ मन्दिर र मठहरू बन्न थालेको र बस्ती विकास भएको भनाइ छ।
अर्को कथाअनुसार त्यति बेला जनकपुरभन्दा केही परबाट गोठालाहरू आफ्ना गाई र भेडा चराउन नदी किनारका हरिया मैदानमा ल्याउँथे। त्यही क्रममा उनीहरूको भेट सीताको जन्मभूमि खोज्दै जनकपुर आएका साधुहरूसँग भयो। ती साधुहरू आफूले भेटेका मूर्तिलाई भगवानका रूपमा प्रतिस्थापन गरेर पूजाआजामा तल्लीन थिए।
गोठालाहरूले ती मूर्ति भगवान राम र सीताका हुन् भन्ने थाहा पाए। त्यसपछि उनीहरूले राम र सीताका मूर्तिलाई ढोगे र आफूसँग भएका खानेकुरा चढाए।
उनीहरू जब राम र सीताको दर्शन पाएकामा प्रसन्न हुँदै आ–आफ्नो गाउँ फर्के, त्यसपछि जनकपुरधाम पत्ता लागेको खबर सर्वत्र फैलियो। वरिपरिका सबै गाउँबाट गाउँलेहरू राम र सीताको दर्शन गर्न जनकपुर आउन थाले। यसरी आउँदा उनीहरू जनकपुरमा मठ बनाएर बसेका साधुहरूका निम्ति आफ्नो गच्छेअनुसार चामल, चिनी, नुन र घ्यू ल्याइदिन्थे।
समयक्रममा जनकपुरधाम फेला परेको खबर मकवानपुरसम्म पुग्यो। त्यो बेला जनकपुरको जंगल मकवानपुरका सेन राजाहरूको अधिनमा थियो। आफ्नो राज्यको जंगलभित्र सीताको जन्मभूमि फेला परेको सुनेपछि मकवानपुरका एक राजा जनकपुरको यात्रामा निस्किए।
सुरूमा उनी बरगदको रूखमुनि पुगे, जहाँ चतुर्भुज गिरीले फेला पारेर पूजा गर्न थालेको भगवान रामका चार मूर्ति थिए। राजाले ती मूर्तिलाई ढोगे र हरेक दिन त्यहाँ फलफूल र अन्न चढाएर पूजा गरियोस् भनी जग्गा दान दिए।
त्यहाँबाट उनी निमको रूखमुनि भेटिएको सीताको मूर्ति हेर्न गए। उनले सीताको दर्शन गरे र उनका नाममा पनि थुप्रै जग्गा दान दिए।
भगवान रामका नाममा दान दिएको जमिन चतुर्भुज गिरी र उनका शिष्यहरूले भोगचलन गर्न थाले भने सीताका नाममा चढाएको जमिन सुरकिशोर दास र उनका शिष्यले भोगचलन गरे।
साधुहरूले जनकपुरधाम दर्शन गर्न आएका किसानहरूको मद्दतले वरिपरिका जंगल फडानी गराए र राजाबाट दान पाएको जग्गामा खेती गर्न लगाए। यसबाट स्थानीय किसानको आयस्रोत त बढ्यो नै, सँगसँगै जग्गाबाट आर्जन हुने रकमले चतुर्भुज गिरी, सुरकिशोर दास र अन्य साधुहरूलाई जनकपुरधाममा बसोबास गर्न सहज पनि भयो।
‘सुरूआती दिनमा राम र सीतालाई हेर्न भनेर टाढा–टाढादेखि आएका तीर्थयात्री यो पवित्र ठाउँ छाडेर अन्त जान चाहेनन्। उनीहरूले मन्दिर नजिकै घर बनाए। बसोबास बढ्दै गएपछि तिनैमध्येका केहीले व्यापार गर्न थाले। बिस्तारै यहाँ ठूलो बजार बन्यो,’ मानवशास्त्री रिचर्ड बरघर्टले आफ्नो किताब ‘द हिस्ट्री अफ जनकपुरधाममा लेखेका छन्, ‘यस प्रकार राजाको संरक्षणमा साधु–सन्त, किसान र व्यापारीहरूले आधुनिक जनकपुरधामको जग बसाले।’
जनकपुरधाम सहर बसाल्न मुख्य भूमिका खेलेका मकवानपुरका एक राजा इन्द्रविधाता सेनको नाम राम मन्दिरमा भएको तामाको दानपत्रमा उल्लेख छ। त्यसमा साधुहरूलाई जग्गा दान दिएको ठ्याक्कै तिथिमिति त छैन, तर त्यो अठारौं शताब्दीको पूर्वार्द्धमा हुनुपर्ने संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरी अनुमान गर्छन्।
‘दानपत्रमा सम्बत ११२४ लेखिएको छ। यसबारे नेपालका इतिहासकारबीच केही विवाद देखिन्छ। तुलनात्मक अध्ययन गर्दा यो फसली सम्बत (मुगल बादशाह अकबरले चलाएको सम्बत) हुनसक्छ। फसली सम्बत र इस्वी सम्बतमा ५९३ वर्षको फरक छ। यस हिसाबले इन्द्रविधाता सेनको दानपत्र सन् १७१७ को ठहरिन्छ,’ जनकपुरीले भने।
अर्कातिर सुरूआतमा जनकपुर आएका दुई साधुमध्ये सुरकिशोर दासका चौथो पुस्ताका शिष्य राम दासलाई मकवानपुरका राजा मानिक सेनले दिएको दानपत्रमा सन् १७२७ लेखिएको छ।
यी दुई दस्तावेजका आधारमा आजभन्दा लगभग तीन सय वर्षअघि मकवानपुरका राजाले दान दिएको जग्गामा अहिलेको राम मन्दिर र जानकी मन्दिर बनेको र त्यसै वरिपरि जनकपुरधाम सहर विकास भएको देखिन्छ।
यी दुई मन्दिर कसरी बने भन्ने कथामा प्रवेश गर्नुअघि हामी एकछिन सेन राजाहरूका बारेमा चर्चा गरौं है।
हामीले ‘मिथिलाक कथासभ’ शृंखलाको सुरूआत सिमरौनढ सहरबाट गरेका थियौं। दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणपछि सिमरौनगढमा एघारौंदेखि चौधौं शताब्दीसम्म शासन गरेका कर्नाटवंशी राजाहरू नेपाल उपत्यका भागेका थिए। कर्नाटवंशको शासनपछि ओइनवारहरू सिमरौनगढको सत्तामा आए। उनीहरूले तिरहुत वा मिथिला क्षेत्रमा सन् १३५३ देखि १५२६ सम्म शासन गरेका थिए। हामीले यसबारे अघिल्ला अध्यायहरूमा विस्तृत चर्चा गरिसकेका छौं।
सन् सोह्रौं–सत्रौं शताब्दीमा मकवानपुरका तत्कालीन राजा लोहाङ सेनले आफ्नो राज्यको राजस्व बढाउन पूर्वी तराईमा चासो देखाए। उनको फौजले ओइनवार वंशीय स्थानीय प्रमुख मोहन ठाकुरलाई पराजित गर्यो। त्यहाँबाट पूर्वतर्फ ओइनवारहरूकै शासन रहेको महोत्तरी क्षेत्र पनि मकवानपुरले जित्यो।
मकवानपुरले त्यसपछि कमला नदी पार गरेर सप्तरी र मोरङलाई आफ्नो राज्यमा गाभ्यो। राजा लोहाङ सेनले आफ्नो शासनकालको अन्त्यसम्म राज्यको सिमाना महाभारत शृंखलादेखि तिरहुत र भारतको विहारसम्म फैलाएका थिए। त्यो समय मकवानपुर सबभन्दा ठूलो पहाडी राज्य बनेको थियो।
राजा लोहाङको पाँचौं पुस्तामा आइपुग्दा मकवानपुर तीन राज्यमा विभाजित भयो। इन्द्रविधाता सेनले मोरङ, महापति सेनले कोशी र कमला नदीबीचको भू–भाग अनि मानिक सेनले कमला नदीको पश्चिममा रहेको मकवानपुरमा शासन गरे।
मकवानपुरका सेन राजाहरूले जनकपुरका साधुहरूलाई भगवानका नाममा जग्गा दिनुका पछाडि उनीहरूको निजी स्वार्थ र राज्य सुरक्षाको अपेक्षा लुकेको हुनसक्ने मानवशास्त्री बरघर्टको भनाइ छ।
‘त्यसरी जग्गा दान दिनुको मुख्य उद्देश्य मकवानपुर राज्य विस्तार गर्न र राज्य सुरक्षामा भगवानको कृपा र साधुहरूको आशिर्वाद प्राप्त होस् भन्ने थियो। अर्को हिसाबमा ती जग्गा राजाले आफ्नै उपयोगका लागि समेत दान दिएका थिए, किनभने दान दिएको जग्गामा खेती भएपछि भविष्यमा सैनिकहरूका लागि अन्नको जोहो गर्न सजिलो हुन्थ्यो,’ बरघर्टले आफ्नो किताबमा लेखेका छन्।
सेन राजाहरूले राम र सीताका लागि जग्गा दिएपछि जनकपुरका अन्य मन्दिरका लागि पनि जग्गा दिएको देखिन्छ। उनीहरूले जनकपुरसँगै महोत्तरीका रामानन्दी साधुहरूलाई पनि ठूलो क्षेत्रफलको जग्गा उपहार दिएका थिए। रामानन्दी सम्प्रदायका साधुहरूले महोत्तरीमा बसहिया, सिमरदही र मटिहानीमा बस्ती बसालेका थिए। त्यस्तै, दसनामी सम्प्रदायका साधुहरूले पनि तरही, इटवरा, झोझिकटैया र जलेश्वरमा बस्ती बसालेका थिए।
मकवानपुरलाई पछि गोरखा राज्यले जितेर आफूमा गाभ्यो। त्यसपछि सेनको सट्टा शाह राजाहरू शासनमा आए। शाहवंशीय राजाहरूको पनि जनकपुरका साधुहरूसँग राम्रो सम्बन्ध थियो। तर उनीहरूले सेन राजाका तुलनामा साधुहरूलाई कम जग्गा दान दिएका थिए।
‘सन् १७८१ मा राजा रणबहादुर शाहले दिएको अनुदानमा हनुमान नगरमा मन्दिर बनेको थियो। त्यस्तै, १८०७ मा अमरसिंह थापाले राजा गिर्वाणयुद्ध विक्रम शाहका नाममा हनुमान मन्दिरका लागि जग्गा दिएका थिए। त्यसको रेखदेख र व्यवस्थापन जिम्मा राम मन्दिरका साधुहरूलाई दिइएको थियो,’ बरघर्टले आफ्नो किताबमा लेखेका छन्।
त्यसपछि सन् १८३३ मा सीता कुण्ड कुटीलाई, १८३४ मा रत्नसागर मन्दिर र सन् १८४० मा अग्नी कुण्ड मन्दिरलाई पाँचदेखि बीस बिघासम्म जग्गा दान दिइएको त्यहाँका दानपत्रहरूमा उल्लेख छ।
सन् १८४३ यता भने राज्यबाट जग्गा उपहार दिने क्रम बन्दजस्तै भयो।
‘राज्यबाट विभिन्न समयमा राजकीय उपहारका रूपमा दान दिइएको जग्गाले जनकपुरधामलाई सहर बन्न मद्दत पुर्यायो,’ बरघर्टले किताबमा लेखेका छन्।
जनकपुरधाम सहर निर्माणमा सेन राजाहरूको साइनोपछि अब हामी जानकी मन्दिर र राम मन्दिरको कथामा प्रवेश गरौं।
चतुर्भुज गिरी र सुरकिशोर दासले सीताको जन्मस्थलका रूपमा जनकपुरधाम पत्ता लगाएपछि सन् १८०० सम्म पनि यो ठाउँ सहर बनिसकेको थिएन। यो धार्मिक स्थलजस्तो मात्र थियो, जहाँ सुरकिशोर दास, चतुर्भुज गिरी र उनीहरू पछि आएका प्रितम दास, रघुनाथ दास लगायत साधुहरूले आफ्नो मठ बनाएका थिए।
जानकी मन्दिर र राम मन्दिर पनि त्यति बेला सानो मठमै सीमित थिए।
एकदिन भारतको मध्यप्रदेशस्थित टिकमगढकी महारानी वृषभानु कुँवरको नजर सुरकिशोर दासले फेला पारेको सीताको मूर्ति र उनको मठमा पुग्यो। त्यसपछि महारानी वृषभानुले भाकल गरिन्, ‘मेरो गर्भबाट छोरा जन्मियो भने म जानकी माताका लागि नौ लाख असर्फी खर्च गरेर भव्य महल बनाउँछु।’
त्यति बेला महारानी वृषभानुलाई छोरा नभएकोमा ठूलो चिन्ता थियो। राम–सीताकी परमभक्त उनले धेरैपटक भारतका मन्दिरहरूमा भाकलसमेत गरेकी थिइन्। तै उनको छोरा भएन। एक सन्त महात्माले जानकी माताको दर्शन गरे मनोकांक्षा पूरा हुन्छ भनेर सुझाएछन्।
नभन्दै जनकपुर आएर भाकल गरेको केही समयमै महारानी वृषभानु गर्भवती भइन्। उनले छोरा नै जन्माइन्। अनि आफ्नो मनोकामना पूरा भएको खुसीमा उनले सीताका नाममा भव्य महल बनाइदिइन्। त्यही महललाई आज हामी जानकी मन्दिरका रूपमा चिन्छौं। यसलाई जनक महल पनि भनिन्छ। त्यो समय नौ लाख रूपैयाँ खर्च गरेर बनाइएकाले नौ लाखा मन्दिर भन्ने चलन पनि छ।
बिक्रम सम्बत १९५२ मा शिलान्यास गरेर बनाउन थालिएको यो मन्दिर १९६७ मा पूरा भएको थियो। यस हिसाबले जानकी मन्दिरको इतिहास जम्माजम्मी ११३ वर्ष पुरानो देखिन्छ।
जानकी मन्दिर बनाउन टिकमगढकी महारानीले भारतबाटै मुसलमान कालिगढहरू लिएर आएकी थिइन्। त्यही भएर यो मन्दिरमा मुगल र हिन्दु कालिगढीको मिश्रण पाइन्छ।
मन्दिरका पुजारी ऋषिकेश झाका अनुसार यो मन्दिर बाहिरबाट हेर्दा मुगल शैलीको छ भने भित्र गुम्बज वा हिन्दु शैलीको छ।
‘मुसलमानहरूले जति पनि हिन्दुहरूको ऐतिहासिक मन्दिर बनाए, त्यसमा आफ्नो केही न केही छाप छाडे। जानकी मन्दिर त्यसको प्रत्यक्ष उदाहरण हो,’ उनले भने, ‘यो मन्दिरलाई नेपालको ताजमहल भन्दा फरक पर्दैन।’
पुल्चोक इञ्जिनियरिङ कलेजका वास्तुकला प्राध्यापक जिवेन्द्र पोखरेलका अनुसार यो भवनको शैलीमा मन्दिर र सुरक्षा किल्लाको मिश्रित झलक पाइन्छ।
‘यस्तो खालको भवनमा बीचमा मन्दिर हुन्छ भने वरिपरि भवनकै संरचनाले घेरिएको हुन्छ, जसले सुरक्षा किल्लाको काम गर्छ। बाहिरका मान्छेले सजिलै भित्र आक्रमण गर्न सक्दैनन्। भवनमा बसेर बाहिरका गतिविधि निरीक्षण गर्नुका साथै कसैले हमला गर्न लागेको थाहा पाउन सकिन्छ,’ प्राध्यापक पोखरेलले भने, ‘पहिले–पहिले हिन्दु र मुसलमानबीच धेरै लडाइँ हुने भएकाले आक्रमणबाट बच्न यस्तो भवन बनाइन्थ्यो। यस्ता भवन भारतको मध्यप्रदेशमा धेरै बनेका छन्। जानकी मन्दिर बनाउने रानी पनि उतैको भएकाले यो मन्दिर मध्यप्रदेशको शैलीबाट प्रेरित देखिन्छ।’
पोखरेलका अनुसार जानकी मन्दिरको मोहोडामा गुम्बज संरचना छ भने माथि डोमजस्तै शैली दिइएको छ। मार्बल र ढुंगाको व्यापक प्रयोग मन्दिरको विशेषता हो।
सुरकिशोर दास जनकपुर आएयता यो मन्दिरको महन्तका सोह्रौं पुस्ताका रूपमा रामतपेश्वर दास छन्। यहाँ आफ्नो मन परेको शिष्यलाई आफूपछिको महन्त दिने परम्परा छ। आफ्नो सर्वोत्कृष्ट शिष्यलाई जेष्ठताको उपाधि दिइन्छ र उसैलाई महन्तको उत्तराधिकारीका रूपमा छानिन्छ।
अहिले महन्तको उत्तराधिकारी रहेका रामरोशन दासका अनुसार यो मन्दिरमा हरेक दिन राम–सीतालाई बेहुला–बेहुलीका रूपमा पुजिन्छ। यसलाई ‘अष्टसेवा’ भनिन्छ। यो पूजाअन्तर्गत बिहान स्नान गरेर अभिषेक र आरती गरेपछि मध्याह्न १२ बजे भगवानलाई राजभोग दिनुपर्छ। त्यसपछि अपराह्न ४ बजे मन्दिरमा आरती हुन्छ र साँझ फेरि सन्ध्या आरती हुन्छ।
यो मन्दिरसँग जोडिएर विशेषगरी चारवटा ठूला पर्व मनाइन्छन् – जानकी नवमी, राम नवमी, विवाह पञ्चमी र झुलन पर्व।
वैशाख शुक्ल नवमीको दिनलाई सीताको जन्मदिन मान्दै ‘जानकी नवमी’ मनाउने चलन छ। यो बेला नौ दिनसम्म पूजाआजा, जानकीको नाममा गीत र रामायण पाठ गरिन्छ। नाचगान र रमाइलो गर्दै साधु–सन्तलाई उपहार बाँड्ने चलन रहेको रामरोशन दासले बताए।
त्यस्तै, चैत शुक्ल नवमीमा पर्ने ‘राम नवमी’ लाई रामको जन्मदिन मानिन्छ। यो बेला पूजाआजा, रामको नाममा गीत र रामायण पाठ गर्नुका साथै जनकपुरमा धुमधाम मेला लाग्छ।
‘विवाह पञ्चमी’ मार्ग शुक्ल पञ्चमीका दिन मनाइन्छ। यो बेला सीता र रामबीच त्रेतायुगमा भएको विवाहको सम्झना गरिन्छ। त्यसमा साना बालक र बालिकालाई राम–सीता बनाइन्छ। भारतको अयोध्याबाट जन्ती आउने चलन पनि छ।
साउनको ‘झुलन पर्व’ साउन शुक्ल तृतीयादेखि १५ दिन मनाइन्छ। यो पर्वमा भगवानको प्रतिमालाई झुला अर्थात पिङमा राखेर झुलाउने गरिन्छ।
जानकी मन्दिरका महन्त उत्तराधिकारी रामरोशन दासका अनुसार सेन राजाहरूले यो मन्दिरलाई भनेर २२ सय बिघा जग्गा दान दिएका थिए। त्यतिबेला राम र जानकी मन्दिर एउटै जग्गामा थिए। त्यो जग्गा पछि 'जानकीपट्टि' र 'रामपट्टि' भनेर दुई भागमा विभाजन हुँदा अहिले जानकी मन्दिरमा जम्मा साढे पाँच सय बिघा छ।
‘पूरा जनकपुर सहर नै अहिले त्यही जग्गामा बसेको छ,’ उनले भने, ‘तपाईंहरू जुन अड्डा, अदालत, कार्यालयहरू जनकपुरमा देख्नुहुन्छ, ती सबै जानकी मन्दिरकै जग्गामा बनेका हुन्।’
यहाँको मूल मन्दिरमा सुरकिशोर दासले भेटेका सीताको मूर्ति मात्र नभई राम, रामका भाइ लक्ष्मण, भरत, शत्रुधन लगायतका मूर्ति पनि छन्। अन्य मूर्तिहरू मन्दिर विस्तार हुने क्रममा थपिएको पुजारी ऋषिकेश झाले बताए।
‘यो रामको ससुराल हो। हामी रामसँगै उनको ससुरालका मान्छेलाई पनि इज्जत र पूजा गर्छौं। त्यही भएर जानकी मन्दिरमा जानकीबाहेक अन्य भगवानका मूर्ति पनि पूजा गरेर राखिएको हो,’ उनले भने।
अब हामी जानकी मन्दिरकै समकालीन राम मन्दिरबारे चर्चा गरौं, जुन जनकपुरको राम चोकमा छ।
जनकपुर पत्ता लगाएका साधु चतुर्भुज गिरी र त्यसपछि उनका शिष्यहरूले सञ्चालन गरेको राम मन्दिर धनुष सागरको पश्चिम किनारमा पर्छ। अहिले यो मन्दिरका महन्त राम गिरी छन्।
यो मन्दिरमा चतुर्भुज गिरीले नै फेला पारेको भनिएका भगवान रामका आकृति झल्किने मूर्तिहरू छन्। महन्त राम गिरी ती मूर्तिलाई त्रेताकालीन समयसम्म दाँज्छन्।
‘यी देउता राजा जनक पालाको हो। जति बेला राम सीतासँग विवाह गरेर आयोध्या फर्कंदै थिए, उनले भगवान विश्वकर्मालाई डाकेर आफ्नो रूप निर्माण गर्न लगाएका थिए। त्यसपछि रामले ‘म तपाईंको घरमा सधैं विराजमान हुन्छु र छोरीको याद आए यिनै मूर्तिहरू हेर्नू’ भनेर ती मूर्ति जनकलाई दिएका थिए,’ उनले भने, ‘त्रेतायुग सकिएको धेरै समयपछि कलियुगमा यी मूर्ति यस मन्दिरका संस्थापक चतुर्भुज गिरीले फेला पारेका हुन्।’
अहिले हामी जुन एकतले छाने शैलीको राम मन्दिर देख्छौं, त्यो वास्तविक स्वरूप नभई चौथो चरणको ढाँचा हुनुपर्ने संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरी बताउँछन्।
‘मकवानपुरका राजा इन्द्रविधाता सेनले राम मन्दिर (तत्कालीन राम–जानकी मन्दिर) लाई दानपत्र दिने बेला सम्भवतः त्यहाँ सामान्य मठ निर्माण गराएका थिए। किनभने, शाहवंशी दस्तावेजहरूमा सन् १७८२ मा राजा रणबहादुर शाहका जनरल अमरसिंह थापाले राम मन्दिर पुनर्निर्माण गराएको उल्लेख छ,’ उनले भने।
सन् १८१४ देखि १८१६ मा नेपाल–ब्रिटिस भारतबीच युद्ध भएको थियो। त्यो युद्धपछि १८२० को एउटा रिपोर्टमा लेखक फ्रेजर जेम्स बेल्लीले राम मन्दिरबारे चर्चा गरेका छन्। त्यसमा राम मन्दिर ११५ यार्डमा फैलिएको वर्गाकार पर्खालहरूमा चारतले मन्दिरका रूपमा रहेको उल्लेख छ।
‘मन्दिरको छानामा सुनको पाता छ र चारवटै दिशामा ४७–४७ वटा घन्टी छन्,’ रिपोर्टमा भनिएको छ।
१९९० सालको महाभूकम्प बेलाका राणाकालीन दस्तावेजहरूमा भने राम मन्दिर दुईतले मात्र भएको उल्लेख छ। यसरी मन्दिरको दुई तला कम हुनुका कारण सन् १८३३ र १८६६ मा गएका दुई ठूला भूकम्प हुनसक्ने जनकपुरी बताउँछन्।
‘सम्भवतः १८३३ को भयावह भूकम्पमा राम मन्दिर ढलेको थियो। त्यसपछिका शासकहरूले यसलाई पुनर्निर्माण गरेर दुईतले मात्र बनाएको हुनुपर्छ,’ उनले भने, ‘१९९० सालको महाभूकम्पमा ढलेपछि यो मन्दिर अहिलेको एकतले स्वरूपमा निर्माण गरिएको हुनुपर्छ।’
मन्दिरका महन्त राम गिरीका अनुसार यहाँ पनि जानकी मन्दिरमा जस्तै आफ्नो शिष्यलाई महन्तको उत्तराधिकारी बनाउने चलन छ। महन्तको निधनपछि उनको शव मन्दिरकै छेउमा रहेको समाधिमा गाड्ने चलन पनि छ। शव गाडेको ठाउँमा शिवलिंग स्थापना गरिन्छ। मन्दिरनजिकै थुप्रै शिवलिंग देख्न सकिन्छ, जसलाई स्थानीय र मन्दिरका महन्त–पूजारीहरू पूजा गर्छन्।
यो मन्दिरमा ‘विवाह पञ्चमी’ को दिन विशेष मेला लाग्छ। त्यति बेला रामको हुलियामा बेहुलालाई सजाएर बाजागाजासहित नगर परिक्रमा गर्ने काम यहीँबाट सुरू हुन्छ। साता दिनसम्म चल्ने विवाहको उत्सव राम–सीतालाई यही मन्दिरमा भित्र्याएर समापन हुन्छ।
जानकी मन्दिरका पुजारी ऋषिकेश झाका अनुसार विवाह पञ्चमी बेला राम–सीताको विवाह हुँदा राम मन्दिरलाई बेहुलातर्फको र जानकी मन्दिरलाई बेहुलीतर्फको मानिन्छ। त्यति बेला दुवैतर्फबाट एकअर्कालाई सगुनहरू पठाइन्छ।
‘हामी अरू बेला पनि एकअर्कालाई सम्धीको साइनो लगाउँछौं। अन्य विशेष पर्वमा पनि एकअर्कालाई निम्तो दिन्छौं,’ उनले भने।
विशेषगरी दसैंको दसमीका दिन राम मन्दिर र जानकी मन्दिरका महन्तहरू एकअर्कालाई भेट्छन्। यसलाई सम्धी–मिलन भनिन्छ। त्यस दिन राम मन्दिरका महन्त जानकी मन्दिर आउँछन्। उनलाई जानकी मन्दिरमा रहेको चाँदीको विशेष आसनमा बसालिन्छ।
‘राम मन्दिरका महन्तलाई रामका बुवा दशरथ मानेर सम्मान गरी चाँदीको आसनमा बस्न दिइन्छ,’ पुजारी झाले भने, ‘हुन त त्यो आसनमा राम मन्दिरका महन्तलाई जहिल्यै बस्न पाउने अधिकार छ। तर विजया दसमीका दिन सम्धी मिलन हुने र विशेष आसनमा बसाउने परम्परा छ।’
यस्तो चलनबाट पनि जनकपुरका दुई समकालीन जानकी र राम मन्दिरबीच विशेष सम्बन्ध रहेको थाहा हुन्छ।
यी दुई मन्दिरले यहाँको बस्ती र व्यवसाय निर्माणमा उत्तिकै ठूलो भूमिका खेलेका छन्। यहाँ दुई जना साधु चतुर्भुज गिरी र सुरकिशोरदास आएपछि किसान र अन्य मान्छे आएका थिए भनेर हामीले अगाडि बताइसक्यौं। जानकी मन्दिर निर्माणकै क्रममा भारतको टिकमगढबाट मुसलमान कालिगढहरू ल्याइएको पनि उल्लेख गरिसक्यौं। जानकी मन्दिर बनाउन एक दशकभन्दा बढी समय लागेकाले धेरै मुसलमान कालिगढ मन्दिर वरिपरि नै बसोबास गर्न थालेका थिए।
जानकी मन्दिर निर्माणभन्दा अगाडि पनि विभिन्न कालखण्डमा केही मुसलमानहरू युद्धबाट भागेर जनकपुर आएको संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरी बताउँछन्।
‘तत्कालीन समयमा भारतका मुसलमान बादशाहहरू विभिन्न युद्धमा हिँडिरहन्थे। त्यस क्रममा कति सैनिकलाई जबर्जस्ती हिँडाइएको हुन्थ्यो। उनीहरू मौका पाउनेबित्तिकै भाग्थे र विभिन्न ठाउँमा लुकेर बस्थे,’ उनले भने, ‘त्यसरी भाग्ने क्रममा कति सैनिक जनकपुर आएर बसेका थिए।’
जानकी मन्दिरका चौधौं महन्त नवलकिशोर दासले पनि विभिन्न ठाउँबाट मान्छे बोलाएर यहाँ बसोबास गराएको भनाइ छ।
जनकपुरीका अनुसार त्यति बेला यहाँको बस्ती पातलो थियो। त्यही भएर चौधौं महन्त नवलकिशोरले यहाँ बस्ती विस्तार गर्न जग्गाहरू दिएका थिए।
यति मात्र होइन, मन्दिर बनाउने क्रममा मिस्त्रीहरू, माटो खन्न कुर्मीहरू र मन्दिर बनेपछि मिठाइ बनाउने हलुवाई, तेलको काम गर्ने तेली, फूल बेच्ने माली लगायत समुदाय पनि जनकपुर आएको उनी बताउँछन्।
‘मन्दिरहरू बन्दै गएपछि बजार विकास भयो। बजार बनेपछि विभिन्न जातका मान्छे यहाँ आए। सुरूमा किसानहरू आएका थिए। पछि सरकारी कार्यालयहरू खुलेपछि लेखपढ गर्ने कायस्थ, ब्राह्मणहरू आए। उनीहरू प्रमुख ओहोदामा पनि पुगे,’ जनकपुरीले भने, ‘मन्दिर बनेपछि कसरी एउटा सहर विकसित हुन्छ भन्ने राम्रो उदाहरण जनकपुर हो।’
जनकपुरमा मन्दिर सँगसँगै पोखरीहरू पनि बन्न थालेका थिए। मडहा भन्ने पोखरी जानकी मन्दिरको भातको माड खन्याउन बनेको भनाइ छ। त्यस्तै, तेलहा भन्ने पोखरी जानकी मन्दिरको तेल हाल्न बनेको विश्वास गरिन्छ।
जनकपुरलाई ‘बावन (५२) कुटी र बहत्तर (७२) कुण्ड’ को सहर पनि भनिन्छ। यहाँका धेरै पोखरी पौराणिककालका कथाहरूसँग जोडिन्छन्। बिहीबार आठौं अध्यायमा हामी जनकपुरका पोखरी र कुटीहरूको चर्चा गर्नेछौं।
यी पनि पढ्नुहोस्: