प्रदेश १ को सबभन्दा ठूलो सरकारी अस्पताल कोशी नर्स अभावको समस्याले पिरोलिएको छ। बिरामीको अत्यधिक चाप रहने यो अस्पतालमा एकै जना नर्सले ४० जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता छ।
नाम चलेका विशेषज्ञ चिकित्सकहरूको बाक्लो जमघट र भेन्टिलेटरसहितको उपचार सुविधा तथा बीमामार्फत् हुने उपचार लगायतका कारण कोशीमा प्रदेश १ का अधिकांश जिल्ला, मधेस प्रदेशका केही र भारतीय राज्य बिहारका बिरामीसमेत उपचारका लागि आउने गरेका छन्। ओपिडीमा मात्रै दैनिक १५ सय हाराहारी आउने बिरामीमध्ये ३५० बेड सधैंजसो भरिभराउ नै हुन्छ।
यसरी सधैं बिरामी खचाखच रहने अस्पतालमा नर्सको पर्याप्त उपलब्धता नभएकै कारण गुणस्तरीय सेवा दिन नसकिएको चिकित्सकहरू नै बताउँछन्।
‘कोशी अस्पतालमा हामी चिकित्सक त चाहिए जति नै छौं’, कोशी अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा.अन्जु देव भन्छिन्, ‘तर, चिकित्सक मात्रै भएर स्वास्थ्य सेवा पूर्ण हुँदैन। चिकित्सकसहित नर्सहरूको भूमिका महत्वपूर्ण हुन्छ। हाम्रो अस्पताल नर्स अभावको पिरलोमा छ। यसले हाम्रो सेवा थप गुणस्तरीय हुन चुनौती थपिरहेको छ।’
जनरल वार्डमा काम गर्ने नर्सहरूले कम्तीमा ४० जनासम्म बिरामी हेर्नुपर्ने कोशीमा अन्य विभागमा पनि कम्तीमा २० जनासम्मको हेरचाह एक जना नर्सले गर्नुपर्ने बाध्यता रहेको नर्सहरू बताउँछन्।
कोशी अस्पतालको हाडजोर्नी विभागमा कार्यरत नर्स गोमा श्रेष्ठलाई ड्युटी अवधि सुरू भएलगत्तैदेखि धपेडी सुरू हुन्छ। उनलाई दैनिक कम्तीमा १६ देखि २० जनासम्म बिरामीको हेरविचार गर्नुपर्छ।
कामको बोझ धेरै भएकै कारण उनलाई दिनको ६ घन्टा दायाँबायाँ गर्नेसम्म फुर्सद हुँदैन। दैनिक ६ घण्टा ड्युटी गर्ने उनले काम गर्ने वार्ड कोशीको अर्थो विभागमा जम्मा ३२ शैय्या छ। एउटा सिफ्टमा दुई जना नर्स ड्युटीमा खटिन्छन्।
‘कोशीको अर्थोपेडिक वार्ड दैनिकजसो बिरामीले भरिभराउ हुने गरेको छ,’ श्रेष्ठले भनिन्, ‘एउटा सिफ्टमा दुई जना नर्सले भर्ना भएका सबै जना बिरामी हेर्नुपर्ने बाध्यता छ। यसले कसरी राम्रो सेवा दिन सकिएला भनेर चिन्ता लाग्छ।’
प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको स्त्री तथा प्रसूति विभागभित्रको समस्या पनि उस्तै छ। यो विभाग ७० शय्याको छ। जसमध्ये शल्यक्रिया गरेपछि राखिने १० वेडको पोस्टअप वार्ड छ। पोस्टअप वार्डमा कार्यरत एक जना नर्सले १० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अर्की नर्स ममता श्रेष्ठ बताउँछिन्।
जनस्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक पोस्टअप बराबर एक जना नर्स हुनुपर्छ। यही मापदण्ड पालना गर्ने हो भने कोशीको पोस्टअपमा १० जना नर्स अनिवार्य राख्नुपर्ने हुन्छ। यद्यपि अस्पतालले यो मापदण्ड पूरा गर्न सकेको छैन। यसको मार भर्ना भएर सेवा लिने बिरामीले खेपिरहेको स्वास्थ्यकर्मीहरू नै बताउँछन्।
अस्पतालका फिजिसियन डा. रोशन खड्का बिरामीको उपचारमा सबैभन्दा ठूलो महत्व नै नर्सको हुने बताउँछन्।
‘चिकित्सकले उपचार गरिदिएपछि बिरामीलाई निको पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै सिस्टरहरू हो’, उनी भन्छन्, ‘तर, कोशीमा नर्सकै ठूलो अभाव छ। एकै जनाले दर्जनौं बिरामी हेर्नुपर्ने बाध्यता देख्दा हामीलाई ज्यादै नरमाइलो हुन्छ। त्योभन्दा बढी हाम्रा बिरामीले पाउने सेवा प्रभावित भएकोमा बढी चिन्ता लाग्छ।’
कोशीमा आइसियूसहित अन्य १४ वटा विभागको अवस्थामा पनि उस्तै छ। कोशी ३ सय ५० शय्याको अस्पताल हो। जनरल वार्डमा एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मी बताउँछन्।
पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल भएकोले यहाँ प्रदेश १ बाहेक मधेस प्रदेश र भारतसम्मका बिरामी आउने गरेका छन्। गुणस्तरीय उपकरण र सस्तो शुल्कमा दक्ष जनशक्तिबाट उपचार हुने भएकाले यो अस्पताल नागरिकको पहिलो रोजाइमा पर्छ। तर, नागरिकले अपेक्षित स्वास्थ्य सेवा प्राप्त गर्न भने कठिन बन्दै गएको छ। त्यसको एउटा कारण हो– आवश्यकता अनुसार नर्सहरू नहुनु।
अस्पतालका प्रमुख डा. लक्ष्मीनारायण यादवले अस्पतालमा नर्सको जनशक्ति पर्याप्त मात्रामा नभएका कारण विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना हुन नसकेको बताउँछन्।
‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आइसियूमा एउटा बिरामीलाई एक जना नर्सले हेर्नुपर्ने हुन्छ। नर्सिङ जनशक्ति कम हुँदा त्यो मापदण्डलाई पालना गर्न सकेका छैनौं।’
अस्पतालका अनुसार मापदण्ड पूरा गर्ने हो भने अस्पतालले ३ सय ५० जना नर्स नियुक्त गनुुपर्ने हुन्छ। यो मापदण्ड पूरा गर्नतिर सरकारले ध्यान नदिएको कर्मचारीहरू बताउँछन्।
अस्पतालकी नर्सिङ विभाग प्रमुख मन्जु यादव सबैजसो सरकारी अस्पतालहरूमा नर्सको अभाव भएको बताउँछिन्।
उनका अनुसार अस्पतालमा बिरामी र नर्सको अनुपात पनि मिलेको छैन। कोशीमा यो समस्या झनै चर्को रहेको उनको भनाइ छ।
उनले भनिन्, ‘सरकारले अस्पतालमा बिरामी र नर्सको अनुपात मिलाउन सक्यो भने बिरामीले गुणस्तरीय सेवा पाउने थिए। वर्षौंदेखिकोे दरबन्दीअनुसार कोशीमा पर्याप्त मात्रामा नर्सको पदपूर्ति भएको छैन।’
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालले सेवा दिन नसकेको स्वीकार गर्दै उनी भन्छिन्, ‘हाम्रो अस्पतालमा ३५० भन्दा बढी नर्सको आवश्यकता छ। अहिलेको अवस्थामा हामीसँग जति नर्स छन्, त्यतिले नै काम चलाउनुुपर्ने बाध्यता छ। हामीसँग नर्स छैनन्, हामी उपचार गर्न सक्दैनौं भनेर हामीले भन्न मिल्दैन।’
कोशीमा अहिले १ सय ९९ जना नर्सको दरबन्दी छ। अस्पतालमा अहिले कम्तीमा २५० देखि ३०० जना नर्सको आवश्यकता रहेको यादवको भनाइ छ।
उनले भनिन्, ‘अस्पतालमा ३ सय जना नर्स भए भने मात्र हामीले गुणस्तरीय सेवा दिन सक्छौं।’
सेवा सुविधा नथपिँदा सेवा राम्रोसँग दिन नसक्ने अवस्था भएको उनले बताइन्।
नर्सलाई दिने भत्तामा पनि राज्यबाट विभेद भएको उनले गुनासो पोखिन्।
‘ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई तलबको २५ प्रतिशत भत्ता दिने गरिन्छ,’ उनले भनिन्, ‘यहाँ कार्यरत नर्सलाई तलबबाहेक केही पाउँदैनन्। यहाँ यसरी विभेद गरिएको छ।’
स्वास्थ्यकर्मीहरूका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार दरबन्दी सिर्जना गर्न सकेमा मात्र बिरामीलाई गुणस्तरीय सेवा दिन सकिन्छ। संगठनले बनाएको मापदण्डअनुसार आइसियू, भेन्टिलेटर, इमर्जेन्सी, प्रसूति र जनरल वार्डहरूमा दिने सेवा फरक हुन्छन्।
विश्व स्वास्थ्य मापदण्डअनुसार आइसियू र भेन्टिलेटरमा उपचाररतका लागि एक जना बिरामीका लागि एक जना नर्सको आवश्यकता पर्छ। साधारण शय्यामा भने एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपर्ने उल्लेख गरिएको छ। तर, बालबालिकाको साधारण शय्यामा भने एक जना नर्सले चार जना बिरामी हेर्नुपर्ने हुन्छ। प्रसूतिका लागि लेबर कक्षमा एक जना बिरामीका लागि दुई जना नर्सको आवश्यकता पर्छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डको अनुपातमा नर्सको दरबन्दी नहुँदा अस्पतालहरूले गुणस्तरीय सेवा सुविधा दिन नसकेको कोशी अस्पतालकी अर्थोपेडिक वार्डको नर्सिङ इन्चार्ज लजिता योन्जनले बताइन्।
उनले भनिन्, ‘विश्व स्वास्थ्य संगठनले भनेअनुसार अस्पतालका विभिन्न भागमा दरबन्दी हुने हो भने सबै समस्याको समाधान हुन्छ।’