पोखरा महानगरका मेयर धनराज आचार्यले शौचालय बनाउन गत भदौ २३ गते पोखरा आर्ट ग्यालरी भत्काए।
सिर्जनशील कलाकार समूहले ‘अनन्त रेखाहरू’ शीर्षकमा चित्रकला प्रदर्शन गरेकै ग्यालरीका भित्ता डोजरले चिथोर्यो। ग्यालरीको अर्कोतर्फ रहेको पोखरा सार्वजनिक पुस्तकालयमा महानगरेको डोजर चल्यो।
डोजर चलेपछि पुस्तकालयमा संग्रहित पुस्तक क्षेत्री समाजको भवनमा राखिएका छन्। आर्ट ग्यालरीका चित्रकला सहितका सामग्री पनि त्यहीँ खात लगाइएको छ।
महानगरले झटपट आर्ट ग्यालरी भत्काए पनि अहिलेसम्म शौचालय बनेको छैन।
कलाकारले अर्को आर्ट ग्यालरी पाएका छैनन्। उनीहरूले कोरेका चित्र क्यानभासमै सीमित छन्।
आर्ट ग्यालरी नभएपछि कलाकार हेमकान्ती गुरूङले होटलमा चित्रकला प्रदर्शनी गरिन्। उनका अनुसार दर्शकहरू होटलमा चित्रकला हेर्न जान हिच्किचाउँछन्।
‘महानगरले आर्ट ग्यालरी भत्काउन हतार गर्यो, अहिलेसम्म शौचालय पनि बनेन,’ हेमकान्तीले भनिन्, ‘आर्ट ग्यालरी नभत्काएको भए अहिलेसम्म कति कला प्रदर्शनी हुन्थे होला।’
महेन्द्रपुलको आर्ट ग्यालरीमा डोजर लगाएपछि महानगरलेर पृथ्वीचोकमा ग्यालरी दिने भनेको छ।
पृथ्वीचोकको पुरानो ट्राफिक प्रहरी कार्यालय भवन भएको ठाउँमा ‘पोखरा घर’ बनाउने र त्यसको तेस्रो तलामा आर्ट ग्यालरी राख्ने मेयर आचार्यको चाहना छ।
कलाकारको चाहना भने अर्कै छ।
वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’ को मनमा नयाँ आर्ट ग्यालरीको भावी चित्र नाचिरहेको छ। उनले पोखरामा एउटा अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरीको सपना देखेका छन्।
उनले आफ्नो सपना सेतोपाटीलाई सुनाए, ‘पोखरामा अब बन्ने आर्ट ग्यालरीमा नेपालीमात्र होइन, विदेशी कलाकार पनि आफ्नो कला प्रदर्शन गर्न लालायित होओस्। विश्वका कला पारखीले पोखरा आर्ट ग्यालरीबारे थाहा पाऊन्।’
अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरीका लागि लेकसाइडको केदारेश्वर मन्दिर रहेको कोमागाने पार्क उपयुक्त हुने उनको प्रस्ताव छ।
कोमागाने पार्कमा अहिले पनि केही रूखबिरूवा छन्। बेवारिसे अवस्थाको खुला मैदान छ जो गौचरन बनेको छ।
कोमागाने पार्कबाट अन्नपूर्ण हिमशृंखला देखिन्छ। फेवातालको नजिकै छ पार्क। मुख्य सहरबाट अलिक पर रहेकाले पार्क शान्त छ। खुला मैदान र नजिकैको फेवातालले पार्कको सौन्दर्य अनुपम बनाएको छ।
पोखराका स्थायी बासिन्दा वात्सायन पोखरामै साधनारत छन्। कोमागाने पार्कमा आर्ट ग्यालरी बन्न सके विदेशी पर्यटकका लागि पनि उत्कृष्ट गन्तव्य बन्न सक्ने उनको विश्वास छ।
बैदामस्थित उक्त मैदानलाई पोखरा महानगरले सन् २००२ मा ‘कोमागाने पार्क’ नाम दिएको हो। पोखराले जापानको कोमागाने सहरसँग भगिनी सम्बन्ध स्थापना गरेपछि यहाँ ‘कोमागाने पार्क’ भनिएको हो।
वात्सायनका अनुसार उक्त पार्कमा आर्ट ग्यालरी बनाउन धेरै खर्च चाहिँदैन। ठूला संरचना आवश्यक पर्दैन। स्थानीय स्रोतसाधनबाट थोरै खर्चमा आर्ट ग्यालरी बनाउन सकिन्छ।
निर्माण कार्यका लागि कलाकार र सर्वसाधारणबाट आर्थिक सहयोग संकलन गर्ने उनको सोचाइ छ।
भन्छन्, ‘सरकारले कोमागाने पार्कमा अन्तर्राष्ट्रिय आर्ट ग्यालरी बनाउने योजना ल्याओस्। हामी पनि धेरथोर सहयोग गर्छौं।’
कोमागाने पार्कमा आर्ट ग्यालरीको एउटा कलात्मक भवन होओस् भन्ने उनको चाहना छ। भवनमा एउटा एउटा प्रदर्शनी हल र केही कोठा हुनुपर्छ।
ग्यालरीमा विश्वभरका कलाकारले लेखेका पुस्तकको एउटा पुस्तकालय पनि होओस्। प्रदशनीका क्रममा कलाकारले छाडेका कलाकृति संगृहीत गर्न पनि सकियोस्।
वात्सायन भन्छन्, ‘यति काम गर्न सके कालान्तारमा राज्यको अमूल्य निधि बन्नेछ।’
कोठाका भित्तामा चित्र सजाएर प्रदर्शन गर्ने मात्र होइन, सबैखाले कला प्रदर्शनी हुने आर्ट ग्यालरीको परिकल्पना वात्सायनले गरेका छन्।
भन्छन्, ‘पफर्मेन्स आर्ट, शिल्पकला, फोटो प्रदर्शनी लगायत कलाका सबै विधा एकै स्थानमा व्यवस्थित गर्न सकियोस्।’
वात्सायनले परिकल्पना गरेको अन्तर्राष्ट्रियस्तरको आर्ट ग्यालरीको प्रस्तावमा वरिष्ठ चित्रकार बुद्धि गुरुङको पनि विचार मिलेको छ।
भन्छन्, ‘सहरको समृद्धि, विकास र सभ्यता आर्ट ग्यालरीले मापन गर्छ। पोखरा आर्ट ग्यालरी कलाकारका लागि मात्र होइन, सरकारको पनि गौरवको विषय बन्नुपर्छ।’
पोखराका कलाकारहरूको साझा संस्था ‘सिर्जनशील कलाकार समूह’ मा सचिव अमृत कार्की वात्सायनको प्रस्ताव यथार्थमा परिणत हुनुपर्ने बताउँछन्।
भन्छन्, ‘पोखरा जस्तो प्राकृतिक र पर्यटकीय सहरमा एउटा पनि आर्ट ग्यालरी छैन भन्दा यहाँका राजनीतिकर्मीलाई लाज लाग्नुपर्ने हो।’
पाकिस्तानमा चित्रकला अध्ययन गरेका कार्कीले केही महिनाअघि काठमाडौंमा ‘पफर्मेन्स आर्ट’ प्रदर्शन गरेका थिए। उनले यसका लागि पोखरामा ठाउँ पाएनन्।
‘आर्ट ग्यालरी भनेको एउटा हल र भित्तामात्र होइन,’ कार्की भन्छन्, ‘आर्ट ग्यालरी भनेको खुला ठाउँ पनि हो, शान्ति पनि चाहिन्छ।’
सिर्जनशील कलाकार समूहले विभिन्न ठाउँमा कला कार्यशाला आयोजना गर्छ जहाँ कलाकारहरू आफू पुगेका ठाउँको दृश्य क्यानभासमा उतार्छन्।
कहिलेकाहीँ विदेशी कलाकारहरू पनि पोखरा आएर चित्र बनाउँछन्। पोखरा देखेका कलाकारहरू यहाँको प्रकृति र जनजीवन चित्रमा उतार्न लालायित हुने गरेको कार्कीको भनाइ छ।
कलाकारले शरीरलाई माध्यम बनाएर प्रस्तुत गर्ने पफर्मेन्स आर्टका लागि खुला ठाउँ चाहिन्छ। यस्तो कला चित्रजस्तो संगृहीत हुँदैन। कार्कीका अनुसार यस्तो दुर्लभ कला देखाउने ठाउँ पोखरामा छैन।
मूर्ति बनाउन र प्रदर्शनी गर्न पनि शिल्पकारलाई प्रशस्त खुला ठाउँ चाहिन्छ।
विश्वमा अभ्यास भइरहेको ‘पब्लिक आर्ट’ अर्थात् मान्छेका बीचमा प्रस्तुत गरिने कला प्रदर्शन गर्न पनि मेयरले प्रस्ताव गरेको पृथ्वीचोकको एउटा तलामा सम्भव नहुने कार्कीको भनाइ छ।
उनका अनुसार ‘इन्स्टलेसन आर्ट’ अर्थात ‘प्रतिस्थापन कला’ देखाउन पनि खुला ठाउँ उपयुक्त हुन्छ। भन्छन्, ‘हाम्रो समाजमा विवाहमा बनाइने जग्गिया पनि एउटा इन्स्टलेसन आर्ट हो। यस्ता संस्कृतिलाई हामीले कलाका रूपमा अझै बुझेका छैनौँ।’
मान्छेले आफ्नो कला अनेक माध्यमबाट अभिव्यक्त गर्ने भएकाले सरकारले वातावरण बनाइदिनु पर्ने कार्कीको भनाइ छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषदको संयुक्त पहलमा २०७० असोज १ देखि १५ सम्म नेपाली र विदेशी कलाकार मिलेर १४ वटा मूर्ति बनाएका थिए।
पुराना फोटो संकलक सुनिल उलकका अनुसार मूर्ति बनाउनमा तीन जना विदेशी र १३ जना नेपाली मूर्तिकार संलग्न थिए।
यी मूर्ति बनाउनमा ‘इन्टरनेसनल एसोसिएसन फर मोनुमेन्टल स्कल्प्चर’ को समेत सहयोग थियो।
उक्त अवसरमा बनाइएका सबै मूर्तिहरू अहिले कोमागाने पार्कका झाडीमा छन्। यिनको व्यवथापनमा कसैले चासो दिएको छैन। खासमा ती मूर्ति निःशुल्क प्रदर्शनीमा राखिएका थिए।
‘निःशुल्क प्रदर्शनमा राखिएको बहुमूल्य मूर्तिकला संरक्षणमा न महानगरले चासो दियो, न ललितकला प्रतिष्ठानले नै,’ कार्की भन्छन्, ‘पोखरामा उपयुक्त आर्ट ग्यालरी भएको भए यसरी बेवारिसे हुनुपर्ने थिएन।’
महानगरले आर्ट ग्यालरीका लागि एउटा तला दिने भनेको ‘पोखरा घर’ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदैछ।
मेयर आचार्यका अनुसार निर्माणमा १० करोड रुपैयाँ लाग्ने अनुमान छ। जमिन करिब दुई रोपनी छ।
‘पोखरा घर’ बनाउन महानगरले पुरानो ट्राफिक कार्यालय भत्काएको छ। घरको भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा आर्ट ग्यालरी रहने मेयर आचार्यको भनाइ छ।
पृथ्वीचोकमा सूचना केन्द्र, पुस्तकालय र आर्ट ग्यालरी हुँदा पोखरा भित्रने बित्तिकै पर्यटकले अवलोकन गर्ने उनको विश्वास छ।
सेतोपाटीसँग कुरा गर्दै उनले कोमागाने पार्कमा अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी बनाउने प्रस्ताव अस्वीकार गरे।
उनले भने, ‘कोमागाने पार्कमा अहिले आर्ट ग्यालरी बनाउन सकिँदैन। त्यहाँ थिम पार्क बनाउने हाम्रो योजना छ।’
पोखरा घरको एउटा तला आर्ट ग्यालरीका लागि दिने मेयरको प्रस्ताव कलाकारलाई मन परेको छैन। उनीहरूका अनुसार भिडभाड र कोलाहलमा आर्ट ग्यालरी चल्दैन।
उनीहरूले कला प्रदर्शनीका लागि आवश्यक वातावरणबारे मनन गर्न मेयरलाई आग्रह गरेका छन्। आर्ट ग्यालरी शान्त ठाउँमा हुनु पर्ने उनीहरूको माग छ।
कलाकार विमलका अनुसार कला महसुस गर्न शान्त वातावरण चाहिन्छ।
‘दर्शकले कलाकृतिमा ध्यान दिन पाउनुपर्छ, कलाको सुन्दरता र अर्थको कदर गर्न शान्त वातावरण चाहिन्छ,’ उनी भन्छन्, ‘आर्ट ग्यालरी सहरको प्रतिष्ठासँग सोझै जोडिन्छ। कलाका विषयमा सरकार गम्भीर हुनुपर्छ।’
पृथ्वीचोकमा सार्वजनिक सवारीसाधनको भीड हुन्छ। तिनको आवाजले कोलाहल हुन्छ। राजनीतिक दल र अन्य संस्थाका आन्दोलन र सभा पनि त्यहीँ हुन्छ।
यस्तो ठाउँमा आर्ट ग्यालरी चल्न नसक्ने वात्सायनको भनाइ छ। ‘भित्तामा चित्र झुन्ड्याएर मात्रै हुँदैन। कलामा डुब्न सक्ने शान्ति चाहिन्छ,’ उनी भन्छन्, ‘पृथ्वीचोकको कोलाहलमा एउटा कोठा दिएर आर्ट ग्यालरी हुन सक्दैन।’
कोमागाने पार्कको विकल्पमा पोखरा आन्तरिक विमानस्थलको भवन आर्ट ग्यालरीका रूपमा प्रयोग गर्न सकिने वात्सायनको भनाइ छ।
उनका अनुसार अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी बनाउन प्रदेश सरकार र महानगरले अगुवाइ गर्नुपर्छ।
पोखरा आर्ट ग्यालरी बनाउन पनि वात्सायनले नै पहल गरेका थिए। महेन्द्रपुलमा आर्ट ग्यालरी बन्नुअघि पोखराका कलाकारले सभागृहको पिँढीमा चित्रकला प्रदर्शन गर्थे।
उनले त्यो समय स्मरण गरे, ‘पोखरा सभागृहको पिँढीमा प्रदर्शन गर्दा कहिले पानीले भिजाउँथ्यो। सभाहलभित्रको कार्यक्रमको ठूलो आवाजले बिथोल्थ्यो।’
वात्सायनका अनुसार कलाकारका लागि आफ्नो कला प्रदर्शनी सबैभन्दा ठूलो अनुष्ठान हो। प्रदर्शन नहुँदासम्म कला गोप्य रहन्छ। उनी भन्छन्, ‘जब प्रदर्शनीमार्फत दुनियालाई देखाइन्छ, तबमात्र कलाकार दर्शकमाझ स्थापित हुन पाउँछ।’
तीन दशकअघिको कुरा हो। सिर्जनशील कलाकार समूहका अध्यक्ष थिए वात्सायन।
उनकै पहलमा आर्ट ग्यालरीका लागि ठाउँ खोजी भयो। महेन्द्रपुलको पोखरा सार्वजनिक पुस्तकालय रहेको भवनको छानो चुहिएर पुस्तकालय अर्को भवनमा सरेको थाहा भयो।
सिर्जनशील कलाकार समूहले त्यही खाली भवनमा आर्ट ग्यालरी हुनसक्ने ठहर ग¥यो। त्यतिबेला महेन्द्रपुलमा अहिलेजस्तो कोलाहल थिएन।
उनीहरूले पोखराका तत्कालीन मेयर कृष्ण थापालाई प्रस्ताव सुनाए। उनले तुरून्तै स्वीकृति दिए। सामान्य मर्मत र रङरोगन गरेर ग्यालरी सुरू भयो।
ग्यालरीमा दर्शकको आगमन बढ्दै गयो। पञ्चायतकालमै बनेको पुरानो भवन ग्यालरीलाई साँघुरो हुँदै गयो।
त्यही भवनसँग जोडेर नगरपालिकाले अर्को एकतले भवन बनाएको थियो। अलिक फराकिलो हुने लागेर वात्सायनले छतमा ओत हालेर आर्ट ग्यालरी बनाउन प्रस्ताव गरे।
तत्कालीन मेयर थापाले वात्सायनको त्यो प्रस्ताव पनि स्वीकार गरे। उनले केही बजेट पनि मिलाइदिए।
छतमा ग्यालरी बनाउन सिर्जनशील कलाकार समूहले आर्थिक सहयोगका लागि आह्वान गर्यो।
‘कसैले ५ हजार, कसैले १० हजार, कसैले १५ दिए,’ वात्सायनले भने, ‘नगरपालिका र ललितकला प्रतिष्ठानले पनि पैसा दिएपछि हामीले महेन्द्रपुलमा आर्ट ग्यालरी बनायौँ।’
पोखरा आर्ट ग्यालरी बनाउन नेपाल ललितकला प्रज्ञा प्रष्ठिानले आठ लाख रुपैया सहयोग गरेको थियो। वात्सायनलाई सम्झना भएअनुसार करिब १५ लाख रुपैयाँ जुटाएर पोखरा आर्ट ग्यालरी बनेको थियो।
२०५६ सालमा उक्त आर्ट ग्यालरी बनेयता गत भदौ २३ सम्म कलाकारको अनुष्ठान थलो त्यही भयो।
उक्त आर्ट ग्यालरी बनाउँदा तत्कालीन मेयर थापाले अस्थायी प्रबन्ध भनेका थिए। उनले अर्को राम्रो ठाउँमा स्थायी व्यवस्था गर्ने वचन दिएका थिए तर काम भएन।
वात्सायन पोखराका कलाकारलाई समेटेर कला प्रवर्द्धन गर्न पाँच दशकभन्दा लामो समयदेखि सक्रिय छन्।
२०२२ सालमा तत्कालीन नेपाल ललितकला संस्थाले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रदर्शनीमा वात्सायन प्रथम भए। त्यसपछि उनी उक्त संस्थाका सदस्य बने।
त्यतिबेलादेखि नै पोखरालाई कला केन्द्र बनाउन वात्सायन लागिपरेका हुन्।
वात्सायनकै पहलमा २०२२ सालमै तत्कालीन अञ्चलाधीश पदेन अध्यक्ष हुने गरी नेपाल ललितकला संस्था, गण्डकी अञ्चल शाखा गठन भएको थियो।
अञ्चल शाखा पोखरामा खोलिए पनि कार्यालय थिएन। घर भाडामा लिएर काम चलाए। यो शाखा पछि निष्क्रिय भयो।
त्यतिबेला पोखराको चित्रकला विकासमा आफूले योगदान गरेको तत्कालीन अञ्चलाधीश पाठकले बताए।
‘म अञ्चलाधीश हुँदा पोखराका कलाकारलाई अफिस दिएको थिएँ। कलाकारलाई सम्मान दिएको थिएँ,’ पाठकले सेतोपाटीसँग भने, ‘राजाको सवारी हुँदा पनि कलाकारलाई लैजान्थेँ।’
पोखरेली कलाकारको स्वतन्त्र संस्था ‘पोखरा कलाकार समूह’ थियो। यही समूह २०४६ सालपछि ‘सिर्जनशील कलाकार समूह’ बन्यो। विधिवत दर्ता भने २०५६ मा मात्र भयो।
उक्त समूह दर्ता हुँदा वात्सायन नै अध्यक्ष थिए।
नेपालका धेरै कलाकारका गुरु वात्सायनले पोखरामा कला उन्नयनको नेतृत्व गरेका छन्। उनले पञ्चायतकालीन बन्द समाजमा समेत कलाकारलाई संगठित गरेर चित्रकला विकासमा प्रोत्साहित गरे। उनकै अगुवाइमा २३ वर्ष ‘पोखरा आर्ट ग्यालरी’ चल्यो।
हालका मेयर आचार्यले ग्यालरी भएको ठाउँमा शौचालय बनाउने भन्दै डोजर चलाए। गण्डकी प्रदेश सरकारले पनि आफ्नो राजधानी पोखरामा आर्ट ग्यालरी बनाउन चासो दिएको छैन।
मेयर पृथ्वीचोकमा बन्ने भवनमा आर्ट ग्यालरीका लागि ठाउँ दिने भन्छन्। कलाकारहरू शान्त र फराकिलो ठाउँ चाहिन्छ भन्छन्।कलाकारहरूको प्रस्तावबारे मेयरले कसैसँग रायसुझाब लिएका छैनन्, छलफल चलाएका छैनन्।
वात्सायन पोखरामा अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी बनाउन ढिला गर्न नहुने पक्षमा छन्।