रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित आनन्दवन सामुदायिक वन क्षेत्रको करोडौं मूल्य पर्ने पौने तीन बिघा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराउने भूमाफियाको गिरोहले रूपन्देहीका अन्य स्थानका सार्वजनिक जग्गाको पनि लालपुर्जा बनाएको पाइएको छ।
तिलोत्तमाको शंकरनगरका शान्तकुमार कार्की र रञ्जना थापा क्षेत्रीले वडा नं ६, हरपुरमा पर्ने साविक आनन्दवन ७ ख को कित्ता नं १४० को २ बिगाह ६ कट्ठा र कित्ता नं १४३ को ११ कट्ठा पौने १० धुर गरी जम्मा २ बिघा १७ कट्ठा पौने १० धुर सार्वजनिक जग्गाको धनीपुर्जा बनाई बिचौलियामार्फत् बिक्रीको तयारी गरेका थिए।
कार्कीले बिक्रीको तयारी गरेको अवस्थामा मालपोत कार्यालयले नियन्त्रणमा लिएको थियो। फेरि बुटवल उपमहानगरपालिका– ११ मा अर्कैले भोगचलन गरेको जग्गा कार्कीले लालपुर्जा बनाएर बेचबिखन गर्न लागेको फेला परेको छ।
मालपोत र नापी कार्यालयको मूल स्रेस्तामा आकडा उल्लेख भएको उत्तल जग्गा २०३८ सालदेखि प्रेमदेवी थापाले भोगचलन गरेकी थिइन्।
कार्कीको नाममा बनाएको सोही जग्गाको लालपुर्जा लिएर मालपोत कार्यालय बुटवलको कम्प्युटरमा इन्ट्री गर्न चलखेल गरिरहँदा फेला परेको हो।
कार्कीले बुटवल उपमहानगरपालिका–११, साविक ९ ग को कित्ता नं १ र २ को करिब १ बिगाह १३ कट्ठा ४ धुर र कित्ता नं ५५४० को ८ धुर समेतको लालपुर्जा बनाएर तिरो लगायतका भूमिकर समेत बुझाएको पाइएको छ।
मालपोत कार्यालय बुटवलका प्रमुख मालपोत अधिकृत उपेन्द्र पौडेलले ती कित्ताहरूको जग्गाधनी पुर्जाको अभिलेख कार्यालयमा नभएको र भूमाफियाहरूले बाहिर नै पुर्जा तयार गरेको हुनसक्ने बताए।
कार्कीले गत असोज ९ गते वडा कार्यालयमा उक्त तीन वटै कित्ताको २ लाख ७२ हजार २९२ रुपैयाँ राजस्व जम्मा गरेको अभिलेखमा देखिन्छ।
मालपोत कार्यालयले भने कार्कीको नाममा उक्त जग्गाको कुनै अभिलेख नदेखिएको जनाएको छ।
जग्गाको जोतभोग गर्दै आएकी प्रेमदेवी थापाले बिचौलियाहरूले लालपुर्जा बनाएर २ करोड रुपैयाँ दिन्छौँ जग्गा छोडदिनुहोस् भनेको बताइन्।
उनले भनिन्, ‘एकदिन मेरो छोरालाई लगेर लालु खड्का भन्ने मान्छेले जग्गाको लालपुर्जा बनाइसक्यौं, अब २ करोड रुपैयाँ लिनुहोस् भनेको रहेछ। त्यो सुन्दा त म छांगाबाट खसेजस्तै भएँ।’
हाल उक्त जग्गाको मूल्यांकन ३० करोड रुपैयाँसम्म हुन्छ।
प्रेमदेवीले आफूले जोतभोग गरेको जग्गाको लालपुर्जा शान्तकुमार कार्कीको नाममा बनेको थाहा पाएपछि मालपोत कार्यालय पुगेर उक्त लालपुर्जा बदर गर्न निवेदन दिएको बताइन्।
उनका अनुसार उक्त जग्गा उनका श्रीमानले २०३६ सालमा घरसारमा कागज गरेर लिएका हुन्। २०३८ सालमा आएको बाढीले क्षति पुर्याएको र फेरि खनजोत गरेको उनले बताइन्।
उनले गुनासो गरिन्, ‘अहिले आएर कहिले कसले मेरो पनि हक लाग्छ भन्छ, कहिले कसले लालपुर्जा बनायौँ भन्छ। म एकल महिलाले जोगाएर राखेको जग्गा सबै मिलेर खाइदिन लागे।’
प्रेमदेवीका अनुसार २०३६ सालअघि भोगचलन गर्दै आएका दलबहादुर क्षेत्रीका छोराहरू मुक्तबहादुर क्षेत्री र ताराबहादुर क्षेत्रीले २०७५ सालमा जग्गामा हकदाबी गर्दै किचलो गरेपछि उक्त जग्गा पेमादेवी र दलबहादुरका दुई भाइ छोराहरूले आधाआधा बाँडेर भोगचलन गर्ने सहमति गरेका थिए।
बुटवल उपमहानगरपालिका–११ का वडा सदस्य नहकुल शाहीको रोहवरमा घरसारमा गरेको कागजमा स्थानीय वसन्तबहादुर थापा, टोपलाल भुसाल, नरबहादुर केसी, सुमनप्रताप जवरा र शिवलाल न्यौपानेले साछीको रूपमा हस्ताक्षर गरेका छन्।
नरबहादुर केसीले बुटवलका अधिकांश आकडा जग्गाका भोगचलन गर्नेहरू खोजी गर्दै जग्गाको लालपुर्जा बनाउने सघाउने गरेको स्थानीयवासीहरूको भनाइ छ।
तिनै नरबहादुरको सहयोगमा चक्रपाणि भण्डारीको बुटवल उपमहानगर–१२ मा रहेको जग्गा समेत खगेन्द्र घर्ती मगरको नाममा लालपुर्जा बनेको खुलेको थियो।
बुटवलका प्रमुख मालपोत अधिकृत पौडेलले भने, ‘ती तिनवटै कित्ता उल्लेख भएको जग्गा आकडा जग्गा हो। मालपोत कार्यालयमा मोठ र कम्प्युटरमा कसैको नाम उल्लेख छैन तर एकैपटक वडामा राजस्व बुझाएको पाइयो।’
उनका अनुसार कार्कीले बक्यौता रकम भन्दै आर्थिक वर्ष २०७२/७३ देखि २०७९/८० समेतको गरी बुटवल उपमहानगरपालिकाको वडा कार्यालयमा एकैपटक रकम दाखिला गरेको देखिएको छ। यसबारे थप अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।
वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले लालपुर्जा सहित भूमिकर तिर्न आएपछि वडाले कर लिएको बताए। २०७२ सालको मितिको लालपुर्जा पेश गरेर शान्तबहादुर कार्कीले भूमिकर तिरेको क्षेत्रीले बताए।