सरकारले कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ। यस मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ। उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ।
सरकारले मेडिकल संचालनका लागि मोडालिटी तयार पारेर निर्णय गरेपछि यहाँका प्रदेशबासीको मनमा आशा पलाएको छ।
गेटा मेडिकल कलेज संचालन गर्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेर आन्दोलनमा रहेका लोकराज पाण्डेले यो निर्णयले कलेज संचालन हुने आश गरेका छन्।
‘हामीले धेरै समयदेखि गर्दै आएको माग पूरा गर्न सरकारले निर्णय गरेको यो स्वागतयोग्य छ, तर यसलाई छिटो कार्यान्वयन गर्नुपर्छ,’ उनले भने।
कैलालीको गोदावरीका पाण्डेले आफू केटाकेटी हुँदादेखि नै गेटामा मेडिकल कलेज बन्ने भयो भनेर सुनेका थिए। गेटामा मेडिकल कलेज बनाउन सुरूवातमा कुरा उठाएका शंकाराचार्यलाई यो अभियान सुरू गरेको भनेर माला लगाइएको उनलाई याद छ।
विगत दुई दशक अघिदेखिको यो अभियान अहिले ५१ हेक्टर बढी क्षेत्रफलमा ५ अर्ब ४० करोड बढी खर्च गरेर सरकारले सानाठूला ४२ वटा भवन बनाएको छ।
‘हाम्रा अगाडिका भवनहरू सञ्चालनमा ल्याइदेउ, भित्र अस्पताल सुरू गरिदेउ, एप्रोन लगाएको विद्यार्थी पढ्न पठाइदेउ, क्यान्सरका बिमारी, मुटुका पीडितहरू सुदूरपश्चिममा उपचार नपाएर थला परेका छन्, ’ उनले भने।
पूर्वाधारहरू तयार भइसक्दा यसलाई मेडिकल कलेज वा प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय कुन मोडालिटी बनाएर सुरू गर्ने भन्ने योजना तयार भएको थिएन। अहिले सरकारले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेपछि उनी यसलाई कार्यान्वयन गराउन आग्रह गर्छन्।
यसअघि गत असार ४ गते धनगढी उपमहानगरपालिकाको भवन उद्घाटन गर्न आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले त्यही बेला एक महिनाभित्र प्रतिष्ठानका रूपमा यसलाई चलाउन क्याबिनेटबाट निर्णय गराउने छु भनेका थिए। तर उनको यो कुरा सत्य सावित भएन। त्यसपछि तत्कालीन प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गेटामा निर्माण भएका संरचनाको अध्ययन गरेको थियो।
सो समितिले गेटामा मेडिकल विश्वविद्यालय बनाउन सरकारलाई सुझाव दिएको थियो। त्यसको आधारमा यसलाई मेडिकल विश्वविद्यालय नै बनाउनुपर्ने आवाज पनि उठिरहेको थियो।
देशभर दुई दर्जन बढी मेडिकल कलेज भइसक्दा सुदूरपश्चिममा एक पनि छैन। राज्यले दस वर्षअघि नै सबै अञ्चलमा कम्तीमा एक मेडिकल कलेज बनाउने नीति लिएको थियो। जुन कार्यान्वयन भएको छैन। यसबाट राज्यले सुदूरपश्चिमलाई सुविधा नदिएको गेटा मेडिकल विश्वविद्यालय बनाउन आन्दोलन गरिरहेका आनन्दप्रसाद भट्टको भनाइ छ।
क्षतिपूर्तिसहित राज्यले विश्वविद्यालयका रूपमा यसलाई छिटो संचालन गर्नुपर्ने उनको भनाइ छ।
अहिले पनि सुदूरपश्चिमका केही नागरिक उपचारका लागि भारतको बरेली, दिल्ली लगायतका स्थानसम्म जानुपर्ने पीडा रहेको उनको भनाइ छ। औषधि उपचार गर्न टाढा जाने खर्च नपाएर ओछ्यानमै मृत्यु शैय्यामा पुगेकाहरूलाई लक्षित गरी यहाँ मेडिकल कलेज सञ्चालन गर्नुपर्ने उनले बताए। गेटामा मेडिकल कलेज नागरिकको मात्रै नभइ राज्यकै आवश्यकता भएको उनको भनाइ छ।
देशका वरिपरि भारत, बंगलादेश र पाकिस्तानमा मेडिकल विश्वविद्यालय भएको उदाहरण दिए।
‘नेपालमा भने एउटा पनि मेडिकल विश्वविद्यालय छैन। नेपालको सरकारी पक्षले विश्व स्वास्थ्य संगठन वा स्वास्थ्य सम्बन्धी सम्मेलनमा भाग लिएर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउने छौं भन्ने गरेको छ। तर देशमा एउटा पनि मेडिकल विश्वविद्यालय नभए कसरी गुणस्तर सुधार्न सकिएला?,’ उनले भने।
गेटामा सञ्चालनका लागि नीतिगत व्यवस्था सरकारबाट आइसकेकाले जनताले दवाव दिएर कार्यान्वयन गर्नुपर्ने उनले बताए। अहिले प्रधानमन्त्रीले नै स्थलगत अवलोकन गरेपछि यसलाई तत्काल सञ्चालनमा ल्याउनेमा नयाँ आशा पलाएको उनी बताउँछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यहाँका स्थानीय तहका तर्फबाट पनि लिखित रूपमा मेडिकल कलेज सञ्चालनका लागि माग गर्ने तयारी गरिएको छ। केही दिनअघि नै धनगढीमा भेला भएका कैलाली र कञ्चनपुरका पालिका प्रमुखहरूले मेडिकल कलेज शिघ्र सञ्चालनका लागि प्रधानमन्त्रीसँग माग गर्ने निर्णय गरेका थिए।
सोमबार बिहान १० बजे प्रधानमन्त्रीले धनगढी आएर उक्त मेडिकल कलेजका भवन अवलोकन गर्ने र संचालनबारे यहाँका विभिन्न निकायसँग छलफल गर्ने कार्यक्रम छ।