ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि सडक भत्काउन थालिएको छ। शनिबारदेखि ग्वार्कोको सडकमा एक्साभेटरको प्रयोग गरेर कालोपत्रे भत्काउन थालिएको हो।
मंसिरदेखि नै निर्माणको काम सुरु गर्ने भनिए पनि डिजाइन स्वीकृतमा ढिलाइ भएकाले शनिबारबाट मात्र काम सुरू भएको विभागका प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी दिए।
यहाँ चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको छ। यहाँको फ्लाइओभरमा बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्याम्प बन्नेछ। फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । करिब १७ करोड रुपैयाँ लागत रहेको फ्लाइओभर २ वर्षभित्र बनाइसक्ने लक्ष्य छ।
ग्वार्कोमा धेरै जाम हुने क्षेत्रहरूमध्ये पर्छ। लामो समयदेखि निर्माण गर्ने भनिएको फ्लाइओभर निर्माण सुरू हुन लागेको हो।
निर्माणको काम सुरू भएसँगै यहाँको ट्राफिक व्यवस्थापन अझ चुनौतीपूर्ण हुनेछ।
फ्लाईओभरको निर्माण कार्य सुरु भएसँगै यस रुट भएर चल्ने सवारी साधनको लागि ट्राफिक प्रहरीले नयाँ रुट तोकेको छ। त्यही अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्माण कार्य सम्पन्न नभएसम्मका लागि भनेर ट्राफिक व्यवस्थापन मिलाउन सुरु गरेको छ।
हेर्नुहोस् तस्बिरहरू