मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ। तर मेहनत गर्दा बालुवामा मात्र हैन फोहोरमा पनि सुन फलाउन सकिँदो रहेछ। सडकको धुलो र नालीको फोहोर संकलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउनेजस्तै हो।
भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा सडक र नालीको फोहोर धुलोबाट बहुमूल्य धातु सुन निकाल्ने काम गर्दै आएका छन्।
उनलाई सडकको धुलो र नालीको फोहोर उठाएर त्यसबाट सुन निकाल्न निक्कै मेहनत गर्नुपर्छ।
उनले यो काम गर्न थालेको झण्डै एक दशक भयो।
उनले सुनचाँदी पसल अगाडि सडकको धुलो बढार्छन्। सडक किनाराको नालीको फोहोर पनि उठाएर भाँडोमा राखेर लैजान्छन्।
सडकको धुलो र नालीको फोहोर नजिकैको फोहोर पानी बगिरहेको घोलामा लगेर मज्जाले धुन्छन्। धोएर निस्किएको बालुवालाई राम्रोसँग प्रशोधन गरेर बहुमूल्य सुन निकाल्छन्।
उनको यो दैनिकीलाई पत्नी पुष्पाञ्जलिले सघाउँदै आएकी छन्।
‘हामी यहाँ दुई/चार महिना जति यही काम गरेर बस्छौं’, उनले भने, ‘एक सिजनमा करिब एक/डेढ तोला संकलन हुन्छ। त्यसपछि फेरि आफ्नै देशमा फर्किएर यस्तै काम गर्छौं।’
बुटवलका अमरपथ, सङ्गमपथ र राममन्दिर लाइन, बिपी चोक क्षेत्र धेरै सुनचाँदी कारोबार हुने व्यावसायिक क्षेत्र हुन्। यहाँ सयौंको संख्यामा सुनचाँदी पसल रहेका छन्। बिहान १० बजेपछि मात्र पसल खुल्छन् तर त्यसअघि नै यो फिरन्ते समुदाय हातमा कुचो, तारका ब्रस, फलामका कराही लिएर सुनचाँदी पसल अगाडि धुलो बढारेर जम्मा गर्न व्यस्त हुन्छन्। कोही भने सडक छेउको नालीको फोहोर जम्मा गर्छन्।
त्यही धुलो माटो कराहीमा राखेर नजिकैको फोहोर पानी बग्ने घोलामा लगेर मज्जाले चालेर मसिनो कण निकालेर संकलन गर्छन्। भर्खरै बिहान सुनचाँदी पसल अगाडिको फोहोर बढारेर पानीमा धोई बालुवा माटो चालेर एक मुठीजति धुलो निकालेका गणेशले भने, ‘अब यसलाई प्रशोधन गरेर सुन निकाल्छौं, अनि पसलमा लगेर बिक्री गर्छौं।’
बुटवलका मुख्य बजार क्षेत्रका सुनचाँदी पसल अगाडि सडक बढारेर सुन खोज्ने काममा लागेका भारत मध्यप्रदेशका राज मुराइको काम पनि दुई महिनादेखि यस्तै चलिरहेको छ।
उनीसँगै १० जनाको समूह यही कामका लागि भारतबाट बुटवलमा आएको हो। हरेक वर्ष तीन/चार महिना यसै कामका लागि उनीहरू बुटवलमा बिताउने गर्छन्। सुन पसल अगाडिको धुलो र नालीको फोहोर जम्मा गरेर पानीमा धुँदा मसिनो बालुवा निकालेर प्रशोधन गर्दा सुन निस्कने उनी बताउँछन्।
भारतको मध्यप्रदेशबाट आएका यिनीहरू फिरन्ते समुदाय हुन्। यिनीहरू समूह बनाएर परिवारसहितै हिँड्ने र नेपाल तथा भारतका यस्तै ठूलाठूला सहरमा महिनौं बिताउने गर्छन्। यस अवधिमा उनले दैनिकजसो सुन चाँदी पसलबाहिर सडक नालीबाट निस्केको माटो, बालुवा संकलन गरेर नजिकैको घोलामा धोएर प्रशोधनका लागि छनोट गर्दै आएका छन्।
यसरी काम गर्दा दैनिकजसो एक/दुई लालसम्म सुन फेला पर्ने गरेको मुरइ बताउँछन्।
‘हामी यहाँ दुई/तीन महिना बस्छौं। त्यसपछि आफ्नै देश फर्कछौं’, उनले भने, ‘यहाँ बसुञ्जेल जे-जति सुन निस्कन्छ, सबै यहीँका सुनचाँदी पसलमा बेचेर फर्कने हो।’
मध्यप्रदेश जवलपुरकै करिब ३५ वर्षीय विशुवा सोन्जारीको ५० जनाको समूह पनि बुटवलका मुख्य सडक, गल्ली र नालामा सुन खोज्न व्यस्त छ। बुटवलमा करिब एक महिनाको बसाइपछि स्वदेशमै फर्किएर यही काममै लाग्ने उनी बताउँछन्।
‘पहिले जस्तो धेरै सुन पाउँदैन’, उनले भने, ‘मान्छे पनि धेरै भए, सुन पनि महङ्गो भयो।’
सुन पसलको अगाडि प्रायः सुनका गरगहना बनाउने कालीगढले गहना बनाउँदा सुनलाई रेट्ने र थिच्ने काम गर्दा सुनका मसिना कणहरू कपडामा टाँसिने र उनीहरू आवतजावत गर्ने र फोहोर बढारेर बाटोमा फाल्ने गर्छन्। माटोमा ती कणहरू खस्ने भएकाले सडक नालीको माटो उठाएर पानीमा पखालेर सुन निकाल्ने गरेको सुनचाँदी व्यवसायी सङ्घ बुटवलका पूर्वअध्यक्ष एमबी विश्वकर्मा बताउँछन्।
सुन कालीगढ र व्यवसायी आवतजावत बढी हुने ठाउँमा बढालेर जम्मा गरेको धुलो धोएर प्रशोधन गरी सुन निकाल्ने गरेको उनी बताउँछन्।
यसरी प्रशोधन गर्दा हरेक व्यक्तिले प्रत्येक दिन दुई/तीन लाल सुन जम्मा गर्छन्। कसैकसैले त दिनमै सात/आठ लाल पनि जम्मा गर्ने गरेको उनी बताउँछन्।