झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माइधार-दोमुखा सडक ४४ वर्षपछि कालोपत्रे हुने भएको छ।
यो सडकलाई कालोपत्र गर्न स्थानीय शिवसताक्षी नगरपालिका लागि परेको छ।
शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड गरेर ४ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ लागतमा कालोपत्रे निर्माण हुने भएको हो।
मंगलबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास समेत गरिएको छ। झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी सावाँ लिम्बू र शिवसताक्षी नगरका प्रमुख मेघाहाङ्ग थोप्राले संयुक्त रूपमा कालोपत्रे सडकको शिलान्यास गरेका हुन्।
ढलरहित ७ मिटर चौडाइ कालोपत्रे सडक २९ सय मिटर लामो रहेको शिवसताक्षी नगरपालिकाका इन्जिनियर उत्तम बरालले बताए।
सो सडकमा कालोपत्रे बाहिरको ८ मिटर सडक ग्राभेल हुनेछ। तीनवटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइप सडकमा लाग्ने इन्जिनियर बरालले बताए। सतासी निर्माण सेवाले ठेक्का लिएको सो सडक असार १५ गते निर्माण सम्पन्न हुने निर्माण कम्पनीका भैरवकुमार श्रेष्ठले जानकारी दिए।
‘आर्थिक, सामाजिक उल्झन आएन भने जेठ मसान्त सम्ममा निर्माण सकेर नगरलाई सडक जिम्मा दिनेछौं।’
शिवसताक्षी नगरका प्रमुख मेघाहाङ्ग थोप्राका अनुसार यो सडक ३६ सालमा कन्काइ सिँचाइ आयोजनाले निर्माण गरेको हो।
‘त्यसयता पटक/पटक कालोपत्रे गरिने चर्चा थियो। तर, हुन सकेको थिएन,’ ‘शिवसताक्षी नगरका प्रमुख थोप्राले भने, ‘जहाँ परिणाममुखी उत्पादन दिन्छ त्यहाँ स्थानीय सरकारले लगानी गर्न कन्ज्युस्याइँ गर्ने छैन।’
माइधार-दोमुखा सडक नगरको रिङरोड अन्तर्गतको सडक हो।
यो सडकलाई कालोपत्रे गर्न आफूले कयौं पटक कानुनी उल्झन व्यहोर्नुपरेको नगर प्रमुख थोप्राले बताए।
सडक कालोपत्रे गर्न पौने ६ करोडको लागत स्टिमेट गरिएको थियो। यो बजेट नगरको एउटै योजनालाई छुट्याइएको सबैभन्दा ठूलो बजेट भएको नगर प्रमुख थोप्राले बताए।
आफूले निर्वाचनताका बालेका बाचामध्ये सबभन्दा ठूलो योजना पहिलो वर्षमै कार्यान्वयन हुन थालेकोमा हर्षित भएको उनले बताए।
पूर्वपश्चिम राजमार्गको माइधारदेखि ३ किलोमिटर उत्तर इमालको चुरे फेदीमा रहेको दोमुखा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अब सहज हुने उनीहरूले बताएका छन्।
सडक निर्माण भएपछि हालको संख्यामा एक चौथाइ पर्यटकको संख्या बढ्ने अनुमान दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष धनबहादुर लावतीले बताए।
उनले भने, ‘यहाँका स्थानीय, उद्यमी व्यवसायी र ३० वटा होटल रेष्टुरेन्टको दु:खका दिन अब जानेछन्।’
उनले होमस्टे पनि संचालन गरेर एक नम्बर प्रदेशमै पर्यटकको पहिलो रोजाइको क्षेत्र दोमुखालाई बनाउन सकिने बताए।