बाटोमा ग्राभेल हाल्नका लागि सिफारिस लगेर बालुवा-गिट्टी क्रसर उद्योगहरूमा बिक्री गरेको पाइएको छ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ ले स्थानीय गहते र पातुखोला मिसिने दोभानबाट बालुवा-गिट्टी उठाउने स्वीकृति दिएको थियो।
सडक पूर्वाधार विकास कार्ययोजना अन्तरगत तुलसीपुरको अश्वारा– कटुकुँइया–प्रतापपुर हुँदै सल्यान–लुहाम सडक खण्डमा बालुवा-गिट्टी बिच्छाउन अनुमति दिइएको थियो।
तर, अहिलेसम्म पनि तुलसीपुरको अश्वारा– कटुकुँइया–प्रतापपुर हुँदै सल्यान –लुहाम सडक खण्डमा एक टिपर पनि बालुवा -गिट्टी बिच्छाइएको छैन। त्यसरी उठाइएको बालुवा गिट्टी स्थानीय क्रसर उद्योगहरूमा बेचिएको पाइएको एक वडाध्यक्षले बताए।
‘स्वीकृतिका लागि नगर प्रमुखलाई सम्बोधन गरी पत्र लेखिएको छ,’ ती वडाध्यक्षले भने, ‘बदमासी कतिसम्म भएको छ भने स्वीकृति प्रदान गर्दा हस्ताक्षर प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले गरेको देखिन्छ।’
गत माघ १९ गते वडा कार्यालयको सिफारिस र प्राविधिक प्रतिवेदनका आधारमा सडक पूर्वाधार विकासको सिफारिस पत्र अनुसार माघ २४ गतेका निर्णयबाट तुलसीपुर उपमहानगरले बालुवा गिट्टी उठाउन स्वीकृति प्रदान गरेको थियो।
यो कामका लागि बा २ क ७५७६ नम्बरको स्काभेटरले बिहानदेखि बेलुकासम्म खोलामा उत्खनन् गर्न पाउने र त्यसरी उत्खनन् गरेको खोलाजन्य वस्तुहरू ग १ क ५७१६, ग १ क ५७१४ र ग १ क ५८१८ नम्बरका टिपर प्रयोग गरी ढुवानी गर्न पाउने गरी स्वीकृति प्रदान गरिएको थियो।
वडा नं. ८ की शारदा सिंहको नाममा दर्ता स्रेस्ता रहेको नक्सा नम्बर ३ (ख) कित्ता नं. १२२ को जग्गा क्षेत्रफल ०१–१५ को जग्गामा जम्मा भएको ४२० घनमिटर ग्राभेल नियम अनुसार लाग्ने राजश्व एक लाख १८ हजार छ सय ८० रुपैयाँ गत माघ २४ गते बुझाएको देखिन्छ।
खोलामा ह्याबी इक्युपमेन्ट प्रयोग गर्नुभन्दा पहिले वातावरणीय मूल्याङ्कन गर्नु अनिवार्य हुने भए पनि त्यसो नगरी व्यक्तिगत मनोमानीका आधारमा हचुवाको भरमा स्वीकृति प्रदान गर्नु गलत भएको एक कार्यपालिका सदस्यले बताए।
‘कर आउँछ भन्दैमा मेयरलाई लेखेको पत्रमा प्रमुख प्रशासकीय अधिकृतले तोक लगाउन मिल्दैन,’उनले भने,‘यो कार्यपालिकाबाट पारित हुनुपर्ने कुरा हो।’
प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले नियम अनुसार नै आफूले मेयरको आदेशले स्वीकृति प्रदान गरेको दाबी गरे।
उनले सडक विभागको पत्रानुसार अनुमति दिएको बताए।
‘एक नम्बरमा त्यो पत्रमा मेयर सापको तोक छ, दोस्रोमा त्यो पत्रमा मेयरसापलाई सम्बोधन गरेको छ र तीन नम्बरमा त्यो जुन ब्यक्ति हो आफ्नो जग्गा भित्रको ग्राभेल बेच्ने भनेर उसको मालपोत तिरेको रसिद छ,’ उनले भने, ‘चौथौ नम्बरमा दाङसँग सडक विभागले ४२० घनमिटर उत्खननको अधिकार दिन भनेर लेखेको छ।’
कुन–कुन ठाउँबाट निकाल्ने भनेर प्राविधिकले रिपोर्ट पनि दिएको उनले बताए। तर, आइइई किन नगरेको भन्दा उनले जवाफ दिन सकेनन्। किन उत्खनन् गर्ने व्यक्तिले भने भन्दा बढी मात्रामा र बेग्लै स्थानमा उत्खनन गरियो भनेर सोध्दा आफू काठमाडौंमा भएकाले त्यसबारे बुझ्नुपर्ने तर्क गरे।
तुलसीपुर–९ का वडाध्यक्ष घनश्याम भुसालले पनि जहाँ बालुवा गिट्टी बिच्छयाउने भनिएको हो त्यो ठाउँमा हालसम्म एक टिपर पनि बालुवा गिट्टी नझारिएको बताए।
‘त्यो बाटोको सडकमा एक टिपर बालुवा गिट्टी झारिएको छैन,’ उनले भने, ‘रातभर बालुवा गिट्टी नजिकको क्रसर उद्योगमा फोलेको सूचना हामीलाई छ।’
सडक निर्माणको लागि उत्खनन् र बालुवा गिट्टी ओसार पसारको अनुमति लिएर क्रसर उद्योगलाई बालुवा गिट्टी बेच्नु सरसार बदमासी भएको उनले बताए।
अर्कोतर्फ ४२० फिट घनमिटर मात्रै उत्खननको अनुमति प्रदान गरिएको भए पनि त्यसभन्दा चौगुणा २१०० फिट घनमिटरसम्म खनेर बालुवा गिट्टीको अवैध व्यापार गरेको पाइएको अर्का एक वडाध्यक्षले बताए।
‘जुन व्यक्तिको जग्गाको सिफारिस छ त्यो जग्गाबाट खनिएको छैन,’ उनले भने, ‘त्यसको ठिक पश्चिम पल्लोपट्टि खोलामा खनिएको देखिएको छ।’
स्थानीयले विरोध गरेपछि खनिएका सबै खाडल पुरिएका छन्।
वडा नं. ८ का वडाध्यक्ष धर्म वलीले स्थानीय गाउँलेहरूले विरोध गरेपछि आफू बसेर खाडलहरू पुर्न लगाएको स्वीकार गरे।
‘चार पाँच सय जना स्थानीय, गाउँले, किसानहरू विरोधमा उत्रिएपछि म आफैं गएर खनिएका खाडलहरू पुर्न लगाएको हुँ,’ उनले भने, ‘जुन ठाउँबाट उत्खननको अनुमति छ त्यसभन्दा फरक ठाउँमा खनेको पाइएपछि स्थानीय आक्रोशित भएका थिए।’
खोलाले काटेको स्थानीय नरेश सेनको जग्गाबाट बालुवा गिट्टी उठाउने र खोलाजन्य वस्तु उठाउने व्यक्तिले त्यहाँ तटबन्ध गरिदिने भन्ने सहमतिमा आफ्नो वडाले सिफारिस प्रदान गरेको अध्यक्ष वलीले बताए।
‘मैले त्यो सहमतिमा टोलका अध्यक्षलगायत सबैको सहमतिमा मुचुल्का बनाइ पठाइदिएको हुँ,’ अध्यक्ष वलीले भने, ‘बाटोमा बालुवा गिट्टी फाल्ने अनुमतl छ तर क्रसरमा फालेको देखियो।’
किन यस्तो गरेको भनेर सोध्दा बालुवा गिट्टी उठाउने अनुमति पाएका व्यक्तिले क्रसरमा फालेर प्रशोधनपछि मात्रै बालुवा गिट्टी सडकमा फालिने जानकारी दिएको अध्यक्ष वलीले बताए।
‘क्रसरबाट माल कुटेर लैजानका लागि फालिएको हो भनेर उसले मलाई भन्यो,’ अध्यक्ष वलीले भने, ‘त्यसको विरोधमा सारा स्थानीय उठेर निवेदन दिएपछि काम रोक्न लगाइएको हो।’