डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको साढे एक वर्षभन्दा बढी भयो। दोषी अझै पत्ता लाग्न सकेको छैन।
सोही वडामा रहेको ‘जमरानी स्वास्थ्य केन्द्र’ की कार्यालय सहयोगी कर्मचारी अस्मिता २०७८ असार २ गते कोरोना खोप पुर्याउन अर्को ठाउँ जाँदै थिइन्।
उनी गन्तव्यमा पुगिनन्। तीन दिनपछि असार ५ गते हट्वानी सामुदायिक वनमा विभत्स अवस्थामा उनको मृत शरीर फेला प¥यो।
पोस्टमर्टम रिपोर्टले उनको हत्या भएको पुष्टि गरेको थियो।
घटनापछि जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को विज्ञ टोली घटनास्थल पुगेको थियो।
प्रहरीले प्राथमिकताका साथ अनुसन्धान अघि बढाए पनि हत्यामा संलग्न व्यक्ति फेला पार्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयm डडेल्धुराले अनुसन्धान जारी रहेको भन्ने जवाफ दिने गरेको छ।
घटनाको दुई महिनासम्म ‘अस्मितालाई न्याय देऊ, हत्यारा सार्वजनिक गर’ भन्दै आफन्तहरूले नाराबाजी गरे। प्रहरी कार्यालय अगाडि कालोपट्टि बाँधेर धर्नामा बसे।
घटनाको चार महिनापछि प्रहरीले परीक्षण रिपोर्ट आएपछि संलग्न व्यक्ति पक्राउ गरेर सार्वजनिक गर्ने आश्वासन दियो। आफन्तहरूले आन्दोलन रोके।
त्यसपछि पनि आफन्तहरूले प्रहरी कार्यालयमा गएर सम्झाउन छाडेनन्।
परिवारजनले कसैका विरूद्ध किटानी जाहेरी नदिएको अस्मिताका श्रीमान अमर धामीले बताए।
घटना भएको सात महिनापछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख अस्मिताको गाउँमै पुगे। उनीहरूले घटनाको अनुसन्धान भइरहेको भन्दै दोषी छिट्टै पक्राउ पर्ने विश्वास दिलाए।
अहिले दबाबको आन्दोलन छैन। प्रहरीले कसैलाई पक्राउ गर्न पनि सकेको छैन। अस्मिताका आफन्तहरूले न्याय देऊ भन्न पनि छाडेका छैनन्।
अमर भन्छन्, ‘प्रहरी प्रशासन धाउँदा–धाउँदा र आन्दोलन गर्दा–गर्दा थाक्यौं तर न्याय पाइएन।’
अहिले पनि न्याय पाउने आशामा अमरको परिवारले प्रहरी कार्यालयलाई सोध्न छोडेको छैन।
‘प्रहरी ९९ प्रतिशत अनुसन्धान पूरा भइसक्यो भन्छ। दुई वर्ष पुग्नै लाग्यो, न्याय पाउने छाँट छैन,’ अमर भन्छन्, ‘न्यायका लागि पहल गरिदिन स्थानीय सरकार, प्रदेश सरकार, जनप्रतिनिधि र पार्टीका नेताहरूलाई भन्न छाडेका छैनौं।’
गत वैशाखमा स्थानीय तह तथा मंसिरमा प्रदेशसभा प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवार बनेका व्यक्तिहरूले पनि न्यायका लागि पहल गर्ने आश्वासन दिएका थिए।
आश्वासन दिनेहरूले अहिले फोन उठाउन छाडेको गुनासो अमरको छ।
उनले निराशा प्रकट गर्दै भने, ‘अस्मिताको घटना पनि निर्मला पन्तको जस्तै भयो। अब न्याय पाउने आश पनि मरिसक्यो।’
आफन्तको मागअनुसार नगरपालिकाले ‘जमरानी स्वास्थ्य केन्द्र’ मा अस्मिताको स्थानमा गत वर्षको अमरलाई साउनमा नियुक्ति दियो। उनी त्यहीँ कार्यरत छन्।
अस्मिता र अमरका दुई छोरी छन्। उनीहरू छ वर्ष र तीन वर्ष उमेरका छन्।
घटनाको साढे एक वर्ष बित्दा पनि दोषी फेला नपरेको र न्याय नपाएकोमा अमर दुःखी छन्।
उनी भन्छन्, ‘छिटो न्याय पाए मनमा अलिक शान्ति हुन्थ्यो।’
अस्मिताले स्वास्थ्य चौकीमा काम सुरू गरेको तीन वर्ष पुग्न लागेको थियो। अमर भारतको बैंगलुरूमा काम गर्थे। कोरोना भाइरसको संक्रमण फैलिएपछि घर फर्केका थिए।
कामकै सिलसिलामा अस्मिताको हत्या भएकाले उनले काम गरेको ‘जमरानी स्वास्थ्य केन्द्र’ उनकै नाममा नयाँ नामकरण गर्नुपर्ने आफन्तको माग छ।
आमा गुमाएका दुई छोरीहरूको शिक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि उनीहरूको माग छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी (प्रहरी नायव उपरीक्षक) मनोहर भट्टका अनुसार प्रहरी टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ।
प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरण पुगेको भन्ने गरेको भए पनि दोषी पक्राउ गर्न किन ढिला भएको हो भन्ने प्रष्ट पार्न सकेको छैन।
‘अनुसन्धानमा केही कुरा तुरून्तै पत्ता लाग्न सक्छ, केही कुरामा बढी समय लाग्छ,’ डिएसपी भट्ट भन्छन्, ‘आधार र प्रमाण जुटाउने काममा छौं। प्रक्रियामा रहेका सबै कुरा भन्न मिल्दैन।’