सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मंगलबार राति ज्योतिर्लिङमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ।
जिल्लाको प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता रामचन्द्र शाहका अनुसार राति अन्दाजी १२ बजेतिर मन्दिरमा चोरी भएको हो। उनका अनुसार चार केजीको चाँदीको जलहरी र अन्दाजी तीन हजार रूपैयाँसहितको दानपेटीका मन्दिरबाट चोरी भएको छ।
चोरी गर्ने व्यक्तिको पहिचान अहिलेसम्म भएको छैन।
'मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामराको रिसिभर पनि चुँडाएर लगेपछि अनुसन्धानमा समस्या भएको छ,' निमित्त प्रवक्ता शाहले भने, 'प्रहरीले अन्य विधिबाट चोरी गर्ने समूहको खोजी तीव्र पारेको छ।'
चोरी भएको दानपेटीका भने मन्दिरभन्दा करिब डेढ सय मिटर पर फुटाएर त्यसमा रहेको पैसा लिएर गएको अवस्थामा फेला परेको शाहले जानकारी दिए।
चोरी भएको चाँदीको जलहरी पाँच लाख बढी मूल्य पर्ने बताइएको छ। विशेषगरी साउनको सोमबारमा यस मन्दिरमा धेरै टाढाटाढाबाट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ।