मिथिलाक कथासभ : अध्याय ११
मिथिलाकी राजकुमारी सीताले नचाहेकी भए अयोध्याका राजकुमार रामचन्द्रसँग उनको विवाह नहुन सक्थ्यो!
राजा जनकको सर्त थियो — जसले भगवान शिवको धनुष उचालेर ताँदो चढाउन सक्छ, उसैसँग छोरी सीताको विवाह गराइदिने।
शिवको धनुष यति शक्तिशाली थियो, कसैले त्यसमा ताँदो चढाएर बाण हान्यो भने भगवानसमेत डरले थुरथुर हुन्थे। त्यसलाई उचालेर एक ठाउँबाट अर्को ठाउँ लग्न राजा जनकलाई नै सयौं भारदार खटाउनुपर्थ्यो। तर सीतासँग सानैदेखि यस्तो विलक्षण शक्ति थियो, उनी त्यो धनुष सजिलै उचाल्ने मात्र होइन, खेलौनाजस्तो यताबाट उता सारेर पूजाकोठा सरसफाइ गर्थिन्।
जब सीता विवाहका लागि परिपक्व भइन्, राजा जनकले उनको स्वयंवर आयोजना गरे। विभिन्न देशका राजा र राजकुमार शिवजीको धनुष उठाएर सीतासँग विवाह गर्ने अभिलाषासहित मिथिला आए।
त्यही भीडमा सीताले लंकाका राजा रावणलाई पनि देखिन्।
रावणलाई देखेपछि सीताको मन आत्तियो।
रावण कति दुष्ट छन् भन्ने उनलाई थाहा थियो। सँगसँगै यो पनि थाहा थियो, शिवका परमभक्त रावणको निम्ति धनुष उचाल्नु ठूलो कुरा होइन।
सीता डरले थुरथुर भइन्।
उनले आफ्नो डर आमालाई सुनाइन्।
आमाले सीतालाई गौरीको पूजा गर्न सल्लाह दिइन्। गौरी शिवकी पत्नी पार्वतीको अर्को नाम हो। शिव वा पार्वतीको पूजा गरेर आशीर्वाद माग्ने अविवाहितहरूले मन मिल्ने जीवनसाथी पाउँछन् भन्ने विश्वास गरिन्छ।
सीताले गौरीको पूजा र मन्त्र जप्न थालिन्।
यो उनको त्यही पूजा र जपको फल हो, अयोध्याका राजकुमार राम पनि स्वयंवरको खबर पाएर मिथिला आए। उनलाई हिन्दु धर्ममा भगवान विष्णुका सातौं अवतार मानिन्छ। उनले आफ्नो नरम बोली र कमलजस्तो निलो वर्णले धनुष उठाउनुअगावै मिथिलाका सबै जनको मन जितिसकेका थिए। सीताको मन त त्योभन्दा अगाडि नै राममा अडिसकेको थियो, जब गौरीको पूजा गरेर मन्दिरबाट फर्कंदा बगैंचामा पहिलोपटक उनीहरूका आँखा एकाकार भएका थिए।
आफ्नो मनले मनपराइसकेका रामले नै शिवजीको धनुष उठाएर ताँदो चढाऊन् भन्ने सीताको इच्छा थियो।
भयो पनि त्यस्तै — स्वयंवर बेला रामभन्दा अगाडि परीक्षा दिन आएका रावणले धनुष त सजिलै उचाले तर ताँदो चढाउन सकेनन्। आफूजस्तो शिवभक्त संसारमै कोही छैन भन्ने घमन्डको बोझका कारण उनले उठाइसकेको धनुष ताँदो चढाउनुअगावै भुइँमा झर्यो।
रावणका हातबाट त्यसरी धनुष झर्नुको कारण अरू केही थिएन, सीताको तप र जपको प्रताप थियो।
त्यसपछि स्वयंवरको परीक्षा दिन अघि सरेका रामले आफ्नो एकै हातले सजिलै धनुष उचाले। त्यसपछि जसै उनले ताँदो चढाएर बाण हाने, त्यो बाण बिजुली गतिमा आकासतिर गयो र धनुष उनको हातमै तीन टुक्रा भयो।
पौराणिक ग्रन्थ रामायणमा वर्णन गरिएको सीता–रामको विवाहको घटनाबाट राजा जनकको समयमा छोरीहरूको राजीखुसीबिना विवाह गराइदिने चलन थिएन भन्ने बुझिन्छ। वर छान्ने अधिकार पनि छोरीहरूकै हातमा थियो। त्यो चलनलाई स्वयंवर भनिन्थ्यो।
मिथिला कथा शृंखलाका लागि रिपोर्टिङ गर्ने क्रममा हामीले के थाहा पायौं भने, मिथिला क्षेत्रमा जन्मिने हरेक छोरीलाई सीता मानिन्छ। उनीहरूलाई वर छान्ने अधिकार मात्र छैन, मन मानेन भने विवाह गरिसकेपछि पनि उनीहरू आफ्नो वर छाड्न सक्छन्।
त्यो कसरी? के यो चलन अहिले पनि अभ्यासमा छ?
यसबारे तपाईंहरूलाई विस्तारमा बताउँला, एकछिन् धैर्य राख्नुस् है!
जनकपुरमा एउटा कहावत छ, राजा जनकले सीता–रामको विवाहका अवसरमा मिथिलादेखि अयोध्यासम्मको भित्ता मिथिला कलाले सजाउन लगाएका थिए। त्यही समयबाट मिथिला कला सुरू भएको मानिन्छ। त्यस बेला विवाहमा गीतको पनि छुट्टै महत्व थियो कि! हुनसक्छ, किनभने मैथिली लोक संगीतको इतिहास पुस्तान्तरण हुँदै आजसम्म जीवित छ। आज पनि मिथिलामा विवाहभरि गीतको सिलसिला टुट्दैन।
सीता र रामको विवाह हुने समयमा आजजस्तै गीत गाइन्थ्यो कि गाइन्थेन भन्ने अर्को छुट्टै खोजको विषय होला। आज चाहिँ हामी मिथिलामा हुने परम्परागत विवाहको कुरा गर्दैछौं, जसको हरेक विधिमा गीत–संगीत जोडिएर आउँछ र ती गीतमा सीता–रामको प्रसंग पनि जोडिन्छ।
मैथिली विवाहमा गीत कसरी जोडिन्छ र मैथिली विवाह कस्तो हुन्छ भन्नेबारे हामीलाई जनकपुरका संगीतकार सुनील मल्लिकले जानकारी दिएका थिए। त्यस्तै, सिरहा घर भई हाल ललितपुर हात्तीवन बस्ने गीतकार धीरेन्द्र प्रेमर्षि र उनकी श्रीमती गायिका रूपा झाले पनि हामीसँग यसबारे लामो चर्चा गरेका थिए।
सुरूमा हामी मैथिली गीतको चर्चा गरौं।
मिथिलाका गीतहरू बुझ्न पहिले यहाँको लोक संगीत बुझ्न जरूरी छ। मिथिलाको लोक संगीत सिक्ने पहिलो पाठशाला हो, घर।
‘हामीलाई गीत–संगीतको शिक्षा अरू कसैले दिएको होइन। मेरी आमाबाट मैले र मेरी बहिनीले सिक्यौं। म र मेरी बहिनीबाट हाम्रा छोराछोरीले सिक्दै छन्। मिथिलाको गीत–संगीत यसरी नै पुस्ता–दर–पुस्ता जीवित रहँदै आएको छ,’ सुनील मल्लिकले भने।
उनले अगाडि भने, ‘मिथिलामा पैनभर्नी गीत हुन्छ। यस्तो गीत महिलाहरूले घैंटो लिएर पोखरी वा इनारमा पानी भर्न जाँदा गाउँछन्। त्यो गीत उनीहरूलाई कसले सिकायो? कसैले सिकाएको होइन। त्यो गीत सबैले आफ्नी आमा र दिदीहरूबाट सुनेर सिकेका हुन्।’
मिथिलाको गीत–संगीतमा एउटा खास विशेषता हुन्छ — अधिकांशले पीडाको भाव बोकेको हुन्छ।
यसको कारण छ।
महिलाहरू आफूले सहँदै आएको मानसिक र शारीरिक पीडा अभिव्यक्त गर्न गीत–संगीतलाई माध्यम बनाउँछन्। समयक्रममा त्यसले लोक संगीतको रूप धारण गर्छ।
‘जसले यहाँको गीत बनायो, ऊ निकै पीडामा थियो होला। अहिले जसले ती गीत गाउँछन्, उनीहरूले पनि गीतको मर्म महसुस गरेर गाउँछन्। त्यो दर्द, त्यो पीडा नै मिथिलाको लोक संगीत हो,’ मल्लिकले भने, ‘कोही बारामासा रोपाइँ गर्न गाएको हुन्छ। ऊ कामको पीडा बिर्सन गीत गाउँछ। अर्को गोदना (हिजोआजको ट्याटुजस्तै शरीरमा बुट्टा कुँदने परम्परागत कला) मा शरीर घोप्दा जुन पीडा हुन्छ, त्यसलाई बिर्सन पनि गीत गाइन्छ। बाल विवाह, लैंगिक हिंसा, सामाजिक उत्पीडन लगायत महिलाहरूले जन्मदेखि मृत्युसम्म झेल्नुपर्ने सबै किसिमका पीडालाई यहाँ गीतमा समेटिएको छ।’
घरायसी स्तरमा एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै आएकाले मैथिली लोक संगीतको इतिहास कति पुरानो भनेर यकिन्न गर्न सकिन्न। यसको निम्ति पुराना अभिलेखहरू खासै भेटिन्नन्। तेह्रौं वा चौधौं शताब्दीतिरका केही लिखित अभिलेख फेला परेका छन्, जुन मैथिली सभ्यताका पहिलो साहित्यकार मानिने ज्योतिरीश्वर ठाकुरका अभिलेख हुन्। उनले सिमरौनगढका राजा हरसिंहदेवको पालामा गद्य शैलीमा ‘वर्णरत्नाकर’ भन्ने ग्रन्थ लेखेका थिए।
उक्त ग्रन्थमा तत्कालीन मिथिला समाज कस्तो थियो, यहाँका युवा र राजाहरू कस्ता थिए, तिनीहरूले कस्ता पहिरन लगाउँथे, त्यति बेला यहाँ कस्ता नाचगान र बाजाहरूको प्रचलन थियो भन्ने विवरण समेटिएका छन्।
‘वर्णरत्नाकरमा लौडिक नाचको चर्चा छ। डम्फाको चर्चा छ। गीतहरूको वर्णन छ,’ मल्लिकले भने, ‘साहित्यको विकासक्रम हेर्ने हो भने सुरूमा पद्य ग्रन्थहरू लेखिएको मानिन्छ। ज्योतिरीश्वर ठाकुरको वर्णरत्नाकर भने गद्यमा लेखिएको छ। यसबाट ज्योतिरीश्वरको पालामा गद्य रचनाको चलन आइसकेको थियो भन्ने थाहा हुन्छ। तर उनीभन्दा अगाडि कति पद्य ग्रन्थ लेखिए होलान्, जुन हामीले अझै भेट्टाउन सकेका छैनौं।’
ज्योतिरीश्वरपछि चर्चामा आएका अर्का मैथिली साहित्यकार हुन्, विद्यापति। उनको समयमा लोक–संगीत झनै फैलिन र विकसित हुन पायो। उनले लेखेका गीत यति प्रख्यात भए, ती भारतको आसाम, उडिसा, बंगाल र नेपालको काठमाडौं उपत्यकासम्म पुगे। त्यसैले काठमाडौं उपत्यकामा गाइने भजनहरूमा विद्यापतिका रचना धेरै भेटिन्छन्।
‘विद्यापति यति प्रख्यात थिए, बंगालका मान्छेले समेत विद्यापतिलाई बंगाली कवि हुन् भनेर दाबी गर्न थाले। उनीहरूले धेरै समयसम्म विद्यापतिलाई मैथिली कवि नै मानेनन्,’ संगीतकार मल्लिकले भने।
उनका अनुसार विद्यापतिलाई बंगालमा ‘कवि कष्ठाहार’ भनिन्छ, जसलाई यहाँ महाकवि भनिन्छ।
धेरैपछि बंगालीहरूले विद्यापति बंगाली कवि हुन् भनेर दाबी गर्न छाडे। यसको कारण के भने, विद्यापतिले लेखेको लिपि मिथिलाक्षर थियो। बंगालको लिपि मिथिलाक्षरसँग धेरै मिल्छ, तर विद्यापतिले लेखेका कतिपय शब्द बंगालमा प्रचलनमै थिएन।
विद्यापतिले चौधौं शताब्दीमा रचना गरेको यात्रा वृत्तान्त किताब ‘भूपरिक्रमा’ मा जनकपुरका केही ठाउँ र पोखरीको उल्लेख छ।
मल्लिकका अनुसार लोक संगीतको जड सहरभन्दा टाढा गाउँमा बसेको हुन्छ। सहरमा भेटिने लोक संगीत गाउँको नक्कल मात्र हो।
मिथिलाको लोक संगीतमा जन्मदेखि मरणसम्मको गीत पाइन्छ। प्रत्येक संस्कारमा विविध गीत छन्। त्यसलाई बिस्तारै मल्लिकले अभिलेखीकरण गरिरहेका छन्।
‘हामीले यहाँका गीत खोज्न र अभिलेखीकरण गर्न धेरै अनुसन्धान गरेका छौं। तिनको नोटेसन लेख्ने काम पनि हुँदैछ। यसले भोलिका दिनमा नयाँ पुस्ताले हाम्रो गीत–संगीता हरायो भनी पछुताउनुपर्ने छैन,’ मल्लिकले भने, ‘पहिले गीत लेखिन्न थियो, अभिलेख गरिन्न थियो। तैपनि एक कण्ठबाट अर्को कण्ठमा सर्दै गयो र जोगियो। अब त झन् रेकर्ड गर्ने सिस्टम आइसक्यो। मैले नै ३०–३५ वर्षदेखि यसमा काम गरिरहेको छु। त्यसैले अब ती गीतहरू हराउँदैनन्।’
लोक संगीत जोगाएर राख्ने एउटा माध्यम विवाह र उत्सवहरू हुन्।
विवाहले लोक संगीत कसरी बचाइरहेको छ भनेर प्रत्यक्ष हेर्न हामी पनि मिथिलाको एउटा विवाहमा सरिक हुन जाऊँ है त!
हामीले यो अध्यायको सुरूमै सीताले कसरी आफूलाई रावणजस्तो वर नपरोस् भनेर गौरी पूजा गरेको प्रसंग बताइसक्यौं। त्रेतायुगमा सीताले गरेको भनिएको गौरी पूजा मिथिलामा आज पनि कायम छ। यहाँ तेह्र-चौध वर्षको उमेरदेखि केटीहरू गौरी पूजा गर्छन्। माघदेखि फागुनसम्म यस्तो पूजा चल्छ। जब बेहुला जन्ती लिएर आउँछ, त्यति बेला पनि गौरी पूजा हुन्छ र बेहुला गएपछि बल्ल त्यो पूजा समापन गरिन्छ।
मिथिलाको विवाह दिउँसो नभई रातभर चल्छ। जब जन्ती बेहुलीको घर आउँछ, बेहुलालाई आरति गरेर भित्र लगिन्छ। त्यसपछि बेहुलाको ‘परीक्षण’ विधि सुरू हुन्छ र यसको निम्ति परीक्षण गीत गाइन्छ।
परिछन चलियौ सखी
रामसन जमैया हे
सोहाबन लागे
सोनाके डाला लिय साजि
हे सोहबन लागे
‘यो परीक्षण गीतले रामचन्द्र भगवान मिथिलामा विवाहका लागि जन्ती लिएर आउनुभएको छ, मिथिला धन्य भयो, भगवानको सौन्दर्य यस्तो छ, सीता-रामको जोडी भएपछि राम्रो हुन्छ भन्ने वर्णन गरेको छ,’ गायिका रूपा झाले परीक्षण विधिमा गाइने गीतको अर्थ लगाउँदै भनिन्, ‘हाम्रोमा जन्ती आउँदा थरीथरीका सामग्री डालोमा लिएर आएका हुन्छन्। चामलमाथि दियो राखिएको हुन्छ। कछुवाको खबडालाई दियो बनाइएको हुन्छ। माटाका अन्य भाँडाहरू पनि हुन्छन्। ती सबै विवरण परीक्षण गीतले दिएको छ।’
परीक्षण विधिको मुख्य विशेषता बेहुलीका लागि बेहुला अब्बल छन् कि छैनन् भनेर मूल्यांकन गर्ने हो। त्यसैले दुलहा आइसकेपछि पानको पातले उनको नाक समातेर भित्रसम्म लगिन्छ। यो केटाको नाक परीक्षण गर्ने विधि हो।
दुलहालाई भित्र लैजाँदा गीत चलिरहेको हुन्छ। त्यहाँ माटोका सामग्री, चामल, गोबर, बेसार लगायत सामान हुन्छन्। त्यसपछि परीक्षण विधिअन्तर्गत ‘ठकबक’ भन्ने प्रक्रिया सुरू हुन्छ, जसमा छुन हुने र छुन नहुने कुराहरू हुन्छन्।
‘यो चिज छुन हुन्छ र यो छुन हुन्न भनेर गीतमै भनिएको हुन्छ। बेहुलालाई घरमा पनि के–के छुन हुने र के–के छुन नहुने भनेर सिकाएर पठाइन्छ। तर भीडभाडमा बेहुला नर्भस भइहाल्छ। उसले गीतमा राम्ररी ध्यान दिन पाउँदैन। हडबडमा ऊ छुन नहुने कुरा पनि छुन्छ र कति छुनुपर्ने कुरा नछोई बस्छ,’ रूपाले भनिन्, ‘यो विधिको मुख्य प्रयोजन दुलाहाको बौद्धिक क्षमता जाँच्नु हो। उसले छुन हुने र नहुने चिज छ्यासमिस गरेपछि त्यहाँ राम्रो हँसीमजाक चल्छ।’
दोस्रो चरणको परीक्षण सकिएपछि दुलाहालाई डालोमा भएको पानको पात समातेर तीनपटक उठबस गर्न लगाइन्छ। केटाका हातखुट्टा ठिकठाक छन् कि छैनन् भनेर जाँच्ने यो परीक्षणको उद्देश्य हो।
त्यसपछि दुलाहालाई फेरि पानको पातले नाक समातेर घरको आँगनमा लगिन्छ। त्यहाँ सालीहरूले दुलाहाको ‘द्वार छेकाई’ गर्छन्। त्यस बेला दुलाहासँग हँसीमजाक हुन्छ, पैसा पनि मागिन्छ।
यसरी आँगनमा ल्याउँदासम्म निरन्तर गीत चलिरहेको हुन्छ, जसलाई ‘बटगवनी’ भनिन्छ। बाटोमा गाउने गीत भएकाले यसलाई बटगवनी भनिएको हो।
‘बाटोमा हिँड्दा गाइने यस गीतमा जुन महिना चलिरहेको छ, त्यही महिनाको गीत गाइन्छ। विवाह वैशाखमा हुँदैछ भने वैशाखको गीत गाइन्छ। अहिले होली नजिक छ, त्यसैले बटगवनीमा होलीको गीत चल्छ,’ रूपाले भनिन्।
अहिलेको बटगवनी गीत यस्तो हुन्छ–
मिथिलामे राम खेलए होरी
रामजीके हाथ कनक पिचकारी
सियाजीके हाथ अबिर झोरी
मिथिलामे राम खेलए होरी
आँगनबाट दुलाहालाई फेरि कोठामा लगिन्छ। त्यहाँ ‘ओठंगर कुटाई’ विधि हुन्छ। यो विधिअन्तर्गत सात जना विवाहित पुरूष र एक जना बेहुला गरी आठ जनाले ओखलमा धान कुटेजस्तो गर्छन्। त्यही भएर यसलाई ओठंगर भनिएको हो।
ओठंगरको पनि आफ्नै गीत छ। जब बेहुला ओठंगरमा व्यस्त हुन्छ, बेहुली आँप र महुवासँग विवाह गर्न जान्छिन्। यति बेला पनि बेहुली जाँदै गर्दा बटगवनी गीत गाइन्छ।
‘महुवा वनस्पति हो, जसबाट पहिला मदिरा बनाइन्थ्यो। त्यो गरिबहरूको आहार पनि थियो। आँप र महुवा दुवैसँग विवाह गराउनु भनेको यस्ता वनस्पतिलाई घर छेउछाउमै राख्नुपर्छ भन्न खोजिएको हो। यसको प्रतीकात्मक अर्थ पनि छ। यसले वैवाहिक जीवन आँपजस्तै मधुर होस् र महुवाजस्तै मादक होस् भनेर संकेत गर्न खोजेको हो,’ गीतकार धीरेन्द्र प्रेमर्षिले भने।
रूपाका अनुसार अचेल महुवासँग विवाह गर्ने चलन निकै कम भइसक्यो, आँपसँग भने अझै हुन्छ।
‘यो विधिका लागि कम्तिमा आँप फलेको बोट हुनुपर्छ,’ उनले भनिन्, ‘त्यहाँ गएर आँपको बोट वरिपरि पाँचपटक घुम्ने र पूजाआजा गर्नुपर्छ। त्यसमा पनि गीत हुन्छ।’
जब बेहुलीले आपसँग विवाह गरेर आउँछिन्, उनले लुगा धुने धोबी जातकी महिलाको कपालको पानी खानुपर्छ। यसलाई ‘धोबीन सुहाग’ भनिन्छ।
बटसावित्रीको कथामा धोबी र ब्राह्मणबीच अन्तरजातीय विवाह भएको प्रसंग छ। कथाअनुसार धोबी महिलासँग विवाह गरेपछि ब्राह्मण केटाको घरमा लक्षण भित्रिन्छ। त्यसैले धोबी महिला एकदमै भाग्यमानी र गुणी हुन्छिन् भन्ने भनाइ छ।
‘दुलहीले धोबी महिलाको कपालको पानी खाँदा हलोको जुवामा राखेर खानुपर्छ। त्यति बेला ती महिलाले मलाई यो दिनू, त्यो दिनू भनेर गीत गाउँछिन्,’ रूपाले भनिन्, ‘दलित समुदायको भए पनि उनको कपालबाट पानी खानुपर्ने परम्पराले मिथिला समाज कति सुन्दर ढंगमा बसेको छ भन्ने थाहा हुन्छ।’
‘हाम्रो विवाहमा चाहिने लकडी (काठ) पनि हजाम समुदायले ल्याउँछन्। जो मान्छेले ठूलो र सानो जात भनेर जातीय संकीर्णता बोकेका छन्, तिनीहरूले मिथिला विवाह हेरे हुन्छ।’
उनले अगाडि भनिन्, ‘परम्परागत शैलीमा विवाह गर्न खोज्नेले प्रायः सबै विधि समेट्न खोज्छ। मैले काठमाडौंमै तीन–चारवटा विवाह हेरेकी छु, जसमा जनकपुरतिरबाटै धोबी महिलाहरू खोजेर लगिएको थियो।’
धोबी महिलाको कपालको पानी खाएपछि ‘न्यना जोगिन’ विधि सुरू हुन्छ।
यसमा दुलहीलाई भगवतीको कोठामा राखिन्छ। उनीसँगै उनकी बहिनीलाई पनि राखिएको हुन्छ। दुवैले एउटै लुगा लगाएका हुन्छन्। उनीहरूको अनुहार घुम्टोले छोपिएको हुन्छ। दुलहाले घुम्टोमा रहेका दुई जना केटीमध्ये आफ्नी श्रीमती कुन हो भनेर चिन्नुपर्छ।
त्यति बेला महिलाहरूले यस्तो गीत गाउँछन्–
दुलहा! बामा कनियाँ
दहिना बैसल सारि यौ
चिन्हू अपन नारि यौ ना
यो गीतमा भनिएको छ– बायाँ तिम्री बेहुली छिन्, दायाँ साली छिन्। तिमी बेहुली को हुन् चिन।
दुलाहाले झुक्किएर सालीलाई देखाए भने त्यहाँ फेरि उनको मजाक उडाइन्छ। त्यस बेला चारतिर न्यना जोगिनहरू हुन्छन्। उनीहरूको पूजा पनि गर्नुपर्छ।
त्यसपछि दुलाहा र दुलहीलाई कोहबरमा लगिन्छ।
कोहबरले विवाहको समयमा मण्डपको काम गर्छ। त्यही कोठा पछि सुहाग कक्ष हो।
कोहबरका भित्तामा मिथिला चित्र कुँदिएका हुन्छन्, जसमा मान्छेको जनजीवन, वैवाहिक जीवन र तान्त्रिक प्रतीक अंकित गरिन्छ।
विवाह पक्कापक्की भइसकेपछि साइतभन्दा १०–१५ दिनअघिबाट कोहबर सजाउने काम सुरू हुन्छ। कसैको कोहबरमै विवाहका बाँकी गतिविधि हुन्छन् भने कसैको आँगन वा छतमा हुन्छ।
‘मेरो घरमा आँगन वा छतमा गर्ने चलन थियो,’ प्रेमर्षिले भने, ‘रूपाको माइतीमा भने कोहबर कोठामा गरिन्थ्यो।’
कोहबरमा बेहुलाले पण्डितले भनेको मन्त्र पढ्नुपर्छ। त्यो बेला बेहुली त्यहाँ साक्षी बस्छिन्। बेहुला र बेहुलीलाई सघाउने काम ‘विधकरी’ को हुन्छ। विधकरीको भूमिका बेहुलाको परीक्षणदेखि विवाहको समापनसम्म जारी रहन्छ। खासगरी बेहुलीकी दिदी वा भाउजूलाई विधकरीको जिम्मा दिइन्छ।
कोहबरमा मातृका पूजा हुन्छ, कन्यादान पनि हुन्छ। कन्यादान गर्ने मान्छे दिनभर केही नखाई बसेका हुन्छन्। कन्यादानको समयमा ‘सम्मर’ गीत गाइन्छ, जसलाई कुमार गीत पनि भनिन्छ।
‘गीतमा छोरीको विवाह गर्दा अप्ठ्यारो भयो, कति केटा खोज्दा पनि भेटिएन भनिन्छ। त्यही गीतमा छोरीलाई अयोध्या जानू, त्यहाँ रामचन्द्र भगवान छन् भनेर सुझाव पनि दिइन्छ,’ रूपाले भनिन्, ‘अब आजदेखि छोरी पराई भइन्, अरूको घर जान लागिन् भन्ने पीडा पनि गीतमा अभिव्यक्त गरिएको हुन्छ।’
कोहबरमै ‘सीथ नोतव’ विधि हुन्छ, जसमा सुनमा घोटिएको चन्दन बेहुलाले बेहुलीको हात र घाँटीमा अंकमालजस्तो गरेर लगाइदिनुपर्छ। त्यसपछि दुवै जना मिलेर धान भुटेर निकालिएको लाभा छर्दै सातपटक घुम्नुपर्छ।
‘यो विधि केटा र केटीलाई अलिकति भए पनि नजिक ल्याउन बनाइएको हुनुपर्छ,’ प्रेमर्षिले भने।
त्यसपछि सिन्दुर दान हुन्छ, जसको आफ्नै गीत छ। त्यति बेला बेहुलाले बेहुलीलाई रातो नभई भुसुना सिन्दुर भनिने सुन्तला रङको सिन्दुर लगाइदिन्छन्। त्यही बेला अन्य पाँच जना महिलाले पनि बेहुलीलाई सिन्दुर लगाइदिन्छन्।
सिन्दुर दानपछि हुनेवाला जेठाजुले बेहुलीलाई घुंघट (घुम्टो) दिन्छन्।
‘जेठाजुले घुंघट हाल्ने र भाइले हटाइदिने काम दुईपटकसम्म हुन्छ। तेस्रोपटकमा जेठाजुले राम्रोसँग घुंघट हालिदिन्छ,’ रूपाले भनिन्, ‘अबदेखि तिमी हाम्रो घरको भयौं र तिमी हाम्रो घरको इज्जत हौ भनेर यसरी घुंघट हालेको हुनुपर्छ। माइतमा जसरी बसे पनि हुन्छ, घुंघट नराखे पनि हुन्छ, तर मेरो घर आएपछि इज्जतसँग बस्नुपर्छ भनेर घुंघट राखिएको होला।’
मिथिलामा पछिल्लो समय आएको यो घुंघट अर्थात् घुम्टो प्रथालाई संगीतकार सुनील मल्लिक पुरूषवादी सोचको उपज मान्छन्। किनभने, सीता जन्मिएको भूमिमा महिलालाई स्वतन्त्रता थियो, घुम्टोले उनीहरूलाई बाँध्ने र स्वतन्त्रता हनन् गर्ने काम गरेको छ।
‘जब महिलामाथि घुम्टो प्रथा सवार भयो, यसले उनीहरूलाई वस्तु वा चिज बनायो,’ मल्लिकले भने, ‘मिथिलाकी सीता त बहिर्मुखी थिइन्। घुम्टो र पुरूषवादी सोचले महिलाका लागि निश्चित ठाउँ तोकिदियो। महिलालाई गृहिणी किन भनिन्छ? यो शब्द नै महिलाहरू घरमै बस्ने हो, बाहिर जाने होइन भन्ने लैंगिक विभेदबाट आएको हो। अहिले बल्ल महिलाहरू आफ्नो अधिकारका लागि लड्न थालेका छन्। तर लैंगिक विभेदका संस्कार अझै पनि हाम्रो विवाह परम्परामा जीवित छन्।’
सिन्दुरदान र घुम्टोपछि चुमावन विधि हुन्छ। यसको पनि आफ्नै गीत छ।
चुमावनमा डालाजस्तो भाँडामा धान, पाँचथरी मिठाइ, फलफूल, दही र दुबो राखिएको हुन्छ। धान र दुबो लिएको हातले शिरमा छोएर बेहुला र बेहुलीलाई आशीर्वाद दिइन्छ।
विवाह बेला यी सबै विधि भइरहँदा गौरी पूजा र मौहक पूजा पनि जारी रहन्छ। गौरी पूजामा सुपारीलाई गौरी मानेर सिन्दुरले पूजा गरेपछि बेहुलीले आफ्नो सिउँदोमा लगाउने चलन छ। त्यति बेला बेहुलाले पछाडिबाट बेहुलीलाई आवश्यक सामान दिइरहेको हुन्छ।
त्यसपछि रातभर हुने विवाह विधि समाप्त गरेर पण्डितले ‘बेहुलीलाई आकासको तारा देखाएर ल्याउनू’ भनेर बेहुलालाई भन्छन्।
‘सायद आकासको तारा हेरर सुखी जीवनको कल्पना गर्नू भनेर भनिएको हुनसक्छ,’ प्रेमर्षिले भने।
तारा देखाएपछि ‘नगहर’ हुन्छ। यति बेला पण्डित विवाह सम्पन्न गरेर आफ्नो घर गइसकेका हुन्छन्। विवाह घरमा रहेका दुई जना महिला माटोको घैलामा पानी भर्न नजिकैको पोखरीमा जान्छन्। त्यही पानीले चार दिनपछि दुलहा–दुलहीले नुहाउनुपर्छ।
त्यसपछि जन्तीलाई खाना खुवाइन्छ। यस क्रममा डहकन गीत गाउने चलन छ। त्यसमा बेहुली पक्षकाले बेहुला पक्षका व्यक्तिहरू, खासगरी सम्धीलाई तथानाम गाली गर्छन्। उनीहरू जन्तीले आफ्नो आवाज सुन्ने तर आफूहरू नदेखिने ठाउँमा बसेर यो गीत गाउँछन्। गीत यस्तो हुन्छ–
एहन सुन्दर राम ललाके जुनि पढियनु कियो गारी हे
हास–विलास–विनयसँ पुछियनु उचित कथा दुइचारी हे
प्रथम कथा ई पुछियनु सजनी कहता कनेक विचारी हे
गोरे दशरथ गोरे कौशिल्या राम–भरत किए कारी हे
‘डहकन गीत दाइजोलाई लिएर गाइन्छ। तिमीले छोरालाई दाइजोमा बेच्यौ, छोरालाई श्रीमतीको दूधको दाममा बेच्यौ लगायत भनेर बेहुलाका बुवालाई गाली गरिन्छ। तिम्रो दिदी यस्तो, बहिनी यस्तो भनेर केटी पक्षका महिलाले भन्नुसम्म भन्छन्,’ रूपाले भनिन्, ‘उनीहरू भगवान रामलाई समेत गाली गर्न छाड्दैनन्। दशरथ पनि गोरा छन्, कौशल्या पनि गोरी छन्। उनीहरूका अरू छोरा लक्ष्मण र भरत पनि गोरै छन्। राम चाहिँ किन काला भए भनेर गाली गर्छन्। कतै आमा अन्तै गएर रामलाई जन्माएकी त होइन भनेर ठट्यौली पनि गरिन्छ।’
यी सबै विधिपछि जन्तीलाई खुवाइवरी पठाइन्छ। अब विवाह सकियो भन्ने तपाईंहरूले सोच्नुभयो होला। त्यसो भए तपाईं गलत हुनुहुन्छ। विवाहको मुख्य विधि त बल्ल सुरू हुँदैछ।
माथिका सम्पूर्ण विधि पूरा गरिसकेपछि बेहुलालाई कोहबर घरमा सुताइन्छ भने बेहुलीलाई विधकरीसँग चार दिन छुट्टै राखिन्छ।
यी चार दिन उनीहरूले नुन पनि खाँदैनन्। विधकरीले पनि त्यतिञ्जेल नुन खाँदिनन्।
यसरी छुट्टाछुट्टै सुताउनु र नुन नखुवाउनुको कारणबारे गीतकार प्रेमर्षि भन्छन्, ‘नुन नखाएपछि शारीरिक रूपले दुवै शिथिल हुन्छन्। यसले उनीहरू मानसिक रूपमा मात्र एकअर्काको नजिक आउन सक्ने भए।’
चार दिन अलग्गै राख्नुको अर्को कारण पनि छ।
यसबीच बेहुलामा केही शारीरिक वा व्यावहारिक कमजोरी देखियो भने उसलाई छोरी नदिई फिर्ता पठाइन्छ। कुनै कमजोरी देखिएन भने बल्ल विवाह गराइन्छ।
‘चार दिन मात्र होइन, विवाह गरेको वर्ष साउन महिनामा पर्ने मधुश्रावणीसम्म पनि केटामा कुनै खराबी पाइयो भने केटीलाई फर्काउन मिल्छ। त्यसरी फर्काइएका धेरै उदाहरण छन्,’ प्रेमर्षिले भने, ‘त्यसैले सांस्कृतिक रूपले हेर्दा मधुश्रावणीसम्म केटीका तर्फबाट विवाह शतप्रतिशत सम्पन्न भएको हुँदैन। चार दिनमा ९९ प्रतिशत हुन्छ भने मधुश्रावणीपछि मात्र शतप्रतिशत हुन्छ।’
‘त्यही भएर सबै परम्परा पुर्याएर विवाह गर्नेको जोडी कहिल्यै असफल हुँदैन भन्ने मिथिलामा भनाइ नै छ,’ उनले भने।
बेहुला र बेहुली छुट्टाछुट्टै बस्नुपर्ने चार दिनको बीचमा पनि गीत–संगीत चलिरहेको हुन्छ। यो बेला बिहान प्राति गीत, दिउँसो मौहक गीत र साँझ सन्ध्याकालीन गीत गाइन्छ। यसमा बढीजसो राधा र कृष्णका गीत गाइन्छन्। राम र सीता वनवास गएका गीतहरू पनि हुन्छन्। तर विवाह प्रणयसँग जोडिएकाले पीडाको भन्दा राधाकृष्णको प्रेमगीत नै बढी गाउने चलन छ।
यी चार दिनको अवधिभरि हरेक दिन बेहुलाले आफू बस्ने कोहबरबाट विधकरीसँग बसेकी बेहुलीलाई लिन जान्छन् र हात समातेर गौरी पूजा चलिरहेको ठाउँसम्म ल्याउँछन्। पूजाआजा गर्छन्। यो बेला पनि बटगवनी गीत गाइन्छ। चार दिनसम्म हरेक साँझ चुहावन प्रक्रिया पनि हुन्छ।
यी चार दिनमा केटा र केटी दुवैले घरका काम गर्दैनन्। उनीहरूलाई आँगन र घरको चार किल्लाभन्दा बाहिर जाने छुट हुँदैन।
‘उनीहरू सँगै नबसे पनि एकअर्काबाट अलग नहोऊन् र विवाहको समयमा केही अशुभ नहोस् भनेर यसो गरिएको हो,’ प्रेमर्षिले भने, ‘चार दिनसम्म काम नलगाउनुको कारण पनि उनीहरूलाई प्रशस्त आराम होस् भनेर हो।’
चार दिन पूरा गरेपछि दुलाहा र दुलहीले चार दिनअघि घैलामा ल्याएको पानीले नुहाउनुपर्छ। त्यसअघि बेसार र दही मिसाएर हिजोआज ‘फेसन’ बन्दै गएको हल्दी लगाउने परम्परा पनि हुन्छ।
बेहुला र बेहुलीले त्यस दिनसम्म पहेँलो लुगा लगाएका हुन्छन्। बेहुलाले पहेँलो धोती र बेहुलीले पहेँलो सारी लगाउँछन्। चार दिनपछि नुहाइसकेपछि बेहुलीले रातो लुगा लगाउँछिन् भने बेहुला विवाहको औपचारिक पहिरनमा सजिन्छन्।
चार दिनपछि बल्ल मूल विवाह सुरू हुन्छ। त्यो दिन बेहुलाले बेहुलीलाई रातो सिन्दुर लगाइदिन्छन्।
‘त्यस दिन थरीथरीका परिकार पकाइएको हुन्छ। चार दिनसम्म नुन नखाएका बेहुला–बेहुली र विधकरीले पनि यस दिन नुन र अन्य खानेकुरा खान्छन्। केटाको घरबाट माछा र दही आएको हुन्छ। त्यसलाई अहिले फालाफाल गरेर खाने चलन आएको छ,’ रूपाले भनिन्, ‘राति अरू दिनजस्तै चुमावन हुन्छ। त्यस दिन केटीलाई विधिवत् रूपमा केटाको घर पठाइन्छ।’
केटाको घर पुगेपछि अर्थात् पाचौं दिन ‘दहनही’ हुन्छ, जसमा नजिकैको दह अर्थात् पोखरी गएर बेहुलीले नुहाउनुपर्छ। यसमा पाँचथरीका अनाज मिसाएको सामग्री लगेर पोखरीको पूजा गर्नुपर्छ।
त्यस क्रममा फेरि डहकन गीत चल्छ। यसमा नन्दले भाउजूलाई गीतमार्फत् गाली गर्छिन्।
‘भर्खर विवाह भएकी केटीलाई हौस्याउने र हँसाउने रत्यौलीजस्तो गीत हुन्छ,’ रूपाले भनिन्।
यहाँ आइपुगेपछि मिथिलाको विवाह विधि र विवाहमा गाइने गीतहरू समाप्त हुन्छ।
‘मिथिलाक कथाभस’ शृंखलाअन्तर्गत कथाहरू खोज्न जनकपुर आएदेखि मलाई (सबिना श्रेष्ठ) जनकपुरको परम्परागत विवाह हेर्ने रहर थियो। त्यो रहर हवाइजहाजमा भेटिएका एक अपरिचित सहयात्रीले झनै बढाइदिएका थिए।
उनले भनेका थिए, ‘जनकपुरमा त भव्य विवाह हुन्छ।’
झन् सुरेन्द्र मल्लिक, धीरेन्द्र प्रेमर्षि र रूपा झाबाट मिथिला विवाहका विविध संस्कारबारे थाहा पाएपछि यहाँको कुनै विवाहमा सरिक हुने मेरो चाहना झनै बढ्यो। त्यसैले मैले यस शृंखलाका सहलेखक रोहित महतोलाई जनकपुरको विवाह देखाउन पटकपटक आग्रह गरेकी थिएँ।
संयोग कस्तो भयो भने, म जनकपुर आएकै बेला उनको साथीको विवाह पर्यो। हामीले विवाहकै दिनका विधि त हेर्न पाएनौं, तर त्यसअघिको ‘मटकोर’ हेर्यौं। यसका लागि हामी जनकपुरनजिकै पर्ने क्षिरेश्वरनाथ नगरपालिकास्थित दिगम्बरपुर गाउँ गएका थियौं।
मटकोरमा माटो लिन जाने, चुल्हो बनाउने, लाभा छर्ने लगायत गतिविधि हुन्छ। माटो खनेर चुल्हो बनाउने भएकाले यसलाई मटकोर भनिएको हो।
गायिका रूपा झा र धीरेन्द्र प्रेमर्षिलाई हामीले मटकोरबारे सोध्दा उनीहरूले भने, ‘हामीले विवाहका जुन विधिहरू बतायौं, त्यो ब्राह्मण, कायस्थ, देव, सोनार लगायत जातिका हुन्। यहाँ सोनारलाई पहाडतिरजस्तो दलित जाति मानिन्न। यसबाहेक अन्य समुदाय गुप्ता, मण्डल, यादव लगायतको विवाह अलि फरक हुन्छ। उनीहरूको विवाहमा माटो खन्ने, बाँस काट्ने लगायत काम गरिन्छ। यसैलाई मटकोर भनिन्छ। हामीले भने ती काम ब्रतबन्धकै बेला गरिसकेका हुन्छौं, त्यही भएर विवाहमा गर्नुपर्दैन।’
अन्य विवाह विधि पनि ब्राह्मण, कायस्थहरूभन्दा अलि फरक हुने र छोटो पनि हुने उनीहरूले बताए।
मलाई मटकोरमा सबभन्दा अचम्म लागेको चाहिँ त्यहाँ बेहुलाले बेहुलीको जस्तै घुम्टो लगाएर आफ्नो घरदेखि इनारसम्म जानुपर्ने रहेछ। त्यसबारे प्रेमर्षिले भने, ‘त्यसलाई पग वा शिरमौर भनिन्छ। त्यो बेहुलीले लगाउनेजस्तो घुंघट होइन, बेहुलालाई सजाउन बनाइएको बुट्टेदार लुगा हो।’
यी दुई समुदायको विवाह विधिमा थोरै फरक भए पनि दुवैलाई गीतले जोडेको छ। कति गीत त एउटै गाइन्छ।
मिथिलाका विवाहमा गाइने गीतमा सीता र रामको विवाहको प्रसंग धेरै आउँछ। तर मिथिलावासीहरूले रामजस्तो केटासँग छोरीको विवाह नहोस् भनेर कामना गर्ने गरेको प्रेमर्षि बताउँछन्।
‘यस्तो किन त?’
जवाफमा उनले भने, ‘सीताले रामसँग विवाह गरेर दुःख मात्र पाइन्। उनले विवाहपछि वनवास जानुपर्यो। वनवासबाट फर्किएपछि अग्निपरीक्षा पनि दिन लगाइयो। सीताको विवाहपछिको समय पीडादायक र कष्टकर रह्यो। त्यसैले मिथिलावासीहरू आफ्नी छोरीको विवाह रामजस्तो केटासँग नहोस् भनेर प्रार्थना गर्छन्।’
उनले यो पनि भने, ‘राम–सीताको विवाह सम्झिएर मनाइने विवाह पञ्चमीमा पनि हत्तपत्त छोरीको विवाह गराउँदैनन्। झन् अयोध्याको केटासँग त विवाह नै गराउन नपरोस् भन्ने कामना गर्छन्।’
सानैदेखि यो कुरा सुन्दै आएका गीतकार प्रेमर्षि पहिले सोच्थे रे– यदि आफ्नी छोरीले सीताको जस्तो जीवन बेहोर्नुनपरोस् भन्ने आमाबुवाको कामना हुन्छ भने सीतालाई किन आदर्श नारी भनियो होला?
अहिले उनले यसको जवाफ पाइसकेका छन्।
‘रामले जे भन्यो, त्यसलाई सहर्ष स्वीकार गर्ने सीता मलाई आदर्श लाग्दिनन्,’ उनले भने, ‘सीताको आदर्श उनको कोख हो। उनले आफ्नो कोखबाट जन्मिएका लव र कुशलाई एक्लै पालनपोषण गरिन्, एक्लै शिक्षादिक्षा दिइन्। उनले एकल आमाका रूपमा आफ्ना दुई छोरालाई यति योग्य बनाइन्, उनीहरूले अहंकारी रामको अश्वमेघ यज्ञको घोडा समातेर रोके।’
‘यति मात्र होइन, राम जंगलमै आएर दरबार फर्किन आग्रह गर्दा पनि सीता फुरूंग परेर रामको पछि लागिनन्। आफूलाई तिरस्कार गरेर निकालिएको रामको दरबार जानुभन्दा उनी धर्तीमा समाहित भइन्। मलाई सीताको त्यो रूप आदर्श लाग्छ।’
मिथिलावासीहरू आफ्नी छोरीलाई रामजस्तो बेहुला नपरोस् भनेर कामना गरे पनि राम र सीतालाई आदर्श जोडी चाहिँ मान्छन् र विवाहमा गाइने गीतहरूमा यही जोडीको सम्झना गरिरहन्छन्।
यी पनि पढ्नुहोस्: