दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ अम्बापुरका युवा गिरिराज आचार्य सोमबार दिउँसो इलाका प्रहरी कार्यालयमा थिए।
२०७७ साल असोज ३० गते बैंकको किस्तासहित २० लाख ८५ हजारमा रा १ ख १६८२ नम्बरको बस उनले तुलसीपुर– १८ दूधरासका जंगबहादुर वलीसँग किनेका रहेछन्। वलीले यो बस तुलसीपुर–१८ का तेजकुमार खत्रीसँग किनेका थिए।
सोही बस आफूले पाउनु पर्ने माग गर्दै आचार्यले माघ ४ गते प्रहरीमा निवेदन दिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले जानकारी दिए।
आचार्यले बस किन्दा एउटा मोटरसाइकलसहित झन्डै पाँच लाख बुझाएको र मासिक झन्डै साढे ४३ हजार किस्ता बुझाउँदै आएका थिए। उनले यो अवधिमा किस्ता बापतको रकम मात्रै १३ लाख ८५ हजार जति प्राइम कमर्सियल बैंकमा बुझाइसकेका छन्। अहिले पनि बैंकलाई किस्ता बापतको करिब ५ लाख रकम बुझाउन बाँकी नै छ।
बस अम्बिकेश्वरी यातायात प्रालिमा दर्ता भई तुलसीपुर–घोराही सडक खण्डमा संचालन हुँदै आएको छ।
कोभिडबाट थलिएको यातायात क्षेत्र बिस्तारै जुर्मराउन थालेको थियो। त्यही बीचमा बसको अगाडिको सिसा फुट्यो। सिसा फेर्नु पर्ने भएपछि आचार्यले दुई महिनाको किस्ता बुझाउन सकेनन्।
बैंकले पहिले बस किनेका व्यक्ति खत्रीलाई फोन गरी किस्ता नआएको सूचना दिँदै त्यसका लागि ताकेता गर्यो। यही बीचमा आचार्यले पार्किङमा राखेको बस पुस ५ गते एकाएक खत्रीले थुतेर ल्याए। बसको किस्ता तिरेपछि मात्रै बस दिने अडान खत्रीले सुनाए।
त्यसपछि आचार्य किस्ता बापतको रकम जोहो गर्नतर्फ लागे। माघ १८ गते आचार्यले तिर्न बाँकी किस्ता एक लाख ३६ हजार बैंकमा जम्मा गरिदिए। अनि आफ्नो भनिएको बस खोजे। बस त पुस ४ गते नै खत्रीले तुलसीपुर–१७ का सन्तोष चौधरीलाई बेचिसकेको तथ्य पत्ता लाग्यो। बस बेचेर पहिले बस किन्ने खत्री भने विदेशको यात्रामा निस्किएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
‘सबभन्दा पहिले बस किन्ने खत्रीजी हाल अमेरिका जाने बाटोमा रहेको कुरा खुलेको छ,’ उनले भने, ‘प्रहरीसँगको सम्पर्कमा उहाँले स्पेन छु भन्ने कुरा गर्नुभएको छ।’
बस आफूलाई दिलाइदिन माग गर्दै आचार्यले माघ ४ गते निवेदन दिएको हुँदा प्रहरीले घटना अनुसन्धान गरिरहेको डिएसपी मल्लले जानकारी दिए।
घटनाबारे अनुसन्धान सुरू भएको र आवश्यक परेको खण्डमा बस नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न सकिने उनले बताए।
पहिलो व्यक्तिले दोस्रोलाई दोस्रोले तेस्रोलाई र तेस्रोबाट खोसेर फेरि पहिलो व्यक्तिले चौथो व्यक्तिलाई एउटै बस बेचेको कुरा खुलेको हुँदा त्यसबारे अनुसन्धान गर्न जरूरी रहेको मल्लले बताए।
‘दुई व्यक्तिको बीचमा बसको विषयलाई लिएर विवाद वा झगडा हुने स्थिति आउन नदिन बस प्रहरी नियन्त्रणमा लिनुपर्ने हुन सक्छ,’ उनले भने, ‘हामीले बस खोजिरहेका छौं र फेला पर्नसाथ नियन्त्रणमा लिन सक्छौं।’
आचार्यले बाहेक बस कसले कतिमा खरिद गरेको हो ? भन्ने स्पष्ट भइनसकेको र सरसर्ती नियाल्दा आचार्यको लाखौं रकम बसका लागि लगानी भइसकेको देखिएको डिएसपी मल्लले बताए।
पछिल्लो समय बस किनेका भनिएका चौधरी र आचार्य दुबैलाई मर्का नपर्ने गरी निर्णय गरिने उनले बताए।
आचार्यले पनि कि बस नभए आफूले हालसम्म बसका लागि खर्चिएको रकम फिर्ता पाउनु पर्ने माग गर्दै आएका छन्।
आचार्यले पछिल्लो किस्तासमेत आफूले नै राखेको र अर्कैले बस संचालन गरिरहेको हुँदा यो अवधिको क्षतिपूर्ति पनि पाउनुपर्ने माग गरे।