माघ २३ गते गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी ४६ हजार मानिसले ज्यान गुमाएको टर्की र सिरियाको क्षेत्रमा सोमबार फेरि अर्को भूकम्प गएको छ।
स्थानीय समयअनुसार सोमबार राति ८ बजेर ४ मिनेटमा हतायमा केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। पछिल्लो भूकम्पमा परी कम्तीमा ३ जनाको मृत्यु भएको र २१३ जना घाइतेको टर्कीका अधिकारीहरूलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
माघ २३ को भूकम्पमा परी घरबारविहीन भएर खुला ठाउँ र त्रिपालमा रात बिताइरहेका मानिसहरू सोमबार फेरि आएको भूकम्पले आत्तिएका थिए।
माघ २३ गतेको गएको भूकम्पपछि उक्त क्षेत्रमा केही दिनसम्म सयौं परकम्पहरू गएका थिए। पछिल्लो समय परकम्प जान रोकिएका बेला सोमबारको भूकम्प गएको हो।