दाङको तुलसीपुरमा झन्डै पाँच ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।
सोमबार राति पौने १० बजे तुलसीपुर उपमहानगरपालिका-९ बेलुको दाजुभाइ चोकका २३ वर्षीय रुपकराज सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
लागु औषधको चेकिङ गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरले सोमबार कोहलपुरस्थित तालिम केन्द्रबाट दुईवटा कुकुर झिकाएको थियो।
ब्युटी नामको कुकुरलाई तुलसीपुर-सल्यान रूटको गोटीखोला चेकपोष्टमा खटाइएको थियो। ‘एलेक्स’ नामको कुकुरलाई दक्षिण नाका दमारगाउँमा खटाएको थियो। दमारगाउँमा कार्यालयका प्रमुख डिएसपी पुष्पराज मल्ल सहितको टोली खटिएको थियो।
सवारी चेक गर्नेक्रममा एलेक्सले नेपालगन्जबाट तुलसीपुर आउँदै गरेको माइक्रो बसबाट ६ पोका ब्राउनसुगर फेला पारेको डिएसपी मल्लले बताए।
रा १ ख २८७२ नम्बरको माइक्रो बसको सिट पछाडि ब्राउनसुगर फेला पारेको हो।
‘एलेक्स नामक कुकुरले सुँघेर ब्राउन सुगर पत्ता लगाएको हो,’ एक प्रहरी अधिकारीले भने, ‘ब्राउनसुगर बरामद भएपनि त्यो कसको हो भनेर कसैले स्वीकारेनन्। स्वीकार नगरेपछि फेरि कुकुरकै सहयोगमा व्यक्ति पत्ता लगाएको हो।’
कुकुरले पत्ता लगाएपछि उनले पनि ब्राउनसुगर आफ्नै भएको स्वीकारेका हुन्।
सार्वजनिक यातायात चढेर दिनहुँ लागुऔषध भित्रिन थालेको सुराक पाएपनि पत्ता लगाउन प्रहरीलाई मुस्किल भइरहेको थियो। यसो भएपछि प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर प्रहरीले झिकाएको हो।
कुकुर झिकाएसँगै प्रहरीले दिउँसैदेखि विभिन्न ठाउँमा चेकपोष्ट खडा गरी चेकिङ गर्न थालेको थियो। प्रहरीका अनुसार उक्त गाडीबाट प्रहरीले ४ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर फेला पारेको हो।
प्रहरी हिरासतमा रहेका सुनारले नेपालगन्जबाट भारतीय नागरिकसँग ब्राउनसुगर किनेको बताएका छन्।
उनीमाथि थप सोधपुछ र अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसरी नेपालगंजबाट भित्रिने लागु औषध सुर्खेत, दाङ हुँदै पहाडी जिल्लाहरूमा पुग्ने गरेको प्रहरी बताउँछ। डिएसपी मल्लले लागुऔषध प्रयोगकर्ताको चेन तोड्न प्रहरी, अभिभावक र समाजिक संस्थाहरू बीच हातेमालो हुन जरुरी रहेको बताउँछन्।
‘समाजमा शान्ति स्थापना गर्न र युवा पुस्तालाई कुलतबाट जोगाउने हो भने समाज पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘शैक्षिक संस्था, जिम्मेवार नागरिकहरूले दुर्व्यसनी न्यूनिकरणमा हातेमालो गर्न जरुरी छ।’