मिथिलाक कथासभ : अध्याय १३
घाम उज्यालो थियो, आकाश सफा। मधेसको तातो हावासँग मधेसकै गीत पौंठेजोरी खेल्दैथ्यो।
‘तोहार दुलहा हो, तोहार दुलहा, तोहार दुलहा
साँवर साँवर सूरतिया तोहार दुलहा
गोरे गोरे लखन रंगदार दुलहा हो रंगदार दुलहा
साँवर साँवर सूरतिया तोहार दुलहा’
यो लोक मैथिली गीत हो जसले भन्छ, ‘तिम्रो दुलहाको अनुहार कालो नभई गहुँगोरो छ।’
हामी जनकपुरबाट २३ किलोमिटर टाढा बटेश्वर गाउँमा थियौं। बैजनी रङले रंगिएको एउटा घरमा हाम्रो बाइक रोकिएको थियो। मैथिली लोकगीत बजिरहेको त्यो घर नेवार समुदायको हो।
सेतो स्यान्डोमा हाफ पाइन्ट र खुट्टामा कालो चप्पल लगाएका श्याम कर्माचार्य हाम्रो अगाडि आइपुगे। हामीसँग कुराकानी गर्नुअघि उनले घरबाहिर एउटा कुनामा बाँधिएका भैंसीहरूलाई दानापानी दिए।
हामी घरबाहिर बरन्डामा उनलाई कुरिरहेका थियौं। त्यहाँ उनकी श्रीमती उर्मिला कर्मचार्य सोहिजनको तरकारी केलाउँदै थिइन्। सोहिजन मधेसको प्रसिद्ध तरकारी हो, जुन विशेषगरी नयाँ वर्षबाट खान सुरू गरिन्छ। मधेसको तातोमा सोहिजनले शितलता दिन्छ भन्ने स्थानीयहरूलाई विश्वास छ।
श्यामले जसै आफ्नो काम सके, उनी बरन्डामा हामीसँगै मिसिए।
बरन्डाको पछाडि झ्यालनिर मलका बोरा थिए। बोरामाथि गुलाबी रङमा कोठेदार बुट्टा भएको गम्छा थियो। श्यामले त्यो गम्छा उठाएर घाँटीमा भिरे अनि हामीसँग कुरा गर्न बसे।
जब उनी रैथानी मधेसी लवजमा बोल्न थाले, हामीले थाहा पायौं उनले मुखमा पान पनि चपाइरहेका छन्।
मिथिला र काठमाडौंको नेवार सभ्यताबीच रहेको घनिष्ठ सम्बन्धबारे हामीले अघिल्लो अध्याय ‘मिथिलासँग जोडिएको नेवार सभ्यता’ मा चर्चा गरिसकेका छौं। यो सम्बन्ध गाँसिनुमा सिमरौनगढका राजा हरसिंहदेवको ठूलो हात छ।
संस्कृतिका अध्येता डेनियल राइटले छपाएको वंशावलीअनुसार राजा हरसिंहदेव दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट भागेर आफ्नी जहान, छोराहरू, परिवारका सदस्य, केही भारदार र केही जनतासमेत नेपाल उपत्यका अर्थात् अहिलेको काठमाडौंतर्फ लागेका थिए। उनी काठमाडौंसम्म भने पुग्न सकेनन्। दोलखाको तीनपाटनमा उनको मृत्यु भयो।
हरसिंहदेवको मृत्युपछि उनकी रानी देवलदेवीले सिमरौनगढबाट हिँडेको समूहको नेतृत्व सम्हालिन् र सबैलाई काठमाडौंसम्म ल्याइन्।
यसरी काठमाडौं उपत्यका आउँदा सात थरका मानिस सिमरौनगढबाट आएका थिए भनिन्छ। त्यसमा ब्राह्मण, भंडेल, आचार्य, जोशी, वैद्य, रजक र खड्गी थरका मानिस थिए।
यति मात्र होइन, नेपाल उपत्यकामा मल्ल शासनको जग मजबुत बनाउने श्रेय पाएका जयस्थिति मल्ललाई पनि देवलदेवीले नै दक्षिण मधेसबाट झिकाएकी थिइन्। उनले आफ्ना छोरा जगतसिंह र नायकदेवीकी छोरी राजल्लदेवीसँग विवाह गरेर नेपाल उपत्यकाको राजकाज सम्हाल्न जयस्थिति मल्ललाई ल्याएको इतिहास छ।
यसरी सिमरौनगढ राजखलकको प्रवेश र मधेसबाट झिकाइएका जयस्थिति मल्लले काठमाडौंको गद्दी सम्हालेपछि नेवार सभ्यता र मिथिला सभ्यताबीच राजकीय स्तरमा घनिष्ठ सम्बन्ध गाँसिएको हो। राजकीय स्तरबाट सुरू यो सम्बन्ध पछि जनस्तरमा पनि व्यापक हुँदै गएको पाइन्छ।
इतिहासको त्यो कालखण्ड फर्केर हेर्ने हो भने मिथिला र काठमाडौंबीच आममान्छेको बसाइसराइँ मल्लकालबाटै सुरू भएको अनुमान गर्न सकिन्छ। जनस्तरको यो सम्बन्ध बुझ्न हामीले काठमाडौं उपत्यकामा रहेको केही मैथिलहरूसँग कुराकानी गरेका थियौं। उनीहरूमार्फत् काठमाडौंमा पाइने मिथिला सभ्यताको झलकबारे हामीले अघिल्लो अध्यायमा चर्चा गरिसकेका छौं।
यही विषयलाई हामीले जनकपुरमा अर्को कोणबाट हेर्ने प्रयास गर्यौं। जसरी काठमाडौंमा मिथिला सभ्यता बाँचेको छ, के जनकपुरमा नेवार सभ्यताको झलक पाइन्छ?
यसका लागि जनकपुर र वरिपरि बसोबास गर्ने नेवार परिवार खोज्ने क्रममा हामी श्याम कर्माचार्यको घर पुगेका थियौं।
उनी र यहाँका नेवारहरूसँग कुराकानी गर्दा हामीले के पायौं भने, जसरी काठमाडौंका मैथिल नेवारसँग घुलमिल भएका छन्, त्यसरी नै यहाँका नेवार मिथिला सभ्यतामा मिसिइसकेका छन्। अर्को एउटा समानता पनि हामीले भेट्यौं, जसरी काठमाडौंका मैथिल सकभर बिहेबारी मिथिला क्षेत्रमै गर्न चाहन्छन्, त्यसरी नै यहाँका नेवार सकभर काठमाडौंमै बिहेबारी गर्न चाहन्छन्। लामो समयदेखि चल्दै आएको बिहेबारीले पनि नेवार र मिथिला सभ्यतालाई आजसम्म घनिष्ठ बनाउँदै लगेको छ।
मान्छे कति घुलनशील प्राणी हो भने, ऊ जुन समुदायमा जान्छ, त्यहीँको रहनसहन र चालचलनमा घुलमिल हुन्छ। जसको बीच बस्छ, उसैको रङमा रंगिन्छ। तर जतिसुकै घोलिए पनि नुनले आफ्नो स्वाद नछाडेजस्तै मान्छेले पनि आफ्नो पहिचान छाड्दैन।
श्याम कर्माचार्यको घरको आँगनमा एउटा यस्तो चिनो हामीले देख्यौं, जुन मधेसको अरू घरमा हुँदैन। वर्षौंदेखि श्यामले जोगाएर राखेको काठमाडौंको त्यो चिनो हो– पिखालखु।
नेपाल भाषाको ‘पिखा’ शब्दले ढोकालाई जनाउँछ भने ‘लखु’ शब्दले नदीलाई।
काठमाडौं उपत्यकाका नेवार समुदायले आफ्नो घरअगाडि आँगनमा रातो माटो र गोबरले लिपेर गोलाकार मण्डप बनाएका हुन्छन्, जसमा फूल, अक्षता र जल चढाइन्छ। मूलढोका बाहिरको रक्षक मानिने पिखालखुलाई प्रायः नेवारहरूले कुमार भगवानका रूपमा पूजा गर्छन्। श्यामले पनि घरको आँगनमा सानो ढुंगामाथि गोबर र रातो माटोले लिपेर पूजा गर्ने नेवार चलन छाडेका छैनन्।
‘हाम्रो घर पहिला काठमाडौंको वसन्तपुरमा थियो। मेरो बुवा इन्द्रराजका नाममा त्यहाँ प्रशस्त फाँट थियो। तर उहाँले सबै आफ्ना दाजुभाइलाई छाडिदिनुभयो। आफू भने महोत्तरी आएर बस्नुभयो,’ श्यामले भने।
मधेससँग साइनो जोडिएको भने उनका हजुरबुवा रामबाबु कर्माचार्यकै पालामा हो, जो काठमाडौंबाट महोत्तरीको अध्ययनपुर गाउँ आएका थिए। अध्ययनपुरमा उनको ठूलो मौजा थियो, झन्डै पाँच सय बिघाको।
‘राजा महेन्द्रको समयमा हाम्रा हजुरबुवाले काठमाडौंबाटै मालपोत तिर्नुभयो र यहाँ आउनुभयो। पहिला त सबै जग्गा सरकारी हुन्थ्यो, हजुरबुवाले पैसा तिरेर यहाँको जग्गा किन्नुभएछ र यतै बस्नुभएछ,’ श्यामले भने, ‘हजुरबुवाका दुई भाइ थिए। एउटा यतै बस्न थाले, अर्को काठमाडौंमा। हाम्रो हजुरबुवा पनि गर्मी छल्न काठमाडौं जानुहुँदो रहेछ।’
त्यति धेरै जग्गा जोडेका रामबाबुले धेरैजसो जग्गा त आफ्नै समयमा सकेछन्। कुनै समाजसेवामा दिएछन्, कुनै बेचेछन्। अहिले कुनै ठाउँ पाँच कट्ठा, कुनैमा दुई त कुनैमा एक कट्ठा गरेर तीन–चार बिघा मात्र बचेको श्याम बताउँछन्।
उनका हजुरबुवा रामबाबुले दान दिएका विभिन्न जग्गामध्ये ध्रुवकुण्डको जग्गा एक हो।
ध्रुवकुण्डलाई सत्ययुगमा बालक ध्रुवले तपस्या गरेको ठाउँ मानिन्छ। मिथिलाको पन्ध्रदिने परिक्रमा गर्दा सातौं दिन ध्रुवकुण्ड आइपुगिन्छ। त्यति बेला त्यहाँको मन्दिर समितिलाई आफ्नो तर्फबाट चिठी लेख्नुपर्ने श्याम बताउँछन्।
‘मिथिला परिक्रमा जुन दिन ध्रुवकुण्ड आइपुग्छ, त्यो दिन हामी त्यहाँ पुगे पनि नपुगे पनि फलानो दिन परिक्रमा आउँदैछ, तपाईंहरू पनि आउनुहोला भनेर समितिलाई चिठी लेख्नुपर्छ,’ उनले भने, ‘यो चलन हजुरबुवाकै पालादेखि चल्दै आएको हो।’
हजुरबुवा मात्र होइन, हजुरबुवाका भाइ निमबाबु पनि उत्तिकै दान–धर्ममा लागेको उनी बताउँछन्।
‘दक्षिणकालीको मन्दिर छ नि, त्यो मेरो अर्को हजुरबुवा निमबाबुले बनाउनुभएको हो,’ उनले भने।
हजुरबुवाकै पछि लागेर महोत्तरी आएका श्यामका बुवा इन्द्रराजको मन पनि यतै रमाउन थालेको र उनले काठमाडौं फर्किन उति चासो नदिएको श्यामको भनाइ छ।
‘काठमाडौंमा मेरा कर्माचार्य आफन्तहरू टन्नै छन्। हरेक घरमा एक–एक छाक खाए पनि छ महिना खान पुग्छ होला,’ उनले भने, ‘त्यति धेरै दियाद (दाजुभाइ) छन् मेरो त्यहाँ।’
मधेसमै पनि उनका आफन्त छरिएर बसेका छन्। रौतहटको राजपुर जिल्लामा जोशी थरका मामा र प्रधान थरका ठूलोबुवा छन्।
‘म २०२२ सालमा यहीँ जन्मेको हुँ। आमाबुवाले नेवार भाषा बोल्नुहुन्थ्यो, मलाई भने आउँदैन। मैथिली, नेपाली र अलिअलि हिन्दी बोल्न सक्छु,’ उनले भने, ‘मधेसमा बसे पनि, यहीँको जस्तो भए पनि, हामीले मान्ने सबै संस्कार र परम्परा नेवारकै छ।’
उनले अगाडि भने, ‘हामी दसैं, तिहार सबै मनाउँछौं। यता चौरचन (भदौ शुक्ल चतुदर्शीमा मनाइने पर्व) मनाउँदा हामी चौथी मनाउँछौं। भाइटीकाको अघिल्लो दिन म्हपूजा गर्छौं। सप्तरंगी टीक लगाउँदैनौं, रातो टीका लगाउँछौं। हाम्रोमा गुफा राख्ने, बेल विवाह गर्ने सबै हुन्छ।’
त्यसबाहेक उनीहरूको गुठी पनि छ। गुठी भनेको सामुदायिक संस्था हो, जसले चाडपर्व र जात्राहरू मनाउन सहयोग गर्छ। उनीहरूको गुठी हेटौंडामा छ।
‘हाम्रो विवाह, ब्रतबन्ध सबै गुठीमा हुन्छ,’ श्यामले भने, ‘कतिपय नेवारहरूले घरमै पनि गर्छन्। तर हाम्रो परम्परा फरक छ, त्यसैले गुठीमै जानुपर्छ।’
कर्माचार्य परिवारलाई तन्त्रविद्या जानेको पुजारी पनि भनिन्छ। त्यसैले उनीहरूको पूजाआजामा विशेष महत्व हुन्छ।
‘नेवारहरूले गाउँमा सप्ताह लगाउँदा कर्माचार्य अनिवार्य चाहिन्छ,’ उनले भने, ‘यतातिरका नेवार त म खासै चिन्दिनँ, तर काठमाडौंमा त्यस्तो हुन्छ भन्ने मलाई थाहा छ।’
यताका नेवारहरू विवाह गर्न पनि धेरैजसो काठमाडौं नै जाने गरेको उनले बताए। श्याम भने उर्मिलासँग विवाह गर्न हेटौंडा पुगेका थिए।
श्यामले नेवारका पर्व मात्र होइन, खाना पनि बिर्सिएका छैनन्।
‘हामी क्वाँति, बारा, यःमरि सबै बनाउँछौं। बारा, सिद्रा र अन्डा त सगुनमा नभई हुन्न,’ श्यामकी पत्नी उर्मिलाले भनिन्, ‘हामी यहाँको मैथिली खाना तरूवा, बगिया, कडहीबडी पनि बनाउँछौं।’
उर्मिलालाई आफूहरू भक्तपुरबाट हेटौंडा आएको भन्ने थाहा छ। तर कसरी र कहिले जानकारी छैन। श्याम काठमाडौं पनि गइरहेका हुन्थे। हिजोआज भैंसीको दूध दुहुने कामले जान पाएका छैनन्। भने, ‘काठमाडौंमा त नेवारहरूले खासै भैंसी पाल्दैनन् नि! यता भने दूध खान परिहाल्छ अनि पालेका छौं। यो भैंसीले फेरि म नभई दूध दिँदैन।’
भैंसीपालनसँगै उनी खेतीकिसानी पनि गर्छन्। उनी यसैमा सन्तुष्ट छन्। कहिलेकाहीँ काठमाडौंका आफन्तले मधेस छाडेर आउन सल्लाह दिन्छन्। तर उनको मन मधेसमै रमाएको छ।
‘काठमाडौं जाने भनेको टाइम पासलाई मात्र हो। दुई चार दिन बस्छु, फर्किहाल्छु। काठमाडौंमा त के हो के हो, मनै अडिन्न,’ उनले भने।
श्याम र उर्मिला कर्माचार्यसँग कुराकानी गरेर छुट्टिएपछि हामी बटेश्वरमै रहेको अर्को नेवार घरमा पुग्यौं। उनीहरूको संस्कृति, परम्परा चाहिँ आधाउधि मधेसकै भइसकेको रहेछ।
आफ्नो पुस्ता २००७ सालअगाडि नै ललितपुरको पाटनढोकाबाट मधेस आएको बताउँछन्, ६१ वर्षीय मोहनकुमार श्रेष्ठ।
‘हाम्रो जिजुबाजेका चार दाजुभाइ थिए। जेठो बाजे जागिर खान बरदही भन्ने ठाउँ बस्नुभएको थियो रे,’ आफूले बुवा–हजुरबुवाबाट सुनेको कुरा सम्झँदै मोहनले भने, ‘त्यहाँबाट बाजे बटेश्वर झर्नुभएछ। पहिले हाम्रो बरदहीमा पनि जग्गा थियो, यता पनि थियो। अहिले उताको सबै बेचिसक्यौं, यहाँ मात्र बाँकी छ। मेरो जन्म यहीँ भएको हो। हाम्रो जिजुबाजेको भाइका छोराहरू काठमाडौंको ज्ञानेश्वरतिर हुनुहुन्थ्यो। अहिले बित्नुभयो।’
‘तपाईंको चाहिँ काठमाडौंमा केही छैन?’
हाम्रो प्रश्नमा उनले भने, ‘जिजुबाजेले सबै छाडेर आउनुभयो रे। अंश लिन पनि जानुभएन। पुरानो घर त होला। तर बुवाले त खोज्नुभएन, अब हामीले के खोज्नु!’
उनका बुवा गिर्जाबहादुर सात सालमै बटेश्वर आइसकेका थिए। त्यही भएर आफ्नो पुस्ता त्योभन्दा अगाडि नै मधेस झरेको हुनुपर्ने मोहनकुमारको अनुमान छ।
उनको परिवार तिहारको समयमा म्हपूजा गर्दैन। आफ्ना दुई छोरीलाई महिनावारी हुनुभन्दा अगाडि बेला विवाह र १२ दिन गुफा राख्ने परम्परा भने गरेका छन्। दुई छोराको ब्रतबन्ध पनि गराएका छन्। कुनै समय उनी गुठीमा पनि आबद्ध थिए। उनको गुठी सिरहाको बस्तीपुरमा थियो, जहाँ भिमसेनको मूर्ति स्थापना गरिएको छ। उनी हरेक वर्ष त्यहाँ जान्थे। शुभ अवसरहरूमा नातागोता बोलाएर भोजभतेर पनि हुन्थ्यो। खासगरी चैत दसैं बेला गुठीमा राँगा र आफूले भाकल गरेका जनावर काट्ने परम्परा थियो।
पछिल्लो समय वैष्णव धर्ममा लागेपछि उनको परिवार गुठीमा जान छाडेको छ।
‘हाम्रो त राम–जानकी मन्दिर छ। त्यसैले हामीले जनावर काट्ने त के, माछामासु खान पनि हुन्न,’ उनले भने, ‘मासु नै नखाने भएपछि त्यहाँ किन जाने? मर्दापर्दा जान्छौं, अरू बेला भने वैष्णवसँग नेवार परम्परा नमिलेकाले जाँदैनौं।’
मोहनकुमारले काठमाडौंबाटै विवाह गरेका हुन्। उनको ससुराली अहिले पनि उतै छ।
जसरी उनको परिवार मधेस आएपछि वैष्णव भए, उनीहरूले छठ पर्व पनि मनाउन थालेका छन्। उनले बाह्र–तेह्र वर्षअघि आफू बिरामी पर्दा छठ मान्छु भनेर भाकल गरेका रहेछन्। रोग बिसेक भएपछि भाकल पूरा गर्न छठ मान्न थालेको उनी बताउँछन्। छठसँगै चौरचन र रक्षा बन्धन पनि मनाउँछन्।
‘चैत नवमीको दिन राम जानकी मन्दिरमा भन्डारा (पूजा) हुन्छ। वैष्णव र कन्ठीधारी, तिलकधारी बाबाहरू पनि आउँछन् र खानेकुरा खान्छन्। उनीहरूको पन्ध्र–सोह्र जनाको समूहले भजनकीर्तन गर्छन, लिला देखाउँछन्,’ मोहनले भने।
खानामा पनि उनीहरू यःमरि, बारा, चटामरीजस्ता नेवार परिकार बनाउँदैनन्। मिथिला परिकारहरू तरूवा, सोहिजनको तरकारी, कडहीबडी नै पकाउँछन्। जन्मदिन, बिहे, मृत्यु लगायत संस्कार पनि मधेसकै अनुसार गर्छन्।
‘समाज यहीँको छ, काठमाडौंको मान्छे बोलाउने कुरा आएन। यहाँ बसेकाले यहीँका मान्छे बोलायो र यहीँको चलनचल्तीअनुसार गर्यो,’ उनले भने।
उनीहरू भाषा पनि मैथिली र नेपाली बोल्छन्। परिवारमा मोहनकुमारबाहेक अरूलाई नेवार भाषा बोल्न आउँदैन। मोहनले नेवार भाषामै हामीलाई सोधेका थिए, ‘नेवाः भाय् ल्हाय् स कि मसः?’
यसको अर्थ, ‘तपाईंलाई चाहिँ नेपाल भाषा बोल्न आउँछ कि आउँदैन?’
मधेसमा जन्मे–हुर्केर पनि उनले कसरी नेपाल भाषा बोल्न जाने भनेर हामीले बुझ्न खोज्यौं।
उनी आफूले ३०–३५ वर्ष काठमाडौंमा बिताएको बताउँछन्। दिउँसो पाटन औद्योगिक क्षेत्रमा काम गर्थे। राति ट्याक्सी चलाउँथे। त्यही क्रममा नेवार भाषा पनि सिके।
श्यामलाई जस्तै उनलाई पनि मधेस छाडेर काठमाडौं फर्कने सोच कहिल्यै आउँदैन।
‘हाम्रो यहाँ साढे तीन बिघा जग्गा–जमिन छ। आँप, भुइँकटहर, रूखकटहर, मकै लगायत मौसमअनुसार तरकारी लगाएका छौं। सबै छाडेर कसरी काठमाडौं जानू! कुनै बेला काठमाडौंका थियौं होला, अब यहीँको हावापानी र माटोमा घुलमिल भइसक्यौं,’ उनले भने।
यी पनि पढ्नुहोस्: