राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गरेकी छन्।
आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान १०ः३० बजे बागलुङ आएका राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गरेकी हुन्।
उनी बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बागलुङ आएकी गुठीका अध्यक्ष कुमार खड्काले बताए।
राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेशसभा सदस्य कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अम्मर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गरेका थिए।
राष्ट्रपति भण्डारीले कालिकाको विशेष पूजाअर्चनापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहरण गरिन्। मूल पुजारी खड्काले उनलाई पूजाअर्चनामा सहयोग गरेका थिए।
राष्ट्रपति भण्डारीले कालिका मन्दिरको विशेष आगन्तुक पुस्तिकामा लेखेकी छन्, ‘बागलुङ जिल्लामा अवस्थित यस प्रसिद्ध कालिका भगवतीको दर्शन गर्ने सु–अवसर प्राप्त भएकोमा म साह्रै हर्षित छु, यो अवसर जुटाउने कालिका भगवती गुठीका संरक्षक तथा पदाधीकारीहरू, कर्मचारी एवं नागरिक समाजलाई विशेष धन्यवाद दिन चाहन्छु, यो समितिले यस ऐतिहासिक र धार्मिक मन्दिरको संरक्षण, संवर्द्धन र प्रवर्द्धन मिलाउन विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु।’