भनिन्छ, कुनै देश कस्तो छ भन्ने थाहा पाउन त्यहाँको विश्वविद्यालय नियाले पुग्छ। जसरी विश्वविद्यालयले सिंगो देशको चित्र पेस गर्न सक्छ, कुनै ठाउँको स्कुलले कम्तीमा त्यहाँको समाजको चित्र पेस गर्छ भन्न सकिन्छ।
हामीले यहाँ मोरङको ग्रामथानमा रहेका दुइटा सामुदायिक स्कुलका बारेमा चर्चा गरेका छौं। यी दुई स्कुलले यहाँको समाज थोरै भए पनि बुझाउन मद्दत गर्नेछन्।
विराटनगरस्थित पुष्पलाल चोकबाट झन्डै पाँच किलोमिटर पूर्व लागेपछि पुगिन्छ ग्रामथान–२ मा रहेको रवि आधारभूत विद्यालय। यो विद्यालय नपुग्दै अर्थात दुई किलोमिटर वरै झोराहाट चोक नजिकै छ सरस्वती नमूना माध्यमिक विद्यालय।
करिब दुई किलोमिटर दुरीमा रहेका एकै वडाका यी दुवै स्कुलको चौरमा उफ्रीपाफ्री गरिरहेका कलिला विद्यार्थीहरूको अनुहार नियाल्दा दुई फरक चित्र देखिन्छ।
अहिले एक हजार ३ सय ४८ जना विद्यार्थी पढ्ने सरस्वती माविमा समाजका सबैजसो समुदायका विद्यार्थी आउँछन्। एकअर्कासँग घुलमिल भएर हरेक दिन केही सिकिरहेका हुन्छन्। यो स्कुलको चौरमा खेलिरहेका विद्यार्थीहरू देख्दा भन्न सकिन्छ, यहाँ मधेसी, गैरमधेसी, दलित, गैरदलित सबै समुदायको बाक्लो बसोबास छ।
बाल कक्षादेखि १२ सम्म पढाइ हुने सरस्वतीको भन्दा फरक दृश्य रवि आधारभूत विद्यालयमा देखिन्छ। नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुने यो विद्यालयमा ४१८ जना विद्यार्थी पढ्छन्। सबै कक्षाकोठा नियाल्नुस् या चउर, मधेसी समुदायका विद्यार्थी मात्रै देखिन्छन्।
दुई किलोमिटर टाढाको स्कुलमा विद्यार्थीको सप्तरंगी उपस्थिति हुँदा रविमा किन एकै खाले विद्यार्थी भएका?
यहाँका शिक्षक, जनप्रतिनिधिदेखि स्थानीयबासीसम्मले यसलाई एकदमै स्वाभाविक मानेको पाइन्छ।
'यो स्कुल वरिपरि सबै मधेसी दलितको बसोबास छ। त्यही भएर यहाँ उनीहरू मात्रै भएका हुन्,' उनीहरू सबैको साझा निचोड यही छ।
यहाँ बातर, चमार र हरिजन समुदायका विद्यार्थी छन्। लामो समयदेखि दलित विद्यार्थी मात्रै पढ्दै आइरहेको यो विद्यालयले नजानिँदो रूपमा विभेद भोगिरहेको छ। यसले विद्यार्थीको सिकाइ प्रक्रियामा त असर पारेको छ नै, सिकाइ उपलब्धि प्रभावी बनाउन शिक्षकहरूलाई चुनौती पनि थपेको छ।
'मुख्यतः भाषिक समस्या छ। फरक समुदायका विद्यार्थी आए उनीहरूले एकअर्काबाट धेरै कुरा सिक्ने थिए,' प्रधानाध्यापक जितेन्द्र सरदारले भने, 'त्यो अवसरबाट हाम्रा विद्यार्थी बञ्चित छन्।'
यो अवसरबाट बञ्चित हुने अवस्था पछाडिको मुख्य कारण स्थानीय बसोबासलाई नै ठान्छन् उनी पनि।
तर थप्न छुटाउँदैनन्, 'दलित समुदायका विद्यार्थी पढ्ने भनेर अहिले पनि अरूले यहाँ विद्यार्थी नपठाएका हुन् कि जस्तो पनि लाग्छ। तर यो स्कुलमा पढ्न आउन सक्ने क्षेत्रमा गैरदलितको बसोबास नै नगण्य छ। त्यसैले यस्तो अवस्था भएको होला।'
दलित अधिकारकर्मी उमेश विश्वकर्मा रवि आधारभूत विद्यालयको दृश्यले 'मनोवैज्ञानिक विभेद' प्रस्तुत गर्ने बताउँछन्।
'हाम्रो समाजमा तीन थरी गैरदलित भेटिन्छ,' उनले भने, 'पहिलो खुला रूपमा दलितसँग घुलमिल हुन नसक्ने बताउनेहरू छन्। दोस्रो दलितसँग ठिक्क पारे पनि पर्तिर गएपछि तिनीहरूले अहिले हामीसँग कुम जोडेर हुन्छ भन्ने खालका छन्। तेस्रो दलित समस्यालाई आफ्नै समस्या ठान्नेहरू छन्।'
उनका अनुसार दोस्रो प्रवृत्ति भएकाहरूसँग जुध्न सबैभन्दा सकस छ।
'कसैले खुलेर हो पनि भन्दैन तर नजानिँदो पाराले विभेद गर्न पनि छाड्दैन। यो सबैभन्दा चुनौतीपूर्ण कुरा हो,' उनले भने, 'एक जना पनि गैरदलित विद्यार्थीको उपस्थिति नहुनुलाई यही रूपको विभेद मान्न सकिन्छ।'
ग्रामथान २ का वडाध्यक्ष यादव खतिवडा स्कुलको प्रभाव क्षेत्रमा गैरदलितको बसोबास नभएका कारण यस्तो अवस्था देखिएको बताउँछन्।
'झोराहाट चोकतिर गैरदलितको बसोबास छ। त्यहाँका नानीहरू कि निजी स्कुल जान्छन् कि त्यहीँको सरस्वती मावि जान्छन्। रविको वरिपरि मधेसी दलितको बाक्लो बसोबास छ। त्यहीँका नानीहरू त्यहाँ पढ्छन्।'
राजनीतिक दलका स्थानीय नेता तथा अगुवाहरू वर्षौंदेखि वडाअध्यक्ष खतिवडाकै जस्तो जवाफ दिएर पन्छिँदै आएका छन्। स्कुललाई नै जातका आधारमा छुट्याउने यस्तो खालको अभ्यास हाम्रो संविधान कानुन र सभ्य समाजका लागि ठीक होइन भन्ने कुरामा कसैले चासो दिएको देखिँदैन।
अरूको चासो नपरे पनि रवि आधारभूत विद्यालय अब्बल ठहरिन पछि परेको छैन। यस वर्ष रवि आधारभूत प्रदेश-१ कै उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको छ।
यो स्कुल स्थानीय बासिन्दा रवि सरदारको सम्झनामा उनका दुई छोरा रामकृष्ण र हरिकृष्णले खोल्न पहल गरेका थिए। स्कुल बनाउन उनीहरूले जमिन दान गरेका थिए। त्यसैले नाम रवि राखियो। २०४५ सालमा स्थापना भएको यो स्कुल धर्म भकारीका माध्यमबाट चल्न थाल्यो।
स्थानीयबासी ७१ वर्षीय नारायण सरदारका अनुसार राणाकालमा ग्रामथानका सरदार जातिका युवाहरू राणाहरूका भरिया र कमैया थिए। २००७ सालपछि पनि यहाँका सरदार युवाहरूलाई राणा खलक र अरू धनी मानिसहरूले कमैया बनाए।
'हामीलाई तोरी बोकाएर काठमाडौंसम्म लैजान्थे। मानिसहरू हामीलाई तोरीवाल, धोरीवाल भन्थे,' नारायणले भने, 'थोरै पैसा दिएर काममा लगाउँथे। रवि पनि त्यसरी नै काम गर्थे।'
कामकै सिलसिलामा रवि राणाहरूको संगतमा पुगे। त्यही क्रममा राणाका छोराछोरी पढालेखा रहेछन् भन्ने थाहा पाए। उनलाई पनि आफ्ना छोराछोरीलाई पढाउन मन लाग्यो। अनि विद्यालयमा भर्ना गरिदिए। रविको इच्छाअनुसार छोराछोरीले पनि पढे।
सरदारले पढाएका छोराहरूले पछि आफ्नै बस्तीमा विद्यालय खोले। बस्तीका केटाकेटी भर्ना भएर पढ्न थाले। गाउँकै बासिन्दा र सरकारी दरबन्दीमा शिक्षकहरू राखिए। हाल यहाँ पढाउने अधिकांश शिक्षक यही विद्यालयका पूर्वविद्यार्थी हुन्।
प्रधानाध्यापक जितेन्द्र सरदारले त्यो समय स्मरण गर्दै भने, 'मैले कक्षा पाँचसम्म यहीँ पढेको हुँ। त्यस बेला विद्यार्थीहरू डेढ सय जति थिए होला।'
सुरूका केही वर्ष स्कुल राम्ररी चल्यो। गाउँमै स्कुल खुलेर छोराछोरी पढाउन पाउँदा अभिभावकहरू दंग परे। बिस्तारै स्कुलको अवस्था बिग्रिँदै गयो। आसपास निजी स्कुल खुले। खासगरी २०६० सालपछि रविमा विद्यार्थी घट्न थाले।
बाँसका भाटाले बनेको टहरे रवि आधारभूतभन्दा अलि बढी सुविधा भएका निजी स्कुलतिर अभिभावक र विद्यार्थीको आकर्षण बढ्न थाल्यो। विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष गंगाराम सरदारका अनुसार हेर्दाहेर्दै स्कुल सुक्न थाल्यो। विद्यार्थी घटेर ५० जना हाराहारीमा सीमित भए। विद्यालय रहला कि नरहला भन्ने अवस्था सिर्जना भयो।
२०७० सालसम्म आइपुग्दा रविलाई अर्को विद्यालयमा गाभ्ने कुरा हुन थाल्यो। २०७३ सालमा गाउँका अगुवा र विद्यालयका शिक्षकहरूले आपसमा धेरै पटक छलफल चलाए। अन्ततः उनीहरू आफ्नो गाउँका अग्रजले स्थापना गरेको स्कुल जसरी पनि जोगाउने र नयाँ ढंगले चलाउने अठोटमा पुगे।
गंगारामका अनुसार भर्खरै स्थायी नियुक्ति पाएर अर्को स्कुलमा पढाउँदै गरेका जितेन्द्र सरदारलाई अभिभावकले रवि आधारभूतमा आएर पढाउन र विद्यालय अघि बढाउन आग्रह गरे।
जितेन्द्रले पाँच कक्षासम्म रवि आधारभूतमै पढेका थिए। यसकारण पनि जितेन्द्रप्रति अपेक्षा थियो। यो आग्रह उनले टार्न सकेनन्। सरूवा मिलाएर आए। एक महिना नबित्दै तत्कालीन प्रधानाध्यापक केसर सरदारले जितेन्द्रलाई प्रधानाध्यापक बन्न प्रस्ताव गरे।
'प्रधानाध्यापक बन्ने प्रस्ताव त स्वीकार गरेँ तर अवस्था विरक्तलाग्दो थियो,' उनले भने, 'व्यवस्थित भवन, शौचालय, खानेपानी केही थिएन। प्रयास गरेर हेरौं भन्ने ठानेर अघि बढेँ।'
उनले विद्यालय परिसर सरसफाइबाट काम सुरू गरे। चौरमा आफैं झाडु लगाए। हरेक दिन आफैंले शौचालय सफा गरे। कक्षा नियमित गराए। सानातिना मर्मतको काम गरे, गराए। प्रधानाध्यापक नै यसरी काममा खटेपछि शिक्षकहरू उनलाई पछ्याउन थाले। अर्को शैक्षिक वर्षमा विद्यार्थी संख्या थोरै बढ्यो।
'एउटा निजी स्कुलमा दस वर्ष इन्चार्ज भएर काम गरेको थिएँ। त्यहाँको अनुभवका आधारमा यहाँ काम गरे,' जितेन्द्रले भने, 'बोलेर होइन, काम गरेर नेतृत्व गर्न सकिन्छ भन्ने सिकेको थिएँ। मेरो कामले प्रमाणित पनि भयो।'
उनले बिहान दस बजेको साटो नौ बजे स्कुल खोल्न सुरू गरे। कक्षा सुरू गर्नुअघि शिक्षक र विद्यार्थी मिलेर सरसफाइ गर्नुपर्ने थिति बसाले।
'स्कुल चिटिक्क भयो तर शैक्षिक गुणस्तर उकास्ने कुरा फोहोर सफा गरेजस्तो सहज थिएन,' उनले भने, 'यो एकै छिनमा हुने काम पनि होइन। हामीले अनेक प्रयास गर्यौं।'
विद्यार्थी आकर्षित गर्न नृत्य कक्षा सुरू गरे। चित्रकला र गायनका लागि प्रशिक्षक व्यवस्था गरे। फुटबल र कराँते खेलाउन पनि प्रशिक्षक बोलाए। स्थानीयबासी जीवन हरिजनका अनुसार विद्यालयको अतिरिक्त आम्दानी केही थिएन। अतिरिक्त क्रियाकलापका प्रशिक्षकलाई प्रधानाध्यापक जितेन्द्र निजी ढंगले पारिश्रमिक दिन्थे।
'जितेन्द्र सर बिहान–बेलुका ट्युसन पढाउँथे। यही कमाइबाट प्रशिक्षकलाई सामान्य खर्च दिन्थे। उनको प्रयासले स्कुल राम्रो भएको हो,' उनले भने।
जितेन्द्रकै पहलमा 'वर्ल्ड भिजन' नामको संस्था स्कुलमा आयो। यसले दुई कोठाको पक्की भवन बनाइदियो। महिला शिक्षकको नेतृत्वमा एउटा टिम बनाएर लैंगिक हिंसाविरूद्ध अभियानमा चलायो। संस्थाले दिएका २८ वटा सूचकहरूमा विद्यालय खरो उत्रियो।
बस्तीमा विद्यालयप्रति सकारात्मक धारणा बन्दै गएको मौकामा शिक्षकहरू बिहान–बेलुका समय मिलाएर अभिभावकका घर जान थाले। घरमै अभिभावक र विद्यार्थीलाई भेटेर पढाइ र विद्यालयका गतिविधिबारे छलफल गर्न थाले। कतिसम्म भने विद्यार्थीलाई दिएको होमवर्क (गृहकार्य) समेत घरमै हेरिदिन थाले।
'घरैमा गएर विद्यार्थीको समस्याबारे कुरा गर्न थाल्यौं। होमवर्क पनि घरैमा हेर्न थाल्यौं। यसो गरेपछि अभिभावकले स्कुललाई राम्रो मान्न थाले,' शिक्षक प्रवीण सरदारले भने।
२०७३ मा ५० जनामा सीमित विद्यार्थी संख्या अर्को वर्ष सय नाघ्यो। २०७६ मा दुई सय भयो। हाल ४१८ जना विद्यार्थी छन्। बाल कक्षामै १३० जना छन्। आउने शैक्षिक वर्ष अझै बढ्नेमा शिक्षकहरू ढुक्क छन्।
यहाँ हाल १३ जना शिक्षक छन्- चार जना जना स्थायी दरबन्दीमा, एक जना राहतमा, दुई जना बालविकासमा र अन्य निजी स्रोतमा। नृत्य, खेलकुद, चित्रकला र गायनमा अलग्गै प्रशिक्षकहरू छन्। उनीहरू पूर्णकालीन होइनन्।
विद्यालयले विद्यार्थीसँग कुनै पनि नाममा शुल्क लिँदैन।
एक अभिभावक रमेश हरिजन भन्छन्, 'बच्चालाई ड्रेस, टाइबेल्ट, जुत्ता स्कुलले दिन्छ। सबैलाई खाजा पनि दिन्छ।'
संघीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी दैनिक १५ रूपैयाँ खाजा खर्च दिने गरेको छ। त्यसैबाट मिलाएर सात र आठका विद्यार्थीलाई पनि खाजा दिने गरेको व्यवस्थापन समितिका अध्यक्ष गंगाराम बताउँछन्। प्रदेश र स्थानीय सरकारले पनि विद्यालयहरूलाई सहयोग गर्न थालेका छन्।
विद्यालयको एउटा भवन बनाउँदा शिक्षक र अभिभावकहरूले पनि श्रमदान गरे। त्यसबाट बचेको पैसा विद्यालयको आम्दानी भयो। यस वर्ष गाउँपालिकाले तीन लाख रूपैयाँ दियो। यो रकमले निजी स्रोतका शिक्षकलाई तलब दिन सहयोग भयो।
प्रधानाध्यापक जितेन्द्रका अनुसार सरकारी अनुदानले मात्रै विद्यालयको खर्च धान्दैन। निजी स्रोतका शिक्षकलाई सरकारले तोकेअनुसार तलब दिन सकेको छैन। त्यसैले स्रोतको खोजीमा रहेको उनले बताए।
यहाँ कक्षा तीनसम्म अंग्रेजी भाषामा जोड दिएर पठनपाठन हुन्छ। नेपाली भाषाबाहेक पाठ्यपुस्तक अंग्रेजीमा छन्। कक्षा सात र आठका लागि आवश्यकताअनुसार निःशुल्क कोचिङ कक्षा सञ्चालन हुन्छ।
'हामीले सानो कक्षादेखि नै विद्यार्थीको जग बलियो बनाउने प्रयास गरेका छौं,' प्रधानाध्यापक जितेन्द्र भन्छन्, 'अर्को विद्यालयबाट आएका विद्यार्थीको जग बलियो बनाउन पनि जोड दिएका छौं।
उनका अनुसार सबै शिक्षकले विद्यार्थीको नाम थाहा पाउनु अनिवार्य गरिएको छ। यसो हुँदा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध बलियो हुने उनको विश्वास हो।
'हामी अभिभावक र विद्यार्थीको विश्वासमा खरो उत्रिने प्रयासमा छौं,' उनले भने, 'शिक्षकले चउर बढारेको, केटाकेटीको हातखुट्टा धोइदिएको सबैले देखेका छन्। विद्यालयप्रति अभिभावकहरू विश्वस्त छन्।'
प्रधानाध्यापक जितेन्द्र ३७ वर्ष उमेरका छन्। उनकी छोरी बाल कक्षामा यही विद्यालयमा पढ्छिन्। उनकी मात्र होइन, शिक्षकहरू सबैका सन्तान यहीँ पढ्छन्।
'हाम्रा शिक्षकले आफ्ना छोराछोरी यहीँ पढाएका छन्,' उनले भने, 'शिक्षकले आफैंले पढाउने स्कुलमा छोराछोरी नपढाउने भनेको गुणस्तरमा विश्वास नभएर हो। यसबाट गुणस्तर सुधार्न शिक्षकले ध्यान नदिएको पनि प्रमाणित हुन्छ।'
शिक्षक प्रवीण सरदारले पनि छोरालाई यहीँ पूर्वप्राथमिक कक्षामा भर्ना गराएका छन्।
उनी भन्छन् 'निजी स्कुलमा पाउने अवसर मैले पढाउने स्कुलमै छ।'
विद्यालय परिसरमै भेटिइन् कटहरी गाउँपालिका–५ की बासिन्दा गंगादेवी सरदार। सन्तानलाई सामान्य निजी स्कुलमा पढाउन सक्ने हैसियत छ उनको। तैपनि यहीँ भर्ना गर्न आएकी थिइन्।
'सरहरू (शिक्षक) ले पनि आफ्ना छोराछोरी यहीँ पढाउनुभएको छ। गाउँका धेरै जनाले यो (रवि आधारभूत) स्कुल राम्रो छ भन्नुभयो,' उनले भनिन्।
यस विद्यालयमा ग्रामथान गाउँपालिका–२ र कटहरी गाउँपालिका–५ का विद्यार्थी छन्। केही विराटनगर महानगर–१९ का पनि छन्। यो स्कुल विशेषगरी मजदुरी गरेर जीवन चलाउने गरिब तथा भूमिहीन परिवारका केटाकेटीका लागि भविष्य कोर्ने बाटो बनेको छ।
'रवि आधारभूतका शिक्षकहरूले अभिभावकको विश्वास जितेका छन्,' प्रदेश एकमा सामुदायिक विद्यालय सुधार अभियान चलाइरहेका श्रीमन्त भट्टराई भन्छन्, 'अभिभावकलाई स्कुलप्रति अपनत्व छ। शिक्षकहरू इमानदार छन्। आफ्ना छोराछोरी पनि त्यहीँ पढाएका छन्।'