जिल्ला प्रशासन कार्यालय इलामले बिहान ७ बजेदेखि राति अबेरसम्मै राहदानी सेवा दिन थालेपछि सेवाग्राहीलाई सजिलो भएको छ।
अरूबेला दुई/तीन दिनसम्म पालै नपाउने सेवाग्राहीले एकै दिनमा राहदानीको सबै सेवा पाएपछि बिहानैदेखिको सेवा प्रभावकारी बनेको देखिएको छ। पहाडी जिल्ला इलामका विभिन्न ठाउँबाट सेवा लिन आउनेहरूले एकैदिनमा काम सकिँदा सजिलो भएको बताएका छन्।
‘पहिला-पहिला दुई/तीन दिन समय लाग्छ भन्ने सुनेको थिएँ तर आज मेरो काम एकै दिनमा सकियो,’ बुधबार सेतोपाटीसँग फोनमा कुरा गर्दै इलाम माङ्सेबुङ २ की गोसिका खड्काले भनिन्, ‘म आजै बिहान घरबाट हिँडेकी थिएँ। काम सकियो, अब साँझ घरै पुग्छु।’
उनका अनुसार साँझ ५ बजेसम्म पनि जिल्ला प्रशासनको राहदानी फाँटमा डेढ सय जनाभन्दा बढी लाइनमा बसिरहेका छन्। लामो समयदेखि राहदानी बनाउन जुटेका तर पालो नआएकाहरूको लाइन अहिले दैनिक ठूलो हुने गरेको जिल्ला प्रशासनले जनाएको छ।
‘अहिले बेलुकाको ५ बज्यो, अहिले पनि यहाँ डेढ सय जना लाइनमै हुनुहुन्छ,’ जिल्ला प्रशासनका अधिकृत यादव राउतले भने, ‘उहाँहरू सबैको काम सकेर मात्रै पठाउनेछौं। राति जति बजे पनि उहाँहरूलाई अर्को दिन आउनुस् भन्ने छैनौं।’
उनका अनुसार दक्षिण र पश्चिम इलामका धेरै ठाउँ यस्ता छन्, जहाँका सर्वसाधारणले सदरमुकाम पुग्न झापा हुँदै जानुपर्छ।
‘चुलाचुली, बाँझोजस्ता ठाउँबाट आउनुभएका सेवाग्राहीलाई बिहानैदेखि रातिसम्मको सेवाले राम्रो भएको छ। अचेल कोही पनि राहदानीका लागि अर्को दिन आउनु परेको छैन,’ उनले भने।
यो सेवाले दुर्गम र टाढाबाट आउने सेवाग्राहीलाई राहदानीकै लागि दुई/तीन दिनसम्म होटलमा बस्नुपर्ने, आफन्त वा साथीभाइको घरमा बास बस्नुपर्ने झन्झटबाट मुक्ति दिएको छ ।
राहदानी विभागको सर्भर बेलाबेला समस्या हुँदा राति ढिला भएर कहिलेकाहीँ १० बजेसम्मै काम गर्नुपरेको राउतले सुनाए।
जिल्ला प्रशासनले यसरी बिहानदेखि राति अबेरसम्म राहदानीको सेवा दिन थालेको माघ २५ गतेदेखि हो । त्यसयता दैनिक कम्तिमा डेढ सय जनादेखि अधिकतम् २१७ जनासम्मले राहदानीको काम सकाएका छन्।
‘बिहानदेखि राति अबेरसम्मको सेवाले जनतालाई ज्यादै सहज भएको अनुभव गरेका छौं,’ यो सेवा प्रारम्भ गराएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने, ‘यहाँ ४/५ महिनादेखि पेन्डिङमा रहेकाहरू धेरै थिए। उहाँहरूलाई यसरी झुलाउने काम ठीक होइन। त्यसैले हामीले बिहानदेखि नै सेवा दिन थालेका हौं।’
प्रजिअ पोखरेलका अनुसार राहदानीको ‘प्रिइन्भल्भमेन्ट फारम’ भर्ने प्रक्रिया ज्यादै झन्झटिलो छ। सबै सर्वसाधारणको सूचना प्रविधिमा पहुँच नहुने हुँदा त्यो काम प्रशासन कार्यालय आसपासका साइबर क्याफे सञ्चालकहरूले गरिदिने गर्थे।
‘जसले धेरै पैसा दियो, उसको फारम छिटो भरिदिने, कम दिनेलाई अर्को दिन आउनु भन्दै उनीहरूले पठाउने रहेछन्,’ प्रजिअ पोखरेलले भने, ‘म माघ १५ मा आएपछि यो कुरा थाहा पाएँ। अनि २५ गतेदेखि बिहानैदेखि राति अबेरसम्म काम हामी आफैंले गरिदिन थाल्यौं।’
राहदानी बनाउनका लागि आइपुग्नेहरूलाई बिचौलियाले दुःख दिने गरेको र अहिले त्यो अन्त्य भएको प्रजिअ पोरखेलको भनाइ छ। अहिले प्रि इन्भल्भमेन्ट फारम जिल्ला प्रशासनकै कर्मचारीले भरिदिने गरेका छन्। नागरिकता, राष्ट्रिय परिचयपत्र, विवाह दर्ता, बसाइसराइँजस्ता सम्पूर्ण व्यक्तिगत विवरणको कागजात अपलोड गर्नुपर्ने भएकाले सर्वसाधारणलाई यो फारम भर्न झन्झट हुने गरेको छ। प्रशासनकै कर्मचारीले फाराम भरिदिएर फोटो खिचाएपछि सेवाग्राहीको काम सकिन्छ। उनीहरूले राहदानी विभागबाट राहदानी लिन सक्छन्।
बिहान ७ बजेदेखि राति ८ बजेसम्म राहदानीको काम गर्नलाई केही जनशक्ति थपिएको र केहीलाई पालो बाँडेर काममा लगाइएको अधिकृत राउतले जानकारी दिए।
‘अधिकृतसहित ४/५ जना कर्मचारी बिहानै आउँछौं र काम थाल्छौं,’ उनले भने, ‘बिहान आउने खरिदार, नासुहरूलाई दिउँसो १ बजे बिदा दिन्छौं। अधिकृतहरूचाहिँ रातिसम्मै बस्छौं। दिउँसो १ बजे आइपुग्ने कर्मचारीहरूले राति जतिबेलासम्म काम सकिन्न त्यसबेलासम्म सेवा दिने गर्नुभएको छ।’
बिहान आउने कर्मचारीहरूलाई प्रशासन कार्यालयले बिहानको खाना खुवाउनेबाहेक अतिरिक्त सुविधा केही नदिएको र बजेट पनि नहुने प्रशासन कार्यालयको भनाइ छ।
यसरी बिहानदेखि राति अबेरसम्म राहदानी सेवा कहिलेसम्म दिने भन्ने टुंगो भने छैन।
‘५० दिनमा पेन्डिङ रहेका र नयाँ आउनेहरूलाई सेवा दिएर भीड घट्ला भन्ने अनुमान छ,’ प्रजिअ पोखरेलले भने, ‘यो भीड नघटेसम्म हामी निरन्तरता दिनेछौं। त्यसपछि के गर्ने भन्ने अनि निर्णय लिनेछौं।’