कपिलवस्तुमा बुवाको हत्या आरोप छोरा पक्राउ परेका छन्।
कपिलवस्तुको शिवराज नगरपालिका-१० शितलापुरका ३० वर्षीय मनिराम पासी बुवा मगरे पासीको हत्या आरोपमा पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी प्रमुख कपिलजंग शाहीका अनुसार मनिराम स्थानीय इँटाभट्टामा काम गर्थे।
उनीहरूको गाउँमा सानो मदिरा पसल पनि थियो। उनकी श्रीमती २६ वर्षीया मिमा पासी र बुवा ६४ वर्षीय पसलको रेखदेखका लागि खटिन्थे।
गत मंगलबार बिहान पनि उनीहरू सबै जना आ-आफ्नो कामतर्फ लागे। मनिराम इँटाभट्टाको कामबाट बिहान ११ बजेतिर आफ्नो घरमा खाना खान भनेर आएका थिए। त्यही बेला श्रीमती मिमा र बुवा मगरे पासीलाई आपत्तीजनक अवस्थामा भेटे। श्रीमती र बुवालाई सँगै नग्न अवस्थामा देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन्।
श्रीमतीलाई कुटपिट गर्दागर्दै उनी फुत्किएर भाग्न सफल भइन्। बाबु त्यहीँ थिए। मुक्का र लात्ताले भकाभक गुप्तांगमा हिर्काए। छोरा मनिरामको आक्रमणले मगरेको घटनास्थलमै मृत्यु भयो।
बुवाको मृत्यु भएपछि मनिराम र मिमा फसिने भइयो भन्ने डरले आत्तिए। बाहिरबाट ताल्चा लगाए। दिनभर श्रीमान-श्रीमती घटना कसैलाई नभनी चुपचाप बसे। आफू जोगिन बुवा मगरेले आत्महत्या गरेको देखाउन झुण्ड्याइदिने योजना बनाए।
उनीहरूका दुई छोराछोरी छन्। उनीहरूलाई घटनाबारे केही थाहा थिएन।
मनिरामकी आमा प्यारालाइसिसकी बिरामी छिन्। उनी सुतेको ठाउँबाट अरूको सहयोगबिना उठ्न सक्दिनन्। घटना हुँदा एउटै घर भए पनि छुट्टै कोठाकी उनले पनि घटनाबारे थाहा नपाएको प्रहरी अधिकारीले बताए।
हत्या भएको राति दश बजेपछि बुवाको शव छोरा मनिरामले डोरीले बाँधेर घरभित्रै छुट्टै कोठामा झुण्ड्याए। अर्कोदिन बिहान बुवाले झुन्डिएर आत्महत्या गरेको भन्दै स्थानीयलाई सूचना दिए। खबर पाएपछि बुधबार बिहान प्रहरी पासीको घरमा पुग्यो। प्रहरी पुग्दा मगरेको शव घरभित्र झुन्डिएको अवस्थामा थियो।
घटना शंकास्पद लागेपछि प्रहरीले सोधपुछका लागि छोरा र बुहारीलाई नियन्त्रणमा लियो। प्रहरीले केही प्रश्नहरू सोधेपछि सत्य उजागर भयो।
‘आफैंले गरेको हत्यापछि मनिरामले घटनालाई आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्डाएको पाइयो,’ शाहीले भने, ‘बुवाको हत्यापछि उनीहरूले बाहिरबाट ताल्चा लगाएर पसल गएर योजना बुनेका रहेछन्।’
अहिले मनिराम र मिमा प्रहरी हिरासतमा छन्। उनीहरूमाथि ज्यान मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालयका प्रमुख शाहीले बताए।