मिथिलाक कथासभ : अध्याय १४
वाल्मीकि ऋषिकहाँ बसेका एक जोडी सुगा र सुगिनीले ऋषिको मुखबाट राम–सीताको कथा सुनेका रहेछन्।
एकदिन पहाडको टुप्पोमा गएर उनीहरूले लय हाल्दै भनेछन्, ‘श्रीराम नामका एक प्रख्यात राजकुमार छन्। उनको विवाह मिथिलाकी राजकुमारी सीतासँग हुनेछ। उनीहरूले हजारौं वर्ष राज्य गर्नेछन्। धन्य हो सीता देवी, धन्य हो श्रीराम।’
त्यति बेला सीता सानै हुन्छिन्। बगैंचामा खेलिरहँदा सुगा र सुगिनीले पहाडको टुप्पोबाट सुनाएको कथा उनको कानसम्म आइपुग्छ। सीतालाई आफ्नै कथा सुनेझैं लाग्छ। उनी आफ्ना सखीहरूलाई पहाडको टुप्पोमा गएर ती सुगा र सुगिनीलाई समातेर ल्याउन भन्छिन्।
सखीहरू हाँपदाँप गर्दै पहाडको टुप्पोमा पुग्छन् र सुगा–सुगिनीलाई समातेर सीताको अगाडि उपस्थित गराउँछन्।
सीता ती सुगा–सुगिनीलाई सोध्छिन्, ‘श्रीराम भनेका को हुन्? उनी कहाँबाट आउँछन्? कस्ता देखिन्छन्?’
सुगा र सुगिनीले वाल्मीकि ऋषिबाट थाहा पाएको कथा सीतालाई सुनाउँछन्, ‘श्रीराम कमलको फूलजस्तै सुन्दर देखिन्छन्। उनी अयोध्याबाट आउने छन् र मिथिलाका राजा जनकको सर्तअनुसार शिवको धनुष उठाउने छन् र राजकुमारी सीतासँग विवाह गर्ने छन्।’
कथा सुनेपछि सीता भन्छिन्, ‘तिमीहरूले जुन सीताको कुरा गरिरहेका छौ, त्यो सीता मैं हुँ। अब म तिमीहरूलाई तब मात्र छाड्छु, जब श्रीराम स्वयं मिथिला आएर मसँग विवाह गर्नुहुन्छ।’
सुगिनी त्यति बेला गर्भवती हुन्छे। उनीहरूले आफ्नो बच्चा जन्मिएपछि सीताकहाँ फर्केर आउने बाचा गर्दै तत्काललाई घर जान दिन अनुरोध गर्छन्। तर सीता मान्दिनन्।
बरू उनले सुगालाई जान दिन्छिन्, गर्भवती सुगिनीलाई भने आफ्नै कक्षमा बन्दी बनाएर राख्छिन्।
गर्भवती सुगिनीसँगै बस्न दिनुस् भनी लाख बिन्ती गर्दा पनि सीताले उल्टो दुवैको विछोड गराइदिएपछि सुगा आँशुका धारा बगाउँदै मिथिलाबाट भुर्रर उड्छ। आँशुका डोब छाडेर पखेटा फडफडाउँदै उडेको सुगा बादलभित्र हराउँदासम्म सुगिनी टोलाएर हेरी बस्छे।
जसै सुगा बादलभित्र अलप हुन्छ, सुगिनी विरहले व्याकुल हुँदै सीतालाई श्राप दिन्छे, ‘हे सीता, जसरी तिमीले मलाई गर्भवती भएका बेला श्रीमानबाट अलग गरायौ, त्यसैगरी तिमीले पनि गर्भवती हुँदा आफ्नो पति श्रीरामसँग अलग हुनु परोस्।’
सुगिनीले पति वियोग सहन नसकेर मिथिलाकै पिँजडामा प्राण त्याग्छे।
उता सुगिनीको शोकमा सुगाले पनि संकल्प लिन्छ, ‘म अर्को जुनीमा श्रीरामको अयोध्या राज्यमा धोबी भएर जन्म लिनेछु र राम र सीतालाई एकअर्काबाट अलग गराउने कारण बन्नेछु।’
सुगाको संकल्प पूरा हुन्छ। अर्को जुनीमा उसले अयोध्या राज्यमै धोबीका रूपमा जन्म लिन्छ।
यसबीच राम र सीता चौध वर्ष वनवास गएका बेला लंकाका राजा रावणले सीताको हरण गर्छन्। रामले हनुमान, सुग्रिव लगायत समस्त वानर सेनाको सहयोगमा सीतालाई अपहरणमुक्त गरेर लंकाबाट अयोध्या फर्काउँछन्।
अयोध्यामा राम र सीताको सुखद दाम्पत्य जीवन चलिरहेको हुन्छ। त्यही बेला धोबीका रूपमा जन्म लिएको सुगाले सीताको पवित्रता र रामको पत्नीमोहप्रति निन्दा गर्छ। धोबीको कुरा सुनेर राम सीताको अग्निपरीक्षा लिन्छन्। र, आखिरमा सीता अयोध्या छाडेर जंगलमा बस्न जान्छिन्।
जसरी सुगा र सुगिनीको विछोड हुँदा सुगिनी गर्भवती हुन्छे, रामसँग अलग्गिएर वनवास जाँदा सीता पनि गर्भवती हुन्छिन्।
रामायणमा तपाईंहरूले हजारौंचोटि सुनिसक्नुभएको यो कथा आज हामी यस कारण दोहोर्याउँदै छौं, किनभने मिथिला कथा शृंखलामा आज हामीले चर्चा गर्न खोजेको विषय यही कथासँग जोडिन्छ।
आज हामी तपाईंहरूलाई राम र सीताको होइन, धोबीको कथा सुनाउँदै छौं।
माथिको पौराणिक कथाले धोबी समुदायको अस्तित्व त्रेतायुगमै रहेको देखाउँछ। शिवपुराण, महाभारत, राधाकृष्णको कथा लगायतमा पनि धोबी समुदायका प्रसंग आउँछन्।
अब हामी पौराणिक कथाबाट इतिहासतर्फ लागौं। पौराणिक कथा पुष्टि गर्न सकिँदैन, त्यो तथ्यभन्दा कथ्यमा आधारित हुन्छ। इतिहासको कथा भने तथ्यमा आधारित हुन्छ र वास्तविकता निकट हुन्छ। यसको छिटपुट अंश हामी वर्तमानमा पनि फेला पार्न सक्छौं।
धोबीको इतिहासबारे चर्चा गर्नुअघि हामी तपाईंहरूलाई सिमरौनगढका राजा हरसिंहदेवको कथामा फर्काउन चाहन्छौं।
आजभन्दा करिब सात सय वर्षअघि चौधौं शताब्दीमा राजा हरसिंहदेव दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट भागेर आफ्नी जहान, छोराहरू, परिवारका सदस्य, केही भारदार र केही जनतासमेत नेपाल उपत्यका अर्थात् अहिलेको काठमाडौं उपत्यकातर्फ लागेका थिए। उनी काठमाडौंसम्म पुग्न भने सक्दैनन्। दोलखाको तीनपाटनमा उनको मृत्यु हुन्छ।
हरसिंहदेवको मृत्युपछि उनकी रानी देवलदेवीले सिमरौनगढबाट हिँडेको समूहको नेतृत्व सम्हाल्छिन् र सबैलाई काठमाडौं उपत्यकासम्म ल्याउँछिन्। संस्कृति अध्येता डेनियल राइटको वंशावलीअनुसार सिमरौनगढको राजखलक नेपाल उपत्यका आउँदा उनीहरूसँगै सात थरका मानिस पनि आएका थिए। त्यसमा ब्राह्मण, भंडेल, आचार्य, जोशी, वैद्य, रजक र खड्गी थरका मान्छे थिए।
सिमरौनगढ त्यति बेला तिरहुत वा मिथिलाको राजधानी थियो। हामीले यो कथा शृंखला रिपोर्टिङ गर्ने क्रममा मिथिला क्षेत्रमै पर्ने जनकपुरका दुई जना धोबी कामेश्वर साफी र रमेश बैठालाई भेटेका थियौं। उनीहरूलाई भेट्दा हामीलाई एउटा उत्सुकता थियो — जसरी सिमरौनगढबाट नेपाल उपत्यका आएका धोबीहरू अहिले नेवार समुदायको एउटा जात बनेका छन्, त्यसरी नै के जनकपुरका धोबीहरू पनि आफूलाई नेवार नै भन्छन्? कि उनीहरू आफूलाई अर्कै परिचयसँग जोड्छन्?
यही जिज्ञासा लिएर कामेश्वर साफी र रमेश बैठासँग कुरा गर्दा उनीहरू दुवैले आफू नेवार नभएको बताए।
‘को हो त तपाईंहरू?’ हामीले सोध्यौं।
‘मैथिल धोबी,’ उनीहरूले भने।
जनकपुरपछि सिमरौनगढमा पनि हामीले धोबी समुदायका मान्छे भेट्न खोजेका थियौं, तर भेट्न सकेनौं। त्यसपछि हामीले स्थानीय रञ्जित कुसुवालाई सोध्यौं, ‘के सिमरौनगढका धोबीहरूले आफूलाई नेवार भन्छन्?’
जवाफमा उनले भने, ‘यहाँका धोबीले आफूलाई नेवार भन्दैनन्। जनकपुरमा जस्तै यहाँ पनि हिन्दु र मुस्लिम समुदायका मैथिल धोबीहरू छन्।’
यसबाट हामी के भन्न सक्छौं भने, सिमरौनगढबाट रानी देवलदेवीसँग नेपाल उपत्यका छिरेका धोबीहरूमध्ये जो–जो यहीँ बसे, कालान्तरमा उनीहरूका पुस्ता काठमाडौंको नेवार संस्कृति, रहनसहन र भाषासँग घुलमिल भए। उनीहरूले उताको मैथिल संस्कृति बिर्संदै गए र आफूलाई नेवार भनेर चिनाउन थाले।
जनकपुर र सिमरौनगढ घुमेपछि पनि हाम्रो जिज्ञासा भने अनुत्तरित नै थियो — के आफूलाई नेवार भन्ने काठमाडौंका धोबीहरूको सिमरौनगढ वा मिथिलासँग कुनै सम्बन्ध होला?
धोबी समुदायको मिथिला–काठमाडौं सम्बन्ध गहिरोसँग बुझ्न हामीले रजक समुदाय विकास संघ ललितपुरका अध्यक्ष विनोद रजक र धोबी समुदायबारे लामो अध्ययन गरेका काठमाडौं ताम्सीपाखा निवासी राजेन्द्र रजकलाई भेट्यौं। यी दुवै काठमाडौंको धोबी समुदायका सदस्य हुन्।
विनोदसँग आफ्नो पुस्ता कसरी काठमाडौं उपत्यका आयो भन्ने विस्तृत जानकारी छैन। तर उनले काठमाडौंका अरू नेवार र आफूहरूबीच केही सांस्कृतिक भिन्नता रहेको बताए।
‘हामी अरू नेवारहरूले जस्तो राँगाको मासु खाँदैनौं। कुखुराको मासु पनि धेरैपछि मात्र खान थालेका हौं,’ उनले भने, ‘हाम्रो पूजाआजा र मृत्यु संस्कारमा पढिने मन्त्रमा केही मैथिली शब्दहरू छन्, जुन हामी आज पनि उच्चारण गर्छौं।’
विनोदको यो भनाइले काठमाडौंका नेवार धोबीहरूको ऐतिहासिक मिथिला सम्बन्धबारे केही संकेत दिन्छ।
यही संकेत पछ्याउँदै हामी राजेन्द्र रजकलाई भेट्न गएका थियौं। उनले धोबी समुदायबारे हाम्रा जिज्ञासाको गाँठो फुकाउन सहयोग गरे।
गाँठो फुकाउनुअघि एकपटक फेरि हामी तपाईंहरूलाई सिमरौनगढको कथामा लैजान चाहन्छौं, किनभने यो गाँठोका फुर्का सिमरौनगढसँगै जोडिन्छन्।
दिल्लीका बादशाह गयासुद्दिन तुगलकको आक्रमणपछि नेपाल उपत्यकातिर भाग्दा सिमरौनगढका राजा हरसिंहदेव र उनकी पत्नी देवलदेवीले आफ्ना कुलदेवी तुलजा भवानीलाई पनि साथमा लिएर हिँडेका थिए। त्यही तुलजा भवानीलाई आज काठमाडौं उपत्यकामा तलेजु भवानीका रूपमा पुजिन्छ।
किम्बदन्तीअनुसार स्वर्गका राजा इन्द्रले लामो समय तपस्या गरेबापत् भगवान महादेवबाट हरेक दिन विधिपूर्वक पूजा गर्ने गरी श्रीयन्त्रस्वरूप तुलजा भवानी प्राप्त गरेका थिए। पछि लंकाका राजा रावणका छोरा मेघनादले इन्द्रलाई लडाइँमा हराए र उक्त श्रीयन्त्रस्वरूप तुलजा भवानीलाई स्वर्गबाट लंका ल्याए। रामले रावण वध गरिसकेपछि तुलजा देवीलाई पनि आफूसँगै अयोध्या ल्याएको भनाइ छ।
हरेक दिन विधिपूर्वक पूजा गर्नुपर्ने तुलजा भवानीलाई रामका पछिल्ला पुस्ताले सम्हालेर राख्न सक्दैनन्। त्यसपछि उनीहरूले तुलजा भवानीलाई विधिपूर्वक खोलामा बगाइदिन्छन्। त्यही भवानी सिमरौनगढका राजाले फेला पारेको र आफ्नो राज्यमा ल्याएर कुलदेवीका रूपमा पुज्न थालेको मानिन्छ।
भगवान महादेवको आशीर्वादबाट प्राप्त श्रीयन्त्रस्वरूप तुलजा भवानीलाई सिमरौनगढबाट नेपाल उपत्यका लिएर आउँदा चार थरका मान्छेले बोकेको र बाटोभरि संरक्षण गरेको भनाइ छ। ती चार थरमध्ये वैद्य, रजक र खड्गीबारे संस्कृति अध्येता डेनियल राइटको वंशावलीमा उल्लेख छ। अर्को एउटा थर भने कपाली भएको धोबी समुदायका अध्येता राजेन्द्र रजक बताउँछन्।
‘कपालीहरू उत्कृष्ट तान्त्रिक हुन्। श्रीयन्त्रस्वरूप तुलजा भवानीलाई उठाउने क्षमता जो पायो त्योसँग थिएन। तान्त्रिक साधना भएको व्यक्तिले मात्र श्रीयन्त्र उठाउने सामर्थ्य राख्थ्यो,’ राजेन्द्रले भने।
उनले तुलजा भवानी बोकेर ल्याउने अन्य समुदायको विशेषता पनि हामीलाई बताए, ‘खड्गीहरू भनेका वीर योद्धा हुन्। त्यति बेला गयासुद्दिन तुगलकको सेनासँग खड्गीहरूले वीरतापूर्वक लडेका थिए। आक्रमणबाट घाइते योद्धाहरूको उपचार गर्ने जिम्मा वैद्यहरूको थियो। अनि रजकहरू चाहिँ मल्लयुद्ध र कुस्ती लडाइँमा पोख्त थिए।’
उनले अगाडि भने, ‘सिमरौनगढ राज्य र दरबारप्रति उत्तरदायी भएर काम गरेका यी चार समुदायले शत्रुको आक्रमणबाट तुलजा भवानीमाथि कुनै किसिमको नोक्सान नपुगोस् भनेर नेपाल उपत्यका ल्याउँदासम्म बाटोभरि बोकेका थिए र राजपरिवारको पनि संरक्षण गरेका थिए।’
खड्गी समुदाय योद्धा भएकै कारण लामो समय जंगलै जंगलको बाटो हिँड्दा रासनपानी सकिएपछि अर्ना काटेर खुवाउन सकेको उनी बताउँछन्।
‘बाटोमा आउँदा आउँदै रासनपानी सकिएपछि राजा हरसिंहदेवले तुलजा भवानीको प्रार्थना गरेका थिए। तुलजा भवानीले बिहान जे देखिन्छ, त्यही काटेर खानू भने। उठ्नेबित्तिकै जंगलमा हिँडिरहेको अर्ना देखियो। त्यसपछि राजा हरसिंदेवले त्यसैलाई काट्न आदेश दिए,’ राजेन्द्रले भने, ‘त्यो बेला अर्ना काट्ने समुदाय खड्गी थिए। उनीहरू कुशल योद्धा भएकैले जंगली जनावर काट्ने हिम्मत गरेका होलान्।’
यही घटनापछि काठमाडौं उपत्यकामा राँगोको मासु खाने चलन भित्रिएको र राँगो काट्ने जिम्मा खड्गीहरूलाई नै दिइएको मानिन्छ।
खड्गी समुदायसँग जोडिएको यो वृत्तान्तपछि हामीले राजेन्द्रलाई सोध्यौं, ‘लुगा धुने समुदाय भनेर चिन्दै आएका रजकहरू कुस्ती खेल्नमा पोख्त थिए भन्ने चाहिँ कसरी पुष्टि हुन्छ त?’
जवाफमा राजेन्द्रले हामीलाई आफ्नै परिवारको उदाहरण दिए, ‘मेरो बुवा, काकाहरू नै कुस्ती लड्न जानुहुन्थ्यो। धोबीहरूले कुस्ती लड्ने भएकाले नै ‘धोबी पछाड’ वा ‘धोबी हान्यो’ जस्ता भनाइ लोकप्रिय भएका हुन्। कुस्ती मात्र होइन, दोस्रो विश्वयुद्ध बेला नेपालका कमान्डर–इन–चिफ बबरशमशेर जबराको नेतृत्वमा युद्ध लड्न गएको फौजमा धोबीहरू पनि थिए। मेरो काकाबाजेले पनि त्यो युद्ध लड्नुभएको थियो।’
युद्ध लड्नु वा कुस्ती खेल्नु भनेको शारीरिक बलसँग जोडिएको विषय हो। धोबी पेसा भनेर प्रख्यात भएको लुगा धुने काम पनि शारीरिक बलसँगै जोडिन्छ। बलियो भएकैले उनीहरूले लुगा धुन सकेको राजेन्द्र बताउँछन्।
‘शारीरिक रूपमा बलियो नभइकन धोबीको काम गर्न सकिन्न। यो काम गर्न घाम, पानी र चिसोसँग जुध्नसक्ने गुण हुनुपर्छ। त्यो गुण हामीमा एक्कासि विकसित भएको होइन, यो त हाम्रो वंशाणुगत गुण हो,’ उनले भने, ‘हामीले लुगा धुँदा विभिन्न रसायनहरूसँग काम गर्नुपर्छ। यसले विभिन्न रोग निम्त्याउन सक्छ। त्यो रोगसँग जुधेर काम गर्ने क्षमता पनि भएकाले हामीले यो पेसा अपनाएका हौं।’
रजक समुदाय विकास संघ ललितपुरका अध्यक्ष विनोद रजक धोबी समुदायसँग शारीरिक बलका अतिरिक्त कुनै पनि कपडा कसरी धुनुपर्छ भन्ने सीप पनि भएको बताउँछन्।
‘सुतीको कपडा छुट्टै तरिकाले धुनुपर्छ भने मखमलको कपडा धुने तरिका अर्कै हुन्छ। कस्तो खालको कपडालाई कसरी स्याहार गर्ने भन्ने हामीलाई थाहा छ,’ विनोदले भने, ‘हामी पहिला रिट्ठा, खरानी र गोबरले लुगा धुन्थ्यौं, पछि साबुन आयो। लुगालाई पानीसहित सुकाउने कि हरियो घाँसमा सुकाउने? वा, अरू कुन प्रक्रियाबाट धुने–सुकाउने भनेर हामीलाई थाहा छ। अहिले आधुनिक रसायन र प्रविधिबाट लुगा धुने चलन आइसक्यो। तर प्राकृतिक विधिले धोएका लुगाको चमक र गुणस्तर अर्कै हुन्छ। त्यसलाई अहिलेको आधुनिक प्रविधिले जित्न सक्दैन।’
यसरी आफ्नो क्षमता र दक्षताअनुसार लुगा धुने पेसा रोजेको धोबी समुदाय राजा जयस्थिति मल्लको जात व्यवस्थामा समेत छुवाछुतमा परेका थिएनन्। झन् कान्तिपुर (काठमाडौं) का मल्ल राजा लक्ष्मीनरसिंह मल्लले धोबीहरूको सम्मान गरेको र विभिन्न धार्मिक सम्पदा निर्माण गराएको इतिहास छ।
यसको कारण बताउँदै राजेन्द्रले भने, ‘राजा हरिहरसिंह मल्लले आफ्ना जेठा छोरा लक्ष्मीनरसिंह मल्लको साटो अर्का छोरा सिद्धिनरसिंह मल्ललाई पाटनको राजा बनाएका थिए। आफू जिउँदो हुँदाहुँदै भाइ राजा भएको रनाहामा लक्ष्मीनरसिंह मल्ल देवपाटन (पशुपति) गएर धोबीको घरमा बसे।’
‘धोबीको घरमा बस्दा उनले त्यहीँका परिवारले जसरी लुगा धुने काम पनि गरे। त्यहाँ सिकुन्चा र फेकुन्चा नाम गरेका दुई छोरीहरू थिए, जसलाई लक्ष्मीनरसिंहले राजकाज र पारिवारिक ज्ञान दिए। पछि जब लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका राजा भए, उनले नयाँ राजाको श्रीपेच धोबीको हातको पानीले चोख्याउने परम्परा चलाएका थिए।’
यति मात्र होइन, उनले धोबी समुदायका नाममा धेरै जग्गा–जमिन, हिति (ढुंगेधारा) र सम्पदा निर्माण गर्न सहयोग पुर्याएको राजेन्द्र बताउँछन्। यसको एउटा प्रमाण राजेन्द्रको घरनजिकै रहेको ताम्सीपाखा हितिमा भेट्न सकिन्छ। हितिको दायाँतर्फ गणेश र कुमार भगवानको मूर्ति छ। गणेश र कुमारलाई धोबी समुदायको प्रमुख देउता मानिन्छ। त्यही हितिमा गणेशको मूर्तिमुनि राजा लक्ष्मीनरसिंह मल्लको नाम कुँदिएको छ।
‘मेरो पास्नी, ब्रतबन्ध र विवाह सबै यही हितिमा भएको हो। हामी बसेको ठाउँ नै रजकहरूको क्षेत्र हो। यहाँ बस्ने सबै रजकले आफ्ना जीवन कर्महरू यही हितिमा गर्नुपर्छ,’ राजेन्द्रले भने।
काठमाडौं उपत्यकामा भएका धेरैजसो हिति बनाउने श्रेय पनि आफ्नै पुर्खालाई जाने उनी बताउँछन्।
‘हामीलाई धेरै लुगा धुनुपर्छ। यसका लागि सधैं खोलामा गएर साध्य हुन्न। त्यही भएर पानीको सहजताका लागि हिति चाहियो। अर्को कुरा, हामीसँग हितिमा पानी कसरी ल्याउने भनेर प्राविधिक ज्ञान पनि थियो,’ उनले भने।
विनोद रजक पनि ललितपुरको धोबीघाट आफ्ना पुर्खाहरूले नै बनाएको बताउँछन्। यो धारा हरिमान र सिद्धिमानका सन्तानले उनीहरूको नाममा बनाएको उनको भनाइ छ।
राजा जयस्थिति मल्लको जात व्यवस्थाले पनि असर पार्न नसकेको धोबी समुदायलाई १९१० सालमा राजा सुरेन्द्रवीर बिक्रम शाह र जंगबहादुर राणाका पालामा बनेको मुलुकी ऐनपछि भने छोइछिटो गर्न थालिएको राजेन्द्र बताउँछन्।
‘पेसा र पहिचान भनेका दुई अलग कुरा हुन्। हामीले अपनाएको पेसालाई नै पहिचान मानेर छोइछिटो गरिएको थियो, जुन अहिले बिस्तारै हट्दै छ,’ उनले भने।
राज्यको कानुनले छोइछिटो गरे पनि कुनै समय धोबीलाई राज्यकै बफादारमा गनिने पनि राजेन्द्र बताउँछन्।
‘राजाको चापलुसी गर्नु मात्र सेवा होइन। एउटा योद्धाको भूमिका निर्वाह गर्नु, कुशल सैनिकको भूमिका निर्वाह गर्नु पनि सेवा हो। हामी लुगा धने मात्र होइन, कुस्ती खेल्ने पहलमान पनि भएकाले हामीलाई राजाले आफ्नो दरबार क्षेत्र नजिक राखेका थिए,’ उनले भने, ‘नारायणहिति दरबारको उत्तरपट्टि लाजिम्पाट र नक्साल अनि वसन्तपुर नजिकै झोछेँ र न्यूरोड क्षेत्रमा हाम्रो बस्ती छ। हाम्रो घर पनि पहिला दरबार नजिकै प्याफलमा थियो। यसबाट पनि दरबारले हामीलाई कति वफादार सेवक मानेको रहेछ भन्ने प्रमाणित गर्छ।’
उनले अगाडि भने, ‘धोबीहरू बसेकै कारण धोबीचौर, धोबीधारा, धोबीघाट, धोबीखोला लगायत नाम अझै प्रसिद्ध छन्।’
काठमाडौंका धोबी समुदायले रजकसँगै मघैया, कनौजिया लगायत थर पनि लेख्छन्। रजक संस्कृत शब्द हो भने कनौजिया थर भारतको कन्नौजबाट र मघैया थर पनि भारतबाटै आएको उनी अनुमान गर्छन्।
सिमरौनगढमा रजकसँगै बैठा थर भएका धोबीहरू छन्। त्यसैगरी जनकपुरमा रजक र बैठाका अतिरिक्त साफी, राउत, चौधरी, कलवार लगायत थर पनि छन्।
‘भारतमा कलवार र चौधरी, जनकपुरमा रजक र सर्लाहीमा बैठाहरू धेरै छन्,’ जनकपुरमा भेटिएका धोबी समुदायका कामेश्वर साफीले भने, ‘राउत समुदायलाई राजधोबी भनिन्छ। साफी, बैठा, कनौजिया भने गाउँघरतिरका धोबी हुन्।’
कतिपय धोबीले आफ्नो थर आफैं पनि राख्न थालेको देखिन्छ। जस्तो, कामेश्वर र उनकी श्रीमती सबिताको थर साफी हो। तर उनीहरूले आफ्ना छोराछोरीको थर रजक लेखाएका छन्। त्यसो गर्नुको कारण बताउँदै कामेश्वरले भने, ‘साफी मुसलमानले पनि लेख्छ, हिन्दुले पनि। यहाँको कानुनले हिन्दु धोबीलाई मात्र दलितमा राखेको छ, मुसलमानलाई छैन। यसले दलितहरूले पाउने सेवासुविधाबाट वञ्चित हुनुपर्छ।’
कामेश्वर आफैं राज्यले दिएको सेवासुविधा लिन राष्ट्रिय दलित आयोगमा प्रमाणपत्र बनाउन गएका थिए। उनलाई आयोगका कर्मचारीले ‘हिन्दु धोबी हो’ भनेर वडाको सिफारिस लिएर आएपछि मात्र प्रमाणपत्र दिने भनेछ। रजक थरलाई यो झन्झट छैन। त्यही भएर छोराछोरीको नाममा रजक थर लेखाएको उनी बताउँछन्।
मिथिला क्षेत्रको विवाह कथा लेख्ने क्रममा हामीले बेहुलीले धोबी महिलाको कपालको पानी खानुपर्ने चलनबारे चर्चा गरेका थियौं। उक्त विवाह विधिलाई ‘धोबीन सुहाग’ भनिन्छ।
बटसावित्रीको कथामा धोबी र ब्राह्मणबीच अन्तरजातीय विवाह भएको प्रसंग छ। कथाअनुसार धोबी महिलासँग विवाह गरेपछि ब्राह्मण केटाको घरमा लक्षण भित्रिन्छ। त्यसैले धोबी महिला एकदमै भाग्यमानी र गुणी हुन्छिन् भन्ने भनाइ छ।
‘दुलहीले धोबी महिलाको कपालको पानी खाँदा हलोको जुवामा राखेर खानुपर्छ। त्यति बेला ती महिलाले मलाई यो दिनू, त्यो दिनू भनेर गीत गाउँछिन्,’ गायिका रूपा झाले भनेकी थिइन्, ‘दलित समुदायको भए पनि उनको कपालबाट पानी खानुपर्ने परम्पराले मिथिला समाज कति सुन्दर ढंगमा बसेको छ भन्ने थाहा हुन्छ।’
यताका धोबीहरू दलित समुदायमा परे पनि काठमाडौंका नेवार जनजातिभित्र पर्छन्। उनीहरू नेवार समुदायभित्र पर्ने मात्र होइन, यहाँका येंया (इन्द्रजात्रा), मच्छिन्द्रनाथ जात्रा, कन्केश्वरी रथयात्रा लगायत उपत्यकाका जात्रापर्वमा प्रमुख भूमिका निर्वाह गर्छन्।
अब हामी काठमाडौं उपत्यका र मिथिला क्षेत्रमा रहेका धोबी समुदायका केही समानताबारे चर्चा गरौं।
काठमाडौं उपत्यकाका धोबीले आफूलाई नेवार बताउँदै आए पनि उनीहरूको अनुहार सामान्यतया मैथिल धोबीहरूसँग मिल्दोजुल्दो छ। त्यसो हुनुको कारणबारे राजेन्द्र भन्छन्, ‘हामीमा अन्तरजातीय विवाह त्यति हुँदैन। हामी प्रायः आर्यन नश्लका छौं। हाम्रो विवाह धोबी समुदायसँगै हुने भएकाले हाम्रो अनुहार र रूपरंगमा त्यति धेरै विविधता देखिँदैन। त्यसैले पनि हामी धोबीहरू प्रायः कालो वर्णका हुन्छौं र आज पनि मैथिल धोबीसँग मिल्दोजुल्दो देखिन्छौं।’
अर्को समानता, काठमाडौंका नेवार धोबीहरूले पनि मैथिल धोबीहरूले जस्तै राँगाको मासु खाँदैनन्। तर पञ्चबलि दिँदा बोका, कुखुरा, हाँस, भेडासँगै राँगा पनि चढाउनुपर्ने राजेन्द्र बताउँछन्।
‘हामीले राँगाको बलि दिए पनि मासु भने खाँदैनौं,’ उनले भने, ‘अहिले आएर केही व्यक्तिहरूमा खाने चलन पनि सुरू भएको छ।’
राँगा मात्र होइन, धोबी समुदायमा कुनै समय कुखुरा पनि चल्दैनथ्यो। उनीहरू पूजाआजामा हाँस, बोका र माछा चढाउँथे, तर कुखुरा चढाउँदैनथे। मासु पनि खाँदैनथे। त्यसको कारण खुलाउँदै रजक समुदाय विकास संघ ललितपुरका अध्यक्ष विनोद रजकले भने, ‘जसरी ब्राह्मणहरू खसी खान्छन्, हाम्रोमा पनि बढी खसी नै चल्छ। उनीहरूले पनि पहिला कुखुरा खाँदैनथे, हामीले पनि खाँदैनथ्यौं। कुखुरा फोहोर ठाउँमा हिँड्ने र जे पनि खाने भएकाले वर्जित गरिएको हुनुपर्छ।’
अब कुरा गरौं, भाषाको।
सिमरौनगढबाट राजा हरसिंहदेवसँगै काठमाडौं उपत्यका आएका धोबीहरू नेवार चालचलन, संस्कृति र भाषासँग घुलमिल भइसके पनि उनीहरूका केही संस्कारमा अझै केही मैथिली शब्दहरू प्रयोग हुन्छन्।
राजेन्द्र रजकले उदाहरण दिँदै भने, ‘क्या करेल्छी? कन कन करेल्छी? जस्ता शब्द हाम्रो संस्कारमा आइरहेका हुन्छन्। त्यसैगरी, मर्दापर्दा हामीले मैथिली भाषा पर्याप्त भएको विरह गीत गाउनुपर्छ। शब्द त बुझिन्न तर गाउनु चाहिँ पर्छ।’
मिथिलासँग जोडिएको यो सम्बन्ध बिस्तारै हराउँदै गएकोमा उनले चिन्ता पनि देखाए।
‘हामी मिथिला क्षेत्रबाटै फैलिएको हाँगा भएकाले त्यहाँको अलिअलि अवशेष बचेको छ। हामीले नै कति बिर्संदै गइसक्यौं। मिथिला क्षेत्रका मान्छेसँग पनि सम्बन्ध टुटिसक्यो,’ राजेन्द्र रजकले भने, ‘अहिले जति बचेको छ, भोलिका दिनमा त्यो पनि हराएर जान्छ होला।’
यी पनि पढ्नुहोस्: