सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ।
वर्षा होस् या हिउँदयाम जुनसुकै समयमा पनि झर्ने पहिरोका कारण असुरक्षित बनेको बुटवलदेखि दोभानसम्मको सडकलाई सुरक्षित बनाउन सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माण हुँदैछ।
सोही सुरूङमार्ग निर्माणको लागि डाइभर्सन बनाउन शुक्रबारदेखि दैनिक आठ घण्टा उक्त सडकखण्ड बन्द हुने भएको हो।
सिद्धबाबा सुरूङ मार्ग योजना बुटवलले शुक्रबार सूचना प्रकाशित गरी सडक डाइभर्सनको काम सुरू भएको र सवारी साधन चल्दा दुर्घटनाको जोखिम हुने भन्दै फागुन १३ गतेदेखि २७ गतेसम्म दुई पटक गरेर दैनिक ८ घण्टा सडकमा आवागमन बन्द गर्न लागिएको जनाएको छ।
सूचना अनुसार फागुन २७ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी साधनको आवागमनलाई पूर्णरूपमा बन्द गरिने उल्लेख छ।
डाइभर्सन निर्माण गर्न लागिएको स्थान ढुंगाहरूको पहरो रहेको स्थान रहेकोले सवारी साधन सञ्चालन भइरहँदा ढुंगा खसेर दुर्घटना हुनसक्ने भन्दै ढुंगाहरूलाई पूर्णरूपमा व्यवस्थित गर्नका लागि सडकखण्ड बन्द गरिएको आयोजनाले जनाएको छ।
सडक बन्द हुने समयमा पाल्पातर्फबाट आउने सवारी साधनलाई जडिबुटी चोक, सत्यवती जाने बाटो र पाल्पाको तिनाउ गाउँपालिका ३ मा रोकेर राख्ने व्यवस्था मिलाइएको छ।
यस्तै, बुटवलतर्फबाट जाने सवारी साधनहरू चिडियाखोला र तल्लो सिद्धबाबा मन्दिर नजिकै रोक्न कार्यालयले आग्रह गरेको छ। अत्यावश्यक सेवाका साना तथा मझौला सवारी साधनहरूले बेलबास–नुवाकोट–दोभान सडक प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ।
उक्त अवधिमा सडक लेन अनुशासन कडाइका साथ पालना गर्न, जथाभावी ओभरटेक नगर्न आग्रह गर्दै उल्लंघन भए प्रचलित कानून अनुसार कारबाही हुने पनि सूचनामा उल्लेख छ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सुरूङमार्ग निर्माणको तयारीको लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न लागिएकोले १५ दिन दैनिक ८ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको बताए।
सडक बन्द हुने भएपछि बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, कास्की, पर्वत लगायतका जिल्लामा जाने सवारी साधन प्रभावित हुने भएका छन्।
सुरूङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ठेक्का सम्झौता गरी काम अगाडि बढाएको हो।
१ हजार १ सय २६ मिटर दुरी रहेको सुरूङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का सम्झौता गरिएको छ।
अहिले निर्माण कम्पनीले साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्स्टल गर्ने, क्रसर प्लान्ट बनाउने लगायतका पूर्वतयारीको काम गरिरहेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होम बहादुर एसीले जानकारी दिए।
अहिले रामापिथेकस पार्कनजिकै आधारस्थल बनाउन डोजरले खन्न थालेको छ।
डाइभर्सन निर्माणसँगै वाटरट्यांक र हेलिप्याड बनाउने काम पनि सँगसँगै अगाडि बढाउने उनले बताए।
निर्माण कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरिएकोमा झण्डै एक वर्ष आयोजनाको डिजाइनमै सकिएको छ भने बाँकी रहेको चार वर्षमा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने चुनौती छ।
ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ।
वर्षामा हिलोसहित र हिउँद ढुंगासहितको धुले पहिरो बुटवल तानसेन सडकखण्डको मुख्य चुनौती बनिरहेको थियो।