मिथिलाक कथासभ : अध्याय १५
अयोध्याका राजकुमार रामसँग मिथिलाकी राजकुमारी सीताको विवाह तय भएपछि राजा जनकले जनकपुर नगर यस्तरी सिँगार्ने आदेश दिन्छन्, जुन सायद त्यसअघिको कुनै विवाहमा कहिल्यै गरिएको थिएन।
राजा जनकको आदेश थियो, ‘मिथिलादेखि अयोध्यासम्मको भित्ता मिथिला कलाले सजाउनू।’
मिथिला कलाको पौराणिक इतिहास बताउने क्रममा धेरैले सुनाउने कथा हो यो। आज मिथिला कथा शृंखलाको पन्ध्रौं अध्यायमा हामी त्यही मिथिला कलाबारे चर्चा गर्दैछौं। मिथिला कला र काठमाडौं उपत्यकाको नेवारी कलाबीच तुलनात्मक विश्लेषण गर्ने प्रयास पनि हामीले गरेका छौं।
यस सम्बन्धमा हामीले विराटनगरका कलाकार एससी सुमनसँग लामो कुराकानी गरेका छौं, जसले मिथिला कला देशभर चिनाउने काम गरिरहेका छन्।
एससी सुमनले आफ्नी हजुरआमासँग मिथिला कला सिकेका हुन्। खासगरी छोरीहरूलाई घरव्यवहार र संस्कार सिकाउने भनेर मिथिला कथाको ज्ञान दिने चलन छ। छोराहरूलाई भने अनिवार्य छैन। एससी सुमनलाई सानैदेखि उनकी हजुरआमाले बनाएका मिथिला चित्रहरू मन पर्थ्यो। त्यही भएर हजुरआमालाई रङ बनाउन उनी बाटोमा भेटिएका फूलहरू टिपेर ल्याइदिन्थे।
उनी हजुरआमाले चित्र बनाउँदा आफू पनि चित्र कोर्न अघि सर्थे। नाति हौसिएको देखेर हजुरआमा खुसी हुन्थिन् र एक छेउमा सानो बुट्टा बनाएर उनलाई रंग भर्ने काम दिन्थिन्।
‘म यति छिटो बनाउँथेँ, उहाँ दिक्क मान्नुहुन्थ्यो। यो त मभन्दा राम्रो काम गर्छ भनेर भन्नुहुन्थ्यो, अनि फेरि अर्को बनाइदिनुहुन्थ्यो। म त्यसमा पनि तुरून्तै रङ भर्थें,’ उनले भने।
यसरी मिथिला कला सिकेका एससी सुमनले त्यसलाई आफ्नो व्यक्तित्वमा मात्र ढालेनन्, मिथिला कलाको व्यावसायिकीकरण समेत गरे। अहिले उनको कला नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छ।
सुमनका अनुसार पौराणिक कालमा सुरू मिथिला कला अहिलेसम्म जोगिनुको कारण एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जानुले हो। त्यही भएर यसलाई लोककला पनि भनिन्छ।
एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाने लोककला भएकाले यसको इतिहास कति पुरानो भनेर यकिनसाथ भन्न सकिन्न।
मिथिला कलाको आधुनिक इतिहास भने सन् १९३४ बाट सुरू हुन्छ।
त्यति बेला मिथिला कलालाई विश्वसामु चिनाउने काम बेलायतका कला समालोचक विलियम आर्चरले गरेका थिए, जो सन् १९३४ अर्थात् बिक्रम सम्बत १९९० को भुइँचालोपछि भारतको विहारस्थित मधुवनीको भग्नावशेष हेर्न आएका थिए।
उनले त्यति बेला भग्नावशेषमा पुरिएको मिथिला कला फेला पारेका थिए, जसमा कमलको फूल, सर्प, सुगा, मयूर, शिव–पार्वती लगायतका आकृति थिए। त्यो विवाह समारोहमा कोहवर घर (सुहाग कक्ष) मा बनाइने मिथिला कला थियो।
त्यो कला देखेपछि आर्चरले भनेका थिए, ‘म छक्क परेँ। कम्तिमा एक घण्टाको लागि मैले भुइँचालो र त्यसको भय बिर्सिएँ। म बेलायतको थिएँ तर कलाले हामीलाई एक बनायो। मैले माटोमा सुन्दरता भेटेँ।’
आर्चरले त्यहाँ फेला परेका करिब दुई सय मिथिला कलाको फोटो खिचे। सन् १९४९ मा ‘मार्ग’ नामक पत्रिकामा लेख पनि छपाए। मधुवनीमा भेटिएको कला भएकाले आर्चरले त्यसलाई ‘मधुवनी कला’ नाम दिएका थिए।
‘अहिले हामीजस्ता नयाँ कलाकारहरू यो मधुवनी कला होइन, मिथिला कला हो भनेर प्रचार गरिरहेका छौं,’ एससी सुमनले भने।
भारतको मधुवनीमा बसेर मधुवनी कला सिकेकी अनिता कर्ण भने मधुवनी र मिथिला कलामा धेरै फरक भएको बताउँछिन्। हामीले उनलाई जनकपुरस्थित जानकी सामुदायिक संस्थामा भेटेका थियौं। उनका अनुसार मधुवनी कलामा कचनी अर्थात् रेखाचित्रको काम धेरै हुन्छ। त्यसमा दुइटा आँखा बनाउने र चित्रका पात्रहरूलाई विभिन्न गरगहनाले सजाउने काम धेरै हुन्छ।
हामीले मिथिला कलाको कुरा गर्दा मधुवनी (भारत) को कुरा किन गरिरहेका छौं भने मिथिला पहिला पूर्वमा कोशी, पश्चिममा गण्डकी, दक्षिणमा गंगा नदीदेखि उत्तरमा हिमालयसम्म फैलिएको थियो। नेपालमा यो कला बीसौं शताब्दीतिर बल्ल फैलिन थालेको हो।
सन् १९६६–६७ मा विहारमा ठूलो अनिकाल र खडेरी परेको थियो। त्यस बेला भारत सरकारले विहारका जनतालाई कसरी व्यवस्थापन गर्ने भनेर सर्वेक्षण गर्यो। त्यही क्रममा उनीहरूले १९३४ को भुइँचालोबाट प्रकाशमा आएको ‘मधुवनी’ कलालाई कागजमा उतार्ने प्रयास गरे। कागजमा उतारेपछि उक्त कलाले बजार लिने र त्यसैका माध्यमबाट महिलाहरूलाई रोजगार बनाउने सरकारको धारणा थियो।
त्यतिबेला ‘अल इन्डिया ह्यान्डिक्राफ्ट’ मा अध्यक्ष रहेकी पुपुल जयकरको निर्देशनमा कलाकार भाष्कर कुलकर्णी मधुवनी आएका थिए। उनले त्यहाँका महिलालाई भेटेर पहिलो मधुवनी चित्र कागजमा उतारेर लगेका थिए। भित्तामा बनाइने कला कागजमा सारिएपछि कायस्थ समुदायका कलाकारहरू गंगादेवी र महासुन्दरीदेवी अनि ब्राह्मण समुदायका सीतादेवी र जगदम्बादेवीले त्यस समय खुब प्रसिद्धि कमाएका थिए।
अब हामी नेपालमा कहिलेबाट मिथिला कला लोकप्रिय हुन थाल्यो भन्ने चर्चा गरौं।
सन् १९८९ तिर अमेरिकी कलाकार क्लेयर बुर्कट जनकपुर आएपछि बल्ल नेपालमा मिथिला कलाले चर्चा पाउन थालेको हो। उनले यहाँ ‘नारी विकास केन्द्र’ खोलेर मिथिला कलाबारे सीपमूलक तालिम र काम गर्ने व्यवस्था गरेकी थिइन्।
‘सीमापारि त मिथिला कलामा धेरै विकास भइसकेको थियो। यता चाहिँ त्यसबारे चर्चाधरि थिएन। क्लेयरलाई चित्रकलामा चासो थियो र यसमा उनले भविष्य पनि देखेर जनकपुरमा प्रवर्द्धन गर्न थालिन्,’ एससी सुमनले भने।
क्लेयरको उक्त प्रयासले महिलाहरूलाई मिथिला कलामार्फत रोजगार मात्र दिएन, देश–विदेश घुम्ने अवसर पनि दियो। गत वर्ष यही केन्द्रमा आबद्ध चार महिलाहरू सुधिरा कर्ण, मञ्जुला ठाकुर, मधुमाला मण्डल र रेवती मण्डल काठमाडौंलाई मिथिला कला चिनाउन जनकपुरदेखि आएका थिए। उनीहरूले तारागाउँ म्युजियमको भित्तामा मिथिला क्षेत्रमा प्रदर्शन हुने झिझियाँ नाचलाई मिथिला कलामा प्रस्तुत गरे।
‘जसरी देउसी–भैली घरघर गएर खेलिन्छ, झिझियाँमा पनि त्यस्तै हुन्छ। नाचेपछि हामीलाई मान्छेहरूले रूपैयाँ, चामल, मट्टीतेल लगायत सामग्री दिन्छन्,’ चित्र बनाउने क्रममा काठमाडौं आएकी मधुमाला मण्डलले हामीलाई अर्थ बताएकी थिइन्।
उनीहरूले चित्र बनाउँदै, नाच्दै हामीलाई झिझियाँको कथा पनि सुनाएका थिए, जसबारे तपाईंहरू ‘काठमाडौंलाई मिथिला चिनाउन आएका जनकपुरका यी चार महिला’ मा पढ्न सक्नुहुन्छ।
यी चार कलाकारमध्ये एक ब्राह्मण, एक कायस्थ र दुई दलित समुदायका थिए। एससी सुमनकै नेतृत्व र छनौटमा यी कलाकारलाई जनकपुरदेखि काठमाडौं ल्याइएको थियो।
तीन फरक समुदायका कलाकार छान्नुको पछाडि पनि कारण छ। त्यो के भने, मिथिला कलामा यी तीन समुदायका आधारमा तीन शैलीमा काम हुन्छ। यसलाई कचनी, भर्नी र माटोको काममा विभाजन गरिएको छ।
‘कायस्थले कचनीको काम गर्छन्। कलमसँग नजिक रहेका उनीहरूको कलामा रेखांकन बढी हुन्छ। ब्राह्मणहरू रङ र अबिरसँग नजिक हुन्छन्। त्यही भएर उनीहरू रङ धेरै भर्छन्। त्यसलाई भर्नी भनिन्छ। त्यसैगरी, दलित वा दुसाध समुदाय माटोसँग नजिक भएकाले माटोको काम गर्छन्। उनीहरूकोमा गोदना प्रथा (शरीरमा ट्याटुजस्तै खोप्ने परम्परात शैली) पनि थियो। त्यो उनीहरूको काममा पनि झल्किन्थ्यो,’ एससी सुमनले भने।
कलाकार एससी सुमन आफू कायस्थ समुदायका हुन्। त्यसैले उनको काममा बढी रेखांकन हामी भेट्न सक्छौं। उनी मिथिला कलालाई अभिव्यक्तिको कला मान्छन्।
‘आफूसँग भएको स्रोतसाधनलाई अभिव्यक्त गर्ने कला नै मिथिला कला हो,’ उनले भने, ‘अहिलेका कलाकार भने ती तीनवटै शैली प्रयोग गर्दैछन्। कचनीलाई भर्नी, भर्नीलाई गोदना वा सबैसँग मिसाएर काम गरिरहेका छन्। यसले गर्दा पेन्टिङले विविधता पाएको छ।’
उनका अनुसार सन ६० दशकसम्म दलित सुमदायले देउताको चित्र बनाउन पाउँदैनथे। उनीहरू जनावर, बोटबिरूवाका चित्र धेरै बनाउँथे। ब्राह्मण, कायस्थहरूले भने भगवानका चित्र बढी बनाउँथे। यो चलन थोरै भए पनि अझै बाँकी रहेको हामीलाई जनकपुरबाट आएकी सुधिरा कर्णले बताएकी थिइन्।
‘घरमा चित्र कस्तो बनाउने भन्ने पनि जातअनुसार फरक हुन्छ,’ उनले भनेकी थिइन्, ‘ठूलो भनिने जातका मान्छेले देवीदेउताका चित्र बनाउँछन्। साना भनिनेले चरा, हात्ती, घोडा, माछा लगायत बनाउँछन्।’
पछिल्लोपटक मिथिला कला कागजमा मात्र होइन, विभिन्न सजावट सामग्री र लुगाहरूमा पनि आइरहेका छन्। परम्परागत रूपमा भने यो खासगरी भुइँ र भित्तामा बनाइन्छ। भुइँमा बनाइने चित्रलाई मिथिला क्षेत्रमा ‘अरिपन’ भनिन्छ। यो छठ, ब्रतबन्ध, न्वारन लगायत विभिन्न अवसरमा बनाइन्छ।
‘भोजपुरीमा भुइँमा बनाइने चित्रलाई ‘चौका पुरना’ भनिन्छ, भारतमा रंगोली भनिन्छ। नेवारी संस्कृति र बौद्ध धर्ममा यसलाई ‘मण्डल’ भनिन्छ। त्यसैगरी ब्राह्मणमा रेखी भनिन्छ,’ एससी सुमनले भने, ‘बंगालतिर अरिपनलाई अलपना पनि भनिन्छ। माटो र गोबरले लिपेको आँगनमा चामलको पिठोलाई पानीमा घोलेर बनाइन्छ। अन्त भने पिठोबाटै बनाउने चलन छ। यसलाई राम्रो र रंगीन देखाउन रङहरूको प्रयोग हुन्छ।’
कला समीक्षक रामदयाल राकेशका अनुसार चौधौं शताब्दीमा महाकवि विद्यापतिले आफ्नो कृति ‘पदावलि’ मा अरिपनको चर्चा गरेका छन्।
‘यसबाट के प्रस्ट हुन्छ भने चौधौं शताब्दीमै अरिपन विकसित र कलात्मक रूपमा प्रचलित थियो,’ कला समीक्षक रामदयालले आफ्नो ‘मैथिली संस्कृति’ किताबमा लेखेका छन्, ‘मैथिली महिलाहरू भुइँमा बनाइने अल्पना वा अरिपनलाई घरबाट बाहिर निस्कँदा र भित्र प्रवेश गर्दा शुभ साइतको प्रतीकका रूपमा मान्छन्। मण्डलमा झैं अरिपनमा योग, ध्यान र तन्त्रको त्रिवेणी हुन्छ। अरिपनले पृथ्वीको गर्भमा भएको शक्तिलाई जगाउने जमर्को गरेको हुनसक्छ।’
अरिपनमा अष्टमंगल, कमलको फूल, षडकोष, स्वस्तिक, ज्यामितीय आकार लगायत विभिन्न धार्मिक संकेत हुन्छन्। यो र काठमाडौंका नेवार समुदायले बनाउने मण्डलमा केही समानता भेटिने कलाकार एससी सुमन बताउँछन्।
हामीले यस विषयमा पौभाः कलाकार लोक चित्रकारसँग पनि कुरा गरेका छौं। उनका अनुसार तिहारको म्हः पूजा लगायत हरेक नेवारी पूजाआजामा मण्डलको विशेष महत्व हुन्छ। कुनै पनि नेवारी पूजाको सुरूआत मण्डल लेखेर गरिन्छ।
मिथिला र नेवारी कलाबीच रहेको भिन्नता पनि उनले औंल्याए।
‘मिथिला कला धेरैपछि मात्र कागजमा लेख्ने चलन आएको थियो। नेवारी परम्परामा भने कागजमा चित्र लेख्ने परम्परा धेरै पुरानो हो,’ उनले भने, ‘मिथिला कला भित्ताबाट कागजमा आएको हो। तर नेवारी कलामा त कागज र कपडामा लेख्ने चलन पहिलेदेखि नै थियो।’
चित्रकारले उदाहरण दिँदै भने, ‘प्रज्ञापारमिता भन्ने हस्तलिखित ग्रन्थ करिब हजार वर्षअघि लेखिएको हो। त्यसमा समेत चित्रहरू छन्। कपडाका चित्रको कुरा गर्ने हो भने पौभाः चित्रहरू हुन्।’
पौभाः चित्र कपडामा मात्र होइन, भित्तामा पनि लेखिन्छ।
भित्तामा चित्र कोर्ने त मिथिलाको पनि लोक परम्परा हो। यति हुँदाहुँदै मिथिला र काठमाडौंका चित्रमा त्यति समानता नभेटिने उनी बताउँछन्।
‘मिथिला कला र नेवारी कलामा धेरै फरक छ। नेवारी कला धार्मिक संस्कारसँग बढी जोडिएको छ भने मिथिला कला लोक जीवनसँग,’ उनले भने।
कलाकार एससी सुमनलाई भने मण्डल मात्र होइन, काठमाडौंमा नेवार समुदायको ढोकाबाहिर भेटिने कला देख्दा पनि मिथिला कलाकै झझल्को आएको थियो।
‘मधेसबाट जागिर सिलसिलामा काठमाडौं आउँदा म नेवारकै घरमा बसेको थिएँ। त्यहाँ घरको प्रवेशद्वारमा चित्र लेखेको पाएँ। मिथिलामा पनि प्रवेशद्वारमा चित्र लेख्ने चलन छ,’ उनले भने, ‘फरक के भने हाम्रोमा पञ्चबुद्ध, ब्रह्मा, विष्णुहरू हुँदैनन्। हाम्रोतिर सुगा, माछा, कमलका फूलहरू बनाउने चलन छ।’
उनले काठमाडौंको नेवार घरमा मिथिलाको कोहवर चित्र (विवाहमा बनाइने) बनाएर मिथिला र काठमाडौंको संयोजन पनि गरेका छन्। यसलाई उनले ‘कोहवर इन नेवार हाउस’ नाम दिएका छन्।
कोहवर चित्र बेहुला–बेहुलीको सुहाग कक्षमा बनाइन्छ, जसलाई कोहवर घर पनि भनिन्छ। कोहवर चित्रको बीचमा सातवटा कमलका पात हुन्छन्। यसलाई सात पुस्ताको प्रतीक मानिन्छ। त्यही भएर विवाहले बेहुला–बेहुली मात्र होइन, सात पुस्ताकै सम्बन्ध गाँसिने भनाइ छ। कमलको पात वरिपरि चन्द्रमा, सूर्य, नवग्रह, पञ्चदेवता, शिव–पार्वती लगायतका चित्र हुन्छन्।
‘अहिले जसरी सानै उमेरदेखि केटाकेटीलाई यौन शिक्षा सिकाइन्छ, मिथिलामा कोहवर चित्र र गीतमार्फत प्रतीकात्मक रूपमा यौन शिक्षा दिइन्छ,’ एससी सुमनले भने, ‘काठमाडौंको नेवार घरमा बस्न थालेपछि मेरो विवाह भयो, बच्चाबच्ची भयो। उनीहरूको न्वारन, पास्नी र शिक्षादिक्षा पनि त्यहीँ भयो। एक हिसाबले त्यही कोठाभित्र मेरो कोहवर लेखियो। मैले एक कलाकारका रूपमा मिथिला र नेवारी कला मिसाएर त्यो चित्र बनाएको थिएँ।’
उनी नेवार समुदायमा प्रयोग गरिने रङमा पनि समानता देख्छन्। मिथिलाको लोक कलामा रङको प्रयोग हुँदा बेसारको रङ, माटो, सिन्दुर, फूलहरूको रङ, घाँस र विभिन्न जडिबुटीको रङ बनाउने चलन छ। रङ बसोस् भनेर ‘फिक्सर’ का रूपमा बेलको गुदी र गाईको दूधमा घोल्ने चलन छ।
‘मिथिलामा परनिर्भता थिएन। त्यहाँ जे उपलब्ध थियो, त्यहीँबाट चित्र बनाउन थालियो,’ एससी सुमनले भने।
नेवारी कला पनि तत्कालीन समयमा जे उपलब्ध थियो, त्यसैबाट बनाउन थालिएको कलाकार लोक चित्रकार बताउँछन्।
मिथिला कलामा प्रायः एउटा ठूलो आँखा र लामो नाक हुन्छ। त्यसको कारण के होला?
हाम्रो प्रश्नमा एससी सुमनले भने, ‘एउटा आँखा नै हुनुपर्छ भन्ने छैन। सूर्य, चन्द्रमा बनाउँदा हामी दुइटा आँखा राख्छौं। पात्रहरूको चित्र बनाउँदा भने दुइटा आँखा कमै बनाइन्छ। प्रयोगमा नआएपछि त्यो गौण हुँदै गएको हो, तर त्यस्तै हुनुपर्छ भन्ने छैन।’
उनले हामीलाई चित्रका पात्रहरूको केही गुणबारे पनि बताए।
‘मिथिलाका गीतमा राधाकृष्णका गीत छन्। त्यसमा राधाकृष्णको सौन्दर्य वर्णन गरिएको छ। मिथिला चित्र बनाउँदा पनि गीतहरू गाउँदै चित्र कोर्ने गरिन्छ। गीतले ठूला आँखा, कमल नयन, कालो कपाल, पातलो कम्मरको वर्णन गरेको हुँदा त्यसै आधारमा चित्र बनेको हो,’ उनले भने।
मिथिला कलामा विभिन्न प्रतीक पनि भेटिन्छन्। त्यसबारे वर्णन गर्दै सुमनले भने, ‘हात्ती समृद्धिको र माछा उत्पादनको प्रतीक हो। सर्प नाग देउताको, कमलको फूल महिलाको र बाँस वंशजको प्रतीक हो।’
उनले अगाडि भने, ‘मिथिला कलामा कुनै पनि चिज निरर्थक राखिन्न, सबैको आ–आफ्नो अर्थ हुन्छ। ती सबै प्रतीकलाई एक ठाउँ राखेर पूजा गर्नु र आफ्नो कुरा भन्नु नै मिथिला कलाको विशेषता हो।’
यी पनि पढ्नुहोस्: