आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। आकाशमा गड्याङगुडुङसहित हावाहुरी पनि चलेर वर्षा भएको हो।
‘अहिले नै साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि हल्का वर्षा हुने सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्,‘यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।’
पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ।
प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद् कँडेलले आग्रह गरिन्।
केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनले बताइन्।