रोग लाग्दा पनि मान्छेले भगवानलाई धन्यवाद दिन्छ र? त्यो पनि उपचार गर्न असाध्य र अति महँगो मानिने रोगमा!
हो दिन्छन्।
राष्ट्रिय महिला भलिबल टिमकी पूर्वखेलाडी मञ्जु गुरुङ पनि क्यान्सर लागेकोमा धन्य छिन्। उनलाई स्तन क्यान्सर भयो। उपचार भयो। उपचारपछिको जीवनको अनुभवमा उनी धन्य भएकी हुन्।
भन्छिन्, ‘मलाई स्तन क्यान्सर भएकोमा भगवानलाई धन्यवाद भन्छु। आफ्नो जीवन राम्रोसँग चिनोस् भनेर ढोका ढक्ढक्याएको जस्तो लागेको छ।’
क्यान्सर हुनुअघि उनीसँग आफ्नो लागि समय थिएन। खानपिन र आरामको नियमित तालिका थिएन। ‘क्यान्सर हुनुअघि भद्रगोल थियो मेरो जीवन। अहिले पछाडि फर्केर हेर्दा कस्तो जीवन बिताएछु जस्तो लाग्छ,’ उनले भनिन्।
यही फागुन ६ गते आयोजित ‘पोखरा म्याराथन’ मा भाग लिन लन्डनबाट आएकी मञ्जुले ५ किलोमिटर दौड पूरा गरिन्। उनले म्याराथन जित्न भाग लिएकी थिइनन्। अप्रतियोगी सहभागीका रूपमा दौडिएर क्यान्सर जित्न सकिन्छ आफ्नो आत्मबल साझा गर्न चाहिन्थन्।
उमेरले ५७ वर्ष नाघेकी मञ्जुको स्फूर्ति अहिले पनि जुझारु खेलाडीको भन्दा कम छैन। बेलायती गोर्खा सैनिकको परिवारमा जन्मेकी मञ्जु सुरुमा पौडी खेल्थिन्। हङकङ बस्दा पौडी खेल्न थालेकी थिइन्। धेरै प्रतियोगीताहरूमा पुरस्कार जितिन्। नेपाल आएपछि पौडीलाई निरन्तरता दिन पाइनन्।
पर्वतको आर्थरकी बासिन्दा मञ्जुको परिवार पोखरा बसाइँ सर्यो। उनका बुबा छोरीलाई डाक्टर बनाउन चाहन्थे। बुबाको चाहना अनुसार मञ्जु पृथ्वीनारायण क्याम्पस पोखरामा विज्ञान पढ्न थालिन्।
कलेजमा उनी साथीहरूसँग भलिबल र फुटबल खेल्थिन्। निडर स्वभावकी थिइन्। आफ्नो स्वाभावबारे उनले भनिन्, ‘नेपालमा मलाई केटा टाइपको भन्थे। कपाल पनि ब्वाइज कट काटेकी थिएँ। कसैसँग डराउने कुरै थिएन।’
उनको खेल राम्रो हुँदै गयो। कुरा २०३७ सालको हो, राप्तीमा ‘राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भयो। उनी तत्कालीन पश्चिमाञ्चल क्षेत्रको टिममा परिन्। तत्कालीन अञ्चलाधीश कार्यालयले महिला भलिबल टिमलाई राप्ती पठाउन जीप दियो। मञ्जुकै टिम प्रथम भयो। यसको खुसीयालीमा अञ्चलाधीशले पोखरामा स्वागत समारोह आयोजना गरे। अबिर जात्रा गरेर विजेता खेलाडीहरूलाई सहर परिक्रमा गराए।
यो घटनाको सम्झना मञ्जुको दिमागमा अझै ताजा छ। २०४० सालमा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ मा महिला भलिबल पनि समावेश थियो। यसमा पनि मञ्जु टिममा परिन्। धवलागिरि अञ्चलमा जन्मेकी उनी गण्डकी अञ्चलको टिममा थिइन्। फाइनलमा धवलागिरि र गण्डकीको भिडन्त हुने भयो। धवलागिरिले जित्यो। गण्डकी दोस्रो भयो।
डाक्टर बन्न विज्ञान पढ्दै गरेकी मञ्जुलाई भलिबल खेलको नशा लाग्यो। उनले खेलकुदमै लाग्ने अठोट गरिन्। विज्ञान छाडेर भारतको पञ्जाबस्थित पटियाला स्पोर्ट सेन्टरबाट स्नातक तह पढिन्।
यसपछि काठमाडौं बसेर भलिबल ‘प्रशिक्षक प्रशिक्षण’ लिइन् र नेपालकै पहिलो महिला भलिबल प्रशिक्षक बनिन्। लगत्तै उनलाई ‘पश्चिमाञ्चल खेलकुद विकास समिति’ ले ‘महिला भलिबल सहायक प्रशिक्षक’ पदमा नियुक्ति दियो, तलब तोकियो मासिक ४ सय रुपैयाँ।
यही समय मञ्जुको बिहे भयो। पोखराबाट गोरखा जानु पर्यो। उनी भलिबलमै अघि बढ्न चाहन्थिन् तर बिहेपछि उनको खेल यात्रा अलमलमा पर्यो। उनले परिवारबाट सहयोग पाइनन्। एक पटक महिला भलिबल टिमलाई प्रशिक्षण दिन पोखरा आउनुपर्ने थियो। उनले घरबाट स्वीकृति पाइनन्। यही कारणले श्रीमानसँग छुट्टिइन्।
यसरी अलग भएपछि भलिबल प्रशिक्षकको कमाइले आमाछोरालाई पुगेन। अन्ततः मञ्जु खेलकुदबाटै पलायन हुनुपर्ने अवस्था आयो।
‘प्रशिक्षकको कमाइले पोखरामा कोठाभाडा तिर्न पनि पुगेन। श्रीमानसँग छुट्टिएपछि माइतीमा पनि ठाउँ भएन,’ उनले त्यो समयको आफ्नो सकस सुनाइन्, ‘पोखरामा खेलाडी भनेर सबैले चिन्ने भएकाले कसैले नचिन्ने ठाउँ मेचीतिर जान्छु भन्ने सोचेकी थिएँ।’
श्रीमानसँग छुट्टिए पनि डिभोर्स भएको थिएन। मञ्जुले श्रीमान् बेलायत जान लागेको थाहा पाइन्। उनका दाजुले श्रीमानसँग बेलायत जान सजिलो हुने भएकाले त्यसको उपाय गर्न सुझाए।
उनले श्रीमानलाई भेटिन् र आफूलाई पनि साथै लैजान आग्रह गरिन्। श्रीमानले स्वीकार गरे। अन्ततः सन् १९९१ मा मञ्जु बेलायत पुगिन्। उता पनि श्रीमान्–श्रीमती सम्बन्ध राम्रो भएन। मञ्जुले घरेलु सहयोगीका रूपमा काम गरेर गुजारा चलाइन्।
नेपालमा हुँदा उनी साथीहरूमाझ गीत गाउँथिन् तर सार्वजनिक कार्यक्रममा गाएकी थिइनन्। त्यो समय बेलायतमा अहिलेजस्तो जताततै नेपाली भेटिँदैनथे। लाहुरेका परिवारमात्रै भेटिन्थे।
बिदाका दिन नेपालीहरूको जमघट हुन्थ्यो। त्यस्ता जमघटमा मञ्जु पनि जान थालिन्। त्यहाँ गीत पनि गाउन थालिन्।
नेपाली समुदायमा भिज्दै जाँदा उनले कार्यक्रमहरू आयोजनामा सघाउन थालिन्। नेपालीका दुःख–मर्कामा सहयोग गर्न थालिन्। विभिन्न माध्यमबाट बेलायत पुगेका नेपालीलाई काम खोजिदिन्थिन्। साह्रोगाह्रो टार्न आर्थिक सहयोग पनि गर्थिन्।
यसरी मञ्जु बेलायतको नेपाली समुदायमा परिचित भइन्। यही क्रममा बेलायत निवासी नेपाली गायक सपनकुमार राईसँग उनको भेट भयो। उनीहरू आपसमा निकै नजिक भए। भेट बाक्लो हुँदै जाँदा प्रेममा परे।
अन्ततः सन् १९९५ मा मञ्जु र सपनले बिहे गरे। सुरुका दिनमा सपनका परिवारजनले राम्रो नमाने पनि बिस्तारै परिस्थिति सामान्य बन्यो। मञ्जुले भनिन्, ‘परिवारले स्वीकार नगरे पनि विदेशमा भएकाले हामीलाई खासै असर भएन। अहिले त सपनको परिवारमा सबैभन्दा फेवरेट म नै छु।’
सपनसँग बिहे भएपछि मञ्जुले बेलायतमै नर्सिङमा स्नातक गरिन्। पढाइ पूरा हुनासाथ अस्पतालमा काम पाइन्। हाल उनी लन्डनको एक नर्सिङ होममा सहायक व्यवस्थापक छिन्।
बेलायतमा मञ्जु र सपनले ‘सपन इन्टरटेनमेन्ट’ कम्पनी चलाएका छन्। यो कम्पनीले नेपाली समुदायका कार्यक्रम आयोजनामा सहयोग गर्छ। नेपालबाट कलाकार बोलाएर प्रस्तुति गराउँछ।
बेलायतमा त मञ्जुलाई खेलबारे सोच्ने फुर्सद नै भएन। एक पटक सन् २०१४ मा लन्डनमा ‘रेस फर लाइफ’ सन्देशका साथ म्याराथन दौड हुन लागेको थाहा पाइन्। त्यसमा जो पनि दौडिन पाउने अवसर थियो। ‘क्यान्सर रिसर्च’ ले आर्थिक सहायता जुटाउन उक्त म्याराथन आयोजना गरेको थाहा पाएपछि मञ्जु पनि दौडिन तयार भइन्।
बेलायतमा हरेक वर्ष जुलाईमा यस्तो दौड आयोजना हुँदो रहेछ जो हालसम्मै निरन्तर छ। उनी हरेक वर्ष म्याराथन दौडिन थालिन्।
उनकाअनुसार बेलायतमा ५० वर्ष नाघेका महिलाको क्यान्सर परीक्षण अनिवार्य छ, खासगरी स्तन क्यान्सरको। मञ्जुलाई पनि परीक्षणका लागि सन् २०१५ मा पत्र आएको थियो तर उनले त्यसमा ध्यान दिइनन्।
उनलाई सन् २०१७ अर्को पत्र आयो। परीक्षण गराउन गइन्। सुरुमा सामान्य स्वास्थ्य जाँच भयो। रिपोर्टमा कुनै कसर देखा परेन।
यसपछि क्यान्सरको प्रारम्भिक परीक्षण भयो। डाक्टरले थप परीक्षण गर्नुपर्ने निष्कर्ष दिए।
मञ्जुको मनमा चिसो पस्यो। एक सातापछिको परीक्षणमा डाक्टरले छिटो फैलने खालको स्तन क्यान्सर देखिएको जानकारी गराए अनि अर्को अस्पताल रिफर गरे। उपचार विधि, प्रक्रिया र समयका बारेमा पनि बताए।
सपन पनि निराश भए। बाटोमा आपसमा बोली समेत फुटेन। घर, माइती सबैतिर निराशा छायो। नर्स भए पनि मञ्जुलाई क्यान्सरका बारेमा खासै जानकारी थिएन। तीन चरणमा उपचार हुने भयो– सुरुमा क्यान्सर भएको स्तन काटेर सिलिकन राख्ने, त्यसपछि किमो चढाउने र अन्तिममा रेडियो थेरापी गर्ने।
मञ्जु निर्धारित समयअनुसार अप्रेसनका लागि अस्पताल पुगिन्। डाक्टरले भने, ‘तिम्रो स्तनमा क्यान्सर फैलिएको छ। त्यो स्तन फालेर सिलिकन राखिदिन्छौं। त्यसलाई तिमीले १५ वर्षसम्म निकाल्न पाउँदिनौ।’
डाक्टरको कुराले उनमा बाँच्ने आशा पलायो। ‘१५ वर्षसम्म फाल्न पाउँदिनौ’ भन्नुको अर्थ म अब कम्तीमा १५ वर्ष बाँच्छु। उनले सिलिकनका बारे सोधिन्। फालेको स्तनको साटो स्तन आकारको सिलिकन प्रविधिबारे डाक्टरले जानकारी गराए। पन्ध्र वर्षपछि सिलिकन फेर्न सकिने बताए।
डाक्टरसँगको संवादले मञ्जुको बाँच्ने आशा बलियो भयो। आत्मबल जागृत भयो। भजन सुन्ने बानी गरेर आफूलाई शान्त राखिन्। नर्सिङ पेशा जारी राखिन्। ‘डाक्टरले तिमी बाँच्न सक्छौ भनेपछि म झसंग भएँ,’ उनले भनिन्, ‘हो र भन्ने भयो, मनमा एक प्रकारको ऊर्जा फैलियो।’
अप्रेसनपछि उनलाई किमो दिइयो। क्यान्सर सेल मार्न दिइने किमोले शरीरका अन्य राम्रा सेलमा पनि असर पुर्याउँछ। यसले उनको रोग प्रतिरोध क्षमता घटायो शरीरमा घाउ आयो। केही सरुवा रोगले पनि सतायो।
किमोको समयमा पौष्टिक आहारयुक्त खाना पर्याप्त मात्रामा चाहिन्थ्यो तर खान मन नलाग्ने र वाकवाकी आउने हुन्थ्यो। ‘मलाई मुखमा कोच्याएर भए पनि खुवाउँथे। यति धेरै खुवाए कि उपचारकै बेला मोटाएर ८० किलो पुगेँ,’ उनले भनिन्।
आफ्नो मोटोपनका बारे मञ्जुले डाक्टरलाई सोधिन्। डाक्टरले भनेछन्, ‘अरू बिरामी खानै मान्दैनन्। तिमी त खाएर मोटाइछौ। ठिक गर्यौ।’ किमो सकियो। रहलपहल क्यान्सर सेल मार्न रेडियो थेरापीको समय आयो। त्यो पनि सकियो।
यति उपचारपछि डाक्टरले मञ्जु क्यान्सरमुक्त भएको जनाउ दिए। दुई वर्षसम्म ६–६ महिनामा फलोअपमा गइन्। त्यसपछि वर्षको एक पटक जाँदै छिन्। क्यान्सर बल्झिएको लक्षण छैन। सबै राम्रो छ।
पाँच वर्षसम्म नियमितरूपमा औषधि खानुपर्ने थियो। यो समय पनि सकिन लाग्यो। क्यान्सर जितेपछि मञ्जु पूर्ववत् दिनचर्यामा फर्केकी छन्। एक हिसाबले नयाँ जीवनको अभ्यासमा छिन्।
बेलायतमा क्यान्सर उपचारमा उनले पैसा तिर्नु परेन, सबै खर्च सरकारले बेहोर्यो। डाक्टरले उनलाई उपचार पूरा हुँदा १ लाख २० हजार पाउन्ड खर्च लाग्ने जनाएका थिए। यति ठूलो रकमको उपचार निःशुल्क पाएकोमा उनी खुसी छिन्। ‘बेलायतको नागरिकता लिएर हामीले सरकारलाई कर तिरेका छौँ। सरकारले निःशुल्क उपचार दियो,’ उनले भनिन्।
क्यान्सर जितेपछि मञ्जु फेरि दौडमा फर्केकी छन्, अझ बढी जोशजाँगरका साथ। उपचार सकिएपछि सन् २०१७ जुलाइमा ‘रेस फर लाइफ’ म्याराथनमा भाग लिइन्।
उनले भनिन्, ‘यो त मेरो लागि र म जस्तै दिदी बहिनीका लागि रहेछ, नगएर हुँदैन भनेर अप्रेसन भएकै वर्ष पनि पाँच किलोमिटर म्याराथन दौडिएँ।’ यसपटक उनले ‘क्यान्सर सर्भाइभर’ लेखेको कागज ढाडमा टाँसिन्। हजारौँ धावक थिए, धेरैले उनलाई बधाई दिए।
‘क्यान्सर पीडितको उपचारका लागि म्याराथन दौडिनु मेरा लागि नैतिक जिम्मेवारी थियो,’ उनले भनिन्, ‘दौडका सहभागीहरूले बधाई दिँदा दौड जितेको जत्तिकै हौसला मिल्थ्यो।’ दौडका क्रममा आर्थिक सहयोग संकलन गरेर आयोजक संस्थालाई दिइन्। त्यसयता उनी हरेक वर्ष ‘रेस फर लाइफ’ म्याराथनमा भाग लिँदै छिन्।
उनी सन् २०१९ मा पनि क्यान्सर विरुद्ध चेतना जगाउने उद्देश्यले ‘पोखरा म्याराथन’ मा भाग लिन आएकी थिइन्।
आयोजक ‘भूतपूर्व खेलाडी मञ्च’ का पूर्वअध्यक्ष तेज गुरुङले उक्त सन्देशका साथ म्याराथनमा भाग लिन उनलाई आग्रह गरेका थिए। उनीहरू समकालीन खेलाडी थिए। तेज हेन्डलबल प्रशिक्षक हुँदा मञ्जु भलिबल प्रशिक्षक थिइन्।
क्यान्सर जितेपछि मञ्जु नेपालका केही खेलकुद संस्था र स्वास्थ्य संस्थाका लागि सहयोग जुटाउने काम पनि गर्दै छिन्। उनी बेलायतमा पनि यस्तो काममा संलग्न हुन्छिन्।
मञ्जुले क्यान्सरपछिको नयाँ जीवनमा आफ्नो दिनचर्या व्यवस्थित बनाएकी छन्। शारीरिक र मानसिक स्वास्थ्यका लागि खाना, आराम र अन्य आवश्यक पक्षमा पर्याप्त ध्यान दिन्छिन्।
दिनचर्या पहिले जस्तो भद्रगोल छैन। उनको निष्कर्ष छ– क्यान्सर त मलाई पाठ पढाउन आएको रहेछ, पढाएर गयो। सबैभन्दा ठूलो कुरा, आफूले आफूलाई माया गर्नुपर्छ भन्ने सिकाएर गयो।