कञ्चनपुरको पुनर्वासकी भागरथी जोशी स्नातक तहको पढाइका लागि कैलाली बहुमुखी क्याम्पस, धनगढी पुगिन्। धनगढीमा पढ्न उनी डेरामा बस्नु पथ्र्यो। धेरै ठाउँमा खोजी गरेपछि एउटा कोठा पाइन्।
डेरामा उनलाई अनेक समस्या आइलाग्छन्। महिनावारी हुने कुरामा पनि घरबेटीको चासो हुन्छ। कुनै महिना घरघाडा तिर्न थोरै ढिलो हुँदा पनि कचकच सुन्नु पर्छ।
यस्ता कुराले उनलाई क्याम्पसको छात्रावासमा बसेर बढ्न पाए सजिलो हुने थियो भन्ने लागेको छ। भागरथीको जस्तै अनुभव बझाङकी दिया बोहराको पनि छ।
‘क्याम्पसको नजिकमा कोठा पाइँदैन, टाढा बस्नु पर्छ। कोठामा एक्लै बस्दा कामको भार पनि पर्छ। पैसाको अभाव हुन्छ,’ उनले भनिन्।
उनलाई पनि छात्रावासमा बस्न पाए पढाइमा केन्द्रित हुन पाइन्थ्यो जस्तो लाग्छ।
श्रेया पाण्डे धनगढीकै निवासी हुन्। उनी आफ्नै घरमा बस्छिन् तर टाढाबाट आउने साथीहरू छात्रावासका बस्न पाए सहज हुन्थ्यो जस्तो लाग्छ।
‘मेरा धेरै साथीहरू भाडाको कोठामा बसेका छन्। उनीहरूको अवस्था देख्दा क्याम्पसमा छात्रावास नभई हुन्न भन्ने लाग्छ,’ उनले भनिन्।
कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमको लागि शिक्षाको केन्द्र मानिन्छ। यहाँ सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट उच्च शिक्षाका लागि विद्यार्थीहरू आउँछन्।
छात्रावासका लागि भवन नभएको होइन, २६ वर्षअघि बनेको दुई तले भवन छ तर प्रयोगमा छैन।
आर्थिक वर्ष २०५२/५३ सालको कुरो हो। स्वतन्त्र विद्यार्थी युनियनले छात्राहरूका लागि आवास निर्माणको पहल ग¥यो। सबै विद्यार्थीको एकमत भयो। स्ववियुले तत्कालीन जिल्ला विकास समिति (जिविस), कैलालीमा एउटा प्रस्ताव पेस ग¥यो। प्रस्ताव स्वीकृत भयो, जिविसले नै भवन बनाइदिने भयो।
जिविसले टेन्डर गराएर निर्माण कार्य अघि बढायो। दुई चरणमा करिब ३० लाख रुपैयाँमा १९ वटा कोठा भएको दुई तले भवन तयार भयो।
भवन त बन्यो तर क्याम्पस प्रशासनले दिएको नक्साअनुसार भएन भन्ने कुरा उठ्यो।
क्याम्पसको प्रशासन शाखाका प्रमुख दिलबहादुर धामीका अनुसार तत्कालीन क्याम्पस प्रशासनले उक्त भवन छात्रावासका लागि उपयुक्त भएन भनेर असन्तुष्टि जनायो। सुधारका लागि आग्रह ग¥यो तर त्यसमा सुनुवाइ भएन।
उनले भने, ‘विद्यार्थी राख्न अप्ठ्यारो भयो। शौचालय र भान्साकोठा उपयुक्त भएन। तत्कालीन क्याम्पस प्रमुखले सुधारका लागि आग्रह गर्नुभएको थियो तर थप काम भएन।’
जिविसले बनाइदिएको उक्त भवन आजसम्मै प्रयोगविहीन छ।
छात्रावास भवन उपयोग गर्न क्याम्पस प्रशासन र राज्यका सरोकारवाला निकायले ध्यान नदिएको विद्यार्थीहरूको आरोप छ। क्याम्पसमा अध्ययनरत विद्यार्थी रकम रावलको विचारमा यसमा क्याम्पस प्रशासनले नै बेवास्ता गरेको छ।
‘क्याम्पसको होस्टल (छात्रावास) भए टाढाबाट आउने विद्यार्थीहरूलाई सजिलो हुने थियो। भवन बनेको छ तर उपयोग गर्न कसैको ध्यान गएन,’ उनी भन्छन्, ‘यति ठूलो भवन प्रयोग गर्न नसक्नु सम्बन्धित निकायको गैरजिम्मेवारी हो।’
किन उपयोग भएन छात्रावास भवन?
क्याम्पसका प्रमुख धर्मराज उपाध्ययका अनुसार भवन उपयुक्त भएन भन्ने कुरा आयो। क्याम्पसको पूर्ववर्ती प्रशासनले भवनमा छात्रावास चलाउन चासो दिएन।
अब उक्त भवनलाई छात्रावास बनाउँदा विद्यार्थीको आवश्यकता पूरा हुँदैन।
‘सामुदायिक क्याम्पस भएकाले छात्रावासमा बस्न चाहनेको संख्या ठूलो हुन्छ। थोरैलाई राख्दा विवाद हुने सम्भावना हुन्छ। हामीलाई अलिक ठूलो भवन चाहिन्छ,’ उपाध्यायले भने।
उक्त भवनलाई विज्ञान संकायको कार्यालय बनाउने वा त्यही विषय पढ्ने थोरै विद्यार्थीका लागि छात्रावासकै रूपमा उपयोग गर्नेबारे छलफल भइरहेको उपाध्यायले बताए।
छात्रावास भनेर बनेको भवन उपयोग गर्ने कुरा अब हुने भनिएको स्ववियु निर्वाचनको प्रमुख एजेन्डा बनेको छ।
स्ववियुको पहलमा बनेको भवन उपयोगका लागि स्ववियु पदाधिकारीहरू र विद्यार्थी संगठनहरूले पनि पर्याप्त ध्यान नदिएको विद्यार्थीहरूकै भनाइ छ।
भवन अलपत्र परेपछि भुइँ तलामा त नजिकका केही बासिन्दाले कहिलेकाहीँ गाई बाँध्ने गरेका थिए। हालै क्याम्पस प्रशासनले झ्यालढोका र क्षति भएका ठाउँमा मर्मतसम्भार गरेको छ। रङ पनि लगाएको छ। त्यहाँ क्याम्पसका कार्यालय सहयोगी कर्मचारीहरू बस्ने गरेका छन्।
प्रशासन शाखा प्रमुख धामीका अनुसार उक्त भवनमा कक्षा सञ्चालन गर्ने कुरा हुँदैछ। त्यहाँ फरेस्ट्री (वन विज्ञान) कक्षासञ्चालन गर्ने कुरा छ तर औपचारिक निर्णय भएको छैन।