लमजुङको मध्यनेपाल नगरापालिका– ४ दोपहरेस्थित मालिका प्राथमिक विद्यालयका पाँच जना केटाकेटी गत आइतबार स्कुलबाट घर फर्किँदै थिए।
उनीहरूसँगै अभिभावक कर्णबहादुर थापा थिए। बाटैमा बिजुलीका तारले बाटो छेक्यो। उनीहरूले पन्छाउन खोजे।
तार पन्छाउन खोज्दा अचानक थापासहित केटाकेटीहरूलाई बिजुलीको झट्का लाग्यो। उनीहरू घाइते नै भए।
घाइते पाँच जना केटाकेटीलाई पोखरा ल्याएर मणिपाल शिक्षण अस्पतालमा उपचार गरियो। थापा गम्भीर घाइते भएकाले उनलाई काठमाडौंको टिचिङ अस्पताल लगिएको छ।
मध्यनेपाल–५ का वडाध्यक्ष ओमवीर गुरूङका अनुसार गम्भीर घाइते भएका थापाको एउटा हातै काटेर फाल्नुपरेको छ। बिजुलीको झट्काले उनलाई अपांगता बनाइदिएको उनले बताए।
'बिजुलीका तार बाटोभरि असरल्ल छरिएको छ। बाटो हिड्न र घाँस दाउरा गर्न पनि जोखिम बढाएको छ,' वडाध्यक्ष गुरूङले भने, 'बर्सेनि मानवीय क्षति हुँदासमेत नेपाल विद्युत प्राधिकरणले वास्ता गरेको छैन।'
यसअघि पनि उक्त बाटोमा करेन्ट लाग्दा विद्यार्थी अनमोल थापाको मृत्यु भएको थियो। बाटोमा छरिएका बिजुलीका तारबाट करेन्ट लागेर उनको मृत्यु भएको गुरूङ बताउँछन्। अब हावाहुरी र बर्षाको मौसम सुरू भएकाले जोखम थपिएको उनको भनाइ छ।
मध्यनेपाल–४ र ५ मा तनहुँको सिसाघाट सामुदायिक विद्युत उपभोक्ता संस्थाले विद्युतीकरणको जिम्मा लिएको छ। लमजुङसँग सिमाना जोडिएकाले तनहुँको संस्थाले लमजुङका केही वडामा विद्युतीकरण गरेको गुरूङले बताए।
संस्थामार्फत विद्युतीकरण भएयता लाइन सफा गर्ने र भुइँमा छोएका तार तन्काउने काम भएको छैन। स्थानीयवासीले झन्डै बीस वर्षअघि सामुदायिक वनबाट सालका काठ काटेर बिजुलीका खम्बा बनाएका थिए। गाउँलेले नै यस्ता खाँबा गाडेर तार तन्काएर गाउँमा बिजुली पुर्याएका हुन्।
सिसाघाट सामुदायिक विद्युत उपभोक्ता संस्थामार्फत बिजुली प्रवाह भएपछि संस्थाले मिटर जडान गरेर महसुल लिइरहेको छ। संस्थाबाट महसुल उठाउन आउनेबाहेक अरू सुविधाको काम नभएको उनी बताउँछन्।
'तार तन्काउन पर्यो, लाइन सफा गर्नुपर्यो भन्दा संस्थाका मान्छेले तिमीहरू जे गर्न सक्छौ गर भन्छन्,' उनले भने, 'मान्छेको ज्यान जाँदासमेत हामीले भनेको उनीहरू सुन्दैनन्।'
संस्थाका प्राविधिक प्रमुख विष्णु तिवारीका अनुसार रम्घा र समिभञ्ज्याङ लगिएको लाइनमा ११ हजार भोल्ट बिजुली प्रवाह हुन्छ। मुख्य लाइनबाट घरघरमा विद्युतीकरण गर्न लगिएको लाइनमा थ्रि-फेज लाइनमा ४४० भोल्ट र घरमा जडान गरिएका लाइनमा २३० भोल्ट बिजुली प्रवाह भइरहेको छ।
यत्तिका लाइन बाटोमा बिच्छ्याएर लैजाँदा बाटोभरि बिजुली प्रवाह भइरहेकाले स्थानीयलाई जोखिम परेको वडाध्यक्ष गुरूङ बताउँछन्। यस्तै, जंगलका रूखबिरूवाले बिजुली प्रवाह भइरहेका लाइनमा छोएका छन्। कतिपय ठाउँमा त रूखमै बिजुली प्रवाह भएका लाइन बाँधिएको छ। यसले बाटो हिँड्न मात्र नभई जंगल जान पनि जोखिम बढाएको उनले बताए।
संस्थाका प्राविधिक प्रमुख तिवारी बेलाबखत लाइन सफा गर्ने काम गरिरहेको दाबी गर्छन्। बिजुलीका लाइन छोएका रूखबिरूवा काट्न स्थानीयलाई आग्रह गरे पनि नमानेको उनको भनाइ छ। तर बिजुली प्रवाह भइरहेका रूखबिरूवा स्थानीयलाई काट्न लगाउनु नै गलत भएको वडाध्यक्ष गुरूङले बताए।
समिभञ्ज्याङका स्थानीयका अनुसार विद्युतीकरण भएयता संस्थाका कोही पनि लाइन सफा गर्न आएका छैनन्।
आफ्नो घरमा लगेको लाइन रूखबिरूवाले छोएको वर्षौं भए पनि अहिलेसम्म सफा नगरिएको स्थानीय शिक्षक एचके अकेला बताउँछन्।
'हाम्रो घरमा लगिएको बिजुलीको लाइन रूखबिरूवा छोएर आउँछ। अहिलेसम्म सफा गर्न कोही आएको छैन,' उनले भने, 'उपभोक्ताको ज्यान जाने गरी जोखिम हुँदा पनि प्राधिकरण जवाफदेही बनेको छैन।'
बिजुलीका खम्बा मक्किएर केही स्थानमा ढलेको पनि उनले बताए।
नेपाल विद्युत प्राधिकरण गण्डकीका प्रमुख जगदिशचन्द्र जोशीले सिसाघाट सामुदायिक विद्युत उपभोक्ता संस्थाले गलत काम गरेकाले खारेजीको निर्णय भएको बताए। उपभोक्तालाई दिनुपर्ने सुविधा नदिएको र प्राधिकरणको नियम उल्लंघन गरिरहेको भन्दै उक्त संस्था खारेज गरिएको उनको भनाइ छ।
'सिसाघाट सामुदायिक विद्युत उपभोक्ता संस्था खारेज भइसकेको छ। अब प्राधिकरण मातहत आउन दुई, तीन महिना लाग्ला,' उनले भने, 'हाम्रो मातहत आइसकेपछि हामी समस्या समाधान गर्छौं।'
मान्छेका ज्यानै जाने गरी संस्थाले लापरबाही गरेको विषय आफूलाई जानकारी नभएको भन्दै जोशीले लमजुङ वितरण केन्द्रलाई तत्काल लाइन सफा गर्न निर्देशन दिने बताए।
'बाटोमा बिजुलीका तार छन्, बोटबिरूवाले छोएको विषय जानकारीमा थिएन,' उनले भने, 'तत्काललाई जोखिम नहुने गरी लमजुङ वितरण केन्द्रमार्फत तार तन्काउने र सफा गर्न निर्देशन दिन्छु।'
मध्यनेपाल–५ का वडाध्यक्ष गुरूङ भने हावाहुरी र पानी पर्ने मौसम सुरू भएकाले तारले जोखिम बढाउने खतरा भइसकेको बताउँछन्।
'तत्काल तार तन्काइएन र लाइन सफा भएन भने अझै धेरै जनाको ज्यान जान सक्छ,' उनले भने, 'बिजुली तारले हामीलाई बाटो हिँड्न र घाँस दाउरा गर्न पनि जोखिम बनाएको छ।'