प्रहरी निरीक्षक सुवास भट्ट नेतृत्वको टोली बुधबार राति चितवन, भरतपुरको गोन्द्राङस्थित पूर्व–पश्चिम राजमार्गमा एउटा गाडी पर्खिरहेको थियो। एउटा गाडीमा बहुमूल्य गहना तस्करी भइरहेको गोप्य सूचना प्रहरीसँग थियो।
मध्यराति १ बजे पूर्वबाट निलो रङको गाडी हुँकिएर आयो। भारतीय नम्बर प्लेटको यो गाडीभित्र तीन जना भारतीय थिए।
प्रहरीले उनीहरूसँग सोधपुछ सुरू गर्यो। उनीहरूलाई ओरालेर गाडीमा खानतलासी गर्यो।
झट्ट हेर्दा गाडीमा केही देखिन्थेन।
'हामीलाई यस्तै गाडीमा तस्करी भइरहेको गोप्य सूचना प्राप्त भएको थियो। त्यो विश्वस्त सूचना थियो। त्यसैले हामीले गाडीका भित्री भागहरू पनि खोलेर खानतलासी गर्न थाल्यौं,' चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भने, 'विभिन्न साधन प्रयोग गरेर भित्री भागमा खोज्दै जाँदा बहुमूल्य गहनाहरू भेटिए।'
एसपी कार्कीका अनुसार सुरूमा कारको चालक बस्ने सिटभन्दा पछाडिको सिटमुनि हिराजस्तो टल्किने गहनाहरूको एउटा पोको भेटियो। त्यसपछि प्रहरीले गाडीको एयरफिल्टर खोलेर हेर्यो। त्यसभित्र सुनजस्तो टल्किने गहनाहरू भेटिए। गाडीको गियरबक्सको कभरभित्र पनि गहनाका पोका भेटिए।
ती पोकामा सुनको चोकर (घाँटीमा लगाउने गहना), सिक्री, औंठी, सानो हार, लकेट, झुम्का, चुरा, बालाका साथै हिराका हार, ब्रास्लेट, बाला, औंठी, लकेट, झुम्का, टप, विभिन्न गहना थिए।
प्रहरीले डब्लुबी १२ एभी ५५६६ नम्बरको भारतीय गाडी र गहनासहित भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्ला फेफना थाना बस्ने ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बंगाल राज्यको हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्न ५१ वर्षका गणपतकुमार तोसावर र कारमा सवार सोही ठाउँका ४२ वर्षीय नरेश बर्मालाई पक्राउ गर्यो।
उनीहरूले ती गहना कलकत्ताबाट ल्याएको बयान दिएको एसपी कार्कीले बताए।
'तर कता लैजान लागेको हो भनेका छैनन्। हामी अनुसन्धानकै चरणमा छौं,' उनले भने, 'प्रारम्भिक अनुसन्धानबाट उनीहरूलाई तस्करको गिरोहले भारतबाट अवैध रूपमा गरगहना नेपाल ल्याउन प्रयोग गरेको देखिन्छ।'
प्रहरीले चितवनमा सुन, हिराको व्यापार गर्दै आएका व्यवसायीहरूलाई बोलाएर ती गहना देखाएको थियो। उनीहरूका अनुसार बरामद भएका २२ क्यारेटका सुन, १४ क्यारेटका हिराका गहना हुन्। प्रहरीले सुनका गहना ६३.८९८ तोला र हिराका गहना २२.८७८ तोला बरामद गरेको थियो। यसको अहिलेको बजार मूल्य एक करोड १० लाख रूपैयाँ हाराहारी छ।
चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पन्डितले बरामद गहनाहरू राजश्व अनुसन्धान विभागमा पठाउने बताए। नियन्त्रणमा रहेका व्यक्तिहरूको विषयमा अनुसन्धान भइरहेको र तस्करको गिरोहको खोजी भइरहेको उनले बताए।
'हामीले गोप्य सूचनाको आधारमा बाटो कुरेर गाडी नियन्त्रणमा लियौं। खनतलासी गरेर गहना बरामद गर्यौं। तर यसरी सबै गाडी रोकेर खनतलासी गर्न सम्भव हुँदैन। त्यसैले तस्करको गिरोहसम्म नपुगी यस्तो क्रम रोक्न सकिँदैन,' उनले भने।
प्रहरी निरीक्षक भट्टले विगतमा पनि पूर्व–पश्चिम राजमार्गमा यसैगरी लुकाएर लैजान लागिएका अवैध वस्तुहरू नियन्त्रणमा लिइएको बताए।
'कहिलेकाहीँ त हामीले पाएको सूचना पनि सत्य हुँदैन। तर यसरी लागुऔषध, गरगहनाको ओसारपोसार भइरहेको छ भन्ने चाहिँ देखियो,' उनले भने, 'गाडीमा गोप्य बक्सा (फल्स बटम) बनाएर पनि तस्करी हुने गरेको भेटिएको छ।'
चितवन प्रहरीले बिलबिजकभन्दा बढीको लत्ताकपडा तथा विभिन्न खुद्रा सामानसहितको ट्रक पनि नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब साढे ८ बजेतिर भरतपुरको केन्द्रीय बस टर्मिनल चोकनजिकै पूर्वबाट आउँदै गरेको ग १ ख ३३३२ नम्बरको ट्रकमा खानतलासी गर्दा बिलबिजकभन्दा बढी लत्ताकपडा भेटिएको एसपी कार्कीले बताए।
उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको उनले बताए।
पूर्व चितवनको खैरहनीस्थित सडकमा एउटा कारबाट लागुऔषध कोडीवेल कफ सिरपसहित तीन जनालाई नियन्त्रणमा लिएको एसपी कार्कीले बताए। खैरहनी नगरपालिका–६ जमौलीस्थित सडकमा गुडिरहेको प्रदेश ३–०१–०२४ च ८७७० नम्बरको कार रोकेर चेकजाँच गर्दा पछाडिको सिटमुनि कार्टुनभित्र लुकाइएको लागुऔषध भेटिएको उनले जानकारी दिए।
प्रहरीले उक्त कारमा सवार भरतपुर–१२ बस्ने ४० वर्षीय सुरजकुमार शाही र ३६ वर्षीय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।