तपाईं कतिको बिरालोप्रेमी हुनुहुन्छ?
तपाईं आफ्नो वरिपरि जतिबेला पनि बिरालो भइराखोस् भन्ने चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईं झम्सिखेलको 'क्याट क्याफे'मा जान सक्नुहुन्छ। त्यहाँ तपाईं बिरालोसँग खेल्दै र खेलाउँदै सँगै खानेकुरा खाई भरपुर मनोरञ्जनका साथसाथै आनन्द लिन सक्नुहुन्छ।
एक हप्ताअघि मात्रै सञ्चालनमा ल्याइएको क्याट क्याफेका सञ्चालक हुन् पुरानो बानेश्वर निवासी २९ वर्षीय रोहन पाण्डे र उनकी ३० वर्षीया श्रीमती आकृति श्रेष्ठ।
क्याट क्याफेको कन्सेप्ट विकसित मुलुकमा पुरानै भएता पनि नेपालमा भने पहिलो भएको रोहन बताउँछन्।
'विकसित मुलुकहरूमा जहाँ सडक बिरालोको समस्या हुन्छ, त्यहाँ क्याट क्याफे खोलेर त्यहीँबाट एडप्ट गर्ने लगायतका सुविधा दिने गरिन्छ,' उनले भने, 'त्यसैले क्याट क्याफे नेपालमा पनि सञ्चालन ल्याउन सकिन्छ भनेर ल्याएका हौं। यो नेपालकै पहिलो क्याट क्याफे हो।'
उनका अनुसार १३ वटा बिरालो पसलबाट किनेर राखिएको छ।
'विदेशको क्याट क्याफेमा सडक बिरालो राख्ने गरेता पनि नेपालमा नेपालीहरूले घरेलु बिरालो खासै मन पराउँदैनन्। त्यसैले पसलबाट किनेर राखेका छौं', उनले भने।
नेपाली समाजले बिरालोले बाटो काटेमा अशुभ मान्दै आएकोले त्यो दृष्टिकोणलाई चिर्न पनि क्याट क्याफे सञ्चालनमा ल्याइएको रोहन बताउँछन्।
'एउटा कालो बिरालोले बाटो काट्दा गाडी रोकेरै दिन बिग्रिन्छ भनेर थुथु गर्दै हिँड्ने गर्नुहुन्छ। मेरो त यहाँ बिरालोहरूले दिनमा १३ सय चोटि बाटो काट्छन्, खै त मेरो केही नराम्रो भएको छैन', उनी भन्छन्, 'कुनै पनि जनावर शुभ र अशुभ भन्ने हुँदैन। हामी त्यसबाट माथि उठ्नुपर्छ। त्यसको लागि हामीले सुरूमा मान्छेहरूलाई बिरालोहरूलाई मनपर्ने बनाउनुपर्यो, मन पराएपछि भोलिको दिनमा एडप्ट गर्नुहोला भनेर भन्न सकियोस् भनेर नै काम गरेका हौं।'
रोहनकी श्रीमती पनि जनावर प्रेमी हुन्। सुरूमा उनको घरमा एउटा मात्र बिरालो थियो। दिउँसो घरका कोही नहुँदा बिरालो एक्लै भयो भनेर अर्को बिरालो ल्याए। ती दुई बिरालो फेरि एक्लै भयो भनेर अरू बिरालो ल्याएको उनी बताउँछन्।
'घरमा धेरै बिरालो भएपछि विदेश घुम्न जाँदा क्याट क्याफेको कन्सेप्टबारे बुझेका हौं,' उनी भन्छन्, 'त्यसपछि व्यवसायको हिसाबले क्याट क्याफे सञ्चालन गर्न सकिन्छ भनेर सुरूआत गरेका हौं।'
क्याफेमा बिरालोको स्वास्थ्यलाई समेत ध्यान दिइएको उनी बताउँछन्।
'हामीले दिनहुँ बिरालोको स्वास्थ्य जाँच गराउँछौं,' उनी भन्छन्, 'कपाल झर्छ भनेर दिनहुँ कोरिदिने काम हुन्छ। त्यस्तै कुनै बिरालो बिरामी छ भने त्यसलाई छुट्टै राखेर औषधी उपचार गर्ने काम गरिन्छ।'
क्याफेमा आउने एक जनाले ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। उक्त रकम तिरेबापत् ८ सय रुपैयाँसम्मको खाना खान सकिन्छ।तर ग्रुपमा गएको छ भने एक जनाले ६ सयसम्म तिर्नुपर्ने हुन्छ। जसबापत सोही रकम बराबरको खाना पाइने रोहन बताउँछन्।
'खाना बनाउँदा सरसफाइमा समेत ध्यान दिइएको छ,' उनले भने, 'खाना बनाउने ठाउँमा बिरालो जान नसकोस् भनेर तीन वटा ढोकाको व्यवस्था गरिएको छ। सुरूको ढोकाबाट गए पनि दोस्रो ढोका भने कट्न सक्दैन।'
क्याफेमा आउँदा मानिसहरूले बिरालोलाई जिस्काएर पुच्छर तान्ने, कान तान्ने दुःख दिने लगायतका काम गर्न नपाउने उनी बताउँछन्।
'चुप लागेर बसिरहेको बिरालोलाई चलाउँदा बिरालोले टोके वा कोतारे त्यसको जिम्मेवारी स्वयं व्यक्ति नै हुनुपर्छ,' उनले भने।
यस्तै क्याफेमा क्याट होटलको समेत व्यवस्था गरिएको छ।
'हामीले यहाँ क्याट होटलको समेत व्यवस्था गरेका छौं,' उनी भन्छन्, 'कोही व्यक्ति बाहिर जानु छ र बिरालो घरमा छ भने यहाँ ल्याएर राख्न सक्नुहुन्छ।'
बिरालोलाई दिइने सुविधा अनुरूप शुल्क लिने गरेको उनी बताउँछन्।
'कसैले मेरो बिरालोलाई छुट्टै समय दिएर सँगै खेली राख्नुपर्छ भनेर भन्नुहुन्छ भने प्रति बिरालो दिनको दुई हजार लाग्छ,' उनले भने, 'होइन खाना दिएर राख्ने मात्र हो भने प्रतिदिन एक हजार लाग्छ।'