बिहान घाम छिप्पिसक्दा पनि दुवै दम्पतीको अत्तोपत्तो थिएन।
घर सुनसान थियो।
अघिल्लो दिन ससुराली गएका हंसबहादुर राई साँझ फर्किसकेको आमाबुवाले थाहा पाएका थिए। तर घरका झ्यालढोका बन्द देखेर उनीहरूको मनमा चिसो पस्यो।
कुनै चालचुल नदेखेपछि उनीहरू हंसबहादुरको घर गए। बन्द ढोकाको चेपबाट चियाए। उनीहरू त उठेकै रहेनछन्। बोलाउँदा पनि बोलेनन्।
त्यतिञ्जेल गाउँलेहरू जम्मा भइसकेका थिए।
ढोका फोडेर हेर्दा हंसबहादुर आफ्नै बिस्तरामा रगतले लतपतिएको अवस्थामा भेटिए। उनको टाउको फुटेको थियो र उनीसँगै खुट्टा खापेर सुतेकी थिइन् उनकी श्रीमती आइसोरी (ऐश्वर्य) राई।
बिस्तरा नजिकै रगत लतपतिएको बञ्चरो पनि भेटियो।
यो घटनाले मोरङको साबिक पाटी गाविस-१ वारेफुङ गाउँ आतंकित भयो। गाउँलेहरूले प्रहरीलाई खबर गरे। प्रहरी आएर घटनास्थल मुचुल्का गर्यो।
भोलिपल्ट हंसबहादुरका काका छोरा शेरबहादुरले आइसोरीले नै आफ्ना दाजु मारेको भन्दै किटानी जाहेरी दिए। आइसोरीले प्रहरीसमक्ष हत्या सकारेको देखिन्छ। सरकारी वकिलले पनि उनीविरूद्ध श्रीमानको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद हुनुपर्ने भन्दै मुद्दा चलायो।
छ वर्षअघि यसरी श्रीमान मारेको घटनाकी अभियुक्त आइसोरीले सर्वोच्च अदालतबाट सफाइ पाएकी छन्।
उनलाई सफाइ दिनुअघि जिल्ला, उच्च र सर्वोच्च अदालतमा लामो बहस भएको देखिन्छ। सर्वोच्च आइसकेपछि न्यायाधीश ईश्वर खतिवडा र सपना प्रधान मल्लबीच उनलाई सजाय सुनाउने कि सफाइ दिने भन्नेमा राय बाझिएको थियो। न्यायाधीश खतिवडाले आठ वर्ष सजायको राय दिए पनि मल्लले कसुरबाट उन्मुक्ति पाउनुपर्ने फैसला गरेकी थिइन्।
दुई न्यायाधीशको राय बाझिएको अवस्थामा तीन न्यायाधीशको इजलासले सुरूदेखि नै मुद्दा हेर्ने नियम छ। यसैअनुसार न्यायाधीश हरिकृष्ण कार्की, अनिल सिन्हा र नहकुल सुवेदीको इजलासले न्यायाधीश मल्लकै रायमा सहमत हुँदै आइसोरीलाई सफाइ दिएको हो।
असार २ गते भएको उक्त फैसलाको पूर्णपाठ सर्वोच्चले केही समयअघि मात्र आफ्नो वेबसाइटमा राखेको छ।
पूर्णपाठमा उल्लेख भएको विवरणअनुसार जाहेरी दर्ता भएको नौ दिनपछि आइसोरीलाई अस्पताल भर्ना गरिएको थियो। डेढ महिना उपचार गराएपछि उनी डिस्चार्ज भइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्यो। अस्पतालले दिएको स्वास्थ्य रिपोर्टमा आइसोरीलाई 'सिजोफ्रेनिया' भन्ने मानसिक रोग लागेको उल्लेख छ।
उनले मोरङ अदालतमा भने आफूलाई केही पनि थाहा नभएको बयान दिएकी थिइन्।
जिल्ला अदालत मोरङले आइसोरीले नै धारिलो हतियारले हानेर आफ्ना पतिको हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुनुपर्ने भनेको थियो। तर त्यति धेरै कैद सजाय आइसोरीका हकमा चर्को पर्न जाने चित्तमा लागेको भन्दै जिल्ला न्यायाधीशले १२ वर्ष मात्र सजाय हुनुपर्ने राय सुनाए।
उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसला सदर गर्यो। तर परिस्थितिजन्य अवस्था हेर्दा उनलाई १२ वर्ष कैद सजाय गर्नु पनि चर्को पर्न जाने भन्दै आठ वर्ष कैद सुनायो।
यो फैसला साधक जाँचका लागि सर्वोच्च अदालत आइपुगेको थियो। दस वर्षभन्दा बढी कैद हुने मुद्दामा आफूले गरेको सजाय मिल्यो कि मिलेन भनेर जाँच्न तल्ला अदालतले माथिल्लो तहमा पठाउँछन्। यसलाई 'साधक जाँच्न पठाएको' भनिन्छ।
साधक जाँचका लागि सर्वोच्च आएको यो मुद्दामा २०७५ फागुन ११ गते पहिलो सुनुवाइ राखिएको थियो। न्यायाधीश विश्वम्भर श्रेष्ठ र टंक मोक्तानको इजलासले मिसिल पढेपछि सबभन्दा पहिले उनी कहाँ कुन अवस्थामा छिन् भनेर सोध्न मोरङ कारागारमा सम्पर्क गरेको थियो।
मोरङ कारागारले उनलाई काठमाडौंस्थित केन्द्रीय कारागार पठाइसकेको जानकारी दियो। उनी बिरामी भएकाले उपचारका लागि पठाइएको जानकारी पाएपछि अदालतले आदेश दियो, 'आइसोरीको स्वास्थ्य स्थिति कस्तो छ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने जवाफ मगाएर पेस गर्नू। सरकार पक्षलाई पनि बहसका लागि डाक्नू।'
केन्द्रीय कारागारले आइसोरीलाई टिचिङ अस्पताल महाराजगन्जमा उपचार गराइरहेको रहेछ। अस्पतालले उनलाई 'अन डिफ्रेन्सिएटेड सिजोफ्रेनिया' भएको रिपोर्ट पठायो। त्यसपछि यो मुद्दा न्यायाधीश खतिवडा र मल्लको इजलासमा पेस भयो।
मुख्यत: सिजोफ्रेनिया भएकी आइसोरीलाई जन्मकैद हुनुपर्ने हो कि होइन भन्ने प्रश्नको निरूपण यो इजलासले गर्न खोजेको देखिन्छ।
तर दुई न्यायाधीशको मत बाझियो।
न्यायाधीश खतिवडाले उच्च अदालतकै राय सदर गरे। अर्थात्, उनलाई जन्मकैद हुनुपर्ने ठहर गर्दै मानसिक बिरामी भएकाले कैद घटाएर आठ वर्ष सजाय सुनाउने राय नै ठिक भएको फैसला दिए। उनले आइसोरीको मानसिक रोग कैद घटाउने कारक तत्व भएको उल्लेख गरेका छन्।
'वस्तुतः कुनै व्यक्तिमा रहेको मानसिक रोग फौजदारी दायित्वबाट उन्मुक्ति पाउने अवस्थासम्मको छैन भने पनि त्यस्ता मानसिक रोगीका हकमा सजाय निर्धारण गर्दा विचार गर्न सकिन्छ,' उनको फैसलामा उल्लेख छ।
घटनाअघि दुईबीचको सम्बन्ध, मृतकको व्यवहार, घटनाक्रम विवरण, घटनापछि प्रतिवादीको व्यवहार र उनको पछिल्लो स्वास्थ्य अवस्था लगायत समग्र परिस्थिति हेर्दा आइसोरीलाई सजाय घटाउने उच्च अदालत विराटनगरको फैसला मनासिब रहेको खतिवडाको फैसलामा उल्लेख छ।
न्यायाधीश सपना प्रधान मल्लले भने उक्त कसुरबाट आइसोरीलाई उन्मुक्ति दिनुपर्ने बताएकी छन्।
घटनापछि तत्काल उपचार गर्दा सिजोफ्रेनिया भन्ने रोगबाट ग्रसित भएर मानसिक सन्तुलन गुमाएको देखिएको र घटना बेलाको क्रियाकलाप हेर्दा पनि उक्त हत्या मनसायसहितको नभएको निष्कर्षमा न्यायाधीश मल्ल पुगेकी थिइन्।
मनसायको अनुपस्थिति मात्र पागलपनको प्रमाण नभए पनि प्रतिवादीले आफ्ना पतिलाई कुनै तर्कसंगत कारणबिना मारेको देखिएको न्यायाधीश मल्लको रायमा उल्लेख छ।
'वारदातबाट भाग्न वा केही लुकाउन कुनै प्रयास नगरेको, आफूले गरेको कामका लागि पश्चाताप नदेखाएको, आफ्नो पतिको हत्यापछि के भयो भन्नेबारे पूर्णतया बेवास्ता रही कुनै पनि भावना वा प्रतिक्रिया प्रदर्शन नगरेका आधारमा निजलाई पागलपनको प्रतिरक्षा प्रदान गरिनुपर्ने देखिन्छ,' न्यायाधीश प्रधानको रायमा भनिएको छ, 'तसर्थ यी प्रतिवादी ऐश्वर्य भन्ने आइसोरी राईले सजायबाट उन्मुक्ति पाउने नै देखियो।'
यसरी दुई न्यायाधीशको राय बाझिएपछि यो मुद्दा तीन न्यायाधीशको इजलासमा पुग्यो। न्यायाधीश हरिकृष्ण कार्की, अनिल सिन्हा र नहकुल सुवेदीको इजलासमा पनि आइसोरीलाई कति सजाय गर्ने वा सफाइ दिने भन्नेमा बहस चल्यो।
जाहेरवालाका तर्फबाट सह-महान्यायाधीवक्ता उद्धव पुडासैनीले आइसोरीलाई उन्मुक्ति दिन नहुने माग गर्दै बहस गरे।
आइसोरीका तर्फबाट वैतनिक अधिवक्ता सुधा धिताल र अमिता गौतमले भने उनको मानसिक अवस्था ठिक नभएकाले कसुरबाट उन्मुक्ति दिनुपर्ने जिकिर गरे।
बहसपछि उक्त इजलासले निरूपण गर्नुपर्ने जम्मा तीन प्रश्न औंल्यायो।
एक, मृतकको मृत्यु आइसोरीको कार्यले भएको हो कि होइन?
दुई, आइसोरीको मानसिक अवस्था आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी बिग्रेको हो वा होइन?
तेस्रो, उनलाई सजाय हुनुनपर्ने अवस्था छ कि छैन? तल्लो अदालतको राय मिलेको छ कि छैन?
उक्त इजलासले आइसोरीको बञ्चरो प्रहारबाटै उनका श्रीमानको ज्यान गएको भन्दै पहिलो प्रश्न निरूपण गर्यो।
दोस्रो प्रश्न निरूपण गर्न अदालतले सिजोफ्रेनिया भनेको कस्तो रोग हो भन्नेबारे विभिन्न अध्ययन प्रतिवेदन, किताब र विधिशास्त्र नियालेको देखिन्छ।
फैसलामा पारिख भन्ने विद्वानको पुस्तकबाट केही जानकारी साभार गरिएको छ। उनले आफ्नो पुस्तक 'मेडिकल जुरिसप्रुडेन्स' मा सिजोफ्रेनियाबाट ग्रसित व्यक्तिहरूमा विशृंखलित सोच र भावनात्मक व्यग्रता हुने उल्लेख गरेका छन्। यस्ता व्यक्तिलाई भावना र सोचाइ लयमा नभएको 'स्प्लिट पर्सनालिटी' का रूपमा उनले चित्रित गरेका छन्।
विश्व स्वास्थ्य संगठनले पनि सिजोफ्रेनियालाई व्यक्तिको सोच्ने, अनुभूत गर्ने वा अभिव्यक्त गर्ने शैली विकृत र विशृंखलित गराइदिने मानसिक असन्तुलनको अवस्था भनी परिभाषित गरेको छ।
त्यस्तै, रिचर्ड स्लोनद्वारा प्रकाशित 'मेडिकल लिगल डिक्सनरी' मा सिजोफ्रेनियालाई अत्यन्त गम्भीर भावनात्मक विशृंखलता, भय र मतिभ्रमपूर्ण मानसिक असन्तुलनको अवस्था भनी चित्रित गरिएको छ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थले गरेको एक अध्ययनले सिजोफ्रेनियाका बिरामीमा एक किसिमको मतिभ्रम पैदा हुने, नभएको आवाज सुन्ने वा नभएका चिज देख्ने; रूप, गन्ध, स्पर्श, स्वाद र आवाज आदिका सम्बन्धमा विशृंखलित सोच र असामान्य व्यवहार प्रकट हुने निष्कर्ष निकालेको थियो।
'यो रोगबाट ग्रसित व्यक्तिमा अक्सर कसैले आफूलाई गम्भीर मानसिक र शारीरिक पीडा दिई सताएको, कसैले पिछा गरेको, समाप्त पारेको, हानि पुर्याएको, धोकामा पारेको वा जासुसी गरिएको, उपहास गरेकोजस्ता विकृत सोच र अनुभूति उत्पन्न भएका हुन्छन्,' उल्लिखित अध्ययन प्रतिवेदनलाई सर्वोच्चले फैसलामा उद्धृत गरेको छ।
यी अध्ययनपछि इजलासले आइसोरीको स्वास्थ्य रिपोर्ट, घटना र उनले देखाएका व्यवहार विश्लेषण गरेको छ।
'आइसोरी आफ्नो पतिलाई बञ्चरो प्रहार गरी रक्ताम्य बनाएपछि रातभर पतिसँगै सुतेको देखिन्छ,' फैसलामा भनिएको छ, 'कुनै पनि सामान्य मानसिक अवस्था भएको व्यक्ति लाससँग रातभर सँगै सुत्न सक्ने परिकल्पना गर्न सकिँदैन।'
आफैंले बञ्चरो प्रहार गरी रक्ताम्य बनाइएका व्यक्तिसँग केही पनि नभएजस्तो गरी रातभर (भोलिपल्ट मध्याह्नसम्म) सँगै सुत्नु र पतिको मृत्युका सम्बन्धमा कुनै जानकारी, पीडा, पश्चाताप, संवेग वा प्रतिक्रिया नभई भावशून्य अवस्थामा भेटिनु आफैंमा चरम मानसिक अस्वस्थताको द्योतक भएको फैसलामा उल्लेख छ।
'प्रतिवादी लाससँगै सुत्नु, कसुर अपराध लुकाउने-छिपाउने प्रयास नगर्नु, प्रमाण लुकाउने-छिपाउने वा नष्ट गर्ने प्रयास नगर्नु, कसुरबाट भाग्ने-उम्कने प्रयास नगर्नु तथा निजबाट वारदातका सम्बन्धमा कुनै दुःख, पश्चाताप, विस्मय वा अन्य कुनै स्वाभाविक मानवीय संवेगात्मक प्रतिक्रिया व्यक्त नगर्नुलाई निज मानसिक रूपमा अस्वस्थ भई आफूले गरेको कार्य कानुनविपरीत हो भनी वा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने अवस्थामा रहेको भनी मान्नुपर्ने देखिन आयो,' फैसलामा भनिएको छ।
तेस्रो प्रश्न उनलाई सजाय हुने कि नहुने भन्ने थियो, जसमा उक्त इजलासले उल्लिखित निष्कर्षमा पुगेपछि आइसोरीलाई उन्मुक्ति दिनुपर्ने फैसला सुनायो। र उच्च अदालत विराटनगरले ८ वर्ष कैद गर्न दिएको राय नमिलेको बतायो।
यो फैसलापछि उनी सुन्धारास्थित केन्द्रीय कारागारअन्तर्गतको जगन्नाथ देवलबाट मुक्त भइन्।
यी तीन न्यायाधीशको इजलासले मानसिक अवस्था बिग्रिएका व्यक्तिले गरेका कसुरमा विभिन्न देशका कानुन र अदालतले गरेका फैसलाले के भन्छन् भन्नेबारे पनि खोजी गरेको थियो।
विभिन्न देशका कानुन
सन् १८८३ मा बेलायतले मानसिक रूपमा अस्वस्थ व्यक्तिले गरेका कसुरजन्य कार्यको सुनुवाइ सम्बन्धमा छुट्टै विशेष कानुन बनाएको थियो। द ट्रायल अफ लुनाटिक एक्ट १८८३ भनिने उक्त कानुनको दफा २ ले भन्छ- 'कुनै फौजदारी कसुरको अभियोग लागेको व्यक्तिले सुनुवाइ प्रक्रियामा उपस्थित भई सो कसुर गर्दाका समयमा निज बहुलाएको भन्ने प्रमाण पेस गरेमा निजलाई कसुरदार मानिने छैन।'
क्यानडाको अपराध संहिताको दफा १६ मा भनिएको छ- 'मानसिक अस्वस्थताका कारण आफूले गरेको कार्यको प्रकृति छुट्याउन वा आफूले कुनै गलत कार्य गरिरहेको छु भन्ने बोध गर्न नसक्ने व्यक्तिले गरेको कुनै कार्य वा भूलका लागि निज आपराधिक रूपमा जिम्मेवार हुँदैन।'
भारतको अपराध संहिताको दफा ८४ ले भन्छ- 'मानसिक अस्वस्थताका कारण आफूले गरेको कामको प्रकृति थाहा नपाउने वा आफूले कुनै गल्ती वा कानुनविपरीत कार्य गरिरहेको छु भन्ने जानकारी राख्न नसक्ने व्यक्तिले गरेको कार्यलाई कसुर मानिने छैन।'
नेपालको मुलुकी ऐन दण्ड सजायको महल १ मा भनिएको छ- 'कानुनबमोजिम अपराध ठहरिने कुनै व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बहुलाएको रहेछ भने उसलाई खतबात लाग्न र कुनै प्रकारको सजाय हुन सक्दैन।'
त्यस्तै मुलुकी फौजदारी संहिताको दफा १४ मा भनिएको छ- 'कुनै काम गर्दाका बखत मानसिक स्वास्थ्यका कारण त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणाम बुझन नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसुर मानिने छैन।'
अन्य मुलुक र नेपालकै अदालतले मानसिक बिरामीलाई कसुरबाट उन्मुक्ति दिएका नजिर
उन्नाइसौं शताब्दीमा कमन ल प्रणालीमा मेक'नटन परीक्षण प्रणाली विकास भएको थियो।
सन् १८४० मा डेनियल मेक'नटन भन्ने व्यक्तिले तत्कालीन बेलायतका प्रधानमन्त्री रोबर्ट पिलले आफूविरूद्ध षड्यन्त्र गरेको ठान्न पुगे। त्यसपछि उनले पिलका निजी सचिव एडवार्ड ड्रमन्डको गोली हानी हत्या गरे। पछि उनी 'मोर्बिड डिलुजन' नामक मानसिक रोगबाट ग्रसित भएको पाइएको थियो।
अदालतले बेलायती कमन लअनुसार मानसिक रूपमा अस्वस्थ व्यक्तिले गरेको कार्यका लागि सजाय गर्न नमिल्ने भएकाले प्रतिवादीलाई आरोपित कसुरमा दोषी मान्न नसकिने फैसला दियो। उनी मानसिक उपचारका लागि स्वास्थ्य संस्थामा बस्नुपर्ने निर्णय पनि गरियो।
यो निर्णयपछि बेलायतका सर्वसाधारण जनता आक्रोशित भएका थिए। महारानी भिक्टोरियाले समेत प्रतिवादीलाई के-कुन आधारमा मानसिक रूपमा अस्वस्थ ठहर गरिएको हो भनी हाउस अफ लर्डलाई पत्राचार गरेकी थिइन्। त्यसपछि अदालतले डेनियल मेक'नटन अपराध गरिरहँदा मानसिक रोगका कारण ठिक-बेठिक छुट्याउन नसक्ने अवस्थाबाट गुज्रिएको देखिएको जवाफ पठायो।
मानसिक रूपमा अस्वस्थ व्यक्तिले गरेको कार्यलाई कसुर नमानिने र सजायबाट उन्मुक्ति पाउनेसम्बन्धी भारतीय दण्ड संहिताको व्यवस्थालाई भारतीय सर्वोच्च अदालतले पनि विभिन्न मुद्दामा व्याख्या गरेको छ।
श्रीकान्त आनन्द राओ भर्सेस स्टेट अफ महाराष्ट्र भएको मुद्दामा प्रतिवादी 'प्यारानोइड सिजोफ्रेनिया' को बिरामी देखिए। उनी उपचार क्रममै रहेछन्। उनले लुगा धुँदै गरेकी श्रीमतीलाई ढुंगा हानेर प्रहार मारेका थिए। मुद्दाको सिलसिलामा उनलाई अस्पताल लगिएको थियो।
उनको परिवारको स्वास्थ्य विवरण हेर्दा बुवालाई समेत मानसिक समस्या रहेछ। वंशाणुगत भई प्रतिवादीलाई समेत मानसिक समस्या रहेको भन्ने स्वास्थ्य परीक्षणले देखाएपछि कसुरबाट उन्मुक्ति दिने गरी फैसला भएको देखिन्छ।
भारतीय सर्वोच्च अदालतले स्टेट भर्सेस महिन्दर सिंहको मुद्दामा प्रतिवादी सिजोफ्रेनियाबाट ग्रसित रहेको भनेर उन्मुक्ति दियो।
घटना हुनुअघि र घटनाको समयमा प्रतिवादीको व्यवहार सामान्य नरहेको तथा घटनापछि पनि प्रतिवादीले कुनै प्रमाण लोप गर्ने/ गराउने कार्य नगरेको अनि घटनास्थलबाट भागेको नदेखिएको भन्ने आधार अदालतले लिएको थियो। प्रतिवादीलाई 'डिफेन्स अफ इन्सेनिटी' अन्तर्गत सजायबाट उन्मुक्ति दिएको अदालतले जनाएको थियो।
नेपाल सरकार विरूद्ध लक्ष्मी भनिने विष्णुमाया अर्यालको कर्तव्यज्यान मुद्दाको नजिर पनि यो फैसलामा उद्धृत गरिएको छ।
यो मुद्दाकी प्रतिवादी लक्ष्मी भन्ने विष्णुमाया अर्यालले आफ्नै छोरालाई बाख्रा बाँध्ने रस्सीले घाँटी कसेर मारेको देखिन्छ। घटनापछि अभियुक्त कतै भागिनन्। न कसुर लुकाउने कुनै प्रयास गरिन्। उनको स्वास्थ्य परीक्षण गर्दा लगातार मानसिक असन्तुलनको अवस्था रहेको पाइएको थियो।
उनी 'साइकोसिस' नामक मानसिक रोगबाट ग्रसित रहेकाले कसुरबाट उन्मुक्ति पाउने भनेर अदालतले सजायबाट पनि उन्मुक्ति दिएको थियो।