मिथिलाक कथासभ : अध्याय १६
मिथिलाका बारेमा एउटा भनाइ प्रचलित छ- जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ!
हुन त स्वर्ग कसले देखेको छ र! तर यो भनाइले स्वर्गका रूपमा एउटा यस्तो लोकको परिकल्पना गरेको छ, जहाँ पुण्य आत्माहरू बस्छन् र जहाँ तीनै लोकका सबै सुख-सुविधा उपलब्ध छन्। त्यस्तो तीनै लोकका सुख-सुविधा उपलब्ध स्वर्गमा समेत नपाइने केही परिकार छन्, जुन मिथिलामा मात्र पाइन्छ भन्ने यो उक्तिको आसय हो।
‘मिथिलाक कथासभ’ श्रृंखलाअन्तर्गत हामीले यहाँका मुख्य परिकारहरूबारे ‘जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ’ भन्ने स्टोरी लेखेका थियौं। त्यसमा हामीले मिथिला परिकारलाई त्यहाँका विभिन्न पर्वसँग जोडेर चर्चा गरेका थियौं।
खानेकुराको कुरा उठिसकेपछि भान्छेको कुरा नगरी भो त! त्यसमाथि यी भान्छे त मिथिला क्षेत्रमै जन्मे-हुर्केका हुन् र मिथिलाकै परिकार चखाएर संसारभरि नाम कमाएका छन्।
हामी कुरा गर्दैछौं, बिबिसी 'मास्टरसेफ रिम्याच' विजेता सन्तोष साहको। उनले प्रतियोगिताको फाइनल राउन्डमा मिथिला थालीअन्तर्गत विभिन्न परिकार बनाएका थिए र त्यही परिकारले उनलाई विजेता बनायो।
प्रस्तुत छ हामीले सन्तोष साहसँग गरेको मिथिला कुराकानीको सम्पादित अंश-
तपाईंका लागि मिथिला भनेको के हो?
मिथिला मेरो लागि सबथोक हो। म जन्मे–हुर्केको ठाउँ हो। मेरो पहिचान नै मिथिला हो। मेरो घर मिथिलामै छ। हरेक दिन कम्तिमा ८–१० घन्टा त मिथिलाकै बारेमा सोचिरहेको हुन्छु।
तपाईंले धेरै अन्तर्वार्तामा आफ्नो परिकारमा बालापन र ठाउँको प्रभाव छ भन्नुभएको छ। सेफ बन्न पनि आमाको प्रभाव छ भन्नुभएको छ। आफ्नो बालापन र परिकारसँग जोडिएका केही किस्सा सुनाउनुस् न!
म सानैदेखि मिथिला परिकार र मिथिला संस्कृतिसँग हुर्किएँ। मास्टरसेफ रिम्याचमा पनि मिथिला संस्कृति नै झल्काउन खोजेको थिएँ। पहिलो एपिसोडमा मैले औंलामा हालेर खाइने ढुंग्री पापड बनाएको थिएँ। यसलाई मिथिला क्षेत्रमा ‘फोपी’ भनिन्छ। त्योसँगै मैले पहाडी शैलीमा आलुको अचार बनाएँ। आलुको अचारबाटै मिथिला कला बनाएर सर्भ गरेको थिएँ।
फाइनल एपिसोडमा मलाई विजेता बनाएको त मिथिला परिकारले नै हो। मैले आफूले बच्चैदेखि खाँदै आएको तिलौरी, बिडिया, अदौरी, कुमरौरी, चामलको पुरी, आँपको अचार, तिलको अचार लगायत परिकार बनाएर 'मिथिला थाली' का रूपमा प्रस्तुत गरेको थियो। यी सबै शुद्ध साकाहारी परिकार हुन्। यसमा दुग्धजन्य वस्तु पनि प्रयोग गरिँदैन।
मिथिला क्षेत्रमा साकाहारी खानेकुरा नै धेरै प्रसिद्ध छ, किन होला?
मिथिला मात्र होइन, नेवारी परिकार छाडेर प्रायः सबैमा साकाहारी खाना लोकप्रिय छ। हाम्रो समाज, संस्कृति र पर्वहरूका कारण पनि यसो भएको होला। मेरो घरमा पनि आमा, दिदी, दाइ लगायत सबै साकाहारी हुनुहुन्छ। वातावरण, भूगोल र खेतीपाती हुने ठाउँ धेरै भएकाले मान्छेलाई साकाहारी बन्न प्रेरित गरेको हो कि भन्ने मलाई लाग्छ।
जहाँसम्म मिथिलाको कुरा छ, हामीकहाँ विवाह पञ्चमी, राम नवमी, छठ पूजा लगायत विभिन्न पर्व मनाइन्छन्। यस्ता पूजा र पर्वमा माछामासु चल्दैन। खाने भनेको साकाहारी नै हो। चाहे त्यो छठमा खाइने ठेकुवा, फुसुवा, खजुरिया होस् या विवाहपछि ससुराली जाँदा बनाइने २०–२५ किसिमका परिकार हुन्। हरेक सांस्कृतिक पर्वमा खानाको महत्व धेरै छ। ती सबै साकाहारी नै हुन्छन्।
जनकपुरको रामानन्द चोकमा मिथिला थाली लिएर आउन लाग्नुभएको छ। त्यसमा के–कस्ता परिकार हामी चाख्न पाउँछौं?
जनकपुरको मिथिला थाली रेस्टुरेन्ट यही वैशाख १ बाट सुरू हुन लागेको छ। मिथिला थालीमा चामलको पिठोमा तिल हालेर बनाइने झुरूमझुरूम तिलौरी, कुभिन्डोबाट बनाइने कुमरौरी, बिडिया, तरूवा, कडहीबडही लगायत खाना पाइने छन्।
यी परिकारसँगै चामल र दाल पनि हामी त्यहीँको रैथाने प्रयोग गर्छौं। नेपालीलाई दालभात मनपर्छ र मिथिला थाली भनेकै दालभातको कन्सेप्ट हो। यसमा प्रयोग हुने सबै खानेकुराका लागि चाहिने सामग्री मैले मिथिला क्षेत्रका गृहिणीहरूबाट लिएर आएको छु। यसले उनीहरूलाई काम पनि भयो, पैसाको स्रोत पनि भयो। मिथिलाका परिकार जो हिजोआज धेरै बन्दैनन् र हराइसकेका छन्, तिनै कुरा हामी मिथिला थालीमा पस्कन्छौं।
मिथिला क्षेत्रमा हराउन लागेका परिकार के–के होलान्?
मैले माथि भनेका सबै परिकार हराउन लागेका छन्। तिलौरी थोरैको घरमा मात्र बनाइन्छ होला। अचेल बजारमा रेडिमेड पापड पाइन्छ। त्यसैलाई फ्राई गरेर खान सजिलो हुन्छ। बिडिया, कुमरौरी, तरूवा पनि रेडिमेड खानेकुराले प्रतिस्थापन गर्दै लगेको छ।
खानेकुरा मात्र होइन, पकाउने तरिकामै परिवर्तन आइसक्यो। तरूवा भनेको चामलको पिठो भिजाएर, त्यसलाई सिलौटामा राम्रोसँग पिसेर, तरकारीलाई पातलो टुक्रा बनाएर, अलिकति तेल छर्किएर दुवै साइड पाक्ने गरी, झुरूमझुरूम हुने गरी पकाइन्थ्यो। अहिले त बेसन र चामलको पिठो ल्यायो, त्यसमा मरमसला र तरकारीको टुक्रा हाल्यो अनि टन्न तेल भएको भाँडामा झ्यामझ्याम पकायो। त्यसरी त होइन नि बनाउने। झन् बेसन त तरूवामा प्रयोग नै हुन्न।
त्यसो भए मिथिला परिकार मात्र होइन, बनाउने तरिका नै हराउन लागिसक्यो?
हो। मिथिला परिकारहरू हराउँदै जानुको मुख्य कारण नै बजारमा पाइने रेडिमेड खाना हो। जस्तो- तिलौरीको सट्टा प्वाल–प्वाल भएको पापड पाइन्छ बजारमा। तिलौरी भनेको त चामलको पिठो पकाउने र त्यसमा तिल, नुन हालेर लेदोलेदो भएपछि सेलाउन दिएर सानो–सानो दाना बनाउँदै घाममा सुकाउने हो। यसका लागि मिहिनेत धेरै लाग्छ। आजकलको मान्छेसँग समय धेरै नभएकाले परम्परागत तरिकाले पकाउने र खाने चलन हराउन लागेको छ। केही खाना पारखीहरूले भने बिस्तारै आफ्नो मनपर्ने खानेकुरा बनाइरहेका छन्। म पनि मिथिला खाना बचाउने प्रयास गरिरहेको छु।
रैथाने खानाहरू महँगो हुनुको कारण नै बनाउने झन्झट र त्यसलाई चाहिने मिहिनेत होला नि!
रैथाने खाना अचेल धेरै बन्दैन। काम गर्ने मान्छेहरू एकदम कम छन्। कुनै पनि चिज कम उत्पादन भएपछि त्यो महँगो हुनु स्वाभाविक हो। गोलभेडाको खेती सीमित खेती भयो भने धेरै मूल्यमा बिक्री हुन्छ। मिथिलामा बनाइने बिडियाको कुरा गर्ने हो भने त्यसका लागि ८–१० किलो काँचो साग र एक किलोजति बन्दा चाहिन्छ। त्यसमा पर्ने मिहिनेत चाहिँ निकै धेरै हुन्छ। मिहिनेतले नै महँगो भएको हो।
हामी मिथिला थालीका लागि १२–१५ सय रूपैयाँ किलोमा बिडिया किनिरहेका छौं। तिलौरी डेढ-दुई सय रूपैयाँ किलोमा किनिरहेका छौं। धेरै रैथाने परिकार उत्पादन कम भएकाले हराउने क्रममा छन्। त्यसैले महँगा पनि छन्।
तपाईंले जनकपुरको पनि फुड–टुर गर्नुभएको थियो। जनकपुरमा रैथाने खानाहरू कहाँ–कहाँ पाइन्छ होला?
जनकपुरमा मिथिला खाना पाइने ठाउँ प्रशस्त छन्। तर जसरी पकाउनुपर्ने हो, त्यसरी पकाइँदैन। एकदमै व्यापारिक ढंगले चलेका छन्। त्यहाँको प्रसिद्ध भनेको लस्सी र तारेको माछा हो। त्यो पनि लस्सी फ्रिजमा राखेको हुन्छ। त्यसलाई फ्रिजबाट निकालेर खुवा, किसमिस हालेर दिइन्छ। खास तरिका त्यो होइन नि। त्यस्तै माछा पनि मिथिलाको शैलीमा बनाइन्न। तैपनि ती प्रख्यात त छन् तर ठेट स्वाद चखाउन गर्न सकिने ठाउँ धेरै छ।
तपाईंले अरू ठाउँमा पनि खानेकुराबारे जान्न फुड टुर गरिरहनुभएको छ नि!
म विभिन्न ठाउँको खाना चाख्दै नेपाली रैथाने खाना पकाउन सिक्दैछु। मास्टरसेफमा प्रवेश गरेपछि यसको तयारी सुरू गरेको हुँ। त्योभन्दा अगाडि त मैले गुन्द्रुक पनि बनाएको थिइनँ। खाएको थिएँ तर बनाएको थिइनँ। मास्टरसेफको दौरान चार सालदेखि म नेपाली खाना खाँदैछु र बनाउन सिक्दैछु। कहाँको खाना राम्रो छ र त्यसमा थप के गर्न सकिन्छ भनेर अभ्यास गर्दैछु।
त्यही भएर म अहिले मिथिला थालीमा काम गर्दैछु। नेवारी खाना पनि मिठो छ। हामीले नेवारी खानाबारे बुझ्न काठमाडौंमा हेरिटेज ‘फुड-वाक’ गरेका थियौं, जसको भिडिओ र स्टोरी सेतोपाटीमा आएको थियो। मैले त्यही फुड-वाकबाट नेवारी परिकारबारे थाहा पाएको थिएँ।
त्यस्तै, बर्दियामा थारू खाना, मुस्ताङमा थकाली खाना, पूर्वमा भक्का र राजवंशी खाना लगायत विभिन्न ठाउँका स्थानीय खानाबारे जानकारी लिँदैछु। अब हुम्ला-जुम्ला जाने कुरा भइरहेको छ। त्यहाँ गएर उच्च हिमाली क्षेत्रमा पाइने खानेकुराबारे जानकारी लिन मन छ।
तपाईंले मिथिला खाना र अन्य खानामा केही समानता भेट्नुभयो कि भएन?
मिथिला खानाको सम्बन्ध पहाडतिर कम पाएँ। भारततिर एकदमै बढी देखिन्छ। बंगलादेशसम्मै हेर्नुभयो भने पनि सम्बन्ध भेट्नुहन्छ। हाम्रोमा माछा–करी बनाउने तरिका र बंगलादेश, कलकत्तातिरको तरिका उस्तै छ। तोरी पिसेर, माछा तारेर, झोलमा डुबाएर बनाउने तरिका उस्तै छ। बिहारमा आलुको चोखा बनाइन्छ, यता पनि बनाइन्छ।
नेपालको कुरा गर्दा मिथिला संस्कृति झारखन्डदेखि सीतामढी हुँदै काँकडभिट्टा, धरानसम्म भेटिन्छ। हिमालतिर खासै छैन। बिडियालाई गुन्द्रुकसँग तुलना गर्ने हो भने बिडिया घाममा सुकाएर बनाइन्छ भने गुन्द्रुक फर्मेन्टेसन गरेर बनाइन्छ। नेवारी परिकार हेर्ने हो भने मासुमा बढी केन्द्रित छ। हाम्रो बढी साकाहारी खानामा केन्द्रित छ। त्यसैगरी थारू समुदायमा बगिया, घोंगी खाने चलन छ, त्यो चलन हाम्रोमा पनि छ।
उता गुजरातमा हाम्रोतिर जस्तै कडहीबडी खाइन्छ। कचरी, आलुको चोप बंगलादेश, कलकत्ता, दार्जिलिङतिर पनि बनाइन्छ।
मास्टरसेफ प्रतियोगिताबाट फर्कंदा एकपटक तपाईंले त्यहाँका केही प्रतिस्पर्धीलाई पनि नेपाल लिएर आउनुभएको थियो। तपाईंहरू कहाँ–कहाँ जानुभयो अनि के–के गर्नुभयो?
म मास्टरसेफका चार जना प्रतिस्पर्धी लिएर नेपाल आएको थिएँ। त्यति बेला नेपाल भर्खर कोभिडबाट बाहिर आउँदै थियो। मेरो उद्देश्य जहिले पनि आफ्नो देश, समाज, संस्कृतिलाई केही योगदान पुर्याऊँ भन्ने हुन्छ। उनीहरू आएर कोभिडपछि नेपाल खुलेको छ भनेर संसारभरि सकारात्मक सन्देश पुगोस् भन्ने मेरो मनसाय थियो।
उनीहरू विभिन्न ठाउँ घुमे, विभिन्न परिकार चाखे। हामीले खानाका कार्यक्रमहरू पनि आयोजना गरेका थियौं। जनकपुरमा हामीले खानाको प्रतियोगिता गरेका थियौं। त्यसमा इटहरी, धरान, विराटनगर, कोशीछेउ, विभिन्न कलेज, गाउँबाट विद्यार्थीहरू आएर सहभागी भएका थिए। उनीहरूले ६०–७० वटा मिथिला खाना नयाँ तरिकाले बनाएका थिए।
जनकपुरपछि हामी पोखरा र बर्दिया पनि गएका थियौं। हामी त्यहाँको होम स्टेमा बस्यौं। बर्दियामा थारू संस्कृति प्रवर्द्धन गर्ने हिसाबले निउरो, घोंगी लगायत ल्याएर मास्टरसेफको टिमसँग बनाएर खायौं। उनीहरूले बनाएका खानेकुरा पनि खायौं।
एकदिन हामी ब्रेकफास्ट खानुपर्यो भनेर हिँडिरहेका थियौं। एक जना दिदीले सेलरोटी बनाउँदै हुनुहुन्थ्यो। हामी सबैले सेफले लगाउने ज्याकेट लगायौं र दिदीलाई साइड लगाएर आफैंले सेलरोटी बनायौं। त्यो भिडिओले एक घन्टामा ६० लाख भ्युज ल्याएको थियो। यसले नेपाल खुल्यो र नेपाली खाना यस्ता छन् भनेर राम्रो सन्देश दिएको थियो।
मिथिलाको कुन चाहिँ परिकार संसारले चाख्नुपर्छ जस्तो तपाईंलाई लाग्छ?
मलाई लाग्छ मिथिलाको मिस गर्न नहुने खानेकुरा बिडिया नै हो। पहेँलो तोरीको पेस्टमा मौसमअनुसार आलु, बेथे वा खेसरीको दाल हालेको बिडिया मिथिलाको खानैपर्ने खानेकुरा हो। त्यस्तै, तरूवा, तिलौरी पनि मिस गर्न नहुने खानेकुरामा पर्छ। मांसाहारी परिकारमा जनकपुरको तारेको माछा एकदम बेस्ट हो।
तपाईंले मास्टरसेफमा होलीमा बनाइने मालपुवालाई आफ्नो स्वाद दिएर पकाउनुभएको थियो। होली पनि नजिक आउँदैछ। अरू के-के खानेकुरा होलीमा खाइन्छ?
होलीमा विशेषगरी खाइने मालपुवा नै हो। यो होलीमा मैले केही नयाँ रेसिपी बनाऊँ कि भनेर सोचिरहेको छु।
मिथिला र नेपाली परिकार प्रवर्द्धन गर्न अरू के–के गर्दै हुनुहुन्छ?
सबभन्दा पहिला मिथिला थालीको रेस्टुरेन्ट खोल्न लागेको छु। भविष्यमा थारू खानाको पनि रेस्टुरेन्ट खुल्नेवाला छ, जसमा थारू समुदायकै मान्छेले खाना बनाउनुहुनेछ। म चाहन्छु हरेक समुदायको रेस्टुरेन्ट होस् र उनीहरूको खाना प्रचारप्रसार होओस्।
अर्को कुरा, विदेशमा पनि रेस्टुरेन्ट खोल्ने योजना गरिरहेको छु। मिथिला थालीलाई संसारका विभिन्न देश पुर्याउने सोचाइमा छु।
मास्टरसेफ बनिसकेपछि नेपालमा खाना र सरसफाइमा केन्द्रित भएर काम गर्न खोजिरहेको छु। स्वच्छ खाना खान पाओस् भनेर तालिम कार्यक्रम दिइरहेको छु। ‘सेफ नेपाल’ भनेर यही चैतको बीचतिरबाट टिभी कार्यक्रम पनि आउन लागेको छ। त्यसमा मिथिला, शेर्पा, नेवारी लगायत विभिन्न समुदायका मान्छे ल्याएर अडिसन गराइरहेका छौं। यसलाई नेपालको राष्ट्रिय टिभीमा पनि हेर्न सकिन्छ।
त्यस्तै, नेपाली खाना प्रवर्द्धन गर्न पप-अप गर्दैछु। पप-अप भनेको अस्थायी रेस्टुरेन्ट हो। मैले पहिला अस्ट्रेलियामा गरेको थिएँ। त्यसमा १५–२० थरीका खाना बनाएर टिकट सिस्टमले बेचिन्छ। त्यही पप-अप रेस्टुरेन्ट न्यूयोर्क, दुबई, सिंगापुर लगायत देशमा पनि गर्न लागेको छु।
नेपालमै बसेर जो नेपाली खाना प्रवर्द्धन गर्छु भनेर लागिपर्नुभएको छ, उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
यहाँका खाना विशेषज्ञ तथा सेफहरूले एकदम राम्रो काम गरिरहनुभएको छ। उहाँहरूले नेपाली खानाको महत्व बुझेर छुट्टै मेनु बनाइरहनुभएको छ। होटल–रेस्टुरेन्टमा पपकर्नको सट्टा भुटेको मकै र भटमास दिइरहनुभएको छ। फापर र कोदोको ‘नाचोज’ बनाउन थाल्नुभएको छ। यसलाई नै निरन्तरता दिँदै जानुहोस्।
‘स्ट्रिट फुड’ पनि रैथाने खाना प्रवर्द्धनका लागि राम्रो योजना हो। क्याम्बोडिया, थाइल्यान्ड, भियतनाम, चीन लगायत देश स्ट्रिट फुडमा उत्कृष्ट छन्। हाम्रोमा भने त्यसको महत्व बुझ्न नसकेर एकदमै हेलामा परेको छ। त्यसलाई व्यवस्थापन गरेर सफा तरिकाले बनाउने हो भने यसको भविष्य निकै राम्रो छ।
यी पनि पढ्नुहोस्: