गत साता कैलालीको कैलारी गाउँपालिका–४ भितरियाकी सीता चौधरी खुट्टामा राखेको रड निकाल्न सेती प्रादेशिक अस्पतालमा पुगेकी थिइन्।
पोहोर साल खुट्टा भाँचिएपछि अप्रेसन गरेर राखिएको रड अहिले निकाल्ने बेला भएको छ। त्यही रड निकाल्न अर्को अप्रेसन गर्नुपर्छ। त्यसका लागि उनले इर्मेजन्सी वार्डको टिकट काटिन्,अस्पतालमा भर्ना भइन्। बेड भने पाइनन्।
बेड नपाएपछि उनको त्यो दिन त्यसै बित्यो।
अर्कोदिन बिहीबार बिहानैदेखि उनले बेडको खोजी गरिन्।
बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स अन्य कर्मचारीसँग कुरा भयो। तर बेड मिल्दै मिलेन।
‘हिजोदेखि कुरिरहेकी छु, आज पनि दिनभरि कुरें, आज एक बेड खाली भएको थियो, त्यसै बस्छु भनेको के-के भन्दैछन् मेरो त कुरै सुन्दैनन्’, उनले सेतोपाटीसँग भनिन्।
धेरै पटक बेडको लागि कुरा गर्न गएपछि उनलाई देखेर कर्मचारीले झर्को मान्न थाले।
‘हाम्रो पछि कति लागेको?’ भन्दै झर्किन थाले।
‘दुई दिनसम्म पर्खें तर, बेड छैन भनेर जानु अब होली मानेर आउनू भन्छन्, म त घरै फर्किन लागेँ,’ उनले भनिन्।
सीताजस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिका-१ का प्रकाश बुढा ऐर पनि बेड नपाएर छटपटिएका थिए। निर्माणाधीन सडकमा मजदुरी गर्दा गर्दै श्रीमतीको हातको औंलामा चोट लागेपछि उनी उपचार गराउन धनगढी आएका रहेछन्।
घटनापछि प्रकाशले डडेल्धुरा अस्पतालमा लगेका थिए, त्यहाँ मल्हम पट्टीबाहेक अन्य उपचार भएन।
‘औंलाको हड्डी टुटेको रहेछ, त्यहाँ हड्डीका डाक्टर छैनन्, सेती प्रादेशिक अस्पतालमा जानु भन्नुभयो, मंगलबार साँझ ७ बजे अस्पताल पुग्यौं,’ उनले भने।
बिहीबार प्रकाश श्रीमतीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा आएको तिन दिन पुगेको थियो।
‘तीन दिन भयो कुरेको, इर्मेजन्सीको डाक्टर कर्मचारीहरूले बेड खाली हुन एक महिना पनि लाग्न सक्छ, जे गर्नु छ आफैं गर्नु नभए प्रशासनमा गएर अध्यक्षलाई भेट्नु भन्नुभयो,’ प्रकाशले भने।
कर्मचारीले कामको चाप छ भन्दै उल्टो सेवाग्राहीलाई धम्काउने डराउने गर्ने गरेको उनको अनुभव छ।
कर्मचारीले ‘बेडका लागि अध्यक्षलाई भन्नुहोस्’ भनेपछि प्रकाश सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षको कार्यकक्षमा गए।
उनको जस्तै कञ्चनपुरका गणेश रावलले पनि बेड नपाएको तीन दिन पुगेको थियो। रावलको हात भाँचिएको थियो, अप्रेशनका लागि उनी अस्पतालमा पुगेका थिए।
‘हाम्रो हात के खसी बोकाको जस्तै हो? कहिलेसम्म यसरी उपचार नै नगरी राख्ने, कहाँ बसेर मेरो अप्रेशन गराउने, बेडका लागि हामी कहाँ जाने,’ रावलले अध्यक्षसँग आक्रोश पोखे।
उनीहरूको समस्या सुनेपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बेड मिलाइदिन आफूले सहयोग गर्ने बताएका थिए।
प्रकाशले तीनपछि बल्ल बेड पाएर श्रीमतीको उपचार गरिरहेका छन्। गणेश भने अस्पतालमा फेरि भेटिएनन्।
बेड नै नपाएर हप्तौंसम्म कुर्ने उनीहरूजस्ता बिमारी सेती प्रादेशिक अस्पतालमा धेरै भेटिन्छन्। अस्पतालमा प्रशासनका अनुसार यहाँ एक दिनमा दुई हजारभन्दा बढी बिरामी उपचारका लागि सेवा लिन आउने गर्छन्।
बिरामीको चाप अनुसार बेड संख्या, अन्य जनशक्ति नहुँदा यस्तो समस्या निम्तिएको छ। अस्पतालमा अप्रेशनका लागि आउने बिरामीले पनि पालो नै नपाएर घर फर्किनुपर्ने अवस्था छ।
सेवाग्राहीले भोग्ने समस्याबारे सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिले गम्भीरतापूर्वक उठाउने गरेको अध्यक्ष नरबहादुर शाहको भनाइ छ। तर पनि समस्या भने ज्यूँकात्यूँ छ।
उनका अनुसार हाल अस्पतालमा विगतभन्दा धमाधम सेवाहरू थपिएका छन्। तर, जनशक्ति र नयाँ नियम कानून नभएका कारण अस्पतालमा समस्या झेल्नुपर्ने अवस्था रहेको छ।
सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले दुई सय शैय्याको बनाउने भनेर निर्णय गरेको छ। तर, कार्यान्वयनमा आउन सकेको छैन।
‘दुई सय वेडको अस्पताल बनाउने भनेर निर्णय भएको छ, शैय्या बढाएपछि कर्मचारी, सेवा सुविधा पनि त्यही अनुसारको हुनुपर्ने हो तर उक्त निर्णय कार्यान्वयनमा नआउनु दु:खद कुरा छ, यसको स्तरोन्नति नहुनु नै यसको दुर्दशा हो,’ अध्यक्ष शाहले भने।
विस १९९७ सालमा जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल अहिले प्रादेशिक अस्पताल भएको छ।
२०४० सालपछि स्तरोन्नतिको पर्खाइमै छ।
यहाँ ५० शैया नेपाल सरकारको स्वीकृति र थप ७५ शैया अस्पतालबाटै सञ्चालित छन्। प्रदेशका ९ वटै जिल्लाका बिरामी यहाँ आउँछन्। बिरामीको चाप बढी भएकाले अनुमति १ सय २५ शैय्याको भए पनि झन्डै ३ सय २३ शैया सञ्चालन गरिरहेको अध्यक्ष शाह बताए।
‘अहिले जेनतेन गरेर सेवा दिइरहेका छौं,’ एउटा वार्डमा दुई जना कर्मचारी खटाएर, ओभरड्युटी गरेर भए पनि ३ सय २५ शैया जति चलाइरहेका छौं, समितिले पनि जेनतेन गरेर मेन्टेन गरिरहेको छ,’ उनले भने।
उनले सुदूरपश्चिमको सरकार र राज्यले अस्पतालको स्तरोन्नति गर्ने विषयमा गम्भीर हुनुपर्ने बताए।
‘बेड कहाँबाट ल्याउने त क्षमता छैन, अप्रेशन गरेर बिमारीलाई कहाँ राख्ने भन्ने समस्या छ, टिनको टहरामा आइसियू चलाउनुपर्ने अवस्था छ,’ उनले भने।
प्रादेशिक अस्पतालको परिसरमा अस्पतालको नयाँ भवन निर्माणाधीन रहेको पाँच वर्ष भयो। यो बनेर अहिलेसम्म सकिएको छैन। पटक–पटक म्याद थप हुन्छ तर, निर्माणको काम अहिलेसम्म पूरा भएको छैन।
दुई वर्षअघि सक्नुपर्ने काम अहिलेसम्म पूरा नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या भइरहेको कर्मचारीहरू बताउँछन्। नयाँ भवन छिटो बने सेवा प्रवाहमा सजह हुने अपेक्षा अस्पतालको छ।
यो अस्पताललाई २ सय शैयाको बनाउने निर्णय छिट्टै कार्यान्वयनमा आउने सुदूरपश्चिम प्रदेशका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री नरेशकुमार शाहीले बताए।
‘सरकारले गरेको निर्णय कार्यान्वयनमा आउँछ, अस्पतालबारे धेरै सूचना हामीले बुझिरहेका छौं, मोडल अस्पताल बनाउने कुरो चलेको छ,’ उनले भने।