पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल आसपासबाट चरा धपाउन गुहार मागेका छन्।
विमानस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी उनले चराका गतिविधि हटाउन गुहार मागेका हुन्।
‘विमानस्थल आसपासबाट चरा धपाउनुपर्यो, सबै निकाय जिम्मेवार हुनुपर्यो,’ उनले भने, ‘अब गुहार्ने अवस्था आयो, ढिलो भइसक्यो, हामी तपाइहरुसँग गुहार माग्छौं।’
विमानस्थलबाट चरा धपाउने नेपाल नागरिक उड्यन प्राधिकरण मात्र नभई सबै निकाय जिम्मेवार हुनुपर्ने उनले जोड दिए।
‘हामीले मान्छे जोगाउनुछ, हाम्रो पर्यटन जोगाउनुछ,’ विमानस्थल प्रमुख गौतमले भने, ‘यहाँबाट चरा मास्ने होइन, यहाँ आउनै नपर्ने अवस्था ल्याउनुपर्छ।’
गौतमले विमानस्थल आसपासका रूख काटेर वा त्यस क्षेत्रमा आउने चरा मारेर समस्याको समाधान नहुने बताए। विमानस्थल आसपास चरा आउन नपर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले यसका लागि पोखरा महानगरसहित सबै निकाय जिम्मेवार हुनुपर्ने बताए ।
विमानस्थलका एटिएस सुरक्षा व्यवस्थापक दीपक पोख्रेलले जनवरी र फेब्रुअरीमा मात्र चराका कारण १८ वटा घटना भएको बताए। जनवरी १ देखि सञ्चालनमा आएको विमानस्थलमा चराकै कारण यत्तिका घटना हुनु चिन्ताजनक रहेको भन्दै उनले मार्च महिनामा बढेको बताए।
‘मार्चमा मात्र १२ वटा घटना भएका छन्, चराले विमानस्थललाई अझै अवरोध गर्ने देखिएको छ,‘ उनले भने, ‘धेरैजसो घटना विमान ल्याण्ड गर्ने बेला र उडान गर्ने बेला भएका छन्।’
जनवरी र फ्रेब्रुअरीमा मात्र भएका १८ वटा घटनामध्ये बिहानको समयमा ११ वटा, दिनमा ६ वटा र साँझमा एउटा घटना भएका छन्। विमानमा चरा ठोक्किने र विमानस्थलका ल्याण्डिङ र उडान रुटमा यस्ता घटना देखिएको पोखरेलले बताए।
दुई महिनाका अवधिमा चराका कारण भएका १८ घटनामध्ये एप्रोज लाइनमा ७ वटा, उडानका क्रममा ७ वटा, ल्याण्डिङमा २ वटा र विमानको रुटमा २ वटा घटना भएको तथ्यांक उनले पेश गरेका थिए।
विमान ल्याण्डिङ र उडानका समय सबैभन्दा संवेदनशील रहने भन्दै उनले यस्ता घटनाले दुर्घटना निम्त्याउन सक्ने भन्दै सजग गराए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा सिँचाईका नहर लगिएको छ। सिँचाईका नहर ढल जस्तै फोहोर भएकाले चराको गतिविधि घट्न नसकेको उनले बताए। यस्तै, रनवेको पूर्वतर्फ विमान ल्याण्डिङ र उडान गर्ने एप्रोच टावर वरीपरी गिद्ध, चील जस्ता ठूला प्रजातीका चराको बासस्थान भएकाले जोखिम देखिएको उनले बताए ।
‘पोखरामा १०८ प्रजातिका चरा पाइने रहेछ, हाम्रो एप्रोच टावर वरीपरी धेरै प्रजातिका गिद्ध बस्छन्,’ उनले भने, ‘यहाँबाट चरा धपाउन खोला, नहर र ढलमा मासुजन्य फोहोर फाल्न बन्द गर्नुपर्छ।’
विमानस्थलका एयरसाइड डिभिजन प्रमुख अरुण पौडेलले चराजन्य गतिविधि हटाउन धेरै प्रयास गरिरहेको बताए। चरा धपाउनकै लागि एउटा गाडी, २ जना कर्मचारी र विभिन्न उपकरण प्रयोग गरिरहेको भन्दै उनले विमानस्थल बाहिर पनि चरा धपाउने अभियान चलाउनुपर्ने उनले बताए।
‘विमानस्थलको एप्रोच टावर भएका विजयपुर खोलातर्फ र ढलमा मासुजन्य फोहोर आउँदासम्म चरा भाग्ने देखिएन,’ उनले भने, ‘खोला र ढलमा मरेका पशुपंक्षी फाल्न भएन।’
विमानस्थल भएर बहने नहरमा दिनहुँ आफूहरूले सफा गर्ने गरेको पनि उनले बताए। ‘हामीले विमानस्थलभित्र नहरको पानी आउने ठाउँमा फिल्टर गरेका छौं, त्यहाँ दिनहुँ मरेका कुकुरदेखि स्याल र कुखुरा भेटिन्छन्,’ उनले भने, हामीले विहान र बेलुका नहरमा आएका यस्ता फोहोर निकालेर फाल्छौं, हाम्रो मात्र प्रयासले पुगेन।’
विमानस्थल भित्र स्यालदेखि बन विरालोसमेत छिरेको भन्दै उनले तारबार लगाएर रोकेको बताए। तारबार लगाउँदासमेत नहरका पानी छिर्ने ठाउँबाटै बन्यजन्तु छिर्नु चिन्ताजनक भएको उनले बताए।
विमानस्थललाई सुरक्षित बनाउन नहर र विजयपुर खोलामा फोहोर फाल्न नदिने गरी पोखरा महानगरले कार्यक्रम ल्याउनुपर्ने उनले जोड दिए।
पोखरा महानगरपालिकाका पशुपंक्षी शाखा अधिकृत नवराज अधिकारीले जथाभावी फोहोर फाल्न दिन नहुने बताए। अफ्रिकन स्वाइनफ्लुका कारण पोखराका बंगुर फार्ममा असर परेकाले मरेका बंगुर पनि खोला र ढलमा फाल्ने प्रवृत्ति देखिएको बताए ।
‘जथाभावी फोहोर फाल्दा १ हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था कानुनमा छ,’ उनले भने, ‘विमानस्थललाई सुरक्षित पार्न पनि अब यो कानुन कडाइका साथ लागु गर्नुपर्छ।’
सिँचाई डिभिजन कार्यालय कास्कीकी इञ्जिनियर सिमा केसीले पोखरा उपत्यकामा सिचाई गर्न बनाइएका नहर नै अतिक्रमणमा परेको बताइन् ।
‘नहरका मापदण्डमा घर बनेका छन्, उनीहरु नहरमा फोहोर फाल्छन्,’ उनले भनिन्, ‘महानगरले नहरको मापदण्डमा ध्यान दिओस् ।’
नहरमा विभिन्न ठाउँमा गेट राखेर फोहोर निकाल्ने व्यवस्था मिलाएको भन्दै उनले त्यस्ता फोहोर महानगरले डम्पिङ साइटमा लैजानुपर्ने उनले बताइन् ।
पोखरा–१५ का वडाध्यक्ष तोरण बानियाले विमानस्थललाई नै खतरा पुग्ने गरी नहर र खोलामा फोहोर फाल्न नदिन महानगर नै जिम्मेवार हुनुपर्ने बताए। विजयपुर खोला, नहर र ढलमा मरेका कुकुरदेखि कुखुरासम्म फालिएको भन्दै यसलाई रोक्न महानगरले नै प्रभावकारी योजना बनाएर लागु गर्नुपर्ने बताए । यसका लाािग आफूले प्रयास गरिरहेको बानियाको भनाई छ।
विमानस्थल प्रमुख गौतमले विमानस्थल वरीपरी चराका खानेकुरा रोक्न नसक्दा समस्या बढेको बताए। ‘नागरिक जोगाउने निर्णयबाट कोही भाग्न सक्दैन,’ उनले भने, ‘हामीसँग स्रोत साधन छैन भनेर कोही उम्किन मिल्दैन।’