अमेरिकी पर्यटक एमी रोज सोमबार अन्नपूर्ण आधारशिविर (एबिसी) र घोरेपानी–पुन हिल पदयात्रामा जाने योजनामा थिइन्।
पोखराको इथिकल ट्रेकिङ कम्पनीमार्फत् पदयात्रामा जान लागेकी एमीलाई रङहरूको पर्व होलीले रोक्यो।
‘रङहरूको उत्सव होली कस्तो हुँदो रहेछ भनेर हेर्न पदयात्रामा जाने आजको योजना रद्द गरेँ,’ उनले भनिन्, ‘एकदम रमाइलो हुँदो रहेछ, यस्तो कहिल्यै देखेको थिइनँ।’
होलीमा उनले एकअर्कालाई रङ मात्र लगाइनन्, लेकसाइडमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा नाचिन् पनि।
एमी मात्र होइन, लमजुङबाट मनाङ हुँदै मुस्ताङ निस्किने अन्नपूर्ण फेरो पदयात्रामा जान लागेका अर्का अमेरिकी पर्यटक ब्रेन म्याटर पनि सोमबार पोखरामै भुले। उनी पनि एमीझैं रङमा खेले। सांगीतिक कार्यक्रममा नाचेर होली मनाए।
होली मनाउन सोमबार पदयात्रामा जानुपर्ने छवटा समूहले योजना नै रद्द गरेको इथिकल ट्रेकिङ कम्पनीका सञ्चालक कृष्ण आचार्यले बताए। ‘होलीले एक दिन भने पनि पोखरामा पर्यटक रोक्न सफल भयो,’ उनले भने, ‘विदेशी पनि होलीमा रमाए।’
ट्रेकिङ एन्ड टुर एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्षसमेत रहेका आचार्यले पदयात्राको सिजन सुरू भएसँगै विदेशीको आगमन बढ्न थालेको बताए।
‘ट्रेकिङ जान आउने पर्यटक बढिरहेका छन्, बुकिङ पनि राम्रो छ,’ उनले भने, ‘कुनै समस्या आएन भने यसपालि धेरै पर्यटक आउनेछन्।’
हिउँद याम सकिएसँगै नेपालमा पर्यटन सिजन सुरू भएको छ। फागुन, चैत, वैशाख, असोज, कात्तिक र मंसिर महिनालाई पर्यटन सिजन मानिन्छ। पदयात्रा र हिमाल आरोहण गर्न उपयुक्त मौसम भएकाले अधिकांश विदेशी पर्यटक यही समय नेपाल आउँछन्।
नेपाल घुम्न आएका तिनै पर्यटकलाई होलीको मौकामा नेपालीले रङ लगाइदिए। विदेशी पर्यटकले पनि नेपालीलाई रङ लगाइदिएर होलीको शुभकामना दिए।
होलीका अवसरमा रङ लगाइदिँदा विदेशी पनि खुसी भएको घान्द्रुककी नेहा गुरूङले बताइन्।
नेहा, उनकी बहिनी स्नेहा र साथी रिता पुन सेतो कपडा लगाएर होली खेल्न लेकसाइड गएका थिए। फेवाताल नजिकै जुनाज क्याफे पुगेर होली खेल्ने उनीहरूको योजना थियो। क्याफेमा विदेशी पर्यटकका जोडी कफी पिउँदै थिए। नेहाले उनीहरूलाई पनि रङ लगाउन आग्रह गरिन्। विदेशी पर्यटकका जोडी नेपालीले रङ लगाएको देखेर दंग परेछन्। उनीहरूले रङ लगाए र नेहा र उनका साथीहरूलाई पनि रङ लगाइदिए।
‘क्याफेमा बसेका विदेशीले रङ लगाएका थिएनन्, हामीले लगाइदिऊँ भन्दा तत्काल उनीहरूले स्वीकार गरे,’ नेहाले भनिन्, ‘हामीले उनीहरूलाई टीका लगाइदियौं, विदेशीले पनि हामीलाई रङ लगाइदिए।’
क्याफेबाट रङ लगाउन थालेका नेहा र उनका साथीहरू लेकसाइडका पदमार्ग गए, जहाँ नेपाली र विदेशी होली खेलिरहेका थिए। लेकसाइडका सबैजसो रेस्टुरेन्टमा ठूलो आवाजमा संगीत घन्किरहेका थिए। नेपाली र विदेशी एकअर्कालाई रङ लगाइदिएर नाचिरहे।
फेवातालछेउ हिँडिरहँदा नेहा र उनका साथीहरूले बाटोमा हिँडेका अरूलाई पनि रङ लगाइदिए। अरूले पनि उनीहरूलाई त्यसैगरी रङ फर्काए।
विगतका वर्षहरूमा भन्दा यसपालि होली सौहार्द भएको नेहाको अनुभव छ।
‘पोहोर परार रङ मिसिएको पानी छ्याप्ने, जबर्जस्ती गर्ने गरेका थिए, यसपालि त्यस्तो अनुभव भएन,’ उनले भनिन्, ‘हामीले पनि सोधेर रङ लगाइदियौं, अरूले पनि हामीलाई रङ लगाउँदा पहिला सोधेका थिए।’
नचिनेका मान्छेलाई रङ लगाइदिँदा उसले रङ लगएको छ कि छैन भनेर हेरेको उनले बताइन्।
‘रङ नलगाएको व्यक्तिलाई हामीले पनि लगाइदिनुभएन नि,’ उनले थपिन्, ‘केही परेर वा नचाहेर नलगाएको हुन सक्छ।’
होलीका अवसरमा लेकसाइडका विभिन्न चोकमा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। जहाँ नेपाली मात्र होइन, विदेशीले पनि गाउने, बजाउने गरेका थिए। होलीको रङमा संगीत मिसाएर विदेशीले पनि नेपालीले झैं उल्लास मनाए।
लेकसाइडदेखि पामेसाइडसम्मका रेस्टुरेन्टले होलीका अवसरमा विशेष सांगीतिक कार्यक्रम पेस गरेका छन्। यस्ता सांगीतिक कार्यक्रममा विभिन्न कलाकार उपस्थित छन्। लेकसाइडको सांगीतिक कार्यक्रममा आफूहरू रङ उडाउँदै नाचेको नेहाले बताइन्।
लेकसाइडदेखि पामेसम्मका रेस्टुरेन्टमा आयोजना गरिएका विशेष सांगीतिक कार्यक्रममा पनि नेपालीको उस्तै भीड देखिन्थ्यो। होली मनाउन जानेहरूको भीडले लेकसाइडदेखि पामे जाने सडक दिउँसो जाम हुन पुगेको थियो।
होलीका अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) ले सोमबार लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो। रेवान पोखराका अध्यक्ष नरेश भट्टराईका अनुसार लेकसाइडमा बाजागाजासहित र्याली आयोजना गरिएको थियो, जहाँ करिब ५ सय विदेशी पर्यटक सहभागी भएका थिए।
‘होलीले पोखराको पर्यटन उद्योगलाई आशा दिएको छ,’ भट्टराईले भने, ‘नेपाली मात्र होइन, विदेशीले पनि होली उल्लासपूर्वक मनाए।’
पोखरामा रेवानको सदस्यता लिएका एक सयवटा रेस्टुरेन्ट छन्। रेवानमा आबद्ध नभएका दुई सयजति रेस्टुरेन्ट रहेको भट्टराईले बताए। होलीका अवसरमा अधिकांश रेस्टुरेन्टमा उत्साहपूर्ण व्यापार भएको उनले बताए।
‘होली मनाउन आएका आन्तरिक पर्यटकले रेस्टुरेन्ट भरिभराउ छ, यसले हामीमा आशा पलाएको छ,’ उनले भने।
होलीलाई ‘रङहरूका पर्व’ भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सके नेपालको सांस्कृतिक परम्परा पनि जोगिने र पर्यटकलाई आकर्षण गर्न सकिने उनको विश्वास छ। अहिले रेवानले मात्र मनाइरहेको होली उत्सवलाई पोखरा महानगरदेखि प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले साथ दिनुपर्ने उनको भनाइ छ।
‘होलीका दिन पोखरामा ‘फेष्टिभल अफ द कलर’ का रूपमा उत्सव मनाउन सकिन्छ, यसलाई प्रवर्द्धन गर्न सके पर्यटकका लागि आकर्षक देखिन्छ,’ उनले भने, ‘हामीले मात्र मनाएर भएन, अरू संस्था र सरकारले पनि साथ दिनुपर्छ।’
कोभिड–१९ पछि पोखराको पर्यटन अझै सामान्य अवस्थामा आइसकेको छैन। कयौं व्यवसायी पलायन भइसकेका छन् भने भएकाहरू पनि व्यवसाय नहुँदा निराश छन्। त्यसमाथि माघ १ गते भएको हवाई दुर्घटनाले पनि पोखरा आउने पर्यटक घटेको व्यवसायी बताउँछन्।
होटल एसोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चलका अध्यक्ष लक्ष्मण सुवेदीले होलीका अवसरमा आन्तरिक पर्यटकको आगमन उत्साहपूर्ण रहेको बताए। विदाका दिन परेकाले पनि होली मनाउन पोखरा आउने आन्तरिक पर्यटक बढेको उनले बताए।
‘होली मनाउन आउनेहरू अधिकांश नेपाली छन्, रेस्टुरेन्ट जान्छन् र बास बस्न घर फर्कनेहरू धेरै छन्,’ उनले भने, ‘होटलमा बस्नेहरू पनि आज बढेको छ।’
सबै तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी