हिमा कुसुण्डा आफ्ना पुर्खाको भाषा सिक्न पाएकोमा मख्ख छिन्। आफ्नो मातृभाषा सिक्न हिमा प्युठानबाट दाङ आएकी छन्।
लोपोन्मुख कुसुण्डा जातिको भाषा संरक्षण र विकास गर्ने उद्देश्यले इच्छुक व्यक्तिलाई भाषा सिकाउन थालेको खबर पाएपछि हिमा दाङ आएकी हुन्।
‘म मेरो मातृभाषा सिक्नकै लागि दाङ आएकी हुँ,’ उनी भन्छिन्, ‘अहिले म आफ्नो मातृभाषा बोल्न र केही कुरा लेख्न सक्ने भएकी छु। मलाई धेरै खुसी लागेको छ।’
आफू कुसुण्डाकी छोरी भए पनि आफ्नै भाषा बोल्न नजान्ने भएकोले दाङ आएर सिक्न थालेको उनले बताइन्। सुरू-सुरूमा आफ्नै मातृभाषा सुनेर हिमा अक्क न वक्क पर्थिन् रे।
‘आफ्ना पुर्खाको भाषा नजान्दा नरमाइलो लाग्थ्यो,’ उनले भनिन् ‘कक्षामा केही नबुझ्दा निकै अप्ठ्यारो लाग्थ्यो। सिक्दै गएपछि रमाइलो हुन थाल्यो।’
आफ्नै पुर्खाको भाषा भए पनि हिमाका लागि कुसुण्डा भाषा सिक्नु कुनै नयाँ भाषा सिक्नु जस्तै थियो। आफ्नो पुर्खाको भाषा सिकेरै छाड्छु भन्ने अठोटले आत्मविश्वास बलियो भएको उनले बताइन्।
हिमा सानी छँदा उनका हजुरबाले कुसुण्डा भाषाका केही शब्दहरू बोल्ने गरेको उनको स्मरणमा छ।
उनको अनुमान अनुसार सम्भवतः हजुरबा पनि कुसुण्डा भाषा पूरा बोल्न जान्दैन थिए। केही शब्द र सीमित वाक्य मात्र बोल्थे।
हिमालाई हजुरबाले बोल्ने ती शब्द र वाक्यहरू अनौठा लाग्थे। कुसुण्डा भाषा पढ्न थालेपछि हिमाले हजुरबुवाले बोल्ने गरेका केही शब्दहरू पहिचान गरिन्। तिनको अर्थ थाहा पाइन्। केही लेख्न जान्ने पनि भइन्।
भाषा आयोगको सहयोगमा दाङमा कुसुण्डा भाषा पढाइ सुरू भएको चार वर्ष भयो। यसमा २७० घण्टाको कक्षा हुन्छ।
भाषा शिक्षक छन् कमला सेन कुसुण्डा र उदयराज आलेमगर।
हालको कक्षामा हिमाजस्तै २० जना प्रशिक्षार्थी छन्। उनीहरू कुसुण्डा भाषामा दोहोरो कुरा गर्न सक्ने भएका छन्। कुसुण्डा भाषाका विज्ञ एवं प्रशिक्षक आलेमगर नयाँ पुस्ताले लोपोन्मुख भाषा सिक्न सके त्यसको संरक्षणमा टेवा पुग्ने बताउँछन् ।
घोराही उपमहानगरपालिका–५ स्थित महेन्द्र माध्यमिक विद्यालय र घोराही–१८ को सुपैलाखुटीमा कुसुण्डा भाषाको पढाइ हुने गरेको छ। महेन्द्र माविमा कुसुण्डा र गैरकुसुण्डा दुवै गरी १२ जना र सुपैलाखुटीमा ८ जना गृहिणी प्रशिक्षार्थी छन्।
कुसुण्डा समुदायबाट आफ्नो मातृभाषा बोल्ने कमला र उनकी दिदी ज्ञानीमैया मात्रै थिए।
उनीहरू आपसमा कुसुण्डा भाषामै बोल्थे। तीन वर्षअघि ज्ञानीमैयाको मृत्यु भएपछि कमला एक्ली भएकी छन्। हाल उनी नै कुसुण्डा भाषाको 'विश्वविद्यालय' हुन्।
‘हामी दिदी-बहिनी भेट हुँदा कुसुण्डा भाषामै सुखदुःखका कुरा गर्दै रमाउँथ्यौं,’ कमलाले भनिन्,‘दिदी बितेपछि यो भाषा जान्ने अब म एक्लै थिएँ। पढाइ सुरू भएपछि नयाँ पुस्ताले पनि सिक्न थालेका छन्। अब हाम्रो भाषा जोगिएला भन्ने आशा पलाएको छ।’
भाषाको व्यवहारिक प्रयोग नहुँदा जानेको कुरा पनि बिर्सने खतरा रहने कमलाको अनुभव छ।
दिदीको मृत्युपछि उनलाई यस्तो अनुभव भएको हो। आफूबाहेक कुसुण्डा समुदायका पुराना व्यक्ति कोही पनि बाँकी नरहेकाले नयाँ पुस्ताले नसिके भाषा लोप हुन सक्ने उनको भनाइ छ।
कमलाले घरमा छोराछोरीलाई पनि आफ्नो मातृभाषा सिकाइनन्। कसैले नबुझ्ने ठानेर बेवास्ता गरिन्। यसमा अहिले उनलाई पछुतो छ।
उनले भनिन्, ‘बोल्ने मान्छे नै नभएको कुसुण्डा भाषा के काम लाग्ला र भनेर आफ्ना छोराछोरीलाई पनि सिकाइनँ। अहिले मलाई पछुतो छ तर अब आफूले सिकेर अरूलाई पनि सिकाऊलान् भन्ने विश्वास छ।’
यी कमलालाई प्रशिक्षक बनाएर भाषा आयोगले कुसुण्डा भाषा सिकाउन थालेको हो।
दिदीको मृत्युपछि उनी एक्लो कुसुण्डा भाषी भइन्। दोहोरो कुरा गर्ने साथी भएन। जान्ने कोही नभएको हुँदा चिन्ता लाग्ने गरेको बताइन्।
प्रशिक्षण सुरू भएपछि उनलाई केही ढुक्क भएको छ।
प्रशिक्षक आलेमगरले ज्ञानीमैयाबाट टिपोट गर्दै कुसुण्डा भाषाको किताब पनि लेखेका छन् ।
भन्छन्, ‘ज्ञानीमैया र कमलामा मात्रै सीमित कुसुण्डा भाषा पढाइ हुन थालेपछि पुस्तान्तरण हुने विश्वास बढेको छ। नयाँ पुस्ताले सिक्दै गए भने भाषा जोगिन्छ।’
लोपोन्मुख कुसुण्डा भाषा नयाँ पुस्तामा हस्तान्तरण गर्दै संरक्षण र विकासमा सघाउने उद्देश्यले तीन चरणमा प्रशिक्षण दिने व्यवस्था छ। एउटा चरण ९० घण्टाको हुन्छ।
हालका प्रशिक्षार्थीको दुई चरण पूरा भएको छ। प्रशिक्षक आलेका अनुसार अन्तिम चरणको कक्षा सञ्चालनको तयारी हुँदैछ। २०६८ सालको जनगणनाअनुसार नेपालमा कुसुण्डा जातिको संख्या २६२ जनामात्रै छ।
हाल कुसुण्डा शब्दकोश, कुसण्डा शब्दचित्र, गेम्याक र सोजक गरी चार वटा पुस्तक प्रकाशन भएका छन्। भाषा शिक्षणको कुसुण्डा पाठ्यक्रम पनि प्रकाशित छ।
दाङ, रोल्पा, प्युठान, सुर्खेत, तनहुँ, गोरखा, कपिलवस्तु र अर्घाखाँची कुसण्डा जातिको परम्परागत बसोबासका क्षेत्र हुन्।