हत्याको २५ दिनपछि बाबुले छोराको शव बुझ्ने भएका छन्।
रोल्पाको रून्टीगढी गाउँपालिका–२ का २० वर्षीय राजेन्द्र विकको माघ २९ गते राति हत्या भएको थियो।
राजेन्द्रको शव फागुन १ गते राम्ली सामुदायिक वनको भिरमुनि खोँचमा स्थानीयले फेला पारेका थिए।
उनको हत्यामा गाउँकै साला नाता पर्ने किशोर संलग्न रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले सेतोपाटीलाई बताए।
हत्या आरोपित व्यक्तिको अभियोग स्वीकार गरेको र अदालतले अभियुक्तलाई पुर्पक्षका लागि नाबालक रहेको हुँदा सुधार गृहमा पठाउन आदेश भएबमोजिम गरिएको डिएसपी मगरले जानकारी दिए।
‘अदालतको आदेश अनुसार हत्यामा संलग्न नाबालकलाई यसअघि नै बाँकेस्थित सुधार गृहमा पठाइसकिएको छ,’ उनले भने, ‘अनुसन्धानबाट हत्यामा अरू कसैको संलग्नता पुष्टि भएन।’
राजेन्द्रका बुवा ४४ वर्षीय रूपलाल विकले भने आफ्नो छोरोको सुनियोजित रूपमा हत्या भएको दाबी गर्दै आएका छन्।
उनले हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई जोगाउनका लागि एक जना नाबालक मात्रै हत्यामा संलग्न रहेको देखाइएको आशंका साथ विरोध गर्दै आएका छन्।
‘हामीले आशंका लागेका विभिन्न व्यक्तिहरूविरूद्ध किटानी जारी दिन खोज्दा पनि प्रहरीले जाहेरी लिन मानेन,’ उनले भने, ‘उनीहरूकाविरूद्ध सबुत प्रमाण के छ भनेर मलाई पटक/पटक प्रश्न गरियो र अपराधिलाई चोक्याउन ठूलो चलखेल भयो।’
डिएसपी मगरले हाल सुधार गृहमा पठाइएका नाबालकले आफूले मातेको समयमा भनाभन हुँदा राजेन्द्रलाई ढुंगाले टाउकोमा हानेपछि लडेको र त्यसपछि आफूले भिरबाट खसालेको भन्ने साबिती बयान गरेको हुँदा त्यसमा अन्य कसैको संलग्नता नरहेको दाबी गरे।
राजेन्द्र उक्त दिन गाउँका साथीसहित रून्टीगढी – १ स्थित आफन्तको बिहेमा गएका थिए। गाउँबाट राजेन्द्रसँगै अन्य आफन्त र साथीहरू पनि गएका थिए।
बिहे भोजमा उनीहरूले मदिरा सेवन गरेपछि राजेन्द्रले आफ्नो ससुराली गाउँमा ‘गाँजा पाइन्छ लिन जाऊँ’ भनेर नाबालकसँगै गएको प्रहरी बताउँछ। त्यही क्रममा बाटोमा उनीहरूका बीचमा भनाभन हुँदा तिनै नाबालकले टाउकोमा ढुंगाले हिर्काउँदा राजेन्द्रको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सुरूमा भने प्रहरीले राजेन्द्रको मृत्यु भिरबाट लडेका कारण भएको कुरा सार्वजनिक गरेको थियो। राजेन्द्रका बुवा रूपलाल भने आफ्नो छोराको अन्यत्र हत्यापछि भिरबाट लडेको देखाउनका लागि दुई सय मिटरको ठाडो भिरमुनि लगेर राखिएको दाबी गर्छन्।
रूपलालका अनुसार हत्या भएको दोस्रो दिन बिहान राजेन्द्रले लगाएको जम्पर र हाफ ज्याकेट घरमै लगेर आँगनमा फोलेको अवस्थामा फेला परेको थियो।
ती नाबालकका बुवाले बाटोमा फेला पारेको भन्दै राजेन्द्रले लगाउने दायाँ खुट्टाको जुत्ता आफ्नो घरमा लगेर राखेको अवस्थामा फेला परेको रूपलालले बताउँदै आएका छन्।
यस्तै कुराहरूलाई आधार मानेर रूपलाल आफ्नो छोराको सुनियोजित रूपमा हत्या भएको दाबी गर्दै आएका छन्।
गाउँका सात जनाविरूद्ध किटानी जाहेरी लगेर फागुन ४ गते गए पनि प्रहरीले प्रमाण खोज्दै मुद्दा दर्ता गर्न नमानेको रूपलालले बताए।
उनले जबसम्म प्रहरीले किटानी जाहेरी लिन मान्दैन तबसम्म छोराको शव अस्पालबाट नबुझ्दै अडान लिँदै आएका थिए। तर, २५ दिनपछि बिहीबार आफूले अस्पतालबाट छोराको शव बुझ्न लागेको रूपलालले सेतोपाटीलाई बताए।
‘के गर्नु रोल्पा र दाङ गर्दागर्दै म टुटिसकेँ,’ उनले भने ‘ भोलि अस्पताल गएर शव बुझ्छु र दाङमा दाह संस्कार गर्नेछु।’
उनले गरिब र कमजोर व्यक्तिले न्याय पाउन कठिन रहेको बताए।
शव राखेबापत दैनिक एक हजार तिर्नुपर्ने अवस्थाका कारण ऋणसापटी गरेर आवश्यक रकमसहित दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाएर छोराको शव बुझ्ने उनले फोनमा जानकारी दिए।
उनले भने, ‘मसँग छोरोको शव अस्पतालबाट निकाल्ने त परैको कुरा शव जलाउने समेत पैसा नभएपछि साथीहरूले चन्दा संकलन सुरू गर्नु भएको छ। त्यही भएर मैले छोरोका शव रोल्पा नलगी केही साथी भाइको सहयोगमा दाङको घोराहीमा सदगद गर्न लागेको हुँ।’
यो पनि:
‘हत्याबारे प्रहरीले किटानी जाहेरी नलिएसम्म हामी छोराको शब अस्पतालबाट बुझ्दैनौं’