रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, पडरियाकी सानिया परविन सधैं मुखमा मास्क लगाएर स्कुल जान्छिन्। रातो सर्ट, कालो पाइन्ट र टाईसँगै कालो मास्कमा स्कुल जाने सोनियाले सेतो एप्रोन लगाएर बिरामीको सेवा गर्ने सपना देखेकी छन्।
सानियाले पाँच कक्षासम्म लुम्बिनीकै महिलवारस्थित मेत्ता गुरूकुलमा पढिन्। यसपछि लुम्बिनीकै करुणा गर्ल्स स्कुलमा भर्ना भइन्। अहिले १० कक्षामा पढ्दै छिन्। विद्यालय शिक्षा परीक्षा (एसइई) को तयारीमा छिन्।
एसइई आउँदो चैत १७ गते सुरू हुँदैछ।
सानियालाई डाक्टर बन्न सामान्य मेहनतले पुग्दैन भन्ने थाहा छ। त्यसैले पढाइमा लगनशील छिन्। विद्यालयमा उनको नतिजा उत्कृष्ट छ।
आमाबुबाका चार सन्तानमध्ये सानिया एकमात्र छोरी हुन्। बुबा अनिल अहमद खान पनि छोरीलाई डाक्टर बन्नुपर्छ भनेर प्रोत्साहित गर्दै छन्।
‘बुवाआमाको चाहना पनि मैले डाक्टर बनेर गरिब दुःखीको सेवा गरोस् भन्ने छ। बुवा त सधैं मलाई प्रोत्साहन दिनुहुन्छ,’ सानिया भन्छिन्।
लुम्बिनीकै केउटलियाकी साविया निशा फकिर पनि डाक्टर बनेर बिरामीको सेवा गर्न चाहन्छिन्। उनी मेत्ता गुरुकुलमा कक्षा ९ मा पढ्दै छिन्। गुरुकूल पुग्न आधा घण्टा साइकल चलाउनुपर्छ।
उनलाई पनि उनका बुवा मसिउद्दिन फकिरले डाक्टर बन्न प्रेरित गरेका छन्।
‘मेरा बुबाले पढ्न पाउनुभएन। मलाई डाक्टर बनाउने भन्नुहुन्छ। मलाई पनि डाक्टर बनेर गरिबदुःखीको उपचार गर्ने इच्छा छ,’ सावियाले भनिन्।
छोरीहरूलाई मदरसाको साटो सबैले पढ्ने स्कुल पठाएकोमा मसिउद्दिनले अनेक कुरा सुन्नु पर्छ तर उनी नसुने झैँ गरिदिन्छन्। साविया पनि बेवास्ता गर्छिन्।
‘म आफू ठिक छु, मेरो लागि बुबाआमाले सपना देख्नुभएको छ। अरूले के भन्छन् भन्ने कुराले कुनै मतलब राख्दैन,’ साविया भन्छिन्।
मसिउद्धिन दम्पतीका सात छोरीमध्ये साविया माइली हुन्। जेठी छोरी गाउँकै अर्को स्कुलमा ११ कक्षामा पढ्दै छिन्। साबियासहित पाँच जना मेत्ता गुरुकुलमा पढ्छन्। कान्छी छोरी स्कुल जाने उमेरकी भएकी छैनन्।
मसिउद्दिन कपडा सिलाउने काम गर्छन्। उनकी श्रीमती घर सम्हाल्छिन्।
छोराको आशामा सातजना छोरी भए पनि मसिउद्दिनलाई कुनै पछुतो छैन, खुसी छन्। अब सन्तान नथप्ने विचार गरेका छन्।
‘छोरीहरूले पढाइमा मिहिनेत गरेको देखेपछि छोरा र छोरी एउटै हुन् भन्ने लागेको छ। अवसर पाए भने छोरीले पनि सबै काम गर्छन्। सावियालाई डाक्टर बनाउने सोचेको छु,’ उनले भने।
वडा नम्बर ७, भैसहियाकी साहिदा खातुनले ६ कक्षासम्म तिलोत्तमाको एउटा निजी स्कुलमा पढिन्। लुम्बिनी बसाइँ सरेपछि ‘करुणा गर्ल्स स्कुल’ मा भर्ना भइन्। अहिले एसइईको तयारीमा छिन्।
उनी पनि डाक्टर भएर सेवा गर्न चाहन्छिन्।
वडा नम्बर १०, महजिदियाकी नसरिन बानुले ८ कक्षासम्म कपिलवस्तुको एउटा मदरसामा पढिन्। त्यहाँ ८ कक्षामाथिको पढाइ थिएन।
यसपछि उनी पनि करुणा गर्ल्स स्कुलमा भर्ना भइन्। अहिले ९ कक्षामा पढ्दै छिन्।
उनी बिरामीको सेवा गर्ने नर्सिङ पेसामा जान चाहिन्छन्।
भन्छिन्, ‘अहिले नै निधो त छैन तर नर्सिङ पेसा मन पर्छ।’
मुस्लिम समुदायमा छोरीहरूलाई अन्य समुदायका विद्यार्थी पढ्ने स्कुलमा नभई मदरसामै पठाउने परम्परा छ। कतिपय मुस्लिम अभिभावकहरूले अन्य स्कुलमा पनि पठाउने गरेका छन्। मदरसा भनेको मुस्लिम विद्यार्थीहरूमात्र पढ्ने विद्यालय हो।
आफ्ना बुबाआमाले छोराछोरीमा भेदभाव नगरी अंग्रेजी स्कुलमा पढाएकोमा सानिया खुसी छिन्।
भन्छिन्, ‘म सानै हुँदादेखि नै बुबाआमा अंग्रेजी स्कुलमा पढेर डाक्टर बन्नुपर्छ भनिरहनुहुन्थ्यो। मदरसा वा अर्को स्कुल जहाँ पढे पनि शिक्षा त एउटै हो तर सबै समुदायका विद्यार्थीहरूसँग बसेर पढ्दा भविष्यका लागि पनि वातावरण सहज हुन्छ।’
करुणा गर्ल्स स्कुल सञ्चालन भएपछि भने मुस्लिम अभिभावकलाई पनि सहज भएको छ।
‘अर्को स्कुलमा जाँदा अनुहार ढाक्नु पर्छ। गर्ल्स स्कुलमा केटीहरूमात्रै हुन्छन्, अनुहार ढाक्नु पर्दैन,’ नसरिनले भनिन्।
गर्ल्स स्कुलका प्रधानाध्यापक शंकरप्रसाद गौतमका अनुसार छात्रछात्रा दुवै पढ्ने स्कुलमा छोरी पठाउन नचाहने अभिभावकहरूलाई ध्यानमा राखेर छात्रामात्र पढ्ने खोलिएको हो। उनका अनुसार छोरीहरूलाई प्राथमिक तहसम्म पढाए पुग्छ, त्यसपछि घरगृहस्थीको काम सिकाउनु पर्छ भन्ने परम्परागत मान्यता भएका मुस्लिम अभिभावकहरूले पनि छोरीलाई स्कुल पठाउन थालेका छन्।
यसरी खोलिए मेत्ता गुरुकुल र करुणा गर्ल्स स्कुल
लुम्बिनी विकासकोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) काठमाडौंमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आइएस्सी) पढ्दै थिए।
२०६१ सालको कुरा हो क्याम्पसको हिउँदे बिदामा घर आएको मौकामा उनले गाउँका बालबालिकाहरू आँपको बगैँचामा जम्मा गरेर पढाए। स्कुल जान नपाएका बालबालिकाहरू उनका विद्यार्थी थिए।
एक महिनामा यसरी पढ्न आउने ११६ जना भए। गाउँकै केही साथी पनि बोलाएर ती बालबालिकाहरूलाई अक्षर लेख्न सिकाए।
एक महिनाको हिउँदे बिदा सकियो। अवधेश काठमाडौं फर्के। बालबालिकाहरू आफ्नै दिनचर्यामा फर्के।
काठमाडौं पुगेपछि पनि अवधेशको मन बेचैन भइरह्यो। गाउँका तिनै बालबालिकाहरू सम्झनामा आइरहे जसलाई उनले केही दिन अक्षर सिकाएका थिए।
गाउँमा एक महिनामै ११६ जना जुट्छन् भने यस्तै अरू कति होलान् जो स्कुल जान पाएका छैनन्।
गाउँमा एउटा प्राथमिक स्कुल खोल्ने विचारले उनी पढाइ छोडेर गाउँ फर्के। लगत्तै उनले केही बालबालिका जम्मा गरेर पढाउन थाले। एक जना दाताले जग्गा दिइन्।
अवधेशले गाउँका युवाहरू जम्मा गरेर बाँसको एउटा टहरो बनाए। प्रतिविद्यार्थी मासिक ३० रुपैयाँ लिएर पढाउन थाले। पैसा नहुनेहरू आफ्नो सुविधाअनुसार दिन्थे।
शुल्कबाट उठेको पैसा पैसाले बालबालिकाका लागि किताबकापी र अत्यावश्यक शैक्षिक सामग्री जुटाए। गाउँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुँदैन थियो। अवधेशले अंग्रेजी माध्ययमा पढाउने व्यवस्था मिलाए। स्कुलमा विद्यार्थी संख्या बढ्यो।
यही बीचमा अवधेशकुमार त्रिपाठी भिक्षु मेत्तेय भए।
अवधेशले रूखमुनि बालबालिका पढाएर सुरू गरेको स्कुलले टहरो हुँदै २०६९ सालमा पक्कि भवन पनि पायो। अनि भयो ‘मेत्ता गुरुकुल’। अहिले यो यो स्कुल लुम्बिनीमा निकै प्रख्यात छ।
गुरुकुलका प्राचार्य लोचन बम्जनका अनुसार शिक्षाको पहुँचबाहिर रहेका बालबालिकाले पनि अंग्रेजी शिक्षा पढ्न पाऊन् भन्ने उद्देश्यले गुरुकुल सञ्चालन गरिएको हो।
सहप्राचार्य चिरञ्जीवीकुमार बरईका अनुसार थाइल्यान्डको नेपालस्थित दूतावास र लुम्बिनीस्थित थाई विहारले मेत्ता गुरुकुलका लागि भवन निर्माण गरिदिए।
डाक्टर बन्ने सपना देखेकी साविया अंग्रेजी माध्यमबाट पढाइ हुने भएकैले आधा घण्टा साइकल चलाएर मेत्ता गुरुकुल पुग्छिन्।मेत्ता गुरुकुल सहशिक्षालय हो, छात्रछात्रा दुवै पढ्छन्।
मेत्ता गुरुकुल खुलेपछि छोरीलाई स्कुल पठाउने क्रम बढ्यो तैपनि गाउँका सबै छोरीहरू आएनन्। छोरीमात्र पढ्ने स्कुल भए जसरी पनि पठाउँथ्यौँ भन्ने अभिभावक धेरै भेटिए।
यसरी छात्रामात्र पढ्ने स्कुलको अवधारणा विकास भयो। यसपछि भिक्षु मेत्तेयकै पहलमा २०७२ सालमा खुल्यो करुणा गर्ल्स स्कुल।
गर्ल्स स्कुलका प्रधानाध्यापक गौतमका अनुसार १३ जना छात्राबाट सुरु भएको करुणा स्कुलमा हाल तीन सय जना छन्। तीमध्ये करिब एक सय जना मुस्लिम छात्रा छन्।
सहप्रधानाध्यापक सुनिल बानिया छोरीलाई विद्यालय पठाउने क्रम पढेपछि सानैमा बिहे गरिदिने चलन कम हुँदै गएको बताउँछन्।
सार्वजनिक शैक्षिक गुठी अन्तर्गत ‘मेत्ता परिवार शिक्षा परिषद’ ले मेत्ता गुरुकुल र करुणा गल्स स्कुलसँगै पुन्निहवामा पनि स्कुल सञ्चालन गरेको छ।
भिक्षु मेत्तेय हाल यी तीन वटै स्कुलका संरक्षक रहेका छन्।
उनले विद्यालय सञ्चालनका लागि क्यानेडियाली नागरिक रहेकी एक ‘धर्मआमा’ मार्फत आर्थिक व्यवस्थापन गर्दै आएका छन्। विद्यार्थीहरूबाट पनि न्यूनतम शुल्क उठाउने गरेको प्रधानाध्यापक गौतमको भनाइ छ। उक्त स्कुलमा कक्षा ६ देखि १० सम्म पढाइ हुन्छ। संगीत र सिलाइकटाइ प्रक्षिण पनि हुन्छ।