बाजुराको बडीमालिका नगरपालिका–९ का २४ बर्षे हिमाल थापा विमारी छोरो बोकेर चार दिनअघि जिल्ला अस्पताल आइपुगेका थिए। उनको घर गैरीबजारबाट बाजुरा जिल्ला अस्पताल धेरै टाढा छैन।
२ वर्षअघि हातखुट्टा निला फर्किने, ओठ कालो हुने, हिँड्न नसक्ने, खाना पनि नखाने भएपछि छोरालाई सास फेर्न पनि गाह्रो भएको थियो। त्यसपछि उनले जिल्ला अस्पतालै पुर्याएका थिए।
‘मुटुको चेक गरेको, यता हुँदैन, काठमाडौं लग्नु भनेपछि गंगालालमा लगें,’ उनले भने।
गंगालाल हृदय रोग केन्द्रमा जाँचपछि औषधि दिएर चिकित्सकले सुरूको ६ महिना परीक्षण गर्ने र त्यसपछि पुन: आउन भनेका थिए।
६ महिनापछि फेरि त्यहाँ पुगेको र ३ महिना पूरा भए फेरि आउनू भनिएको थियो।
चिकित्सकले हिमालका ४ वर्षीय छोरा गौतम थापाको मुटुको भल्भमा समस्या रहेकाले औषधिले निको नहुने देखिएको र अपरेसन गर्नुपर्ने भनेका थिए।
‘सुरूमै ६० हजार खर्च भएको थियो, पटक पटक गरेर आफूसँग भएको ८/९ लाख रुपैयाँ सकियो, भएको सिद्धिँदै गएपछि सापटी मागर गएँ,’ उनले भने।
अहिलेसम्म जिल्लादेखि काठमाडौंको अस्पतालसम्म छोराको उपचार गर्न १२ लाख रुपैयाँ बढी खर्च भएको उनको भनाइ छ। सरसापट गरेको ३ लाख रुपैयाँ बढी ऋण लागेको उनले बताए।
‘अपरेसन गर्न बीमा गरेपछि कमै पैसा लाग्छ रे, आफ्नो खान बस्न गाडी भाडा जान खर्च थिएन,’ उनले भने।
अहिले तीन दिनअघि फेरि छोरालाई समस्या देखिएपछि हिमाल जिल्ला अस्पताल आएका थिए। उनको छोरालाई उपचार गर्दा गर्दै पनि गाह्रो हुँदै गयो। चिकित्सकले आइसियुमा राखेर उपचार गर्नुपर्छ भने तर जिल्ला अस्पताल बाजुरामा आइसियु सेवा छैन। अस्पतालले गौतमलाई तुरून्तै माथिल्लो अस्पताल लैजान रिफर गरेको थियो।
हिमालसँग छोरालाई उपचार गर्न बाहिर लैजाने खर्च नभएर समस्या भयो। सरकारी अस्पतालमा आइसियू सेवा नपाएका उनले सो सुविधा खोज्दै डडेल्धुरा या धनगढी पुग्नुपर्ने भयो। उनले यसो गर्न नसक्ने भएपछि बाजुरा जिल्ला अस्पताललाई एउटा मन्जुरी नामा लेखेर दायाँबायाँ औंठाछापसहित बुझाए।
‘बिरामीलाई गाह्रो हुँदै गएर आइसियू चाहिए पनि जिल्ला अस्पतालमा नभएकाले मेरो बिरामीलाई आइसियू नभएर केही भवितव्य भए म आफैं जिम्मेवार हुनेछु’ भन्दै उनले मन्जुरी नामामा लेखेका छन्।
उनको यो मन्जुरी नामा र छोराको अवस्थाबारे सामाजिक सञ्जालमा भाइरल भएपछि वडा कार्यालय र नगरपालिकाले सहयोग गर्ने भने। एम्बुलेन्सको तेल र पछि केही आर्थिक सहयोग गर्ने कुरा नगरपालिकाले भनेको थापाले बताए।
उनले आफूसित २० हजार जति भएको र सरसापट गरेर ३० हजार जति थपिएपछि अहिले काठमाडौंका लागि हिँडेको उनले बताए। हिमाल र उनकी श्रीमती गाउँमा किसानी गर्छन्।
जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रेरित देवकोटाले आइसियु बेड नभएको बताए।
आइसियुमा राख्नुपर्ने केस आए इमर्जेन्सी सेवा दिने र नभए रिफर गर्ने गरिएको उनले बताए।
यहाँ आइसियु, भेन्टिलेटर चलाउने जनशक्ति नभएर समस्या छ। एनेस्थेसिया, मेडिसिनको डाक्टर, तालिम प्राप्त नर्स, तालिम प्राप्त कार्यलय सहयोगी लगायतका कर्मचारी बाजुरा अस्पतालमा छैनन्। आइसियु बेड चलाउन ठाउँको पनि अभाव छ। नयाँ भवन बनिरहेको छ। आइसियु आवश्यक पर्ने बिरामीलाई रिफर गर्नुपरिरहेको उनले बताए।
बाजुरा अस्पतालमा एम्बुलेन्स सेवा भने छ। यसमा जिल्ला अस्पतालबाट धनगढीसम्म पुग्न १६ हजार रुपैयाँ शुल्क लाग्छ।