रूपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कान दुखेर बिरामी परेकी सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवालीको झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि गत फागुन २० गते राति मृत्यु भएको थियो।
माता भनिने स्थानीय २२ वर्षीया सोनिया रेश्मीले झारफुक गरेर बिरामी निको बनाउने भन्दै सीतालाई शारीरिक यातना दिएकी थिइन्। सोनियाले सीतालाई भुइँमा घोप्टो पारी लडाउने, शरीरमा बस्दै गालामा थप्पड हान्ने, टाउकोदेखि पानी खन्याइदिने, मुखमा थुक्दै खरानी खुवाउनेसम्मको चरम यातना दिएपछि उनको मृत्यु भएको थियो।
सीतालाई सोनियाले चरम यातना दिइरहे पनि उनका आफन्तले रोक लगाउनुको सट्टा भिडिओ खिचिरहे। सोही यातनाका कारण सीताको मृत्यु भएपछि मृतकका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेका थिए।
उक्त घटना गुपचुप राख्ने प्रयत्न गरे पनि झारफुकको बहानामा चरम यातना दिइरहँदा खिचिएको भिडिओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटना सार्वजनिक भएको थियो।
भिडिओ सार्वजनिक भएपछि तत्काल अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सोमबार नै सोनियालाई पक्राउ गरेको थियो। घटना लुकाउन रातारात गरिएको दाहसंस्कारमा संलग्नहरू भने पक्राउ परेका थिएनन्।
सीताको मृत्यु हुने गरी यातना दिइरहँदा हेरेर बस्ने उनका आफन्त, भिडिओ खिच्ने व्यक्ति र दाहसंस्कारमा संलग्नहरूलाई समेत पक्राउ गर्न सामाजिक सञ्जाल मार्फत प्रहरीलाई दबाव परेको थियो। त्यसपछि प्रहरीले मृतक सीताका बुवासहित घटनामा र दाहसंस्कारमा संलग्नहरू समेत गरी १७ जनालाई पक्राउ गरेको जनाएको छ। को को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुँवरका अनुसार घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको हो।
'घटना अत्यन्त संवेदनशील छ। गहिरो अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक गरेका छैनौं। माता भन्ने सोनिया र मृतकका बुवासहित १७ जना पक्राउ परेका छन्,' प्रहरी निरीक्षक कुँवरले भने।
सीताका आमालाई भने प्रहरीले पक्राउ नगरेको उनले बताए।
'अहिले अनुसन्धान भइरहेकाले घटनामा संलग्न भएकाहरूबारे अझै अध्ययन गरिरहेका छौं। अनुसन्धान गर्दै जाँदा संलग्न देखिएका सबैलाई पक्राउ गर्छौं,' उनले भने।
सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा कान दुखेको बिरामीलाई झारफुक गरेर निको बनाउँछु भन्ने माता र त्यहाँ लैजाने परिवार सबै दोषी रहेको बताए।
'गाउँघरमा सामान्य फुकफाक गर्नुलाई सामान्य मानिएला। तर झारफुकको नाममा मृत्यु हुनेसम्मको यातना दिइनु जघन्य अपराध हो। अब यस्ता घटना दोहोरिन नदिने गरी सचेतनाका कार्यक्रम गर्नुपर्छ,' उनले भने।
नगरप्रमुख शर्माले यो घटनाले समाजको चेतनालाई प्रष्ट पारिदिएको भन्दै नगरपालिकाले अब सामाजिक सचेतनाका कार्यक्रम अगाडि सार्ने बताए।
'विद्यालयमा होमवर्क नलेखेको भन्दै शिक्षकले सामान्य रूपमा हाने विद्यालय बन्द गराउने अवस्था छ। यहाँ त परिवार र आफन्तहरू नै छोरीको मृत्युमा रमिते बनेर बसेको देखिन्छ,' शर्माले भने।