बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ का ललित बुढाले भारतको लखनऊमा उपचार गराउन थालेको एक दशक बित्यो।
उनलाई दिमागको नसासम्बन्धी रोग छ। वर्षको एक पटक लखनऊ जान्छन्। उनलाई यस्तो रोग लागेको ११ वर्ष भयो। सुरूमा उनलाई राति निद्रा नलाग्ने, पसिना आउने, छटपटाहट हुने लक्षण देखा पर्यो। बिस्तारै उनको होस गुम्न थाल्यो। बेसुर भए।
परिवारजनले बाजुरा जिल्ला अस्पतालमा पुर्याए। त्यहाँ उपचार नहुने भएपछि धनगढी पुर्याए। धनगढीमा उपचारका क्रममा निकै खर्च भयो तर निको भएन।
अन्ततः परिवारजनले भारतको लखनऊ पुर्याए।
ललितले भने, ‘मलाई खासै होस थिएन। नेपालमा रोगबारे केही थाहा भएन। पछि काकाले मलाई लखनऊ लैजानुभयो। लखनऊका डाक्टरले दिमागको नसामा समस्या रहेको बताए।’
केही दिनको उपचारपछि ललितको स्वास्थ्यमा सुधार भयो तर निको हुन लामो समय लाग्ने भयो। उनी त्यही बेलादेखि नियमित रूपमा डाक्टरको निगरानीमा छन्।
हरेक वर्ष लखनऊ पुग्नुपर्छ।
भर्खरै लखनऊबाट फर्केर घर जान लागेका ललित सोमबार धनगढी विमानस्थलमा भेटिए। उनी बाजुरा जाने जहाज पर्खिंदै थिए। उनको गाउँमा सडक पुगेको छैन। धनगढी आउजाउ गर्न हवाईजहाज चढ्नै पर्छ। बाजुराको कोल्टी विमानस्थल र धनगढीको हवाईयात्रा आधा घण्टाको छ।
उनी भन्छन्, ‘हाम्रो गाउँबाट धनगढी आउन पेलेन (हवाईजहाज) चढ्नुपर्छ। आउजाउ गर्न १५–१६ हजार खर्च लाग्छ।’
यसपटक एक जना साथी लिएर लखनऊ पुगेर आउँदा ८० हजार रुपैयाँ खर्च लागेको उनले बताए। धनगढीबाट गाडी चढेर लखनऊ पुग्छन्। त्यहाँ कम्तीमा एक रात बास बस्नुपर्छ।
‘चेकजाँचका गर्न डाक्टरलाई अघिल्लो दिन बुकिङ गर्नुपर्छ। पुरानो बिमारीलाई सोमबार र बुधबार मात्रै हेर्छन्,’ ललित भन्छन्, ‘बाटो खर्च, खान बस्न, चेकजाँच, औषधि सबै गर्दा ८० हजार रुपौयँ खर्च भयो।’
उनले ११ वर्षमा करिब १० लाख रुपैयाँ खर्च भएको बताए। धनगढीमै उपचार हुने भए यति धेरै खर्च हुने थिएन भन्ने उनलाई लाग्छ। उनी लगभग निको भएका छन् तै पनि डाक्टरले अब आउनु पर्दैन भनेका छैनन्।
ऋणले मात्र पार नलागेर जमिन समेत बेचेर उपचार खर्च जुटाएको उनले बताए।
बाजुराकै बुढीनन्दा गाउँपालिका–३, सिगाडीका कृष्ण विक पनि श्रीमतीको उपचार भारतको दिल्लीमा गराउँदै छन्। उनले श्रीमतीको उपचार धनगढीमै गराउने प्रयास गरे तर पार लागेन।
आफू भारतमै काम गर्ने भएकाले बरू उतै लैजानु उचित ठाने।
ललितले धनगढी आउँदा ६ लेनको सडक नजिकै गेटा मेडिकल कलेजका भव्य भवनहरू देखेको केही वर्ष भयो। उनले त्यहाँ धेरै सुविधा भएको ठूलो अस्पताल सञ्चालन हुने र डाक्टरी (मेडिकल शिक्षा) पढाइ हुने भन्ने सुनेका छन्। त्यहीँ उपचार गराउने उनको अपेक्षा भने पूरा भएको छैन।
‘ममात्रै होइन, मजस्ता अरू धेरै मान्छे उपचार गर्न भारत जान्छन्,’ उनी भन्छन्, ‘आफ्नै ठाउँमा उपचार हुने भए सजिलो हुन्थ्यो। पैसा पनि धेरै खर्च हुने थिएन।’
सरकारले कैलालीको गेटामा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज चलाउन भवन बनाएको लामै समय भइसक्यो तर सञ्चालन हुन सकेको छैन।
हालै सरकारले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्दका नाममा विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।कृष्ण पनि वर्षौंदेखि मेडिकल कलेजका लागि बनेका भवनहरूमा अस्पताल सञ्चालन भएको देख्न चाहन्छन्।
‘आफ्नै ठाउँमा मेडिकल विश्वविद्यालय सञ्चालन हुन्छ रे भन्दा खुसी लागेको छ,’ कृष्ण भन्छन्, ‘सुदूरपश्चिमका जनताले उपचारमा अहिले पाएको जस्तो दुःख भोलिका दिनमा नपाऊन्। मेडिकल विश्वविद्यालय छिटो चलोस्।’
उनी राजनीतिक नेताहरूसँग पनि असन्तुष्ट छन्। त्यति ठूला र राम्रा भवनहरू बनाएर अस्पताल चलाउन नसक्नु नेताहरूकै कमजोरी हो भन्ने उनलाई लागेको छ।
सुदूरपश्चिमका मानिसले स्वास्थ्य उपचारका धेरै सास्ती भोग्नु परेको पनि उनको भनाइ छ।
भन्छन्, ‘हामीले धेरै दुःख पायौँ। अब सरकारले चाँडै मेडिकल विश्वविद्यालय चलाओस्। गरिबदुःखीले आफ्नै देशमा उपचार पाउन सकून्।’
हालसम्म सुदूरपश्चिममा एउटा पनि मेडिकल कलेज छैन। राज्यले सुदूरपश्चिमलाई उचित सुविधा दिन नसकेको धेरैको गुनासो छ।
सुदूरपश्चिमका धेरै मानिस उपचारका लागि भारतको लखनऊ, बरेली, दिल्ली लगायतका ठाउँ पुग्ने गरेका छन्।
औषधि उपचारका लागि धेरै खर्च गर्न र टाढा जान नसक्नेहरूका लागि सरकारले धनगढीमा चाँडै मेडिकल कलेज सञ्चालन गर्नुपर्ने बझाङका बासिन्दा रामहादुर सिंहको भनाइ छ।
‘राम्रो मेडिकल कलेज सुदूरपश्चिमका नागरिकको अनिवार्य आवश्यकता हो,’ उनले भने, ‘गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारले नीतिगत निर्णय गरेको छ। अब कार्यान्वयनका लागि जनताले दबाब दिनुपर्छ।’
सरकारले गत माघ २९ गते प्रस्तावित गेटा मेडिकल कलेजलाई ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ का रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।
यससम्बन्धी विधेयक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तर्जुमा गर्नेछ। विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ।
यही फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गेटामा निर्मित संरचनाको निरीक्षण गरेका थिए।
उनले मेडिकल कलेज सञ्चालनको प्रक्रियामा गइसकेको तर दरबन्दीको केही समस्या भएकोले समाधानका लागि स्वास्थ्य मन्त्रालययले काम गर्ने बताए। प्रधानमन्त्रीले निरीक्षण गरेको एक महिना पूरा भएको छ तर यहाँ देखिने गरी कुनै काम भएको छैन।
गेटामा ५१ हेक्टर क्षेत्रफलमा नेपाल सरकारको ५ अर्ब ४० करोड रुपैयाँ लगानीमा सानाठूला ४२ वटा भवन बनेका छन्।
सुदूरपश्चिमका बासिन्दा चाँडै अस्पताल र मेडिकल कलेज सञ्चालन भएको हेर्न चाहन्छन्। उनीहरूको प्रश्न छ- गेटा मेडिकल कलेज कहिले सञ्चालन हुन्छ?