औषधि व्यवसायीसमेत रहेका विराटनगर–९ का देशबन्धु ढकाल त्यसबेला छक्क परे, जब कोसी अस्पतालका चिकित्सक स्वंयले आफ्नै अस्पतालको रिपोर्टमा आफू भर पर्न नसक्ने कुरा सुनाए।
१० वर्षीया छोरीले पेट दुख्यो भनेपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुर्याएका ढकालले अस्पतालकै प्रयोगशाला र रेडियोलोजी विभागमा छोरीको पेट र रगत जाँच गराएका थिए। चिकित्सकले प्रारम्भिक जाँच गरेपछि पेटको भिडिओ एक्सरे गर्न र रगतका केही जाँच गर्न भनेका थिए।
यो तीन दिन अघिको कुरा हो। उनले कोसीकै अल्ट्रासाउण्ड कक्षमा भिडिओ एक्सरे गराए। प्रयोगशालामा रगतको नमूना दिए। रिपोर्ट नआउन्जेलका लागि चिकित्सकले दुखाइ कम गर्ने औषधि दिएका थिए। सोमबार छोरीको सबै रिपोर्ट लिएर उनी चिकित्सककहाँ पुगे। त्यहीबेला उनलाई चिकित्सकले भनेका थिए ‘भिडिओ एक्सरे बाहिरै गर्नु भएको भए हुन्थ्यो। यहाँको रिपोर्टको मलाई भरै लाग्दैन।’
नेपाल औषधि व्यवसायी संघ मोरङका उपाध्यक्षसमेत रहेका ढकालले आफ्नो पुरानो चिनजानका चिकित्सकलाई सोधे ‘यो कुरा तपाईंले मलाई मात्रै भन्नुभएको हो कि सबैलाई भन्नुहुन्छ ?’
ती चिकित्सकले धक नमानी भने ‘सबै बिरामीलाई त कहाँ भन्नु ! तपाईं साथी भनेर मात्रै भनेको हुँ।’
दैनिक सयौं बिरामीको भिड लाग्ने कोसी अस्पतालका चिकित्सकको कुरा सुनेपछि ढकालले सेतोपाटीसँग भने ‘आफ्नै अस्पतालको रिपोर्टमा चिकित्सक भर नपर्ने भनेपछि कोसी अस्पतालको अवस्था कस्तो हुँदैछ भन्ने लाग्यो। मैले त्यहाँका अरू चिकित्सकसँग पनि कुरा गरेँ। धेरै जनाले त्यसै भनेपछि अस्पतालको भर परेर आउने बिरामीहरूको अवस्था के होला भन्ने लागेको छ।’
चिकित्सकले सुरूमै दिएको औषधिले काम गरेर छोरीलाई बिसेक भएकाले उनले अन्यत्र फेरि भिडिओ एक्सरे गराएका छैनन्।
उनले कोसी अस्पताल प्रशासनतिर भने प्रश्न सोझ्याएका छन् ‘डाक्टरले चिनेका मान्छेलाई त अन्यत्र गर्नु भनेर सुझाव दिइने भयो, सर्वसाधारण बिरामीलाई त्यही रिपोर्टकै भरमा उपचार गराइन्छ। चिकित्सक आफैंले भर नपरेको रिपोर्टका भरमा उपचार कसरी हुन्छ?’
कोसीका चिकित्सकहरू भने यस्तो समस्या सधैं देखिने गरेको बताउँछन्।
स्वास्थ्य क्षेत्रमै काम गरिरहेका ढकालको हकमा चिकित्सकहरू खुला रूपमा बोले पनि अन्य बिरामीको हकमा त्यस्तो नहुने स्वास्थ्यकर्मीहरू नै बताउँछन्। नाम चलेका विशेषज्ञ चिकित्सकहरूको बाक्लो जमघट र भेन्टिलेटरसहितको उपचार सुविधा तथा बीमामार्फत् हुने उपचार लगायतका कारण कोसीमा कोसी प्रदेशका अधिकांश जिल्ला, मधेस प्रदेशका केही र भारतीय राज्य बिहारका बिरामीसमेत उपचारका लागि आउने गरेका छन्।
ओपिडीमा मात्रै दैनिक १५ सय हाराहारी आउने बिरामीमध्ये ३५० बेड सधैंजसो भरिभराउ नै हुन्छ। तीमध्ये दैनिक दुई सय हाराहारीका बिरामीको अल्ट्रासाउण्ड (भिडिओ एक्सरे) भइरहेको हुन्छ। त्यही रिपोर्टको आधारमा बिरामीको उपचार भइरहेको हुन्छ। तर, चिकित्सकहरू आफैं कार्यरत अस्पतालको सबभन्दा ठूलो समस्या नै रेडियोलोजी विभागमा रहेको बताउँछन्।
‘पहिलो कुरा यहाँ स्थायी रूपले काम गर्ने अनुभवी चिकित्सककै अभाव छ’, अस्पतालकै एक चिकित्सकले भने, ‘दक्ष जनशक्तिको अभाव भएपछि त्यसको प्रभाव रिपोर्टमा देखिने भयो। अर्को कुरा, भएका जनशक्ति पनि नटिक्ने समस्या ठूलो छ।’
धेरै बिरामीलाई भने आफूहरूले एउटै मात्रै रिपोर्टमा भर नपर्न अर्को कुनै ठाउँमा दोहोर्याएर फेरि गर्न भनेर सुझाव दिने गरेको ती चिकित्सक सुनाउँछन्।
‘हामीकहाँ उपचारका लागि आउने धेरै बिरामी न्यून आर्थिक स्तर भएकाहरू हुन्। उनीहरूका लागि बाहिर खर्च गरेर अल्ट्रासाउण्ड गर्ने कुरा असम्भव जस्तै हुन्छ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. रबिनराज सिंह अस्पतालको रेडियोलोजी विभागको विश्वसनीयता कम भएको स्वीकार गर्छन्।
यसो हुनुमा जनशक्ति अभाव मुख्य समस्या भएको उनको भनाइ छ।
‘रेडियोलोजी विभागमा अहिले दुई जना मात्रै डाक्टर हुनुहुन्छ। दुई जना करारका मेडिकल अफिसर हुनुहुन्थ्यो, उहाँहरूको करार पनि सकियो’, डा. सिंहले भने ‘नयाँ जनशक्ति थप्न अन्तर्वार्ता गरेका थियौं। अन्तर्वार्ता दिएका डाक्टरसाब ड्युटी ज्वाइन गर्न चाहिँ आउनुभएन। जनशक्ति अभावका कारण सीमित जनशक्तिलाई बोझ धेरै छ। यहीकारण रिपोर्टको विश्वसनीयता घटेको हो।’
उनका अनुसार अस्पतालमा चार वटा अल्ट्रासाउण्ड मेसिन छ। सबै मेसिन सन्चालनमा छन्। तर, कामको अधिक बोझले रिपोर्टमा समस्या आएको उनको दाबी छ।
‘हाम्रोमा दैनिक कम्तीमा १५० देखि २ सयको हाराहारीमा अल्ट्रासाउण्ड हुने गर्छ’ डा. सिंहले थपे ‘एउटा मान्छेको टाइम लिमिट हुन्छ। एक जना बिरामीलाई १० देखि १५ मिनेट लगाएर अल्ट्रासाउण्ड गर्नुपर्ने हुन्छ। तर, अधिक चापले हामीले समय दिनै पाउँदैनौं। एक जना चिकित्सकले ५० देखि ७० जनासम्म हेर्नुपर्दा बिरामीले पाउने समय घट्छ। रिपोर्टको विश्वसनीयता घट्नुको कारण नै यही हो।’
उनका अनुसार मानव शरीरका अधिकांश अंगको भिडिओ एक्सरे गर्नुपर्ने हुनसक्छ। ‘मुख्यतः पेटको हेरिन्छ’, उनले भने ‘त्यसबाहेक सवटिस्युहरूको गाँठागुठी, ब्रेष्टको, हातको गाँठागुठीहरूको पनि हेर्न सकिन्छ। शरीरका विभिन्न भागमा बिझेका वा गाडिएका काँडाहरू ननिस्केको खण्डमा पनि हेर्न सकिन्छ।’
उनका अनुसार हरेकजसो अंगका समस्या पहिल्याउन भिडिओ एक्सरे सहयोगी हुन्छ। तर, त्यसैको विश्वसनीयता कम भएपछि बिरामीले पाउने सेवाको गुणस्तरमा भने सधैं प्रश्नचिन्ह लागिरहेको अवस्था छ।
कोसी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पनि हो। यो अस्पताल अब पूर्वाञ्चल मेडिकल कलेजको प्रयोगात्मक अभ्यासको थलो पनि बन्दैछ।
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न कोसी अस्पताललाई प्रयोग गर्ने सम्झौता भइसकेको छ। दुई साता अघि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोसी अस्पताल प्रयोग गर्ने त्रिपक्षीय सम्झौता भएको थियो।
मेडिकल कलेजको प्रयोगात्मक अभ्यासको थलो बन्न लागेको अस्पतालकै मेडिकल रिपोर्टमा चिकित्सक भर पर्न नसक्ने अवस्थाले बेथिति झल्किने स्वास्थ्यकर्मीहरू बताउँछन्।
‘अरू धेरै उपचार र जाँच कोसीमै गराए पनि म र मेरो परिवारको भिडिओ एक्सरे चाहिँ कोसीमा गराउँदिनँ’ अस्पतालमै कार्यरत एक स्वास्थ्यकर्मीले भने ‘यहाँको रिपोर्ट भरलाग्दो नहुने समस्या पुरानै हो। डाक्टरहरू नै भिडिओ चाहिँ यहाँ नगराउनु भन्छन्।’